मोबाइल तथा भिडियो गेममा लामो समयसम्म बिताउने किशोर किशोरीहरूको निद्रा खलबलिइरहेको वर्षौंको अध्ययनले प्रमाणित त भएकै छ । यस कारण धेरै अभिभावकले आफ्ना सन्तानलाई सुत्नु घण्टौँअघि मोबाइल तथा गेमबाट जोगाउने प्रयास गरिरहेका छन् ।

डेभिड रेचेनबर्गर र उनको टोलीले भने वर्षौंको अध्ययनपछि एउटा निष्कर्ष निकालेको छ कि बालबालिका वा किशोरकिशोरीहरूलाई पहिलेको तुलनामा अहिले सुत्नेबित्तिकै निद्रा नलाग्ने समस्या बढ्दै गएको छ । उनीहरूलाई पहिलेको तुलनामा १० मिनेट ढिला निद्रा लाग्ने गरेको अध्ययनले देखाएको छ ।

टेलिभिजन मात्र हेर्नु र अन्य अन्तरक्रियात्मक सामग्री चलाउनुमा पनि फरक रहेको अध्ययनले देखाएको छ । टेलिभिजन हेर्दा निद्रा लाग्न केही समय लागे पनि अन्तरक्रियात्मक सामग्रीहरू जस्तै मोबाइलमा च्याट गर्नु लगायतका कार्यका कारण निद्रा लाग्ने समय लम्बिने देखिएको हो ।

त्यसैले यस्ता सामग्रीको उपयोग निदाउने समयभन्दा घण्टौँअघि नै भइसक्नुपर्ने र बन्द गर्नुपर्ने सुझाव विज्ञहरूको छ ।

एक दशकयता टेलिभिजन, मोबाइल तथा ट्याबलेटका कारण किशोरकिशोरीहरूको निद्रा कसरी खलबलिइरहेको छ, त्यसले के कस्ता दुष्प्रभावहरू जन्माइरहेको छ भन्नेबारे घनीभूत अध्ययनहरू भइरहेका छन् । तिनै अध्ययनहरूमध्ये लामो समयसम्म चलिरहेको अध्ययन यो पनि एक हो ।

अध्येताहरूले कस्तो स्क्रिनले बढी निद्रा खल्बल्याउँछ भन्नेमा निष्कर्षमा समेत पुग्न थालेका छन् । अन्तरक्रियात्मक स्क्रिनहरू अन्य स्क्रिनको तुलनामा बढी निद्राशोषक हुने विज्ञहरूको निष्कर्ष छ ।

पेन्सिलभेनिया राज्य विश्वविद्यालयले यो अध्ययनलाई एडोलसेन्ट हेल्थ नामक जर्नलमा प्रकाशन गरेको द टाइम्स अखबारले जनाएको छ । किशोर उमेर भन्नाले १५ वर्षसम्मका बच्चाबच्चीमा यो अध्ययन गरिएको बताइएको छ ।

बढी स्क्रिन समय लिने किशोरकिशोरीहरू ओछ्यानमा पल्टेको ३० मिनेटसम्म निदाउन नसक्ने देखिएको छ । अझ रोचक त के देखिएको छ भने, बजारमा आएको नयाँ गेम उनीहरूले खेलेका छन् भने त्यो खेलमा उनीहरू अभ्यस्त नहुञ्जेल निद्रा नलाग्ने अवधि अझ बढ्ने देखिएको छ ।

यो सर्भेमा ४७५ किशोरकिशोरीहरूलाई सहभागी गराइएको र उनीहरूले हरेक दिन गर्ने गतिविधिलाई अध्ययन गरिएको विज्ञहरूले जनाएका छन् । विज्ञहरू भन्छन्, ‘राम्रोसँग निद्रा नपर्ने किशोरकिशोरीहरूमा मोटोपनको समस्या बढ्ने, सुन्ने क्षमता अवरूद्ध हुने, संवेदनात्मक लय बिग्रनेदेखि मानसिक समस्यासम्म थपिने गरेको पाइएको छ ।’