भारतीय नेपाली समुदायका चेतनाभित्र पादरी गङ्गाप्रसाद प्रधान एकजना दूबो व्यक्तित्व हुन् । समय अनि परिस्थितिले भुल्न खोज्ने अवसरहरूलाई पनि छिचोलेर आफ्नो उपस्थिति दिन सक्ने पादरी गङ्गाप्रसाद प्रधान दूबो सरह मौलाएका नाम हुन् । विविध सामाजिक सोंच अनि व्यवहारले विस्मृत हुन नसकिने, छोपेर अनि छलेर पनि पर राख्न नसकिने, इतिहासका प्रत्येक मोडमा स्मरण भइरहने व्यक्तित्व हुन् उनी । आजका अस्तिव अनि चिनारीका सन्दर्भमा त झन उनी यस्ता दस्तावेज हुन् जसलाई विश्वका सबै नेपाली भाषी समुदायले बचाएर राख्नुपर्ने हुन्छ ।
आज उनका १७२ औँ जन्म जयन्ती मनाइ सक्नु हामी भारतीय नेपाली भाषिक समुदायका लागि एउटा अर्थपूर्ण अभ्यास हो । आज अनि भविष्यका दिनसम्मका निम्ति निरन्तरता दिन पर्ने एउटा जातीय रमाहट हो । यस छोटो वार्ताभित्र उनका बारेमा धेर थोर न बताएर भारतीय नेपाली समुदाय अनि पादरी गङ्गाप्रसाद प्रधानका स्थान अनि अवस्थालाई केही चर्चा गरिने प्रयास यहाँ गरिन्छ ।
भारत स्वाधीन हुन अघिका धेरै घटनाहरूमध्ये दार्जिलिङमा ‘रेल चल्ने’ घटना एउटा महत्वपूर्ण घटना हो । दार्जिलिङमा रेल सेवा तत्कालीन शासकहरूका निम्ति सुख सुविधाका साधन हुनै सक्छन् । यद्यपि भारतीय नेपाली समुदायका निम्ति आपसी समन्वयताका एउटा आधारका रूपमा यस घटनालाई लिन सकिन्छ । तत्कालीन दार्जिलिङ अनि छिमेकी राष्ट्र नेपालको समाज-राजनैतिक अवस्था पनि एकाअर्कामा प्रभावित थियो । ती प्रभावहरूले आफ्ना राजनैतिक सिमानाबाट सहज यात्रा तय गर्दै नेपालदेखि बनारस अनि बनारसबाट दार्जिलिङसम्म एउटा अर्को यात्रा तय गऱ्यो जसले शैक्षिक, साहित्यिक, सामाजिक जस्ता पक्षहरूलाई ‘दार्जिलिङको रेल’ सँगै भित्रायो ।
यसै सन्दर्भलाई इतिहासकार कुमार प्रधानले[१]– सन् १८८० तिर रेल सेवाले दार्जिलिङलाई देशका अन्य भागसँग जोडिदिएको घटना महत्वपूर्ण मानेका छन् । गङ्गाप्रसाद प्रधानको समयदेखिनै धेरै लामो समयसम्म बस्नकालागि सुर्यबिक्रम ज्ञवाली, धरणीधर कोइराला दार्जिलिङमा नेपालबाट होइन तर बनारसबाट आएका थिए । यी दुई विद्वान नेपालका नागरिक भएर पनि दार्जिलिङमा आउँदा बनारसबाट आएका घटना वास्तवमा भारतीय नेपाली समुदायका आजका धेरै सरोकारहरूसँग खुबै महत्वपूर्ण ढङ्गमा अङ्कित छ । त्यो समय पादरी गङ्गाप्रसाद प्रधानको पनि भएकोले गर्दा यस अध्ययनको तात्पर्य उनको उल्लेखले पूर्ण हुन्छ । भारतीय साहित्यका इतिहासका ठेलीकाठेली पुस्तक लेख्ने अध्येता प्राध्यापक सिसिर कुमार दासले आफ्ना पुस्तकभित्र नेपाली साहित्य अनि यसका तत्कालीन गतिविधिबारे धेरैजग्गा उल्लेख गरेका छन् ।
भारतीय साहित्यका इतिहाससम्बन्धि उनका धेरै पुस्तकहरूमध्ये एउटा पुस्तकभित्र सन् १८०० देखि सन् १९१९ सम्मका विवरणहरू पाइन्छन् । उक्त पुस्तकको एघारौँ अध्यायभित्र The Literary Panorama शीर्षक रहेको एउटा लेखको अंश Activities in Nepali भित्र यस्तो लेखिएको पाउँछौँ, ‘Another literature which was passing through a phase similar to both Maithali and Rajasthani was Nepali. The difference in their situations was however obvious, as the majority of the Nepali speaking people were outside India. Nevertheless, it was not Kathmandu but Banaras which was the main centre of Nepali literary activities for a long time.[२]
बनारसमा त्यसक्षण नेपालबाट साहित्यिक अनि वौद्धिक युवा झुण्डहरू वैचारिक जमघट अनि अवसरका कारण नेपाली भाषा अनि साहित्यलाई एउटा मार्ग तयार गर्दै गरेको अवस्था थियो । यता भारतमा भने ब्रिटिशको शासनबाट मुक्त हुने विचारधारा निर्माण भइरहेको थियो । यस्तो समयमा पादरी गङ्गाप्रसाद प्रधान नेपाली भाषाका अग्रगामीका रूपमा दार्जिलिङमा कार्य गरिरहेका थिए । नेपालबाट बनारस अनि त्यहाँबाट दार्जिलिङ हुँदै नेपाली साहित्यको सक्रिय स्थल प्रसङ्गलाई उनले अर्को विचारअन्तर्गत यसै पुस्तकभित्र यसरी राखेका देखिन्छ ।-
It is interesting to note that there was a gentle rivalry between the Nepali scholars based at Banaras and those at Darjeeling, which was slowly emerging as another important centre of Nepali literary activity. Ganga Prasad Pradhan, an Indian Christian who translated the Bible into Nepali in 1876 and several stories for children, established his own press at Darjeeling and started a monthly journal Gorkhe Khabar Kagat (1901-1932), the first ever Nepali periodical, older by a few months than even Gorkha patra, published from Kathamandu.[३]
पादरी गङ्गाप्रसाद प्रधानबारे केही विचारहरू यसरी पनि आएका छन् जो पूर्वाग्रहपूर्ण छ । उनका कार्यलाई भन्दा उनका पृष्ठभूमि र भाषिक स्तरलाई जबर्जस्ती अघि ल्याएर विवादित बनाइएको घटना पनि छ । यसै सन्दर्भमा इतिहासकार कुमार प्रधानले पनि आफ्ना विचार यसरी राखेका भेटिन्छ-
Much ignored by the historians of Nepali literature, Rev. Ganga Prasad Pradhan (1853-1932) made a contribution of no lesser value. His pioneering works laid foundation for later achievements in Darjeeling….Beginning his education at a primary school opened by the Scottish Missionary Macfarlene, Ganga Prasad Pradhan became a Christian and started imparting education to children at Darjeeling through Nepali. He taught Nepali to a number of European missionaries and one of them, A. Turnbull, brought out his Nepali Grammar and English-Nepali, Nepali-English Vocabulary in 1887, the revised edition of which came out in 1904.[४]
सन् १८५७-१८८५ सम्म भारतीय साहित्यको इतिहासमा धेरै घटनाहरू घटेका छन् । यस सन्दर्भमा उत्तरपूर्वी क्षेत्र असम राज्यको उल्लेख गर्ने क्रममा- सन् १८३६ मा असमी भाषालाई हटाएर बङ्गला भाषा सम्पूर्ण विद्यालय अनि कोर्ट कचहरीमा अनिवार्य बनाइएको थियो । बङ्गालका विद्वान अनि तत्कालीन बङ्गाली अधिकारीहरूका प्रभावमा परेर ब्रिटिशले यसो गरेका थिए । तर त्यसको विरोध भयो । वुद्धिजीवीहरू अघि आएर असमको भाषिक चिनारी बचाउन लागिपरे । अमेरिकन मिसिनेरी डा.माइल्स ब्रोनसन्, डा. नाथन ब्रावन अनि एकजना हिन्दुदेखि इशाईमा परिवर्तित व्यक्ति निधि लेवी फेर्वेल आदिले यसको नेतृत्त्व गरेका थिए । यसरी नै तत्कालीन असमी भाषाका एकजना विद्वान लेखक आनन्दराम ढेकियाल फुकनले अङ्ग्रेजीमा अति तार्किक दस्तावेज तयार गरेर प्रकाशित गरेका थिए ।
उनले- A Few Remarks on the Assamese Language and on Vernacular Education in Assam, 1855. [५] लेखेर तत्कालीन समुदायलाई सजग बनाएका थिए । उनका उक्त लेखको प्रभाव त्यतिबेला दह्रिलो भएन । सन् १८५९ मा उनको मृत्यु भयो तर सन् १८७३ मा बङ्गाली भाषालाई हटाएर पुनः असमी भाषालाई नै स्थापित गर्नु सरकार वाध्य भएको इतिहास पाइन्छ । यसरी असमका दुई समुदायभित्र भाषिक दाग त्यतिबेलादेखि आजसम्म पनि रहेको देख्न सकिन्छ । यस घटनाको उल्लेख यहाँ किन सान्दर्भिक छ? भन्ने जिज्ञासा उत्पन्न हुन सक्छ ।
तत्कालीन भारतीय नेपाली भाषी समूदायका समय र अवस्था चिन्ताजनक थियो । तथापि गोर्खे खबर कागत प्रकाशन कालपछिका तत्कालीन नेपाली भाषी समाजभित्र नेपाली भाषाको स्थितिप्रति यहाँका मानिसहरूमा चिन्ता बढ्न थालेको थियो । यस कुराको पुष्टि सन् १९१३ सालमा खरसाङमा गोर्खा जन पुस्तकालय-को स्थापना घटनाले गर्दछ । गोर्खा जन पुस्तकालय स्थापना भएपछि मानिसहरूमा धेरै विचार-विनिमय गर्ने एउटा सहज अवसर मिल्यो ।
सामुदायिक भेला अनि विचारका क्रममा तत्कालीन समाजले आफ्ना सामाजिक, राजनैतिक, शैक्षिक, आर्थिक, साहित्यिक जस्ता पक्षहरूलाई राम्ररी नजिकबाट हेर्ने अवसर प्राप्त गरे । यसको प्रतिफल सन् १९१९ मा चन्द्रिका पत्रिकाको प्रकाशन एउटा उल्लेख्य घटना हो । सर्वभारतीय स्तरमा भारतीय नेपाली भाषी समुदायका निम्ति स्वातन्त्र्योत्तर कालमा देखा पर्ने राजनैतिक सङ्कटका निम्ति एउटा राजनैतिक पार्टी सन् १९४३ मा अखिल भारतीय गोर्खा लीग-को गठन हुन्छ । उक्त पार्टीको गठनले, तत्कालीन नेपाली भाषी समाजका सङ्क्रमणकालीन स्थितिलाई दह्रिलोसँग प्रतिनिधित्व गरेको इतिहास छ ।
यसै सन्दर्भमा डा.कुमार प्रधानको भनाइ यस्तो भेटिन्छ- ‘देशले स्वाधीनता पाउन आँट्दा अनिर्दिष्ट भविष्य सोचेर सामाजिक चेतना आइसकेका र केही धमिलो राजनीतिक रङ्ग चढेका संस्था अघिदेखि खोल्दै आएका नेपालीले जातीय भावनाको आधारमा आफ्नो राजनीतिक सङ्गठन गोर्खा लीग खोल्यो ।[६] यो पार्टी गठन भएपछि, सामुदायिक अभिव्यक्तिका मार्गमा साहित्यिक सिर्जनशीलतासँगै राजनैतिक विचार अनि गणतान्त्रिक चेतनाको पनि विकास हुने सजिलो मार्ग बन्यो । यस राजनैतिक पार्टीले आफ्नो मुख-पत्र गोर्खा पत्रिका प्रकाशन गरेर साहित्यिक सिर्जनशीलतासँगै गणतान्त्रिक चेतनाको विकास गर्ने कार्य पनि गऱ्यो । साहित्यिक सिर्जनशीलताअन्तर्गत कविता रचना मानिसका निम्ति लोकप्रिय माध्यम पनि बनेर गयो । भारतीय नेपाली भाषी समुदायका पक्षमा यस पत्रिकाले आफ्नो पचास वर्षे लामो साहित्यिक यात्रा तय गऱ्यो ।[७] यसका क्रममा गोर्खा-ले एउटा राजनैतिक पार्टीको मुख-पत्र मात्र नभएर स्वतन्त्रता पूर्व र स्वातन्त्र्योत्तर कालको दह्रिलो स्वर भएर आफ्नो गौरवमय यात्रा तय गर्न सफल भयो ।
गोर्खे खबर कागत देखि अखिल भारतीय गोर्खा लीग को स्थापना कालसम्म आइपुग्दा अन्य धेरै महत्वपूर्ण संस्थाहरू, साहित्यिक गतिविधि एवम् पत्र-पत्रिकाहरूको उपस्थितिको पनि यहाँ उल्लेख गर्न आवश्यक छ । कवि धरणीधर शर्मा, सूर्यबिक्रम ज्ञवाली, पारसमणि प्रधान आदि जस्ता कविहरूले तत्कालीन समयलाई प्रतिनिधित्व गरेका थिए । यसै कालमा बनिएका संगठनहरू, सङ्घ संस्थाहरू, भाषाको जागरूकता, समाजप्रति समर्पण, राजनैतिक दलको गठन र सामाजिक जागरूकता फैलाउने प्रयास आदि जस्ता कुराहरूले गणतान्त्रिक चेतनाको आधार निर्माण गर्दै लगेको देखिन्छ । यस अवधि हुने गरेका साहित्यिक भेला, विचार आदान-प्रदान, स्वदेशी सत्ताको प्रभाव अनि त्यसबाट हुने क्षतिको अनुमान आदि जस्ता कुराहरूलाई उल्लेख गर्न ती अग्रगामी सामाजिक नेतृत्वका चर्चा वर्तमानमा महत्वपूर्ण हुँदै आएको भेटिन्छ ।
भारत स्वाधीनता अघिका महत्वपूर्ण तीनवटा घटनालाई राख्दै भारतीय नेपाली समुदायमा गणतान्त्रिक चेतनाको आधार निर्माणबारे चर्चा गर्दा-
(क) सन् १९०१ मा स्थापित द गोर्खा प्रेस अनि त्यसै कालमा प्रकाशित गोर्खे खबर कागत ।
(ख) सन् १९१३ मा स्थापित खरसाङको गोर्खा जन पुस्ताकालय, सर्वभारतीय स्तरमै प्रथम
संस्थानको स्थापना ।
(ग ) सन् १९४३ मा अखिल भारतीय गोर्खा लीग, एउटा राजनैतिक दलको गठन ।
भारतीय नेपाली समुदायमा गणतान्त्रिक चेतनाको विन्दु खोज्दै जाँदा सन् १९०१ सालमा द गोर्खा प्रेस-का मालिक साथै यसैबाट प्रकाशित गोर्खे खबर कागत् -का सम्पादक पादरी गङ्गाप्रसाद प्रधानसम्म पुग्नुपर्ने हुन्छ । तत्कालीन भारतीय समाज उपनिवेश कालमा थियो । उपनिवेश कालमा अङ्ग्रेजका उद्देश्य प्रशासनिक, धार्मिक एवम् सामाजिक जस्तै भए तापनि स्थानीय भाषामा पादरी गङ्गाप्रसाद प्रधानको एउटा मौलिक भजन रहेको जानकारी प्राप्त छ । वास्तवमा यस रचना सन् १८९० सालमा तयार भएर एउटा गीत सङ्ग्रहभित्र रहेको कुराको उल्लेख पनि पाइन्छ । उपनिवेश कालको प्रभावअनुरूप उक्त गीतको शब्द सत्ता सोंचअनुरूप सम्पादन गरिएको उल्लेख पनि भेटिन्छ ।[८]
जस्तै-
प्रभु अर्जी सुनिलेऊ
गोर्खालीले मुक्ति पाउने ढोका खोलिदेऊ !
पूर्व पश्चिम दक्षिण दिशा अंग्रेज बहादुर छन्
उत्तर तिब्बत मध्ये नेपाल गोर्खालीका कूर छन् ।
उठ भाइ हो, जानै पर्छ, पचाई निन्दा लाज
धन जन चैन र सुख त्यागी, गर्नु धर्मकाज ।[९]….
उक्त रचनाले उपनिवेश कालमा यहाँका गोर्खाली जातिलाई इंगीत गर्दै ईश्वर वन्दना गरिएको छ । यस भजनमा ईश्वर वन्दनासँग-सँगै गोर्खाली जातिको चिन्ता गरिएको छ, चारै दिशातर्फ सङ्केत गरेर एउटा अनुनय-विनय गरिएको छ । उक्त भजनलाई स्वतन्त्रता पूर्व भारतीय नेपाली कवितामा गणतान्त्रिक चेतनाको आधार विन्दुको रूपमा मान्न सकिन्छ ।
पादरी गङ्गाप्रसाद प्रधान अनि भारतीय नेपाली समुदाय एकैसाथ इतिहासमा अङ्कित देखिन्छ । उनका नामका अघि धेरैले ‘पादरी’ भन्नु नहुने जस्ता विचार पनि गर्दै आएका छन् । भारतीयता नै बाहुल्यताको पर्याय हो । भारतीय नेपाली भाषा अनि साहित्यको शुरुवाती दिनहरूमा एकजना इशाई व्यक्तिले यसको नेतृत्व गरेका थिए भन्नमा हामीलाई सङ्कोच नहुनु पर्ने हो । एउटा अर्थमा ब्रिटिश शासनले केवल धार्मिक कुरालाई मात्र ध्यान दिएर आफ्ना छाप छोडेका थिएनन् । धार्मिक चेतना मात्र नभएर सामाजिक सचेतना अनि निर्बलहरूलाई उत्थान गर्ने कार्य पनि गरेका थिए ।
यस वार्तामा असमको प्रसङ्ग उल्लेख गरिँदा त्यहाँको भाषिक संरक्षण गर्न पनि अर्का एकजना गैर-भारतीय, एकजना इशाई व्यक्ति नै थिए । सर्वभारतीय रूपमा गोर्खाहरूका माउ संस्था सन् १९१३ मा गोर्खा जन पुस्तकालय स्थापना गर्ने व्यक्ति जोम्बे पावेल पनि एकजना इशाई नै रहेका कुरा इतिहासले बताउँछ । उनीहरूका नाम इतिहासमा अङ्कित छन् । यसैले पादरी गङ्गाप्रसाद प्रधानलाई पनि उनका नामका अघि पादरी शब्द थप्नुमा कुनै अनर्थ होइन बरु भारतीय नेपाली समुदाय र गङ्गाप्रसाद प्रधानका सन्दर्भमा एउटा विशेषता नै हुन जानेछ । अन्त्यमा, पादरी गङ्गाप्रसाद प्रधान अनि भारतीय नेपाली समुदाय सँगै अघि बढेको एउटा यथार्थ हो । सामाजिक, धार्मिक, साहित्यिक अनि राजनैतिक गतिविधिहरूसँग मिलेर बसेको एउटा दस्तावेज हो ।
[१] कुमार प्रधान, सन् २०२० (पहिलो रिप्रिन्ट), अ हिस्ट्री अफ् नेपाली लिटरेचर, दिल्ली:साहित्य अकादमी, पृष्ठ-४७-४९
[२] सिसिर कुमार दास, सन् २०२०(६ औँ रिप्रिन्ट, पहिलो प्रकाशन सन् १९९१), अ हिस्ट्री अफ् इण्डियन लिटरेचर (१८००-१९१०) वेस्ट्रन इम्प्याक्ट: इण्डियन रेस्पोन्स, दिल्ली: साहित्य अकादमी, पृष्ठ- २३६
[३] सिसिर कुमार दास, सन् २०२०(६ औँ रिप्रिन्ट, पहिलो प्रकाशन सन् १९९१), अ हिस्ट्री अफ् इण्डियन लिटरेचर (१८००-१९१०) वेस्ट्रन इम्प्याक्ट: इण्डियन रेस्पोन्स, दिल्ली: साहित्य अकादमी, पृष्ठ- २३६-२३७
[४] कुमार प्रधान, सन् २०२० (पहिलो रिप्रिन्ट), अ हिस्ट्री अफ् नेपाली लिटरेचर, दिल्ली:साहित्य अकादमी, पृष्ठ-४७
[५] सिसिर कुमार दास, सन् २०२० (छैटौँ रिप्रिन्ट, पहिलो प्रकाशन सन् १९९१), अ हिस्ट्री अफ् इण्डियन लिटरेचर (१८००-१९१०) वेस्ट्रन इम्प्याक्ट: इण्डियन रेस्पोन्स, दिल्ली: साहित्य अकादमी, पृष्ठ-१३८
[६] कुमार प्रधान, सन् २०१० दोस्रो संस्करण, पहिलो पहर, नेपाल:साझा प्रकाशन, पृष्ठ-३६-३७
[७] नरबहादुर दाहाल, सन् २०१५, गोर्खा महानायक डम्बरसिंह गुरूङ, कालेबुङ: चरित्र प्रकाशन, पृष्ठ-८१
[८] सलोन कार्थक, सन् २००९, पादरी गंगाप्रसाद प्रधानको जीवन बखान, कलेनपुङ: बमबस्ती: सरिकर प्रकाशन, पृष्ठ-३९
[९] सलोन कार्थक, सन् २००९, पादरी गंगाप्रसाद प्रधानको जीवन बखान, कलेनपुङ: बमबस्ती: सरिकर प्रकाशन, पृष्ठ- ३९
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।