पाश्चात्य विचारले विवेक र ज्ञानप्रतिको प्रेम वा अनुभूति (लभ अफ विज्डम) नै ‘फिलोसोफी’ मानेको छ, तर पूर्वीय विचारले त्यो सङ्कीर्णतालाई ‘दर्शन’ मान्दैन । अर्थात् ‘दर्शन’को गहिरो शाब्दिक भारलाई ‘फिलोसोफी’ले बोक्ने क्षमता राख्दैन । त्यसको अतिरिक्त ‘थेओलोजी’ले ईश्वरको प्रारूपसँग मानिस एवं ईश्वरको नै सम्बन्धको बारेमा चर्चा गर्दछ, तथापि पूर्वीय मान्यताले त्यो विधालाई सम्पूर्ण दर्शन मान्दैन । त्यसैगरी ‘थेओसोपि’ले मानव जीवनको उद्देश्य आध्यात्मिक मुक्ति हो भन्ने कुरा सिकाउँछ, तर पूर्वीय चिन्तनले त्यो विचार अपूर्ण नै मान्छ ।

पौरस्त्य विचार अन्तर्गतको ‘दर्शन’को पारिभाषिक भावार्थ नजिक अन्य धेरै अङ्ग्रजी शब्दहरू पनि प्रचलनमा छन् । ‘मेटाफिजिक्स’ले वास्तविकताको बारेमा आधारभूत स्थितिको बोध गराउँछ, तर ‘तत्त्वदर्शन’ भन्दा त्यो भिन्न नै छ । त्यसैगरी ‘फेनोमेनन’ले वस्तु वा तथ्यको अवस्थिति र त्यसप्रतिको धारणालाई प्रस्तुत गर्दछ । अर्को शब्द ‘हर्मेन्युटिक्स’ले बाइबल वा धर्मशात्रको भावार्थ, सम्बद्ध साहित्य र त्यसमा आधारित विचारको व्याख्या गर्दछ जुन शब्दको पहिलो प्रयोग भने एरिस्टोटल आफैले गरेका थिए परन्तु केही भिन्न अर्थमा । थोरै एरिस्टोटल केही प्रयुक्त देखिन्छन्, जहाँ उनले पारलौकिक वस्तुहरूको वास्तविक प्रकृति पत्ता लगाउने विज्ञान ‘दर्शन’ हो भनेका छन्  ।

पछिल्लो व्यापक प्रयोगमा रहेको शब्द ‘मेटाफिलोसोफी’ले विवेक र ज्ञानप्रतिको प्रेम एवं अनुभूतिको अवस्थितिको व्याख्या गर्दछ ।  यो शब्दले विश्लेषणात्मक र व्यवहारिक रूपमा ‘फिलोसोफी’को प्रयोगलाई नै निर्देशित गर्दछ । ‘कस्मोलोजि’ले ब्रम्हाण्डीय स्थिति र तथ्यको अवस्थिति प्रस्तुत गर्दछ भने ‘अन्टोलोजी’ले तत्त्वको अवस्थितिलाई प्रस्तुत गर्दछ, तर तत्त्वदर्शनलाई होइन । अर्थात् समष्टिगत रूपमा उल्लेखित कुनै पनि अङ्ग्रेजी शब्दार्थहरूको सार पूर्वीय दर्शन, तत्त्वदर्शन वा मीमांसाको वर्णनमा सापेक्ष हुने देखिँदैन ।

पूर्वीय समाजले भने धर्म, आस्था र आत्माको स्थितिसँग सम्बन्धित ज्ञान, ब्रमाण्डविज्ञान, सृष्टिविज्ञान, चराचर जगतको स्थिति, सिद्धान्तहरू र वास्तविकता सम्पूर्णतालाई दर्शन मानेको छ । त्यसको अतिरिक्त धर्म, आत्माको स्थिति, सम्पूर्ण विज्ञान, सिद्धान्तहरू र वास्ताविकतामाथिको दृष्टिकोण, परिकल्पना, तर्क, चिन्तन, प्रयोग, व्याख्या र त्यसको व्यवस्थापनलाई समेत दर्शनमा समावेश गर्दछ ।

पूर्वीय समाजमा दर्शनले धर्म र आस्थालाई समेत प्रयुक्त गरेको छ, जुन पश्चिमा समाजमा छैन । पश्चिमाहरूले धर्म र दर्शनलाई अलग रूपमा व्याख्या गर्छन्, र अब्राह्मिक रिलिजनको रूपमा जुधाइजम्, क्रिश्चियानिटि र इस्लामलाई बुझ्ने गर्दछन् । अर्थात् ‘अब्राह्मिक रिलिजन’ को प्रयोग सापेक्ष गरिन्छ, तर ‘अब्राह्मिक फिलोसोफी’ भनेर सम्बोधन नै कतै गरिएको छैन । तर पूर्वीय समाजमा धर्मका अतिरिक्त हिन्दु दर्शन, बौद्ध दर्शन, जैन दर्शनलाई पनि शाब्दिक प्रयोगमा समेत प्रयुक्त मानिन्छ । तथापि हिन्दुहरूको वेदले मानेको दर्शन, बौद्ध वा जैन मत अनुसारको दर्शनमा फरकहरू छन्, जुन अस्वाभाविक पनि होइन ।

वेदले ‘दर्शन’ लाई दुई कित्तामा बाँडेर यसको थप व्याख्या गर्दछ, र त्यहाँ वेदान्तको सार-सिद्धान्तलाई मान्ने र नमान्नेको कित्ताकाट हुन्छ । चार्वाक, जैन र बौद्ध दर्शनलाई वेदान्तको सार-सिद्धान्तभन्दा फरक दर्शनको रूपमा लिइएको छ । वैदिक सिद्धान्तले जगतलाई व्याख्या तथा विश्लेषण गर्ने कार्यमा अन्तर्गत षड्दर्शनको रूपमा साङ्ख्य, न्याय, वैशेषिक, योग, वेदान्त र मीमांसाको व्याख्या गरेको छ ।

चार्वाक दर्शनलाई भौतिकवादी एवं नास्तिक विचार र लोकोक्तिको रूपमा बुझ्ने गरिन्छ । विशेषतः वेदभन्दा बाहिरको विचार सङ्ग्रहणीय रहेकोले चार्वाक सहित अन्य पाँच मतहरू माध्यमिक, योगाचार, सौत्रान्तिक, वैभाषिक, र आर्हतलाई लोकायत शास्त्रमा आधारित दर्शनको रूपमा बुझिन्छ । लोकायत मतको अर्थ लोकले मान्यता दिएको छ, तर ईश्वरको अस्तित्वलाई स्वीकार नगरेको भन्ने अर्थले त्यसलाई वैदिक दर्शनको मत भन्दा पृथक् मानिएको हो । चार्वाक दर्शनले भने सुख दुख: सबै यसै संसारमै छ र सांसारिक सुख छोडेर कल्पित सुख र स्वर्ग कहीँ छैन भन्ने विचार प्रस्तुत गर्दछ ।

यता बौद्ध दर्शनको आयतन व्यापक एवं विशाल छ, र त्यसको उपयोगिता समेत फराकिलो बन्दै गएको छ । बौद्ध दर्शनको अध्ययनमा चार आर्यसत्य, पञ्चस्कन्ध, द्वादश आयतन, क्षणिकवाद र शून्यवाद समेत पाँच सिद्धान्तहरू महत्त्वपूर्ण मानिन्छ । बौद्ध दर्शन अनुसार तत्त्व-मीमांसामा क्षणिकवाद, स्कन्ध, आयतन, धातु, प्रतीत्यसमुत्पाद, अनात्मवाद, अभौतिकवाद, अनीश्वरवाद, अन्याकृत सिद्धान्त, विचार सिद्धान्त, निर्वाण सिद्धान्त, सर्वज्ञताको निषेध र पुद्गलवाद लगायत अनेकन् सिद्धान्तहरू प्रतिपादन भएका छन् । बुद्ध र संसारभरका बुद्ध शिष्यहरूले प्रतिपादन गरेको सिद्धान्तहरूको व्याख्या एवं विवेचनाको विस्तार नै समग्र बौद्ध दर्शन हो, जुन कार्य यद्यपि जारी छ ।

जैनदर्शनले संसार एवं जीवन र जगत्  सन्दर्भमा जीवतत्त्व एवं अजीवतत्त्वको विश्लेषण गरेको छ । पञ्चतत्त्व अन्तर्गत जीवन, आकाश, धर्म, अधर्म, र पुद्गल आस्तिकाय तत्त्वहरू तथा सप्ततत्त्व अन्तर्गत जीव, अजीव, आस्रव, बन्ध, संवर, निर्जर, र मोक्ष गरी सातवटा तत्त्वहरूको विशेष महत्त्व दिएको छ छ । त्यसैगरी जैनदर्शनमा नवतत्त्व अन्तर्गत जीव, अजीव, पुण्य, पाप, आस्रव, संवर, बन्ध, निर्जर, र मोक्ष लगायतको विस्तृत व्याख्या गरिएको पाइन्छ ।

यता भगवद्गीतामा प्रमाण, विचार, सृष्टिमीमांसा र मोक्षसाधना नै षड्दर्शनको विषयवस्तु रूपमा उल्लेखित छ ।  सबै दर्शनहरूले कुनै न कुनै रूपमा आत्मालाई स्वीकारेको कुरा र आत्माको निवृत्त नै मोक्षको रूपमा रहने कुरा श्रीकृष्णले अर्जुनलाई बताएका छन् (भगवद्गीता, १३-४) । परन्तु हिन्दु षड्दर्शनमा समेत साङ्ख्य र मीमांसा मतहरू ईश्वरको चिन्तन र सवालमा मौन छन्, र कतिपय सन्दर्भमा ईश्वरको अस्तित्वलाई अस्वीकार पनि गर्दछन् ।

साङ्ख्य दर्शनको शाब्दिक अर्थ ‘सङ्ख्या’ हो जसको अर्थ सम्यक् ज्ञान र दर्शन हो । जस अनुसार सृष्टि नै प्रकृति र पुरुषको मूल प्रारूप हो, र प्रकृति भनेको पञ्चमहाभूतद्वारा बनेको जड पदार्थ र पुरुष भन्नाले सम्पूर्ण जीवात्मा अर्थात् चेतना हो भनेर व्याख्या गरिएको छ ।

षड्दर्शनको अर्को बिचार न्याय दर्शनले तर्क, प्रमाण, प्रमेय, साध्य र साधन लगायत १६ वटा प्रमाणादी पदार्थको उपयोगलाई तत्त्वज्ञान प्राप्ति र सिद्धिको माध्यम मानेको छ । प्रमेयको रूपमा आत्मा, शरीर, इन्द्रिय, अर्थ, बुद्धि, ज्ञान, उपलब्धि, मन, प्रवृत्ति, दोष, प्रेतभाव, फल, दुःख र अपवर्ग समावेश गरिएको छ । उल्लेखित माध्यमका अतिरिक्त संशय, प्रयोजन, दृष्टान्त, सिद्धान्त आदिलाई समेत दर्शनमा समाहित हुन्छ ।

वैशेषिक दर्शन न्याय दर्शन भन्दा केही परिष्कृत हुँदै समयान्तरमा प्रकट भएकोले थप नवीनतम धारणाहरू समाहित छन्, तर सारमा धेरै फरक पनि छैनन् । वैशेषिक दर्शन ६ पदार्थहरू द्रव्य, गुण, कर्म, सामान्य, विशेष र समवाय एवं द्रव्यहरूको ९ सङ्ख्या पृथ्वी, जल, तेज, वायु, आकाश, काल, दिशा, आत्मा र मनको अस्तित्वलाई स्वीकार गर्दछ । त्यसैगरी २४ गुणहरूमा स्पर्श, रस, रूप, गन्ध, शब्द, सङ्ख्या, विभाग, संयोग, परिणाम, पार्थक्य, परत्व, पूर्णता, बुद्धि, सुख, दुःख, इच्छा, द्वेष, धर्म, अधर्म, प्रयास, संस्कार, स्नेह, गुरुत्व र द्रव्यत्व तथा ५ प्रकारको कर्महरूमा उत्पन्न, अवक्षेपण, आकुञ्चन, प्रसारण र गमनको स्थितिको व्याख्या वैशेषिक दर्शनमा गरिएको छ ।

पछिल्लो वैश्विक जगतमा योग दर्शन सर्वस्वीकार्य बन्दै गएको छ, जहाँ प्रकृति र पुरुषको स्वरूपसँग ईश्वरको अस्तित्वलाई मिलाएर मानिसले जीवनको आध्यात्मिक, मानसिक तथा शारीरिक उन्नतिको लागि व्यवहारिक र मनोवैज्ञानिक साधना गर्ने विषयलाई दर्शन अन्तर्गत घनिभूत अभ्यास समेत गरिरहेको छ । कुन प्रकारले मान्छेले आफ्नो हृदयको वृत्तिहरूलाई नियन्त्रण राखेर जीवनमा सफल हुनसक्छ, र आफ्नो शारीरिक एवं मानसिक स्थितिको उन्नयन गर्छ वा लक्ष्य तथा निर्वाण प्राप्त गर्न सक्छ भन्ने कुरा यसमा समावेश छ ।

त्यसैगरी वेदान्तलाई ज्ञानयोगको स्रोतको रूपमा मानिन्छ जस अन्तर्गत व्यक्तिलाई ज्ञान प्राप्तिको स्थितिमा उत्प्रेरित गरिन्छ । वेदान्तको मुख्य स्रोत उपनिषद् हो, जसलाई  वैदिक साहित्यको रूपमा मान्यता दिइएको छ । वेदान्त अन्तर्गत अद्वैत वेदान्त, विशिष्ट अद्वैत र द्वैत वेदान्त तिन भिन्न शाखा-दर्शनको व्याख्या गरिएको छ । अद्वैतको शाब्दिक अर्थ ब्रह्म र जीव दुइटा कुरो जस्तो बुझिए पनि तिनको सत्ता एक हो, र त्यो हो ब्रह्म तत्त्व हो भनिएको छ ।

षड्दर्शनको अन्तिम यथारूप मीमांसा दर्शनमा वेदका शब्दहरूलाई पक्ष-प्रतिपक्षको दृष्टिकोण सहित थप व्याख्या गरिएको छ र वैदिक वाक्यहरू उपर भाषाविज्ञानको सिद्धान्तहरूको गहिरो चर्चा गरिएको छ । कतिपय सन्दर्भमा यो बिचारलाई दर्शनको रूपमा नरहने मत पनि पाईन्छ किनकि यसमा धार्मिक अनुष्ठानहरूको चर्चा प्रशस्त गरेको छ तर जीवतत्त्व, ईश्वर, बन्धन, मोक्ष र त्यसको साधन जस्ता विषयको चर्चा गरिएको छैन ।

माथि उल्लेखित सम्पूर्ण पूर्वीय मत अनुसार ‘दर्शन’ले फिलोसोफीको सङ्कीर्णतालाई प्रतिबिम्बित गर्दैन ।  दर्शन आधुनिक विज्ञानका सबै खण्डहरूको मौलिक रूप हो र क्रिया ‘दर्शन’ अर्थात् ‘हेर्नु’ बाट व्युत्पन्न हुने स्थिति नै ‘दर्शन’ हो । यो शब्दको उत्पत्ति संस्कृत मूल शब्दबाट भएको हो भने फिलोसोफीको उत्पत्तिको अर्थ ‘फिलोज’ अर्थात् प्रेम र ‘सोफीया’ अर्थात् विद्या वा बुद्धि भन्ने अर्थमा प्राचीन ग्रीक भाषाबाट उत्पन्न भएको हो ।

अन्त्यमा एउटा वेदान्तको यथारूप श्लोकको विवेचना हेरौँ है त,

इंद्रियाणि पराण्याहुस् इंद्रियेभ्यस् परं मनस् ।

मनसस्तु परा बुद्धिस् यो बुद्धेस् परतस्तु सस् ।।

श्रीमद्भगवद्गीता, अध्याय ३, श्लोक ४२

एवं बुद्धेस् परं बुद्ध्वा संस्तभ्यात्मानमात्मना ।

जहि शत्रुं महावाहो कामरूपं दुरासदम् ।।

 — श्रीमद्भगवद्गीता, अध्याय ३, श्लोक ४३

जड भन्दा कर्म गर्ने इन्द्रिय श्रेष्ठ छ भने त्यो भन्दा पर मन, मनभन्दा पर बुद्धि र बुद्धिभन्दा पर महान् आत्मा अवस्थित छ  । त्यसैगरी भौतिक इन्द्रिय, मन र बुद्धिलाई दिव्य ठानेर स्थिर आत्मा र कामवासनालाई समेत जित्ने तत्त्व नै वास्तविक आध्यात्मिक शक्ति हो । यो विषयलाई श्रीमद्भगवद्गीतामा भक्तिवेदान्तको तात्पर्यको रूपमा रहेको कर्मयोग अन्तर्गत बताइएको छ भने थप व्याख्याका लागि कठोपनिषद्तर्फ लाग्नु आवश्यक छ । जहाँ महानात्माभन्दा उत्कृष्ट अव्यक्तात्मा छ भने अव्यक्तात्माभन्दा उत्कृष्ट प्रकृति र पुरुषलाई मानिएको छ  । अब प्रश्न मात्रै यो प्रश्न झन् सान्दर्भिक लाग्न सक्छ, के यो तहको विवेचनालाई अङ्ग्रेजी शब्द ‘फिलोसोफी’ले बुझ्न वा बुझाउन सक्ला र ?

अर्थात् यो लेखनीको सार हो- फिलोसोफी जसलाई नेपालीमा दर्शन भनिन्छ, त्यो ‘दर्शन’ होइन र फिलोसोफर जसलाई नेपालीमा ‘दार्शनिक’ भनिन्छ, त्यो ‘दार्शनिक’ हुन सक्दैन  ।