ज्ञानको समुच्च तह ‘सम्यक् सम्बोधि’ हो, र जसलाई त्यो ज्ञान प्राप्त हुन्छ त्यो नै सम्यक् सम्बुद्ध हुन्छ भन्ने गरिन्छ । सम्यक् सम्बुद्धलाई बोलीचाली भाषामा बुद्ध भनिन्छ ।
विज्ञान व्यवस्थित ज्ञान वा ज्ञान आर्जनको विधि हो जुन विचार, अवलोकन, अध्ययन, वा प्रयोगले प्राप्त बोध गर्ने स्थिति सिर्जना हुन्छ । साथै यो विधिको उपयोग विषयको प्रकृति, सिद्धान्त, साध्य वा सूत्रहरू बुझ्न गरिन्छ ।
बुद्ध र विज्ञान तुलनात्मक छैनन्, अर्थात् फरक गुण वा भाव बुझाउने शब्दहरू हुन् । तर अध्ययनमा यी शब्दहरू सँगसँगै प्रयुक्त हुने गरेको देखिन्छ । बुद्धमा अन्तर्निहित विज्ञान र विज्ञानवादी दृष्टिकोणबाट बुद्ध बुझ्ने प्रयत्नहरू धेरै हुन थालेको छ । उल्लेखित शब्द नामहरू अन्तर: विषय (इन्टरडिसिप्लिनरी) अध्ययनमा अति सान्दर्भिक छ, जसलाई पुष्टि गर्न धेरै मेहनत गर्नुपर्दैन । धेरै शोधहरूमा ‘बुद्धिजम एण्ड साइन्स’ को प्रयोग गरिएको छ, तर नेपालीमा ‘बुद्ध-धर्म र विज्ञान’ वा ‘बुद्धवाद र विज्ञान’ भन्दा लेखकको मस्तिष्कले ‘बुद्ध र विज्ञान’ बढी प्रयुक्त ठानेको हो । तदनुरूप नै यो जीवन र जगतको यो अङ्कको नामकरण जुरेको हो, अझ भनौं जुराइएको हो ।
कुनै समय ‘बुद्धिजम’ वस्तुनिष्ठ दर्शन मात्र थियो, र पछि भने धर्ममा रूपान्तरित भयो । दर्शनको रूपमा ‘बुद्धिजम’ को अस्तित्व र स्थायित्वको खोज गर्ने हो भने विज्ञानलाई पृथक् गर्न सकिंदैन । गौतम बुद्धको महापरिनिर्वाणपछि प्रारम्भिक कालका सबै कृत्यहरूमा सत्यको खोज एवं प्रमाणिकताको लागि पर्याप्त वैज्ञानिक अन्वेषण भएको देखिन्छ । कालान्तरमा प्रमाणिक अभ्यासहरू जति जीवन र जगतको लागि सांस्कृतिक प्रणालीमा समाहित भयो, त्यसमाथि मान्छेको विश्वास अभेद्य हुन थाल्यो । आफ्नो अनुभूतिहरूलाई मानिसले जतिखेर मनोविज्ञानको रूपमा परिभाषित गर्न थाल्यो, अभ्यासहरूको अस्तित्व जड बन्दै गयो, र धर्मको विकास हुने गरेको पाइन्छ ।
बौद्ध दर्शनलाई प्रयोगात्मक कडीमा विज्ञानले प्रशस्त अनुसन्धान गरिसकेको छ । दार्शनिक विद्वानहरू र भौतिक शास्त्रीहरूको बेमेल गठजोडले पनि पूर्वीय अध्यात्मका विचारहरूको यान्त्रिक स्थितप्रज्ञको परिक्षण हुने गरेको छ । साथै अन्तर -सांस्कृतिक चेतनाहरूमा दार्शनिक विद्वानहरूले दिएको सुझावलाई विज्ञानले मिथ्या साबित गरेको छैन । विलियम एल.एम्स., म्याथ्यु रिकार्ड र स्टीफन लाबर्ग लगायत पश्चिमा सोधकर्ताहरूको दृष्टिकोणहरूमा बुद्धतत्वका धारणाहरू परस्पर अन्तर्घुलित छन् । तिनीहरूका निबन्धहरूले रचनात्मक रूपमा दर्शन र विज्ञानको सन्निकटतालाई दर्शाइरहेको छ । यस अन्तर्गत बौद्ध दर्शनसँग क्वान्टम सिद्धान्तको सम्बन्ध, मस्तिष्कको अनुसन्धान र आध्यात्मिक चिन्तनशीलता एवं योगको अभ्यास र अनुशीलताको उपयोगिता समेत पर्दछन् ।
प्रतित्यसमुत्पाद बुद्ध-विचारहरूको मेरुदण्ड हो । प्रतीत्यसमुत्पाद बुद्ध-विचार अन्तर्गत मानिसको जीवनमा क्रियाशील प्रकृति प्रदत्त शाश्वत नियम मानिन्छ । यो नियम अनुसार कार्य वा फललाई कारणमा जोड्दै कार्य-कारण-परिणाम बिचको शृङ्खलामा जीवन र जगतलाई बुझ्ने गरिन्छ ।
मैले भोगेको सशक्त उदाहरण प्रस्तुत गर्दै छु, त्यसले यो सिद्धान्त-नियमलाई थप प्रस्ट पार्छ है त –
सन् २०२२ को जनवरीको पहिलो दिन अर्थात् नयाँ वर्ष, सानो दुर्घटनाले मेरो बायाँ गोडा डाक्टरी भाषामा सानो ‘क्र्याक’ भएको थियो । तद्उप्रान्त एक महिना गोडा प्लास्टर गरी घरमा बस्न बाध्य भएँ । आखिरमा विज्ञानले पनि त एउटा मान्छेको शारीरिक पिडा अर्को मान्छेमा हस्तान्तरण गर्न असक्षम नै छ । अन्यथा मेरो सट्टा भर्नामा आफूले चाहेको एक जनालाई गोडा प्लास्टर गराइदिएर सम्भवतः म चैँ दौडधुप गरिरहन्थे कि ? अर्थात् प्रतीत्यसमुत्पाद नियममा मानिसले जीवनमा आफ्ना इन्द्रियहरू र त्यसमा उत्पन्न हुने दुःख र सुख भोग गर्दै आफैले गर्नुपर्ने शाश्वत सत्य छिपेको छ, जुन अभेद्य छ ।
प्रतीत्यसमुत्पाद अन्तर्गत प्रतिलोम-सत्य आलोचना सम्मत समेत देखिंदैन, जसलाई उत्पत्ति, अविद्या र विपश्यनाको ज्ञानवाट बिस्तारमा बुझ्न सकिन्छ । धम्मको शाश्वत नियमले संस्कारबीच प्राप्त गरेको मान्छे दुःखचक्र, भवचक्र तथा लोकचक्र उत्पत्ति भइरहेको र विपश्यनाद्वारा दुःख नाश गराई निर्वाणको प्राप्ति गरेमा कुनै पनि क्लेषमुक्त हुने भनिएको छ । आखिरमा निराग, सङखार, नामरूप, सलापतन, वेदना, तृष्णा, जाति, उपादान लगायत प्रतिलोम सत्यको प्राप्तिपछि मान्छे निर्गुण वा निरभिमान हुनुको रहस्यको पछि विज्ञान किन लागिरहनु पर्थ्यो र ?
साथै बुद्धका प्रख्यात सिद्धान्तहरू चार आर्य सत्य, अनित्यता, दुःख र चित्तप्रभास्वर, परिवर्तनवाद, अनात्मिकता, नास्तिकता लगायत समेत प्रतीत्यसमुत्पादका परिणाम मानिन्छ । यी लगायत कर्म सिद्धान्तहरू परम्परामा मात्र नभई प्रयोगात्मक रूपमा समेत अद्वितीय लाग्दछ । कार्यको स्वतन्त्रता सबैमा छ भने अतिरिक्त चेतनाको अभावमा कर्म-फल प्रणाली बन्दैन र चेतनाले नै त्यो प्रणाली व्यवस्थित बन्दछ । भगवान् बुद्धले कर्मलाई ‘चेतना’ भनेका छन् र कार्य प्रणाली एवं परिणामको रूपमा आफ्नो सुख र दुःखको जीवित प्राणीहरू स्वयं जिम्मेवार रहन्छन् । मानिसको कार्य प्रणालीमा आ-आफ्नो गुणहरू निमेष भइरहेका हुन्छन्, जस अन्तर्गत शरीर, बचन, हृदय, कर्मेन्द्रिय प्रमुख हुन् । विज्ञानले पनि सत् साबित गरी आज प्रयत्न गरिरहेको जैविक उमेर-उत्सर्जनको अनुसन्धानको आधार एउटै हो ।
बुद्ध असीम गुणबेत्ता थिए, र उनको प्रयोग एवं परिणामको बारेमा जति अनुसन्धान भैरहेको छ, त्यो अपूर्ण छ । बुद्धका गुणहरूलाई ३२ महापुरुष लक्षण र ८० अनुव्याज गुणयुक्त मानिन्छ । यस्ता प्रकृति-पुरुषले संसारका धेरै ब्रह्माण्डहरूमा एकैसाथ आफ्ना क्रियाकलापहरू गर्न सक्ने बताइएको छ ।
विज्ञान भौतिक, रासायनिक, जैविक कारक, प्रक्रिया र प्रकृतिका नियम तथा ज्ञानको अध्ययन गर्ने विधा हो, र यो अन्वेषण उपक्रमको आरम्भ मानवको अस्तित्व जत्तिकै पुरानो छ । मान्छेले हामी यहाँ कसरी, किन र किन आइपुगेका छौं जस्ता प्रश्नहरूमा घोत्लिँदै आध्यात्मिक, नैतिक र स्वत्वको जीवनतर्फ मोडिएको थियो र धर्मको उत्पत्तिले परिष्कृत बनाउँदै लग्यो । त्यसै गरी विचारमा धर्मले प्रभुत्व जमाउन थालेपछि वैज्ञानिक र प्राविधिक ज्ञानले मानव अस्तित्वलाई सहजता दिन नवीनतम आविष्कारहरू गर्न पुग्यो । लामो समय आध्यात्मिक र भौतिकवादीहरूको तार्किक भिडन्त हुन पुग्यो, र यो विषयको संघर्ष अहिले पनि जारी छ ।
बुद्ध बिचारहरूको विज्ञान-अनुकूल स्वभाव र तार्किक अन्तरक्रियामार्फत प्राप्त केही परिणामहरू निम्न प्रकारले उद्धरण गर्न सकिन्छ :
– बुद्धले आलोचनात्मक र वस्तुनिष्ठ रूपमा सोच्न सक्ने क्षमतामा मानव आफूले विकास गर्न सक्ने बताएका छन् । त्यसै गरी योगको माध्यमले ऋद्धि प्राप्त गर्ने र सबै चिन्तनभन्दा माथिको बिचारको ज्ञात अनुभूति हुने कुरा बताएका छन्, जसलाई विज्ञानको अनुसन्धानले पुष्टि गरेको छ ।
– बौद्ध धर्मका प्रमुख सिद्धान्त अस्थायित्व (अनिका) र परिवर्तन (विपरिनामा) लाई प्राकृतिक चयन र योग्यतम अस्तित्व स्थितिको मापनमा माध्यमको रूपमा आधुनिक अवधारणामा अनुसरण गरिएको छ ।
– असीमित र अनन्त ब्रह्माण्डहरूको खोजी अन्त्यहीन हुनेछ, र त्यो प्रक्रियामा उत्पन्न हुने, परिवर्तन हुने र लोप हुने प्रक्रियामा अनन्त प्रवाह छ, जुन कुरा विज्ञानले पुष्टि गरेको छ छ ।
ü व्यक्तिलाई अन्तरनिर्भर मनोवैज्ञानिक समुच्चयहरूको यौगिकको रूपमा तथा बस्तुहरू मिश्रित र कारण एवं प्रभावको यौगिकको रूपमा रहने कुरा सर्वसत्य छ । चित्तले प्रक्रियाको रूपमा पुनर्जन्म खोज्ने कारकलाई विज्ञानले असत्य सिद्ध गरेको छैन ।
– चार आर्य सत्यहरू, आर्य अष्टाङ्गिक मार्ग र उत्पत्तिको आधारभूत सिद्धान्तहरूले विश्वव्यापी रूपमा मान्यता प्राप्त गरेको छ ।
– बुद्धले छैटौं इन्द्रियको चित्त-मनलाई मान्यता दिएका छन्, जसको कार्यलाई सूक्ष्म रूपमा विश्लेषण गरिएको छ । ध्यानको माध्यमबाट हृदयको विकास र उद्धारको मार्गको रूपमा ध्यानको उच्च अवस्थाहरूमा बुद्धले जोड दिएका छन् । यो ज्ञान मनोविज्ञानको अध्ययन र मनोचिकित्सामा प्रयोग भइरहेको छ, र विभिन्न बौद्ध अभ्यासहरूले आधुनिक मनोचिकित्सामा प्रभावकारी योगदान दिएको देखिन्छ ।
– बुद्धका सिद्धान्तहरूद्वारा सत्यको खोजी, नवप्रवर्तन र नवीनताको स्वीकृतिलाई प्रोत्साहित गरेको छ । मान्छेले भौतिक सहजताको लागि आजपर्यन्त यो कार्य जारी राखेको छ ।
– अनुभवजन्य प्रमाणहरूको आधारमा मान्छेले आफ्नो भाग्य र दुर्दशालाई व्याख्या गर्न सक्ने र पुनर्जन्मको बोध हुने कुरा बुद्धका शिक्षामा भेटिन्छ । यो कुरा बिस्तारै सर्वस्वीकार्य बन्दै गएको देखिन्छ ।
– बुद्ध धर्मसँग अन्तर्निहित विचारहरू अवलोकन, प्रमाणको मूल्याङ्कन, प्रयोग र नयाँ निष्कर्षहरूबाट प्रतिपादित र वास्तविकता एवं व्यवहारिकताको सन्निकट छ । जुन कुरा वैज्ञानिक अनुसन्धान विधिसँग मेल खान्छ ।
बौद्ध धर्म अन्तर्गत विशेषतः महायान र वज्रयान परम्पराहरूमा हुने अनुसन्धानहरू अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सामान्य सिद्धान्तहरू र नील्स बोहर एवं वर्नर हाइजेनवर्गद्वारा प्रतिपादित क्वान्टम सिद्धान्त नागार्जुनाको अवधारणासँग मेल नै खान्छ । आजको वैज्ञानिक अनुसन्धान समेत अन्तर्ज्ञानमुखी एवं दार्शनिक आध्यात्मिक रुझानतिर झुकेको छ ।
अन्य कतिपय वैज्ञानिक विचार र विधि नागार्जुनाका विचारहरूसँग अझ बढी मिल्ने र माध्यमिक-प्रासङ्गिक दर्शनसँग सापेक्ष हुने निश्चित छ । एलन वालेसका अध्ययनहरू तिब्बती बौद्ध धर्ममा केन्द्रित छन्, र तिनीहरूले बौद्ध धर्म र विज्ञान बीचको व्यापक समानताहरू देखाउने प्रयत्न गरेको छ । तिब्बती ध्यान र न्यूरोसाइन्स बीचको सम्बन्धमा समेत लिङ्क जेम्स र अस्टिन लगायतले गहिरो अध्ययन गरिरहेका छन् ।
अन्त्यमा निचोड चाहिँ अति छोटो लेख्न मन लाग्यो, र त्यो हो “बुद्ध विज्ञान-सम्मत छन् र विज्ञान बुद्ध-सम्मत छ ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।