व्याकरणनामा-महायनसूत्र एवं श्री हरिप्रसाद शास्त्रीको नाममा प्रकाशित स्वयम्भू पुराणमा शाक्यमुनि बुद्धले नेपाल उपत्यका भ्रमण गरेको उल्लेख छ । सन् १८७७ मा डेनियल राइटद्वारा सम्पादित भई कलकत्ताबाट प्रकाशित शिवशंकर र पण्डित श्रीगुणानन्दद्वारा लिखित नेपालको इतिहासमा शाक्यमुनि बुद्धबाट तत्कालीन नेपाल उपत्यका भ्रमण भएको दाबी गरिएको छ । उक्त स्रोत अनुसार शाक्यमुनि बुद्ध मुख्य शिष्यहरू सारिपुत्र, मौद्गल्यान, महाकश्यप र आनन्द सहित ५ सय शिष्यहरूका साथ सत्तरी वर्षको उमेरको हाराहारीमा तत्कालीन भारतको श्रावस्तीबाट स्वयम्भू आएको उल्लेख छ ।

उक्त स्रोतहरूका अनुसार बुद्ध स्वयम्भू चैत्य र मञ्जुश्री चैत्यको भ्रमण गरेर पुच्छग्रा चैत्यमा बास बसेका थिए । त्यसपछि बुद्ध गुह्येश्वरी- बौद्ध र नमोबुद्ध पर्वतको दर्शनका निम्ति प्रस्थान भएको बताइएको छ ।

नमोबुद्ध काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित ऐतिहासिक एवं प्रसिद्ध बौद्ध स्तूप हो । यो स्तूप तिब्बती बौद्ध धर्मावलम्बीहरूले मान्ने तीन महान् चैत्यहरू बौद्ध, स्वयम्भू र नमोबुद्ध मध्ये एक हो । नमोबुद्ध चैत्य पर्वत र जङ्गलको मध्यभागमा अवस्थित छ, र चैत्य सहित यहाँ धेरै स-साना बौद्ध गोन्पाहरू रहेका छन् ।

तर, शाक्यमुनि गौतम बुद्ध उनका महान् शिष्य भिक्षु आनन्दका साथ काठमाडौँ वा नमोबुद्ध आएका थिए भन्ने दृष्टान्तमा मूल त्रिपिटक ग्रन्थ र अन्य बौद्ध धर्मग्रन्थहरूमा चर्चा भएको देखिंदैन ।

यता स्थानीय किंवदन्ती फरक छ । कुनै समय तथागत बुद्धसँगै आनन्द, सारीपुत्र र यात्रारत अन्य १ हजार ३ सय ५० शिष्यहरू समेत लुम्बिनीबाट तत्कालीन काठमाडौं उपत्यका हुँदै नमोबुद्ध आएको विश्वास गरिन्छ । साथै, हाल नमोबुद्ध पर्वत अवस्थित गन्धमादन पर्वतमा बोधिसत्त्व मैत्रेयको अनुरोधमा पुरानो स्तूपको उत्खनन गरेको र उक्त स्तूप-उत्पत्तिको बारेमा शाक्यमुनि बुद्धले आगन्तुक र स्थानीयलाई ज्ञात गराएको मत बलियो छ ।

किंवदन्ती अनुसार नै गौतम बुद्ध उपत्यकाबाट नालाको बाटो पाञ्चाल सहर (पनौती) हुँदै कोजाग्रत पूर्णिमा अघिल्लो दिन त्यहाँ पुगेको मानिन्छ । साथै बुद्धले त्यहाँको अनुपम प्राकृतिक परिवेशको आनन्द लिँदै सबै शिष्यका साथमा कुसुमावनमा बास बसेको कथन छ । बुद्ध त्यो समय त्यहाँ पुग्दा धेरै रङ्गको फूलहरू पुलिरहेको र एउटा चैत्यजस्तै देखिने माटोको ढिस्कोबाट सुगन्ध फैलिएको थियो ।

त्यसपछि बुद्धले पृथ्वीको गर्भमा दबिएको उक्त ढिस्कोको उद्धार गरी श्रद्धापूर्वक आराधना गरेको र श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यो बखत गौतम बुद्धले चैत्यको भूतलमा गाडिएका केही गर-गहनाहरू झिकेर आफ्ना शिष्यहरूलाई देखाएका थिए । गौतम बुद्ध स्वयंको आराधनास्थल रहेकोले उक्त स्थानको नाम नमोबुद्ध रहेको मान्यता छ । गौतम बुद्धले महासत्त्व भनिने एक राजकुमारको रूपमा आफूले पूर्व जन्म लिएको रहस्य खुलाउँदै ती गहनाहरू फेरी गर्भ-गृहमै राखेर चैत्य मर्मतका लागि आज्ञा दिएको जनश्रुति प्रचलित छ ।

शाक्यमुनि बुद्धको सबै क्रियाकलापमा भिक्षु आनन्दको साथ र सहयोग रहन्थ्यो । त्यति बेला नै भिक्षु आनन्दले  बुद्ध समक्ष सबै गतिविधि रहस्योद्घाटनको लागि बिन्ती गरेका थिए, “भगवान् ! यो पार्थिव ढिस्कोमा के रहस्य लुकेको छ, हामीलाई पनि कारणको ज्ञात होस् ।”

आनन्दको अनुरोध सुनेर बुद्धले उपस्थित सबै शिष्यहरूलाई भनेका थिए,

मैले श्रद्धाञ्जली अर्पण गरेको ढिस्को पुरानो चैत्यको अवशेष हो यसको गर्भगृहमा राजकुमार महासत्वको अस्थि , जो भावनात्मक रूपमा प्राणीहरूको हितका लागि जन्मेका थिए उनले एक भोको बघिनीलाई मासु र रगत अर्पण गरेर आफ्नो बलिदानी दिएका थिए । महासत्वको यो समर्पणले बाघ र तिनका बच्चाहरूको ज्यान बचेको थियो । त्यसैले म यो चैत्यमा नतमस्तक बनेको हुँ । शिष्यहरू, यो चैत्य नमनका लागि योग्य , चैत्यलाई प्रणाम गर्नुहोस्

त्यसपछि बुद्धले आफ्नो सुनौलो हातले भुईँ मा तीन पटक पञ्जाछाप लगाए । पृथ्वी छ पटक थरथर काँप्यो, र भुईँ फाट्यो । त्यस स्थानमा चम्किलो प्रकाश उत्सर्जित भएको सुवर्णरत्न जडित चैत्य निस्कियो ।

त्यसपछि भगवान् बुद्धले शिष्य आनन्दलाई रत्नजडित चैत्यबाट सुनको फूलदानी ल्याउन भन्नुभयो । आनन्दले रत्नजडित चैत्यबाट सुनको फूलदानी लिएर बुद्धलाई दिए । त्यसपछि बुद्धले यो सुनको फूलदानीलाई सङ्घको बीचमा राख्नुभयो, प्रणाम गर्नुभयो र सङ्घलाई पनि त्यसै गर्न भन्नुभयो । भगवान् बुद्धले राजकुमार महासत्वको अवशेष सहितको यो सुनको फूलदानी यो युगको ९ सय ७४ औं वर्ष भाद्र शुक्ल पक्षको बाह्रौँ दिनमा स्थापना भएको बताउनुभयो ।

सारमा सुवर्ण-कलशमा महासत्वको अस्थि राखेर हिरण्यगिरीमा स्थापित सप्तरत्न चैत्यलाई आज नमोबुद्ध भनिन्छ । लामो समय नमोबुद्ध चैत्य पृथ्वीको गर्भमा भासिएको किंवदन्ती छ ।

त्रिपिटकाचार्य भिक्षु धर्म रक्षितले करिब ७५ वर्ष अगाडि आफू नमोबुद्ध आएर लेखेको संस्मरणात्मक यात्रा आलेखमा समेत यो कुरा उल्लेख गरेका छन् । उनको नेपाल यात्रा पुस्तक गंगा फाईन आर्ट प्रेस, लखनउले प्रकाशन गरेको थियो, जुन हिन्दुस्तानी एकेडेमी पुस्तकालय इलाहबादको डिजिटल प्रतिलिपिमा पढ्न सकिन्छ ।

शाक्यमुनि बुद्ध स्वयंले काठमाडौँ उपत्यका र नमोबुद्ध पर्वत भ्रमण नगरेको मतमा विश्वास गर्नेहरूले यथार्थमा गौतम बुद्धका प्रमुख उत्तराधिकारी आनन्दले सप्तरत्न चैत्यको उत्खनन र नवनिर्माण गरेको विश्वास गर्दछन् । उक्त मतानुसार आनन्दको आज्ञा पाई अन्य भिक्षुहरूले पृथ्वीको गर्भबाट सुवर्ण कलश सहित महासत्वको अस्थि निकालेर चैत्यको उत्खनन र नवनिर्माण गरेको मानिएको छ । यो जनश्रुतिलाई भने बौद्ध धर्मग्रन्थहरूको साक्ष्यमा अस्वीकार गर्न सकिने धेरै आधारहरू छैनन् ।

नमोबुद्ध पर्वतको नाम हिरण्यगिरी, गन्धमादन, ग्रन्धकुट एवं योगाकुल पर्वत हुँदै सुवर्णगिरी पनि कहलिएको मानिन्छ । पाञ्चाल देशको नामुरा जंगललाई पनि नाम्वुरा, नाम्वुडा, नाम्मुढा आदी अपभ्रंश हुँदै आएको हो । पाञ्चाल देशको नाम समयान्तरमा पनौतीको रुपमा रूपान्तरण भएको विश्वास गर्ने गरिन्छ ।

महासत्वको जन्मभूमि मानिएको ‘नमोबुद्ध’ सम्भवतः शाक्यमुनि बुद्धको पूर्वजन्मको कथा जोडिएको बौद्ध तीर्थस्थलहरूमा एक मात्र प्रसिद्ध स्थान हो । यो अर्थमा नमोबुद्धलाई ‘लुम्बिनी’ जस्तै पबित्र र विश्व-धरोहरको रूपमा विकास गर्नु आवश्यक छ । साथै महासत्वको जीवनी र शाक्यमुनि बुद्धका पूर्वजन्म प्रसङ्गका तथ्यपूर्ण कुराहरू अझै अन्वेषण हुनु पनि औचित्यपूर्ण छ ।

तसर्थ, अबको अङ्कमा महासत्वको दान पारमिता र शाक्यमुनि बुद्धको पूर्वजन्म प्रसङ्गको थप विवेचना प्रस्तुत हुनेछ ।

 (लेखक बौद्ध अध्ययनको दृष्टिकोणबाट नेपालको प्राकृतिक स्रोत व्यवस्थापन नीतिको अध्ययनमा विद्यावारिधि गर्दैछन् ।)