धर्मराज युधिष्ठिर सपरिवार हस्तिनापुरबाट निकै टाढा पुगिसकेका थिए । कौरवहरूले रचेको षड्यन्त्रपूर्ण द्यूतक्रीडा र कपटी शकुनिको क्रूर यातना तथा द्रुपदतनया कृष्णाको घोर अपमान जस्ता सबै उपद्रवबाट मुक्त भएर उनी अब सकुशल आफ्नो राजधानी इन्द्रप्रस्थ पुग्न लागेका थिए ।
बाटैमा महाराज धृतराष्ट्रले खटाएको दूत प्रतिकामी दौडँदै उनका छेउमा पुग्यो र भन्न लाग्यो :
हे पाण्डुनन्दन युधिष्ठिर, हजुरका पिता महाराज धृतराष्ट्रले हजुरलाई तुरुन्तै फर्किने आदेश दिनुभएको छ । फेरि द्यूतसभा सदस्यहरूले भरिएको छ र ती सबै हजुरकै प्रतीक्षामा बसेका छन् । फेरि हजुरलाई जुवा खेल्न भनेर उहाँले बोलाइबक्सेको छ ।
युधिष्ठिरले सोधे :
के मैले फेरि जुवा खेल्नुपर्ने भयो ?
उनले मनमनै सोचे :
मलाई थाहा छ कि वृद्ध राजा धृतराष्ट्रको यो आमन्त्रण हाम्रो कुलको विनाशको कारण बन्नेछ, तर यो जान्दाजान्दै पनि म उहाँको आज्ञालाई उल्लंघन गर्न सक्दिनँ । किनभने यो सबै विधाताको खेल हो, यस जगत्मा सबै प्राणीहरूले उसकै प्रेरणावश शुभ र अशुभ फललाई प्राप्त गर्ने गर्दछन् ।
अनि महाराज युधिष्ठिर सपरिवार त्यहींबाट फनक्कै फर्किए र हस्तिनापुर दरबारमा पुगेर जुवाघरमा दाखिल भए ।
यहाँ वैशम्पायन मुनि भन्नुहुन्छ :
असम्भवे हेममयस्य जन्तो–
स्तथापि रामो लुलुभे मृगाय
प्रायः समासन्नपराभवाणां
धियो विपर्यस्ततरा भवन्ति । मभा, सभा, ७६अ, ५श्लो ।
हे जनमेजय, कुनै पनि जन्तुको शरीर सुनले बनेको हुनु असम्भव हुन्छ, तैपनि श्रीराम स्वर्णमय मृग भन्ठानेर कपटी मृगका पछाडि लोभिएर दौडनुभयो र पछि घोर कष्टमा पर्नुभयो । जसको पतन या पराभव निकट आएको हुन्छ त्यस व्यक्तिको बुद्धि प्रायः अत्यन्त विपरीत हुन जान्छ ।
जुवाघरमा पहिलेदेखि नै कपट–पटु शकुनि र उसका गण आसन जमाएर बसेका थिए । त्यहाँ पुग्नासाथ शकुनिले भन्यो :
हे राजन्, हाम्रा बूढा महाराज धृतराष्ट्रले तपाईंलाई हारेको सबै धन फिर्ता दिएर सारै राम्रो काम गर्नुभयो । अब जुवाका लागि एउटै दाउ खेलिनेछ र त्यसको के शर्त हुनेछ भने : यदि तपाईंले हामीलाई यो एउटा दाउमा हराउनुभयो भने हामी सबै कौरवपक्ष मृगचर्म धारण गरेर वनमा प्रवेश गर्नेछौं, त्यहाँ बाह्र वर्षसम्म बसेर तेह्रौं वर्ष अज्ञातवासमा रहनेछौं, यदि क्यै गरी ज्ञात भयौं भने फेरि बाह्र वर्षको वनवासमा जानेछौं । यदि हामीले यो दाउ जित्यौं भने तपाईंहरूले पनि द्रौपदीका साथ त्यसरी नै बाह्र वर्षको वनवास र एक वर्षको अज्ञातवास पूरा गर्नुपर्नेछ । आउनुहोस् – यही शर्तका साथ हामीसँग खालि एक दाउ जुवा खेल्नुहोस् ।
सभामा रहेका सबै सभासद्मा यस्तो भयानक प्रस्ताव सुनेर खलबली मच्चियो, सबै कराएर भन्न लागे :
धिक्कार छ, धिक्कार छ !
यी भाइबन्धुहरू पनि युधिष्ठिरमाथि आउनलागेको महान् भयका बारेका किन केही सम्झाउँदैनन्, उनी स्वयं पनि किन यो कुरा बुझ्दैनन् ?
यी सबै कुरा युधिष्ठिरका कानसम्म आइपुगिरहेका थिए, अनि सुनेर उनलाई लाज पनि लागिरहेको थियो । यस जुवाको परिणाम जान्दाजान्दै पनि पिता महाराज धृतराष्ट्रको आज्ञापालनरूपी धर्मको मर्यादा पालन गरी उनी यहाँ आएका थिए र शकुनिको शर्तमा सहमति जनाउँदै जुवा खेल्ने हाँक स्वीकार गरेका थिए ।
त्यस बेला उनी पूर्णतः प्रारब्धको वशीभूत बनेका थिए । भीष्म, द्रोण, कृप, विदुर आदि सबै मान्यजनका साथ गान्धारी, कुन्ती, भीम, अर्जुन, नकुल, सहदेव द्रौपदी सबैले उनलाई रोकिरहेका थिए, तर युधिष्ठिर आफ्नो निर्णयमा नै अटल रहे ।
अनि, फेरि एकपटक कपट–मूर्ति धूर्तराट् क्रूर शकुनिले एक खास झट्काका साथ पासा फ्याँके र पासा खस्न नभ्याउँदै कराए :
मार्रा..!
नभन्दै पासा उनकै पक्षमा अडिएको थियो, अनि भने :
मेरो जीत भयो ।
….
आखिर जे नहुनु थियो, त्यही भयो । धर्ममा सततः निष्ठा राख्ने सरलमति महाराज युधिष्ठिर आफ्ना भाइहरू र प्रिया द्रौपदीका साथ वनवासका निम्ति तैयार भए । अब उनीहरूले जुवाको पूर्वनिर्धारित शर्त–अनुरूप १२ वर्षको वनवास र त्यसका अन्त्यमा एक वर्षको अज्ञातवास पूरा गर्नुपर्ने भयो ।
उनीहरूले विधिवत् वनवासको दीक्षा लिए र आफ्ना राजकीय वस्त्र उतारेर मृगचर्म धारण गरे । उनीहरूलाई यस्तो रूपमा देखेर क्षुद्रमति दुःशासनले आफ्नो नीच स्वभावलाई यसरी व्यक्त गर्न लाग्यो : हेर, हेर आफूलाई कत्ति न ऐश्वर्यशाली भन्ठानेर निकै मै हुँ भन्थे यिनीहरू । आखिर खोस्टामात्रै भएका तिलका दानाजस्ता खोक्रा भएर अहिले हामीसँग हारेर अब वन पसे । ए द्रौपदी, यस्ता नपुंसकका पछि लागेर किन आफ्नो जीवन बरबाद गछ्र्यौ, हामीहरूलाई हेर त । हामी सबै धन–वैभवले सम्पन्न ऐश्वर्यशाली छौं, तिमी जसलाई मन पराउँछौ उसैलाई वरण गरेर सुखभोग गर ।
यस्ता घीनलाग्दा कुरा सुनेर भीमसेनलाई खपिनसक्नु भयो र दुःशासनलाई फट्कार्दै भने :
रे नीच, तैंले आफ्ना बाहुबलले हामीलाई हराएको होस् र फूर्ती गर्छस् ? कपटी शकुनिका जाल–झेलको सहारा लिएर डींग हाँक्छस् । पख्लास्, म तेरा कुल खानदान सहित तँलाई जब धूलोपीठो पार्छु नि, अनि चाख्लास् मूर्ख ।
तर, उसलाई थाहा थियो अहिले यिनीहरूले केही गर्न सक्दैनन्, त्यसैले अझ नीचताका साथ ए गोरु ! ए गोरु !! भनेर सम्बोधन गर्दै मृगचर्मधारी पाण्डवहरूको खिल्ली उडाउन लाग्यो भने उता दुर्योधनचाहिं भीमसेनका हात्तीको जस्तो चालको नकल गर्दै उनलाई गिज्याइरहेको थियो ।
भीमसेनले क्रुद्ध हुँदै भने :
यस सभाका सारा सदस्यहरु सुनून् : दुष्ट दुर्योधनको वध म गर्नेछु, अर्जुनले कर्णलाई यमलोकको अतिथि बनाउनेछन् र जुवाडे शकुनिलाई सहदेवले सिद्ध्याउनेछन् । म यो विशाल सभामा सबैका सामू फेरि भन्छु– आगामी युद्धमा यी सबै कौरवलाई हामी सिद्ध्याएरै छोड्नेछौं । यो पापी दुर्योधनलाई म गदा–प्रहार गरेर परमधाम पुर्याउनेछु अनि यसका टाउकाको भकुण्डो खेल्नेछु । अनि यो धेरै डींग हाँक्ने दुरात्मा दुःशासनको छाती फोरेर यसको रगत तेसै गरी पिउनेछु जसरी सिंहले मृगको रगत पिउँछ ।
अर्जुनले शान्त स्वरमा दाजु भीमसेनलाई सम्झाउँदै भने :
आर्य, साधु पुरुष जे गर्न चाहन्छन् त्यो वाणीद्वारा पहिले सूचित गर्दैनन्, आउँदो चौधौं वर्षमा जे–जे घटना घट्नेछन् ती सब यिनीहरूले आफ्नै आँखाले देखिहाल्नेछन् नि !
अनि फेरि दृढताका साथ भने :
आज यो अर्जुन आफ्ना प्रिय दाजुको आज्ञा शिरोपर गर्दै, उहाँको प्रसन्नताका लागि कर्ण र उसका अनुगामीहरूलाई वध गर्ने प्रतिज्ञा गर्दछ ।
त्यसै गरी नकुलले शकुनि र सहदेवले धृतराष्ट्रका सन्तानहरूलाई यमराजको अतिथि बनाउने प्रतिज्ञा गरे ।
…
एता युधिष्ठिरले भने शान्तभावले महाराज धृतराष्ट्र, भीष्म, द्रोण आदि समस्त गुरुजनसँग वनगमनका लागि सविनय आज्ञा लिए । उनको धैर्य र विनयशीलता देखेर सारा कौरवहरू लाजले पानी–पानी भए ।
विदुरले भने :
हे भरतकुलभूषण युधिष्ठिर, अधर्मपूर्वक पराजित हुने कुनै पनि महापुरुष आफ्ना पराजयप्रति दुःखी हुने गर्दैनन् । तिमी धर्मज्ञ छौ, भीम शत्रुनाशक छन्, अर्जुन युद्धविजयी छन्, नकुल आवश्यक वस्तु जुटाउनमा कुशल छन्, सहदेव संयमी छन् र ब्रह्मवेत्ताहरूमा शिरोमणि छन् , धर्मपरायणा द्रौपदी धर्म र अर्थको सम्पादनमा कुशल छिन् । तिमीहरू सबै एक आपसमा आत्यन्तिक प्रेम र सद्भावले एकजुट छौ । तिमीहरूको कसैले के बिगार्न सक्दछ र ? सकल देवता लड्न आए भने पनि तिमीहरूलाई परास्त गर्न सक्ने छैनन् । हे भारत, तिमी इन्द्रबाट मनमा विजयको उत्साह प्राप्त गर, यमराजबाट क्रोधलाई नियन्त्रण गर्ने पाठ सिक, कुबेरबाट उदारता र वरुणबाट संयमको पाठ सिक । एक अर्काका हितमा आफूलाई लगाउने, सौम्यभाव र सबैलाई जीवनदान दिने शिक्षा जलदेवबाट ग्रहण गर । तिमी भूमिबाट क्षमा, सूर्यमण्डलबाट तेज, वायुबाट बल तथा समस्त भूतजगत्बाट आफ्नो सम्पत्ति प्राप्त गर, तिमीहरूलाई कहिल्यै रोग नलागोस्, सदा मंगल नै मंगल होस् । तिमीहरू सबैको कल्याण होस् । राजपुत्री आर्या कुन्ती वनमा जान योग्य हुनुहुन्न । उहाँ मेरा घरमा सम्मानपूर्वक रहनुहुनेछ । तिमीहरूका पुरोहित आचार्य धौम्य तिमीहरूका साथ रहनुहुनेछ । म बीच–बीचमा तिमीहरूलाई भेट्दै गरुँला । शिवास्ते सन्तु पन्थानः !
द्रौपदीले माता कुन्तीसँग विदा लिइन् । कुन्तीले स्नेहपूर्वक पुत्रवधू द्रौपदीलाई आलिंगन गरेर आँखाभरि आँशू भर्दै धेरै राम्रा–राम्रा अर्ती–उपदेश दिएर बिदा गरिन् ।
यसरी पाण्डवहरुको टोली वनतिर प्रस्थान गर्न लाग्यो । सारा नगरवासीहरू आँखाबाट आँशूको धारा वहाउँदै, विलाप गर्दै उनीहरू गएको देखेर ज्यादै दुःखित भए । पापी कौरवहरूलाई भर्त्सना गर्दै महात्मा पाण्डवहरूको प्रशंसा गर्न लागे । समस्त पाण्डवहरूको कल्याण–कामनाले उनीहरूको चित्त तरलित भयो ।
वनतर्फ प्रस्थान गर्दा युधिष्ठिर वस्त्रखण्डले मुख छोप्दै, भीमसेन आफ्ना विशाल बलशाली भुजाहरूतिर हेर्दै, अर्जुन बालुवा छर्दै, सहदेव मुखमा माटो दल्दै, नकुल अंगप्रत्यंगमा धुलो फ्याँक्दै अगि बढ्दै थिए भने कृष्णा द्रौपदीचाहिं आफ्नै केशले मुख छोपेर रुँदै युधिष्ठिरका पछि लागिरहेकी देखिन्थिन् ।
वास्तवमा आफूलाई छलपूर्वक हराइएकाले युधिष्ठिर क्रुद्ध थिए, अत एव मुहारमा क्रोधको झलक नदेखियोस्, आफ्ना भयानक दृष्टिले कुनै निरपराधी मनुष्य भष्म नबनोस्– भन्ने सजगताले उनले आँखा मुख ढाकेका थिए । भीमसेन आफ्ना बाहु–बलको सामर्थ्यप्रति भरोसा राख्दै एक दिन यिनै भुजाहरूले यिनीहरूलाई फाँडेर छोड्छु– भन्ने भावका साथ विशाल भुजातिर हेर्दै थिए । गाण्डीवधारी अर्जुन शत्रुहरूप्रति यसै गरी वाणवर्षा गरुँला– भन्ने संकल्प लिएर बालुवाको वर्षा गर्दै अगि बढेका थिए । सहदेवले यस्तो दुर्दिनमा कसैले मलाई नचिनोस्– भन्ने भावनाले मुखमा माटो पोतेका थिए भने सुन्दरमूर्ति नकुल बाटामा मेरो रूप देखेर कुनै पनि स्त्री आसक्त नहोऊन्– भन्ने आशयले जिउभरि माटो पोतेर अगि बढेका थिए । उता द्रौपदीचाहिं आज म ज–जसका अन्यायले यो दुर्दशा भोग्दैछु अब आउने चौधौं वर्षमा ती सबैका स्त्रीहरू पनि यस्तै दुर्दशाका साथ आफन्तजनको मृत्युमा यसैगरी रुनेछन्– भन्ने संकेत गर्दै रुँदै अगि बढेकी थिइन् । धीरस्वभाव भएका पुरोहित धौम्यजी कुशाग्रलाई नैर्ऋत्य कोणतिर फर्काएर यमदेवता–सम्बन्धी साममन्त्रहरूको गान गर्दै ती पाण्डवहरूको अगि लागेका थिए । युद्धमा समस्त कौरवहरूको वध भएपछि उनीहरूका गुरुजनले पनि यसै गरी यमराजको गीत गाउनेछन्– भन्ने उनको संकेत थियो ।
उता, पाण्डवहरूको वन–गमनपश्चात् दृष्टिहीन महाराज धृतराष्ट्रचाहिं महामति विदुर र सञ्जयबाट उपर्युक्त सबै विवरण सुनेपछि आफूले भयानक गल्ती गरेको महसूस गर्दै दुवै हातले पापाशय–ग्रस्त आफ्नो बोझिलो शिर थामेर पछुतो मान्न थालेका थिए ।
……
इति महाभारत – सभापर्व
२०८२ साल कार्तिक १४ गते शुक्रवार । ॐअक्षरालयः ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 










