अब हामी “मनका कथा”का अन्य आयामहरुतर्फ पनि चर्चा गरौँ ।
१. श्रीमती स., वर्ष ३५ ।
एक विवाहित महिला, तीन छोराछोरीकी आमा, अनि एउटा प्राथमिक विद्यालयकी शिक्षिका !
एक दिन उनी हाम्रो ओपिडी अकस्मात आइपुगिन् । उनको अनुहारमा गम्भीर पीडा झल्किरहेथ्यो । “खुइ्यय” गर्दै सामुन्नेको कुर्सीमा बस्नासाथ उनले केही पनि कुरा नगरीकन नै आफूले बोकिरहेको फाइल मेरो अगाडि तेर्साइन् । मैले फाइल हेर्नु अगाडि आफ्ना समस्याहरु बताउन आग्रह गरेपछि भने उनी भक्कानिन थालिन् ।
३ वर्ष भइसकेछ उनको समस्या ! समस्याका चाङ नै थिए उनका ।
पेट दुख्ने, टाउको दुख्ने, दिसापिशाबमा खराबी, महिनाबारीमा गडबडी, चीसो सहन नसक्ने, शरीर सुन्निने, भोक नलाग्ने, हातगोडा झमझम गर्ने… ।
अहिलेसम्म वीरगञ्जका दुई, काठमाडौंका चार, अनि नयाँ दिल्लीका दुई गरी करीब १० अस्पताल÷क्लिनिक धाइसकिछन् उनी । एम.आर.आई, अल्ट्रासाउण्ड, एक्सरे, रगत, दिसापिशाब आदि जाँच गरेका रिपोर्टहरुको फेहरिस्त नै थिए उनलाई मुखाग्र । करीब पाँच झोला औषधि खाइसक्दा पनि आफ्नो व्यथा निको नभएको कुरा सुनाउँदा झनै चिन्तित देखन्थिइन् उनी ।
मैले उनको शारीरिक जाँच गरेँ ओपिडीमा नै, सबै ठीकठाक नै थिए । उनको फाइल सर्सर्ती हेर्दा सबै रिपोर्ट दुरुस्त नै थिए । पुनः जाँच गराउन आवश्यकता नै पनि थिएन । नयाँ दिल्लीका फिजिसियनले शारीरिक तवरमा सब ठीक भएको व्यहोरा बताई मनोचिकित्सकसँग भेट्न सुझाएकाले मन नलागी नलागी मलाई भेट्न आएकी थिइन् उनी एक्लै नै ।
उनीसँग अनुमति लिएर उनका पारिवारिक अनि व्यक्तिगत जीवनका बारेमा सोध्न थालेँ मैले ।
१५ वर्षको उमेरमा नै २० वर्षका बेरोजगार केटासँग विवाह भएपछि २० वर्षयता संयुक्त परिवारमा नै बस्दै आइरहेकी रहिछिन् उनी । सात वर्षको उमेरमै आमा गुमाएकी उनी दुःखजिलो गरेर पढ्दै ९ कक्षासम्म पुग्दा उनको विवाह भएको रहेछ । माइतपट्टि उनका बुवा, दाजु सबैको मृत्यु भइसकेको रहेछ । घरमा नै संघर्ष गरेर पढ्दै एस.एल.सी. उतीर्ण गरी अहिले गाउँकै विद्यालयमा पढाउने गर्दी रहिछिन् । श्रीमान् अझै बेरोजगार अनि रक्सी, जुवातासमा मग्न घरको ख्याल नगर्ने भएकाले दुःखजिलो गरेर आफ्ना बालबच्चा अनि परिवारको हेरचाह गर्दै आएकी रहिछिन् उनी ।
विद्यालयका शिक्षक सहकर्मीहरुले मद्दत गरी, ऋणधन जुटाइदिएकाले आफ्नो उपचार सम्भव भएको बताइन् उनले । यी सबमा परिवारको कुनै साथ–सहयोग नभएको अनि सबै उपचार प्रक्रियामा उनी एक्लै नै सामेल हुने गरेको कुरा पनि अश्रुपूर्ण रुपमा व्यक्त गरिन् उनले । करीब ५ लाख जति उपचारको लागि नै खर्च भइसकेको पनि भनिन् उनले । अहिले मनोचिकित्सकलाई भेटेको परिवारले थाहा पाए भने आफ्नो नराम्रो हविगत हुने कुरा पनि लुकाइनन् उनले ।
यस्तो तवरमा “मनका कथा” अभिव्यक्त गर्ने उनी वास्तवमा “सोमाटोफर्म डिस्अर्डर” भन्ने एक किसिमको मानसिक रोगद्वारा पीडित महिला हुन् ।
लामो समयसम्म शारीरिक समस्याहरुद्वारा ग्रस्त हुने व्यक्ति, जसका शारीरिक लक्षणहरु शरीरिक कारकतत्व या जाँचपडतालले व्याख्या गर्न सकिँदैन अनि परीक्षणहरु गराउँदा पनि रिपोर्टहरुमा असामान्यता देखिँदैन, यस्ता समस्याहरु प्रायशः नजानिँदो किसिमले कुनै न कुनै तनावहरुसँग सम्बन्धित हुने गर्दछन् अनि ती समस्याको समाधान नभएका कारण पीडित व्यक्ति एउटा डाक्टरबाट अर्को, एउटा अस्पतालबाट अर्कोमा धाइरहने गर्दछन् । तिनको मुख्य चाहना भने ‘ती लक्षणहरुबाट मुक्ति’ नै रहने गर्दछ । यस्तो हुन्छ “सोमाटोफर्म डिस्अर्डर” ।
त्यस्ता बिरामीहरुलाई प्रायः चिकित्सकहरुले ‘तपाईंलाई खासै केही पनि भएको छैन’, ‘ल ! यो औषधि खानुस्, ठीक भइहाल्छ’, ‘यो त मनको रोग हो, हामी ठीक पार्न सक्दैनौँ तपाईंलाई.., ‘धेरै नसोच्नुस् ,सब ठीक हुन्छ’, या ‘तपाईं त साइको भइसक्नु भो’, आदि भनेर केही बेर पनि कुराकानी नै नगरी पठाइदिने गर्दछन्, जसका कारण तिनको तनावमा अझै बढोत्तरी हुन गई तिनका लक्षणहरु झनै वृद्धि हुने गर्दछ, कमी हुँदैन ।
यस्ता बिरामीहरुको उपचारका लागि तिनको समस्यालाई गम्भीर रुपमा नै पहिचान गर्न सक्नुपर्दछ । “केही पनि भएको छैन” भनेर भन्नुभन्दा “तपाईंका समस्या शारीरिक नभइकन मनोवैज्ञानिक समस्या हो” भनेर उपचार सुरु गर्नसके धेरै राम्रो हुने गर्दछ तिनलाई । मनका समस्याहरु पनि नजानिँदो तवरले शारीरिक लक्षणहरुद्वारा अभिव्यक्त हुनसक्दछ भनी उदाहरणद्वारा व्याख्या गरी मन अनि शरीरको सामञ्ज्यस्यता या मन–शरीरको सम्बन्ध स्थापित गराउन सके तिनका सबै समस्या बिस्तारै निराकरण हुँदै जाने गर्दछन् ।
म प्रायःजसो यस्ता बिरामीहरुलाई “परीक्षा भवनमा पस्न लाग्दा तपाईंको मनस्थिति कस्तो हुन्छ अनि शारीरिक लक्षणहरु के कस्ता हुने गर्दछन् ?” भनी सोध्ने गर्दछु । यो प्राश्निक उदाहरण बुझ्नासाथ मनमा भएको तनाव कसरी “मुटुको ढुकढुकी, चिटचिट पसीना, हातको कम्पन” जस्ता शारीरिक लक्षणहरुका रुपमा आउन सक्दछन् भन्ने बिरामीलाई स्पष्ट हुन्छ । अनि पूरक प्रश्नका रुपमा “परीक्षा राम्रो भएपछि ती शारीरिक लक्षणहरु के हुन्छन् त ? रहिरहन्छन् त ?” भनी सोध्दा जोसुकै या कुनै पनि बिरामीले तनाव, मन, एवं शरीरको सम्बन्ध खुलस्त रुपमा नै सम्झन सक्दछन् ।
आवश्यक पर्दा यी बिरामीहरुलाई छोटो समयका लागि तनाव घटाउने, छटपटी कम गराउने औषधिहरु पनि दिन सकिन्छ । त्यस्तै श्वासप्रश्वाससँग सम्बन्धित योग एवं तनाव कम गराउने शारीरिक अभ्यासहरु पनि सिकाउन सकिन्छ, गर्न लगाउन सकिन्छ ।
अतः डाक्टर एवं अस्पताल धाइरहने एवं थुप्रै शारीरिक समस्याहरु लिएर आउने तनावग्रस्त “सोमाटोफर्म डिस्अर्डर” का बिरामीहरुलाई “केही पनि भएको छैन” भनी तिरस्कार गरेर अझै अरु डाक्टर अनि अस्पताल धाइरहने बनाउनुको सट्टा तिनका समस्याहरुको स्पष्ट एवं गम्भीर पहिचान गरी तिनका सम्भावित तनावका कारणहरुलाई राम्ररी नै बुझेर मन एवं शरीरबीचको सम्बन्ध स्थापित गरी तिनलाई नै स्पष्ट बुझाउन सकेमा तिनको तनाव सँगसँगै शारीरिक लक्षण्हरुको पनि यथोचित उपचार हुन पुग्दछ ।
…
२. श्रीमान् म., एक ४५ वर्षे शिक्षक ।
उनी करीब ५–६ वर्षयता हाम्रो ओपिडी धाइरहेका छन् ।
“गर्मी महीनामा पनि दुवै हातमा पञ्जा लगाएर हिँड्नुपर्ने, अनजानमा खुल्ला हातले केही चीज छोइयो भने पनि लामो समय लगाएर हात धुनुपर्ने, चक–डस्टरको धूलो लागेमा लुगा धोइहाल्नुपर्ने, नुहाउन दुई घण्टा नै लाग्ने, घरको ढोका लगाएपछि ४–५ पटक नै जाँच गरेर पक्का गर्नुपर्ने, ग्यास–चुल्हो बन्द भए÷नभएको बारम्बार भान्सामा पुगेर पक्का गर्नुपर्ने …” आदि जस्ता समस्याका कारण झण्डै शिक्षण पेशा नै त्याग गर्न पुगेका उनी अचेल भने यी समस्याहरूबाट त्यत्ति धेरै प्रभावित भएका छैनन् । नियमित औषधि उपचार अनि हामीले गरेको मनोवैज्ञानिक उपचार–पद्धतिका कारण उनी पहिले जस्तो चिन्तित अनि उद्धेलित भएका भने छैनन् ।
“एउटै विचार बारम्बार मनमा आइरहने, त्यो विचार बेकारको हो भन्ने थाहा पाउँदा पाउँदै पनि त्यसलाई रोक्नै नसकिने, त्यो निरन्तर आइरहने विचारलाई सन्तुलनमा ल्याउनका लागि केही कार्य गर्नैपर्ने, त्यसरी सन्तुलनमा ल्याउन नसकिए त्यही विचारका कारण तनावमय रहने मनस्थिति, त्यस्ता तनावका कारण उदासीनता अनि उद्वेलन भइरहने” जस्ता लक्षणहरू भएर लामो समयसम्म प्रभावित पार्न सक्ने रोग हो माथि उल्लेखित “मनका कथा” भनौं या घटनाका पात्र यी ‘शिक्षक’ लाई भएको रोग । यस रोगको नाम भने ओसिडी (अब्सेसिभ कम्पाल्सिन डिस्अर्डर) ।
यसमा ती शिक्षकलाई खुल्ला हातले छोइएका चीजहरू ‘फोहर’ हुन्, ‘किटाणुजन्य’ या ‘बिटुलो’ त्यस्ता चीजहरू छोइएमा ‘रोग’ या ‘पाप’ लाग्न सक्दछ भन्ने विचारले सताएको हुन सक्दछ । यहाँ प्रभावित व्यक्तिको चेतनास्तर या चिन्तन मुताबिकका विचार आउन सक्दछन् । अशिक्षित अनि अति धार्मिक विश्वासमा रहेकाहरूमा चोखो–बिटुलो, धर्म–पापको विचार आउँदछ भने शिक्षित अनि वैज्ञानिक चेत भएकाहरूमा ‘किटाणुजन्य’ या ‘रोग’ को चिन्ता आउन सक्दछ । त्यस्ता विचार पटक–पटक आइरहन्छन्, ती विचारहरुमा कुनै सत्यता नै छैन भन्ने जान्दा–जान्दै पनि सो व्यक्तिले त्यो विचारलाई मनमस्तिष्कबाट हटाउन भने सक्दैनन् । यसरी बारम्बार आइरहने विचारलाई ‘अब्सेसन’ भनिन्छ । अनि त्यो विचारलाई मत्थर गर्नका लागि गरिने कार्यलाई ‘कम्पल्सन’ भनिन्छ ।
माथिको उदाहरणमा ‘फोहर भयो’ भन्ने विचारलाई मत्थर गर्न ती शिक्षकले बारम्बार हात धुने गर्दथे । जसले ती विचारहरूको प्रभावलाई सन्तुलनमा ल्याई तिनको तनाव घटाउन सहायता गर्ने गर्दथ्यो । त्यस्तै ‘फोहर नहोस्’ भनेर तिनले दुवै हातमा पञ्जा लगाउने, लामो समय लगाएर नुहाउने जस्ता कामहरू गर्ने गर्दथे । नुहाउन, मुख धुन, हात–खुट्टा धुन, सरसफाई गर्न धेरै समय लाग्ने गर्दा ती सबै काममा उनी ढीलो हुन पुग्दथे । ‘फोहर’ बाट बच्न चक–डस्टर नचलाउने, लुगाहरूमा धूलो लाग्न नदिने, लागिहालेमा लुगा धोइरहने जस्ता कार्यहरू गर्ने गर्दथे ।
यस्ता बेकारका विचारहरूमा सत्यता नभएको भन्ने थाहा हुँदाहुँदै पनि बारम्बार ती विचारहरू आइरहने अनि नचाहँदा–नचाहँदै पनि हात धुने, सरसफाईमा ज्यादा ध्यान दिइरहनुपर्ने आदिका कारण हरदम तनावमय रहन्थ्यो तिनको जीवन । अनि एक पटक त आफ्नो जागिर नै छोडिदिने निर्णय समेत गर्न पुगेका थिए तिनी । तर मित्रहरूको सल्लाहमा हामीलाई भेट्न आएपछि उनमा रहेको ‘ओसिडी’ रोग सतहमा आइपुगेको थियो, अनि उपचार प्रक्रिया शुरू भएपछि उनको जीवन अलिकति सहज हुन थाल्यो ।
वास्तवमा विश्वभरमा करीब १.२ प्रतिशत जनमासमा रहेको यो रोगलाई मानसिक रोगहरुमध्येकै अत्यन्त पीडादायी रोग मानिन्छ । १–२ प्रतिशत बालबालिकामा समेत देखिन सक्दछ यो रोग । बालबालिकाहरूमा हुनसक्ने घाँटीको संक्रमणसँग पनि सम्बन्धित छ यो रोग । यसरी बारम्बार आइरहने विचार अनि त्यसलाई नियन्त्रण गर्न दिनको एक घण्टा भन्दा बढी समय व्यतित गर्नुपर्दा अनि बारम्बारका अनावश्यक विचार एवं कार्यहरूका कारण तनावमा रहनुपर्दा यस्ता रोगीहरूमा ‘डिप्रेसन’, ‘एङ्गजाइटी’, ‘मद्यपान जस्ता दुर्व्यसन’ आदिका समस्याहरू पनि आउन सक्दछ । यी रोगीहरू तनावमा रहेर ‘आत्महत्या’ नै गर्न पनि पछि पर्दैनन् । त्यस्तै मस्तिष्क संक्रमण जस्ता रोगहरूसँग पनि सम्बन्धित रहन सक्दछ यो रोग ।
अतः यो रोगको शंका लागेमा बिरामीहरूले पूर्ण शारीरिक परीक्षण गराउनु पर्दछ ताकि मस्तिष्कजन्य या अन्य संक्रमण भएको भए उपचार गर्न सकियोस् ।
यो रोगको उपचारका लागि मानसिक औषधिहरू लामो समयसम्म खानु पर्दछ । सँगसँगै नियमित रूपमा नै मनोवैज्ञानिक उपचार पद्धति पनि चालू राख्नु पर्दछ ।
ओसिडीद्वारा ग्रसित रोगीहरूलाई ‘पानी बहुलाहा’, ‘सुचीबाई’ आदि भनेर तिरष्कार गर्ने अनि ‘जुम्सो’ भनेर हेला गर्ने चलन पनि छ समाजमा । कहिलेकाहीँ ‘यौन सम्बन्धी’ या ‘फोहरी विचारहरू’ आएर पनि सताउन सक्दछ यस्ता रोगीहरूलाई । त्यसले मनमा पश्चाताप भाव ल्याउने आदि कारणले रोगीहरूमा ‘उदासीनता’ ज्यादा रहने पनि गर्दछ ।
त्यस्तै शुभ अंक, शुभ बार, शुभ समाचार जस्ता अन्धविश्वास, कसैलाई हानि नै पो गरिहालिन्छ कि ? भन्ने भाव आदि पनि प्रबल रहन सक्दछ ओसिडी रोगीहरूमा ।
कसैकसैमा बारम्बार विचारहरू मात्र नै प्रवाहित भइरहने पनि हुन सक्दछ । विचारहरूको प्रवाह ज्यादा भएर त्यसले मालाकार रूप नै लिन सक्ने हुन्छ, जसले तनाव झनै बढाउने गर्दछ ।
यी रोगीहरूलाई तिरस्कार होइन उचित उपचार, सल्लाह अनि प्रोत्साहनको आवश्यकता रहन्छ । त्यस्तै यसका बारेमा चेतनास्तर बढाएर सबैलाई मनोचिकित्सकहरूसँग सल्लाह-सुझाव लिन आह्वान गर्न चाहन्छु म । लामो उपचार गर्नु परेता पनि अनि जति नै पीडादायी नै भए तापनि नियन्त्रण नै हुन नसक्ने रोग भने होइन ओसिडी ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।