मानव वा अन्य जीवजन्तु जेसुकैको होस्, त्यसको शरीरलाई विभिन्न परमाणुहरूबाट अणु, अणुहरूबाट  यौगिक, यौगिकहरूबाट कोषिका, कोषिकाहरूबाट तन्तु, तन्तुहरूबाट अङ्ग एवं विभिन्न अङ्गहरूको संरचनात्मक संयोजनमार्फत बनेको जटिल इन्द्रिय प्रणालीले सञ्चालन गरिरहेको हुन्छ । ‘शरीर’ विभिन्न जैविक-रसायनहरूको संगठनात्मक रूप हो र संलग्न तत्वहरू मार्फत नियन्त्रण, व्यवस्थापन र सबै जैविक गतिविधिहरू त्यसको कार्यात्मक रूप हो । मानिसको शरीरभित्रका मुख्य छ प्रकारका जैविक-रसायनहरू कार्बन, हाइड्रोजन, अक्सिजन, नाइट्रोजन, फस्फोरस र क्याल्सियम हुन् । उल्लेखित जैविक-रसायनहरूको मात्रा मान्छेको शरीरमा ९९ प्रतिशत छ भने अन्य जीवजन्तुको हकमा यी रसायनहरूको अनुपात फरक हुनसक्छ । त्यो बाहेक मान्छेको शरीरमा बाँकी १ प्रतिशत मात्र पोटासियम, सल्फर, सोडियम, क्लोरिन, म्याग्नेसियम लगायतका तत्वहरू रहन्छन् ।

शरीरभित्र कसरी जैविक-रसायनहरू संगठनात्मक रूप हुँदै संरचनात्मक जटिल इन्द्रिय प्रणाली र त्यसले स्वचालित निर्देशित कार्यात्मक प्रारूप खडा गर्छ भन्ने कुरा विज्ञानले बताइसकेको छ । जब दुई वा बढी परमाणुहरू एकसाथ आउँछन्, तिनीहरूले एक अणु बनाउँछन् जस्तै अक्सिजनका दुई परमाणुहरू मिलेर एक अक्सिजन अणु बनाउँछन्, जसलाई O2 भनिन्छ । पानी H2O र कार्बन डाइअक्साइड CO2 जस्तै कार्बोहाइड्रेट C x (H 2 O) y, प्रोटीन C400 H620 N100 O-120 P1 S1 र लिपिड CH 3 -(CH 2 ) n -COOH शरीरको लागि महत्त्वपूर्ण यौगिकहरू हुन्।

वास्तवमा जैविक-रसायनहरूको संगठनात्मक रूप, त्यसले सिर्जना गरेको संरचनात्मक जटिल इन्द्रिय प्रणाली र त्यो मार्फत निर्देशित कार्यात्मक रूपले मानव वा जीवको अस्तित्व खडा गरेको हुन्छ । एउटा बुझाइमा त्यो अस्तित्वलाई नै जीवन भनिन्छ, र जन्मसँगै जीवन अस्तित्व प्रारम्भ हुन्छ भने मृत्युसँगै समूल शरीर नष्ट पनि भएर जान्छ ।

प्रसिद्ध मध्ययुगीन भारतीय कवि कबिरदास (ई.१३९८ – १५०० आसपास) को कविता अंश यहाँ सापेक्ष हुन्छ :

यह संसार कागदकी पुडिया, बूँद पडे गलि जाना है

यह संसार काँटेकी बाडी, उलझ पुलझ मरि जाना है

अर्थात् यो दुनियाँ कागजको खेलौना हो – पानीमा गल्नु नै छ, र यो दुनियाँ काँडाको शरीर  हो- फसेर मर्नु नै छ ।  निश्चय नै जो कोहीका लागि जन्मपछिको अर्को निश्चित सत्य मृत्यु हो । सामान्य बुझाइमा जन्म र मृत्युको बिचको त्यो समयको अन्तरलाई अर्को अर्थमा जीवन भनिन्छ। के वास्तविक जीवन त्यही हो त, वा त्यति मात्र हो त वा त्यसलाई फरक ढङ्गले कसरी बुझ्न सकिन्छ त?

उल्लेखित प्रश्नहरूको उत्तर खोज्ने हो भने अब जीवनको अर्थ, परिभाषा वा सार्थकता अथाह लाग्न थाल्दछ ।

वैदिक मान्यताअनुसार धर्म, अर्थ, काम वा मोक्षसँगको एकाकार नै मानव जीवन हो, जुन बिषय जीवन र जगत् अङ्क १ मा नै चर्चा भैसकेको छ । त्यसैगरी वैदिक अभिमतले जीवनको पूर्णतालाई मोक्षप्राप्तिको स्थितिको सापेक्ष मान्दै आएको छ ।  तसर्थ, यो अङ्कमा जीवनको पूर्णता के होला भन्ने कोणबाट मात्र बहस केन्द्रित गरौ है त ।

मोक्षलाई वस्तुगत सत्यको रूपमा स्विकार्न गाह्रो हुने तर त्यो नै जीवन मुक्ति भन्ने अर्थमा वैदिक अभिमतको तर्क छ । यो तर्क अनुसार विशेषत सुख-दु:खको भावना नष्ट भएको स्थिति मोक्ष हो भनिएको छ । सुख-दु:खको भावना नष्ट हुने स्थिति भनेको विषय त्याग वा शरीर त्याग भएको अवस्था मात्र हो । यो अर्थमा विषय त्याग जो कोहीले सक्दैनन्, तर शरीर त्याग त सबैले गर्दछन् । उपनिषद्हरूमा विषय त्यागमार्फत आनन्दको स्थितिमा पुग्नु नै मोक्षको अवस्था भनिएको छ, किनकि त्यो अवस्थामा मानिसका सबै सुख-दु:ख वा द्वन्द्वहरू आनन्दमा विलीन हुन्छन् ।

यो सुन्दर फूललाई चुँडिहाल, हातमा लेऊ / अबेला नगर

मलाई डर लाग्दैछ- कतै त्यो ओइलिएर धूलोमा त गिर्दैन ?

तिम्रो मालामा उन्न नपाए पनि करकमलको स्पर्शले सम्मान गर

मलाई डर लाग्दैछ- म नगईकन त्यो भेटको समय त गुज्रँदैन ?

–         रविन्द्रनाथ टेगोर, ‘जीवन-पुष्प’, गिताञ्जलीको नेपाली भावानुवाद ।

कवि रविन्द्रनाथले त जीवनलाई पुष्प समान मानेका छन- ओइलिएर जाने हो तसर्थ त्यसको उपयोग र लक्ष्य प्राप्ति हुनैपर्छ । अर्थात् महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि जीवनको लक्ष्य ठूलो राख्न लाक्षणिक रूपमा भनेकै हुन् त – ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक ।’

भारतीय दार्शनिक कृष्णमुर्तिले भनेका छन्, ‘सत्कार्यमार्फत उद्देश्य प्राप्ति र प्रेमको जागरण मानव जीवनको अन्तिम सीमा हो ।’ तर त्यो पूर्ण हो वा होइन भन्ने सवालमा उनले बोलेका छैनन् । अन्य धेरै वैदिक दार्शनिकहरूले परमात्माको पद प्राप्तिलाई पूर्णता मानेका छन्, तर त्यो पारलौकिक स्थिति न हो ।

यता भगवान् बुद्धले जीवनको चार आर्यसत्य बताएका छन्, ती हुन् : १) जीवनमा दुःख छ, र मानिस दुःखी छ, २) दुःखको कारण छ, दुःख अकारण हुँदैन, ३) दुःखको निदान छ, र दुःखको कारण हटाउन सकिन्छ, र ४) दुःख निवारणको अवस्था छ, र त्यो बेला मानिस दुःखबाट मुक्त हुने स्थिति रहन्छ । साथै बुद्धले दुःख निवारणको श्रेष्ठमार्गको रूपमा आर्य अष्टाङ्गिक मार्गको चर्चा गरेका छन्, ती हुन्; सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वाणी, सम्यक् कर्मात, सम्यक् आजीव, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि ।

अब फेरि एक पटक, विज्ञानसम्मत ‘जीवन’ उपर चर्चा गरौं । पृथ्वीबाहेक ब्रह्माण्डमा अन्यत्र जीवन फेला पारेको छैन, तर जीवनका लागि आवश्यक केही जैविकतत्वहरूको अवशेषको भने संकेत भेट्टाएको छ । जीवनका लक्षणहरूको अध्ययनमा विज्ञानले डिएनए (डेरिभो न्यूक्लिक एसिड) र आरएनए (रिनो न्यूक्लिक एसिड) लाई महत्त्वपूर्ण मान्छ भने आजसम्म अन्य अजैविक रसायनहरूबाट जीवित कोषिकाहरू उत्पादन गर्न विज्ञान सक्षम छैन । यो अर्थमा विज्ञान समेत ‘जीवन’को वास्तविकतामा ईश्वरीय तत्वसँग निर्भर छ भन्दा अत्युक्ति हुदैन ।

अर्थात् स्त्री पराग र पुरुष शुक्राणुको निषेचन भएरै मात्र जीवन सुरु हुन्छ, जसलाई विज्ञान र वैदिक मत दुवैले स्वीकार गर्छन् । त्यसपछि विभिन्न प्रकारका ब्रह्माण्डीय ऊर्जा र पौष्टिक पदार्थबाट प्राणीको जीवन भरण हुन्छ, त्यो मतमा पनि एक रूपकता नै छ । मृत्यु सत्य छ, त्यो पनि दुवैले स्वीकार गर्छन् र परास्त गर्ने सामर्थ्य पनि राख्दैनन् । अब बौद्धिकहरूमा एउटा प्रश्न, ‘जीवन’को विषयमा मतान्तर कहाँ छ त ?

श्रीमद्भगवतगीतामा श्रीकृष्णले अर्जुनसँग भनेका छन्;

–         जसलाई मृत्यु भनिन्छ, त्यो नै जीवन हो । न यो शरीर तिम्रो हो, न तिमी यस्तो नै छौ । यो आगो, जल, वायु, पृथ्वी, आकाश बनेको छ र यसमा तिमी विलीन हुनेछौ ।

–         आखिर शरीर त नश्वर र आत्मा मात्र अजेय छ भने किन अनावश्यक चिन्ता गर्नु ?

–         जे भयो, जे हुन्छ, त्यो राम्रो भयो र राम्रै भइरहेको छ । अर्थात् भूतलाई पछुताउनु र भविष्यको चिन्ता किन गर्नु ?

–         तिमीले किन रुनु ? के ल्यायौ र के हरायौ ? भगवानबाट जे दिइयो, त्यो व्यक्तिलाई दिइयो । तर तिमी रित्तो नै छौ- खाली हात आयौ, खाली हात जानेछौ । जे आज तिम्रो छ त्यो भोलि अरू कसैको हुनेछ, र जे आफ्नो भनेर मोहित छौ त्यही सुख नै तिम्रो दु:खको कारण हो ।

–         तिमी आफै आफ्नो निर्णयमा रहँदैनौ, भगवानले तिम्रो अस्तित्वलाई ग्रहण गरेका छन् र यहाँ छौ ।

–         भगवानको अस्तित्वलाई स्वीकार, र त्यो अवस्थामा स्वतन्त्र जीवन र परमानन्दको अनुभूति गर्नेछौ ।

जीवनको पूर्णताको खोजीमा ‘पूर्णतावादको सिद्धान्त’ पनि केही चर्चा गर्न सापेक्ष हुन्छ । नीति कथाहरूमा  पूर्णतावादको सिद्धान्तले आत्माको पूर्णता नै मानवको नैतिक जीवनको अन्तिम लक्ष्य भनिएको छ । यो सिद्धान्त अनुसार आत्माको सिद्धिमा क्रमशः सिद्ध र बाधा हुने कर्मलाई शुभ र अशुभ भनिन्छ । यसलाई आत्म-वास्तविकता एवं आत्म-कल्याण समेत भनिन्छ । तत्त्व मीमांसीय नीतिशास्त्रले यसलाई ‘आध्यात्मिक पूर्णता’ भनेको छ, जसमा स्वतः नैतिक पूर्णता समावेश हुन्छ। आध्यात्मिक पूर्णता जीवनको लक्ष्य हो, र त्यो जीवनको पूर्णता हो भनिएको छ । आत्म-पूर्णतावादको सिद्धान्त विरोधाभासी पनि छ किनकि एउटा आत्म-प्राप्ति नै अर्को आत्म-त्यागबाट हुने बताइएको छ ।

अब निष्कर्षतर्फ लागौ‌ं;

विज्ञानको सार जैविक-रसायनहरूको संगठनात्मक रूप, त्यसले सिर्जित संरचनात्मक इन्द्रिय प्रणाली र निर्देशित कार्यात्मक रूपको अस्तित्व जीवन हो । कार्यात्मक रूप अन्तर्गत क्रिया, प्रजनन, विकास र अनुकूलन सहित अन्य प्रतिक्रियाहरू संलग्न रहन्छन् ।

बेदिक मतको निचोड हो – सत्यको मार्ग नै जीवन हो र धर्मको शरणागतले जीवनको अस्तित्वको सार्थकता बुझ्न मद्दत गर्दछ । जीवनलाई बुझ्ने दृष्टिकोण अनेकौँ छन्, तर आत्माको अन्तर्ज्ञानको उन्नयनले मानिसलाई पूर्णता गराउँछ । मान्छेको अन्तिम उद्देश्य जीवनका चक्रहरूको पार गर्दै परब्रह्म चेतनाको अवस्थालाई महसुस गर्नु हो, त्यो मोक्ष प्राप्ति हो र सार्थक जीवन हो ।