प्रिय अबुझ,

सिर्जनाको महिमा नबुझी आलोचना गरिस् तैंले । म तेरो अज्ञानप्रति सर्जकले करुणा राखोस् भन्ने प्रार्थना गर्छु । ऊ रचना गर्दै जाओस् । आलोचना पनि कठोर ढङ्गले हुँदै रहोस् ! कुन पद्धतिले आलोचना हुन्छ प्रश्न त्यो होइन । के भन्छ त्यो महत्वको कुरा हो । यदि मलाई सोधिस् भने म पनि भन्छु पूजा होइन, पूजाले बिगार्छ, आलोचनाले सुधार्छ–गुणग्राहीलाई । त्यसैले आलोचनाको माग हुन्छ, पूजाको होइन ।

प्रिय हरिराज, तँलाई तेरो अभिमानले ज्ञानी हुन दिएन । किन ठान्छस् तैंले चाहेजस्तो किसिमले कविले काव्य लेखेन । कविता र काव्यलाई म एउटै पदले बोध गराएर भन्छु– कविता पढ्दा पढ्दै कथा पस्छ र कथा पढ्दा पढ्दै निबन्ध पस्छ । किन ? यही होइन तेरो समस्या ? उत्तर यति नै हो – सचेत भएर प्रयोग गरिएको छ भने त्यो मङ्गल हो, असावधानीवश भएको भए त्यो च्युति हो ।

युग परिवर्तन त भएको हो । हिजो साहित्यमा वर्जित गरेका विषय, दृश्य र शब्दहरु आज ग्राह्य र उपास्य भएका छन् । बडो गर्वसाथ साहित्य जगतले अनुमोदन गरेको छ । नाति जन्मने बेलामा हजुरबा जन्माउँछु भन्दा सुहाउने कुरा होला र ! हावा जता बगेको छ, उतै बग्नु सरल होइन र ! राजा नाङ्गै छ भनेर घोषणा गर्ने बालक थोरै हुन्छन् । मन परेको जुत्ता सही भएन भने खुट्टा अपरेशन गर्ने, उच्चारण सही भएन भने दाँत उखेल्ने या जिब्रोको शल्यक्रिया गर्ने । विज्ञले जे भन्छ उसै गर्ने नि ! नत्र ३६ हजार शहीद गराएर, ३७ हजार बेपत्ता पारेर, ३८ हजार अगति पारेर र लाखौं टुहुरा पारेर ल्याएको युग अफाप नहोला र !

गद्य लेख्ता लेख्तै कविता लेखिन्छ या कविता लेख्ता लेख्तै कथा लेखिन्छ भने ‘चम्पू’ मा गए भो नि ! दक्षता भए नाटकमा फड्का मारे भो । जान्नेलाई, शक्ति हुनेलाई धेरै कुरा गर्न छूट छ भनौं त ? उदाहरण नेपालका कयौं अपराधको सूचीमा परेकाहरु छुटे जस्तै हो साहित्य पनि । दोष देखाउने नीति पुरानो हो । आज हाकुचाले हीरो हुन नपाउने होला र ? बिर्खे अर्जुन नहुने हुन्छ ? ऊर्वशी सीता हुन नसक्ने शास्त्र कहाँ छ ?

हरिराज थाम्दैन तेरा नीति र कानूनले । रोक्तैन विधि र प्रक्रियाले । म तँलाई एउटा उदाहरण दिन्छु–

‘पोखिएर घामको झुल्का…

यो गीत लेख्नेले पनि सही लेखेको होला । तर गाउनेले ‘खि’ र ‘र’ को गायनमा अति दीर्घ स्वरको वितान देखाएको छ । मूल लेखाइमा त्यस्तो नहोला । लेखन र गायन सर्वथा फरक हो । गायकले मात्रा मिलाएर घटबढ पार्न सक्छ किन्तु त्यो स्वतन्त्रता कविलाई र गीतकारलाई छैन । एउटा अर्को उदाहरण हेरौं –

सयौं थुङ्गा … राष्ट्रिय गीतको गायन प्रक्रियामा पहिलो शब्दको पहिलो अक्षरको उच्चारण दीर्घ–अति दीर्घ सुनिन्छ । लेखाइ चाहिं सही छ । यो झिल्काको दोष बारे हैन गलत उच्चारणको स्वरबन्धन बारे गायिका लोचन भट्टराईले पनि एउटा टेलि संवादमा गायनमा स्खलन भएको चर्चा गरेकी छन् ।

हरिराज, परिवेश र उपभोक्तामा धेरै परिवर्तन आएको छ । अब यो लिपि र यो भाषा थामिएला भन्ने लाग्दैन । तैंले युग चिनिनस् । तँ अझै अन्धकारमा छस् । जडता छोड । ‘एलाक’ लेख्ने नयाँ व्यास आइसके । उखानमा महाकाव्यको संसार अटायो । ॐ र श्री ले फेरि जगत् ढाक्तैछ ।

तँ कहाँ छस् मूढ । ‘छाउपडीले’ संसदमा ठाउँ पायो । अझै नीति र सिद्धान्तका कुरा गरेर हिंड्दै छस् हैन ? छीः छिः !

मनन गर । केका लागि साहित्य ? कसले पढ्छ साहित्य ? साहित्य पढ्ने समाज निर्माण गर्यो र यो मुलुकले ? कसले लेख्छ अब साहित्य ? बुझ्ने कसले ? जसले बुझ्नुपर्ने हो उसले बुझ्ला त ? यदि एक हजार राजनीतिक जीवमा दुईजनाले पढिदिए र एक जनाले त्यसको काकली बुझिदियो भने धेरै ठूलै कुरा मानौंला भन् न स्वाँठ ! खै कसरी सम्झाऊँ तँ जस्तो जडलाई ?

बरु मलाई त महाकाव्य, खण्डकाव्य, नव्यकाव्य, मुक्तक, चोकटी, भन्नुभन्दा झनै अर्कै टाउको भएका रचना भए हुन्थ्यो भने लाग्छ । टाउको चाँहि पुरानो आदिम युगको शरीर चाहिं नयाँ, अर्कै झन् नसुहाउने ? परम्परामुक्त परम्परा बसाउने भनेको आज हो र ! अझै पनि पुरानै कुरा राम्रो भन्दै हिँड्नु ? के अब पनि लोमवती ललनाको सौन्दर्यले महत्व नपाउने ? साहित्यबाट क्रान्तिको बिगुल बज्न सकेन भने कसले बजाउला ? यदि हामीले परिवर्तन गरेनौं भने राजनीतिक तत्वले अवश्य परिवर्तन गर्नेछ ।

त्यसबेला तँ देख्ने छस् – झण्डा, भाषा, नाम, विधान र सीमा फेरिएको हुनेछ, अनि तँ आत्मदाह गर्ने युगमा पस्नेछस् । चिन्तन गर ! पुगेको छैन ।