
सिद्धि भन्नाले योगसाधना, तपस्या, वरदान आदिबाट प्राप्त गरिने विशेष शक्तिलाई बुझिन्छ । हिन्दु धर्मग्रन्थ, रामायण, महाभारत तथा पुराण आदिहरूमा सिद्धि प्राप्त सिद्ध पुरुष महिलाहरू धेरै पाइन्छन् भने योगसाधना र तपस्याबाट वरदान स्वरूप पनि यस्ता सिद्धिहरू प्राप्त भएका घटनाहरू हामी पाउँछौँ । सिद्धिहरू जम्मा आठ प्रकारका छन्: ती हुन्- अणिमा, महिमा, लघिमा, गरिमा, प्राप्ति, प्राकाम्य, इशित्व र वशित्व ।
यहाँ वर्णित अष्टसिद्धिको व्याख्या र प्रयोगबारे रामायणकालीन पात्र हनुमानलाई बिम्ब बनाई उदाहरणका रूपमा प्रस्तुत गरिएको छ ।
अणिमा :
अणिमा एक सिद्धि हो जसले व्यक्तिलाई वस्तुको सूक्ष्म रूपमा जान्न, बुझ्न, सुन्न, विश्लेषण गर्न र देख्न सक्षम बनाउँछ । वस्तुको सानोभन्दा सानो रूप भनेको अणु हो र यो सिद्धिले अणुकै तहमा पुगेर लक्ष हासिल गर्न सिद्ध बनाउँछ । अर्को कोणबाट भन्दा विषयको सूक्ष्म अध्ययन गर्ने चेतना होस् वा व्यक्ति स्वयम् सानो रूपमा प्रस्तुत भई ठूला उपलब्धि हासिल गर्ने होस्, त्यो क्षमता यस सिद्धिबाट प्राप्त हुन्छ ।
पौराणिक पात्र हनुमानजीलाई अष्टसिद्धि प्राप्त थियो भनी विश्वास गरिएको छ । उनले लङ्का प्रवेश गरेपछि यही सिद्धिको प्रयोगले आफ्नो भौतिक रूपलाई अत्यन्तै सूक्ष्म रूपमा परिवर्तन गरी लङ्काको पूर्ण निरीक्षण गरे तापनि उनलाई कसैले पनि देखेनन् । यही सिद्धिको प्रयोगले रावणका धेरै सुरक्षा कर्मी र रावणका असङ्ख्य रानीहरूको घेराबन्दीका बाबजुद पनि हनुमानले सीतासँग प्रत्यक्ष संवाद गरी रामको हालखबर र अगाडिको योजनासमेत सीतालाई सुनाएका थिए । यो कथा रामायणमा विस्तारसहित पढ्न सकिन्छ ।
सारांशमा भन्दा आफ्नो शरीरलाई अणु बराबर सूक्ष्म रूपमा बनाउन सक्ने सिद्धिलाई अणिमा भनिन्छ ।
महिमा :
महिमाको शब्दार्थ उच्च पद, मान, कीर्ति, यश, प्रभाव, प्रशंसा वा ठूलो प्रभाव, विशालता आदि बुझिन्छ । यस्तो सिद्धिले व्यक्तिको महिमा सहज रूपमा बढ्दछ । अणिमामा सूक्ष्मताको प्रदर्शन हुन्छ भने महिमामा विराटताको प्रदर्शन गर्न सकिन्छ ।
अणिमा जस्तै यहाँ पनि हनुमानजीकै प्रसङ्गलाई ल्याएर यस सिद्धिको विषयमा बुझ्ने कोसिस गरौं । जस्तो हनुमानजीलाई लङ्का जान क्षार समुद्र तर्नु पर्दथ्यो । समुद्र तर्ने क्रममा नागकी माता सुरसाले हनुमानको बाटो छेकिन् र भनिन्, “म तिमीलाई मेरो आहार बनाउँछु ।” हनुमानले आफ्नो महिमा सिद्धिको प्रयोग गरी शरीरलाई पर्वत जत्रो बनाए र भने, “ल मलाई तिम्रो आहार बनाऊ ।” सुरसाले पनि पर्वत नै निल्ने जत्रो मुख उघारिन् । तब अणिमा सिद्धिको प्रयोग गरी हनुमान भुसुनो जत्रो आकारमा रूपान्तर भए । सुरसाले मुखको आकार सानो पार्न नपाउँदै हनुमान उनको मुखभित्र फुत्त पसे र बाहिर निस्किए । यसरी सुरसालाई पराजित गरी हनुमान आफ्नो उद्देश्यमा अगाडि बढे ।
यस्तै महाभारतमा कथामा कुराक्षेत्रको बिचभागमा श्रीकृष्णले अर्जुनलाई विराटरूप देखाएको पनि महिमा सिद्धिको अनुपम उदाहरण हो ।
सारांशमा भन्दा आफ्नो शरीरलाई असाध्यै ठूलो बनाउन सक्ने सिद्धिलाई महिमा भनिन्छ ।
लघिमा :
लघिमाको भनेको भारविहीन भएको अवस्था हो । यसले व्यक्तिलाई अत्यन्तै हलुङ अथवा थोरै भार हुने लघु अवस्था वा भाररहित अवस्थामा पुर्याउँछ । यो सिद्धि गरिमाको विपरीत सिद्धि हो । गरिमामा भार बढाउन सकिन्छ भने लघिमामा भार घटाउन सकिन्छ ।
लघिमा सिद्धिको प्रयोगद्वारा सिद्ध व्यक्तिले आफूलाई भौतिक वा चेतन स्वरूपमा नै हलुका, मसिनो वा सानो पनि बनाउन सक्तछन् । जस्तो कि एउटा पौडीबाजले पानीमा आफ्नो भारलाई जति हलुको बनाउन सक्छ, उति नै जित्ने सम्भावना बढाउँछ ।
हनुमानको उदाहरण लिने हो भने उनी पर्वत जस्तो गह्रौं भार बनाएर भीमको बाटो छेकेका थिए भने चरा जस्तो हलुका शरीर बनाएर क्षार समुद्रमाथिको आकाशमा वायुसमान उडेर तरेका थिए । सामान्य बोलचालको भाषामा पनि हावा जस्तो हलुका रहेछ भनिन्छ । यसको अर्थ हो हावा हलुका हुन्छ । हनुमानले हिमालय पर्वतबाट सञ्जीवनी बुटी नचिनेर द्रोणाचल पर्वत नै उठाएर अकाशमार्गबाट उडेको कथा पनि रामायणमा पढ्न पाइन्छ । हनुमानले पर्वत उठाउँदा पर्वतको भार नै हनुमानको सिद्धिले हलुका भयो र उनी आकाशमार्गबाट उड्न सके । यो लघिमा सिद्धिका उदाहरण र प्रयोग हो ।
सारांशमा भन्दा आफ्नो शरीर भाररहित बनाउन सक्ने सिद्धिलाई लघिमा भनिन्छ ।
गरिमा :
गरिमाको अर्थ हो वजन, भार, महत्त्व गौरव, गुरुत्व ।
यस सिद्धिले व्यक्तिलाई आफ्नो वा कुनै वस्तुको गरिमा बढाउन मद्दत गर्दछ । कुनै ठाउँमा कुनै व्यक्तिको उपस्थिति वा अनुपस्थितिले त्यहाँको महत्त्व घट्ने वा बढ्ने हुन्छ । कुनै कुरा सामान्य मानिसले भन्यो भने सामान्य हुन्छ तर कुनै उच्च पद वा गरिमा भएको व्यक्तिले भन्दा त्यस विषयको ओज वा भार नै बढ्दछ । कुनै गाउँको एउटा कार्यक्रममा गाउँकै मुखिया उपस्थित हुनु र त्यस प्रदेश वा राज्यका मन्त्री वा प्रमुख उपस्थित हुनुले कार्यक्रममा कतिको फरक पर्दछ ? धेरै फरक पर्दछ । कारण ? व्यक्तिको गरिमा, व्यक्ति पदीय भार ।
अर्को कुरा, कुनै सिद्ध पुरुषले आफ्नो बौद्धिकताको गरिमा होस् वा भौतिकताको गरिमा होस् बढाउन सक्छन् । जस्तो- महाभारतमा पाण्डव वनवास गएको बेलाको कुरा हो । भीमसेन दाउरा खोज्न वन गएको बेला एउटा बूढो बाँदर आफ्नो पुच्छरले बाटो छेकेर बसेको देखे । भीमले बाँदरलाई आफ्नो पुच्छर हटाउन भनेपछि उनले “आफैं हटाएर जाऊ” भने । जाबो बाँदरको पुच्छर के नाघ्नु ! भनेर भीमले पुच्छर हटाउन खोज्दा पुच्छर तर हल्लाउन पनि सकेनन् । भीमको बलको घमण्ड तोड्न हनुमान सामान्य बाँदर बनी त्यहाँ आएका थिए र उनले आफ्नो पुच्छरको गरिमालाई बढाई अत्यन्तै भारी बनाएका थिए ।
यसपछि भीमले बाँदरसँग माफी मागे र हनुमानले भीमसेनलाई आफ्नो असली रूपको दर्शन दिएको कुरा महाभारतमा पढ्न पाइन्छ । अर्को कथाअनुसार एकपटक हनुमान र अर्जुनको भेट भयो । अर्जुनले हनुमानलाई सोधे, “लङ्का जान किन ढुङ्गाको सेतु बनाएको ? के रामसँग वाणको सहायताले पुल बनाउने क्षमता थिएन ?” हनुमानले त्यसरी पुल बनाउँदा बाँदर सेनाहरूको भार थाम्न नसक्ने भएकोले ढुङ्गाको साँघु बनाएको जवाफ दिए ।
हनुमानको कुरा सुनेर अर्जुनको घमण्ड बढ्यो र भने, “लु, म यो नदीमा बाणको सेतु बनाउँछु र त्यसलाई भाँचेर देखाउनुहोस् ।” “हुन्छ, ल सेतु बनाऊ ।”, हनुमानले जवाफ दिए । अर्जुनले बाणको सेतु बनाए र त्यसमाथि हिँड्न हनुमानलाई भने । हनुमानले अर्जुनले बनाएको वाणको सेतुमा खुट्टाको बूढी औंला राख्दा मात्र सेतु टुक्राटुक्रा भएर भाँचियो । यसको कारण, हनुमानले आफ्नो गरिमा सिद्धिको प्रयोगले सेतुले थाम्न नसक्ने गरी आफ्नो शरीरको भार बढाएका थिए । यसरी, अर्जुनको घमण्ड पनि तोडिएको थियो ।
सारांशमा भन्दा आफ्नो शरीरलाई असाध्यै गह्रौं बनाउन सक्ने सिद्धिलाई गरिमा भनिन्छ ।
प्राप्ति :
यस सिद्धिले व्यक्तिलाई चाहेको बखत जुनसुकै कुरा प्राप्त गर्न सक्षम बनाउँछ । प्राप्ति केवल कुनै वस्तुको प्राप्तिसँग मात्र सम्बन्धित छैन । सिद्ध व्यक्तिले ध्यान दृष्टिले हेरेर विगत र आगतको समय र घटनाको विवरण चाहेको बेलामा नै प्राप्त गर्न सक्दछन् । आवश्यकताअनुसार यो सिद्धिको प्रयोगले अदृश्य हुने क्षमता पनि प्राप्त हुन्छ । यस्ता कुराहरू हामीले हाम्रा धार्मिक कथाहरूमा पढ्न र सुन्न सक्छौं । हामीले पौराणिक कथाहरूमा ऋषि मुनीहरूले क्षणभरमा एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने, मन्त्रद्वारा इच्छा गरेको वस्तु अथवा कुनै हतियारहरू सहजै प्राप्त गर्दथे । प्राप्तिको इच्छा गर्दा मात्र सन्तान प्राप्त गर्ने वा आशीर्वादका आधारमा कसैलाई सन्तान लाभ हुने वरदान दिन सक्ने कथा हाम्रा लागि नयाँ होइनन् । यसमा सिद्ध व्यक्तिले पशुपक्षी, जनावर वा अन्य कुनै अपरिचित ध्वनिको भाषा पनि बुझ्न सक्षम हुन्छन् ।
हनुमानले सीतालाई अशोकबाटिकामा भेट्नुभन्दा पहिले विभिन्न पशुपक्षीहरूसँग पनि वार्ता गरेको र यसले उनलाई सीताको खोजीमा सजिलो पारेको थियो । उनको भएको प्राप्ति सिद्धिको कारणले पशुपक्षीहरूको समेत भाषा बुझी उनले सीता रहेको ठाउँलाई भेट्टाउन सकेका थिए ।
सारांशमा भन्दा बिनाअवरोध कुनै पनि स्थानमा पुग्न सक्ने, इच्छाअनुसार अरूका अगाडि अदृश्य भएर स्थानान्तरण हुन सक्ने तर कसैले देख्न नसक्ने सिद्धिलाई ‘प्राप्ति’ भनिन्छ ।
प्राकाम्य :
नेपाली शब्दकोशले प्राकाम्यको अर्थ जे चाह्यो, सो प्राप्त हुने भनेको छ । यो प्राप्तिभन्दा माथिको अवस्था हो । कुनै प्राप्तिलाई प्राकाम्यले त्योभन्दा अधिक बनाउन सक्ने क्षमता दिन्छ । प्राकाम्य सिद्धिले आफूले चाहेको स्वरूपमा आफूलाई बदल्न सक्ने क्षमता दिन्छ । प्राकाम्य व्यक्तिले आफ्नो रूपलाई अर्को कुनै पनि वस्तुभित्र प्रवेश गराउन र त्यस्तै रूप धारण गर्न सक्दछन् भने एउटै स्वरूपमा पनि इच्छा गर्दा बूढो वा वर्तमानभन्दा युवा अवस्थामा फर्कन सक्ने क्षमता राख्दछन् । यसलाई अझ स्पष्ट भन्दा प्राकाम्य सिद्धिले भूत र भविष्यको यात्रा गर्न सक्षम बनाउँछ, मनको कुरा थाहा पाउन सक्दछ । यस तथ्यलाई आधुनिक र वैज्ञानिक भाषामा भन्ने हो भने सिद्ध व्यक्ति चौथो आयाम ‘समय’ र पाँचौं आयाम ‘स्पेस’मा रहेर भूत र भविष्यको समययात्रा गर्न सक्दछ ।
जस्तो- हनुमान आकाश, जमिन र पानीभित्र पनि जीवित रहन सक्थे । उनी भेष बदल्न सक्थे । सुग्रीवको आज्ञाअनुसार उनले ब्राह्मणको भेष धारण गरी भगवान् रामसँग भेट गरेको कथा रामचरितमानसमा पढ्न पाइन्छ ।
सारांशमा भन्दा आफ्ना प्रत्येक इच्छालाई पूर्ण गर्न सक्ने सिद्धिलाई प्राकाम्य भनिन्छ ।
ईशित्व :
ईशित्वको अर्थ ईश्वररूप, ईश्वरीय गुण भन्ने बुझिन्छ । यस सिद्धिले व्यक्तिलाई ईश्वरीय गुण वा दैवी शक्ति प्रदान गर्दछ । मानिस ईश्वरसमान पूजनीय हुन सक्दछ ।
हनुमानजीसँग ईशित्व सिद्धि थियो । यही क्षमताका कारण उनले सबै बाँदरहरूलाई कुशल नेतृत्व गरेका थिए भने युद्धमा मारिएका बाँदरहरूलाई जीवित पनि गराउन सक्थे । यसै कारण हनुमानजीलाई ईश्वर नै मानेर पूजा पनि गरिन्छ ।
सारांशमा भन्दा प्रत्येक वस्तु वा प्राणीहरूमाथि पूर्ण अधिकार राख्न सक्ने सिद्धिलाई ईशित्व भनिन्छ । जसले यो सिद्धि प्राप्त गर्दछ, ऊ स्वयम् ईश्वरस्वरूपमा बस्दछ ।
वशित्व :
वशित्वको अर्थ सिद्धिबाट अरूलाई आफ्नो इच्छाअनुसार वशमा पार्न सक्ने क्षमता । जसले यो सिद्धि प्राप्त गर्दछ, उसले एकास्थानबाट आफ्ना शत्रु, मित्र वा कुनै सभा, भिड आदिलाई सजिलै आफ्नो वशमा राख्न सक्दछन् ।
अङ्ग्रेजीमा “हिप्नोसिस” भन्ने एउटा शब्द छ जसको अर्थ हुन्छ आफ्नो चेतनाद्वारा अर्को व्यक्तिको चेतनाको नियन्त्रण गर्नु र आफूले चाहेको दिशामा त्यसलाई निर्देश गर्नु । वशित्वले अन्य मानिसहरूको चेतनालाई “हिम्नोटाइज” गरी त्यसलाई आफ्नो वशमा पार्दछ ।
अर्को अर्थमा भन्दा यस सिद्धिले व्यक्ति आफ्नो मन वा ज्ञानेन्द्रियहरूमाथि विजय प्राप्त गर्दछ । वशित्व प्राप्त व्यक्तिले मन, वचन, काम, क्रोध, लोभ, मोह, अहङ्कार, राग अनुराग सबलाई वशमा पार्न सक्दछन् । यसैले वशित्व प्राप्त गर्ने व्यक्तिलाई वीरको पनि वीर अर्थात् महावीर भनिन्छ । हनुमानमा यो गुण पनि थियो । उनलाई महावीर हनुमान पनि भनिन्छ ।
हामीले देखेका छौं, कतिपय व्यक्तिहरूले हजारौं व्यक्तिहरूलाई आफ्नो वशमा पारेर खराब आचरणबाट, कुलतबाट मुक्त पारेका छन् । यस्तो सिद्धिको दुरुपयोग भयो भने ठूला ठूला द्वन्द्व सिर्जना हुने र सामाजिक व्यवस्था पनि बिग्रन सक्छ । यस्ता उदाहरणहरू हाम्रो पौराणिक ग्रन्थहरूमा प्रशस्तै पाइन्छ । वैदिक साहित्य पढ्दा तथा पुराणहरू सुन्दा विभिन्न दानवहरूले तपस्याद्वारा सबै वा आंशिक सिद्धिको वरदान प्राप्त गरी तीनै लोकमा उत्पात मच्चाएका घटनाहरू हाम्रा लागि नयाँ होइनन् । त्यस्ता दानव दैत्यका कथाहरू पढ्दा तिनीहरूले प्राप्त सिद्धिको दुरुपयोगले धेरैपटक स्वर्गलोक नै पराजित हुनुपरेको र विविध खाले राक्षस, दैत्य आदिले देवताहरूलाई धपाई स्वर्गमा राक्षस शासन स्थापना गरेका उदाहरणहरू हामी धार्मिक ग्रन्थ एवम् प्रवचनहरूमा पढ्छौं र सुन्छौं पनि । ध्यानी तपस्वीहरूलाई वरदान दिने ब्रह्मा, विष्णु र शङ्कर नै समस्यामा परेका उदाहरणहरू वैदिक एवम् पौराणिक कथा र उपनिषद् आदिहरूमा धेरै पढ्न पाइन्छ ।
सारांशमा भन्दा प्रत्येक प्राणीलाई आफ्नो वशमा पार्न सक्ने, जुनसुकै प्राणीका स्वरूपमा आफूलाई बदल्न सक्ने, रूप बदल्न सक्ने, त्यस प्राणीको चेतनभित्र प्रवेश गर्न सक्ने सिद्धिलाई वशित्व भनिन्छ ।
रिचमण्ड, भर्जिनियिा, अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

