लेखक तथा प्रकाशकको नाममा–

हिजोआज सामाजिक सञ्जालमा प्रकाशक र लेखकबीच असमझदारीको बारेमा व्यापक टिका टिप्पणी सुन्न तथा पढ्न पाइन्छ । आरोप, प्रत्यारोप र असन्तुष्टि कसरी जन्मिरहेका छन् भन्ने बारेमा थोरै अध्ययन पश्चात् पत्ता लागेका केही कुराहरू राख्ने अनुमति चाहन्छु । म आफै पनि विगत ३० वर्षदेखि यसै क्षेत्रमा कार्यरत भएकोले मोटामोटी कुराहरू मलाई थाहा छ भन्ने ठुलो भ्रम पनि छ ।

नेपाल यति सानो मुलुक हो कि खोजी गरे सबै कुरा थाहा पाउन सकिन्छ । जाबो किताब छापेको र बिकेको कुरा त सामान्य हो जस्तो लाग्छ । प्रकाशक, लेखक र वितरकसँग हुने चिया गफबाट पत्ता लाग्ने कुरा कुन चैँ महाभारत हो र ।

मानौँ तपाईंले उपन्यास लेख्नुभयो । छपाइको लागि प्रकाशकसँग सहमति भयो । मान्नुस् तपाईंको किताब लगभग ३०० पेजको छ । (यहाँ प्रकाशकसँग सहमति भन्नाले सम्पूर्ण लागत प्रकाशकले व्यहोर्ने भन्ने अर्थमा बुझ्नु जरुरी छ । लेखकले लागत व्यहाेर्ने हो भने त प्रकाशकसम्म जानै परेन । आफैले किताब छपाएर वितरकलाई दिए कुरै सक्कियो । आफ्नो लागतमा प्रकाशकको गुलाम बन्न कसलाई रहर होला र ।)

प्रोसेस सुरु हुन्छ कम्प्युटर टाइपबाट तपाईं मान्नुस् या नमान्नुस् एउटा टाइपिस्टले नेपाली टाइप गरेको ए४ साइजमा १६ पिटीको फन्टमा पेजको ४० रुपैयाँ लिन्छ । ३०० पेजको किताब लगभग २०० पेज ए४ मा हुन्छ । ८ हजार टाइपमा छुट्याउनुस् । तपाईं नेपाली फन्टमा टाइप गरेर दिनुहुन्छ भने मान्नुस् प्रकाशकको ८ हजार जोगियो ।

भाषा सम्पादनमा शब्दको १५ रुपैयाँसम्म लिने भाषाविद्हर हुनुहुन्छ । तपाईंलाई माया गरेर कसैले सम्पादन गरिदिए कम्तीमा शब्दको ५० पैसा हुँदो हो । ३०० पेजको किताबमा मानौँ ८० हजार शब्द छन् भने ४० हजार सम्पादनमा जाने भयो । सम्पादनमा यत्रो खर्च ? सवाल आउन सक्छ । सम्पादन पुस्तकको महत्त्वपूर्ण पाटो हो । लेखक आफै सम्पादककोमा जानु र एउटा प्रकाशक जानु व्यावसायिकताको हिसाबले फरक कुरा हो । व्यावसायिकतामा हरेक काम मूल्यमा आधारित हुन्छ भन्ने बुझ्नु पर्दछ । जान्नेले आफै गर्लान् सबै लेखक सम्पादनमा पोख्त हुँदैनन् । एउटा हलीले पनि हलोको कथा लेख्न पाउनुपर्छ ।

डिजाइनमा कभर र भित्री गरेर कम्तीमा २५ हजार छुट्याउनुस् । कागज तथा छपाइमा कम्तीमा १.५ लाख छुट्याउनुस् । विमोचन खर्च कम्तीमा ३० हजार छुट्याउनुस् । यति गरेपछि हजारप्रति किताब तयार हुन्छ । मार्केटिङ खर्च त छुट्टै छँदै छ । यहाँ पनि खर्चमा सवाल आउन सक्छ । तपाईँको हातमा पर्दा आहा ! भन्ने खालको पुस्तक छपाउनको लागि लाग्ने यो न्यूनतम लागत हो ।

अझ हार्डकभर भए त प्रति पुस्तक रु. १०० को दरले लागत बढ्न सक्छ । कामचलाउ हिसाबले लाग्ने भए अनेक विकल्प छन् तर प्रकाशकले कामचलाउ काम गर्दैन । तपाईँले देख्नु भएकै छ गुणस्तरकै लागि प्रकाशकहरूले विभिन्न जोखिम उठाएर विदेशमा समेत पुस्तक छपाई गरिरहेका छन् । मान्नुस् यो काम खर्चिलो छ ।

अब खुद्रा विक्रीको कमिसन । लेखकस्व । अनि मार्केटिङ खर्च कटाएर एउटा प्रकाशकको साँवा उठ्न कति प्रति पुस्तक बिक्नु पर्ला ? नेपालमा सामान्य पुस्तक त बिक्दै बिक्दैन । अलि पढ्न लायक पुस्तक मुस्किलले ५ सयप्रति बिक्ने हो । हजार बिक्नलाई त मदन पुरस्कार नै पाउनु पर्ने हुनसक्छ । म गलत छुइनँ भने एकै वर्षमा हजारभन्दा माथिको सङ्ख्यामा अहिलेको समयमा कुनै पनि पुस्तक बिक्दैन ।

अब मूल्यको कुरा गरौँ । ३०० पेजको पुस्तकको मूल्य कति राख्ने ? मानौँ ५०० । प्रकाशकको सुरु लागत २ लाख ५३ हजार छ । अब लेखकको पुस्तक ५०० प्रति बिक्यो भने जम्मा इनकम २ लाख ५० हजार । खुद्रा विक्रेताले १ लाख लिन्छ । लेखकस्वमा ५० हजार छुट्याउनु पर्याे । मार्केटिङमा अन्य लागत लगभग ३० हजार राखौँ । १ लाख ८० हजार खर्चमा गयो । बच्यो ७० हजार ।

अरू केही खर्च नहुने हो भने २ लाख ५३ हजार प्रकाशकले उठाउन त्यो पुस्तक लगभग १८०० प्रति बिक्नु पर्ने हुन्छ । अब भन्नुस् एउटा किताब नेपालमा सरदर कतिप्रति बिक्ला ? फेरि प्रकाशकको कार्यालय खर्च । स्टाफ स्यालरी त बाँकी नै छ । यसरी हेर्दा प्रकाशकले मलाई घाटा भएन भन्नको निमित्त एउटा पुस्तक कम्तीमा २५ सय प्रति बिक्नुपर्ने देखिन्छ ।

हामीले सहजै अनुमान लगाउन सक्छौँ नेपालमा वर्षभरी छापिने पुस्तकमध्ये कति पुस्तकले २५ सय प्रति बिक्ने क्षमता राख्छन् भन्ने । लेखकले लेखकस्व बापत के कति पाउने भन्ने कुरा तपाईंहरूको आपसी समझदारीमा लेखिएको होला । आफ्नो पुस्तक कतिप्रति बिक्यो र समझदारी के थियो सो अनुसारको लेखकस्व प्राप्त गर्नु लेखकको अधिकार हो । यदि पाउनु भएको छैन भने तपाईँ एग्रिमेन्टमा चुक्नु भयो कि ! नत्र प्राप्त गर्नको निमित्त तपाईँलाई सबै बाटो खुल्ला छ ।

यथार्थ यही हो । अब लेखकले आफ्नो हिसाबले बुझ्नुस् । प्रकाशकले आफ्नो हिसाबले बुझ्नुस् । एक अर्कामा आरोप प्रत्यारोप गर्न छोड्नुस् । सङ्कुचित भएर नेपालमा पुस्तक छपाई तथा विक्री वितरणमा व्यावसायिकता आउन सक्दैन । अहिलेसम्म कोही पनि व्यावसायिक भएका छैनन् । त्यही कारणले राग, द्वेष देखिएको हो ।

समाधान के त ?

पारदर्शिता, व्यावसायिकता तथा विश्वासको निमित्त एक अर्कामा सहकार्य गर्नुहोस् । अरू विकल्प छैन ।

भवतु सब्ब मंगलम् ।

सबको मंगल होस् । सबको कल्याण होस् ।