गार्गी भारतवर्षकी एक विशिष्ट विदुषी थिइन् । उनको जन्म र पितामाताको बारेमा खास तथ्य नभए पनि वैदिक साहित्यमा उनको नाम भेटिने भएकोले उनी भारत वर्षभित्र जन्मिएकी थिइन् भन्ने कुरालाई स्वीकार गर्नुपर्दछ । यस तथ्यलाई अझै साँगुरा पारेर हेर्दा र जनकपुरमा भएको ब्रह्मज्ञान सम्बन्धी बहसको घटनालाई विश्लेषण गर्दा उनी आधुनिक नेपालको जनकपुरस्थित मिथिलामा जन्मिएकी थिइन् भन्न सकिन्छ । उता भारततिरका लेखक बुद्धिजीवीहरू भने इसाको सातौँ शताब्दीतिर भारतमा गार्गीको जन्म भएको थियो भन्ने मत राख्दछन् तर उनीहरूको त्यो मतलाई पुस्टी गर्ने कुनै वैदिक, पौराणिक घटना वा किंवदन्तीका आधारहरू कतै पाइँदैनन् ।
गार्गीको नाम वाचक्नवी थियो भन्ने भनाइ पनि पाइन्छ । गार्गीसँग जोडिएको यो दोस्रो नाम वाचक्नवीका बारेमा भने विरोधाभाष पाइन्छ । उनी वाचनकलामा निपुण भएकीले उनको नाम वाचक्नवी भएको हो भन्ने एउटा मत छ भने उनका पिताको नाम वाचक्नु भएकोले पिताकै नामबाट उनको नाम पनि वाचक्नवी भएको हो भन्ने अर्को मत छ । यी दुवै मत उत्तिकै प्रसिद्ध छन् ।
उनको नाम “गार्गी” रहनुका पछाडि भने उनका पिता गर्ग गोत्री भएकोले पितृगोत्रका आधारमा गार्गी रहन गएको हो भन्ने विश्वास पनि गरिएको छ । त्यस्तै, एउटा तेस्रो तर अपुष्ट तथ्यअनुसार गार्गी कुनै वचक्नु ऋषिकी पत्नी भएकोले उनको नाम वाचक्नवी रह्यो भनेको पनि पाइन्छ; तथापि वचक्नु ऋषिको नाम कुनै शास्त्रमा नभेटिएकोले यो तथ्य अपुष्ट भनिएको हो । यी तथ्यहरूलाई जोड्दा सबैभन्दा नजिक के देखिन्छ भने उनी वाचनकलामा निपुण भएकीले ‘वाचक्नवी’ र गर्ग गोत्रमा जन्मिएकीले ‘गार्गी’ कहलिएकी हुन् ।
गार्गीले वैदिक युगमा “पुरुषहरू मात्र शास्त्रार्थ गर्न सक्छन् र उनीहरू मात्र ब्रह्मज्ञानी हुन्छन् ।” भन्ने भनाइलाई गलत साबित गरिदिइन् । उनको जन्म र परिवार आदिको यकिन विवरण नपाइएको तथा उपनिषद् र पुराणहरूमा महिलाहरूको बारेमा सीमित वर्णन भएकोले कसैले नारीहरूले पनि शास्त्रार्थ गर्न र ब्रह्मज्ञान प्राप्त गर्न सक्षम हुन्छन् भनी देखाउन गार्गीलाई काल्पनिक पात्रको रूपमा उत्पत्ति गराएको हो कि ! पनि भन्न मिल्छ ।
मिथिलाकालीन त्यो समयमा शास्त्रसम्बन्धी ज्ञान र तत्कालीन समयका प्रख्यात शास्त्रविज्ञ ब्रह्मज्ञानी याज्ञवल्क्यलाई शास्त्रसम्बन्धी प्रश्न गरी गार्गीले आफूलाई अब्बल प्रमाणित गरेकी हुनाले उनको प्रशंसा भएको हो । यहाँ जान्नुपर्ने कुरा के छ भने जसरी महाभारतमा श्रीकृष्ण र अर्जुनका बीचको प्रश्नोत्तरले गीताको जन्म भयो, त्यसै गरी याज्ञवल्क्य र गार्गी बीचको प्रश्नोत्तरले बृहदारण्यक उपनिषद्मा ऋचाको निर्माण भयो । उपनिषद् वेदको महत्त्वपूर्ण हिस्सा हो । वैदिक साहित्यमा जसरी सूर्या सावित्रीको प्रमुखता पाइन्छ, उसै गरी ब्राह्मण र उपनिषद् साहित्यमा गार्गीको प्रमुख भूमिका पाइन्छ ।
त्रेतायुगको अन्तकालतिर विदुषी गार्गीको समय थियो । जुन बेला वैदिक मन्त्र रचनाको काल सकिएको थियो र ब्रह्मज्ञानमाथि विचार-विमर्श हुँदै थियो, त्यस समयमा गार्गी ब्रह्मज्ञानमाथि प्रश्न गर्ने र बहस गर्न सामर्थ्य राख्ने महिलाको रूपमा उदय भइसकेकी थिइन् । वैदिक कालमा पुरुषहरूले मात्र शास्त्रार्थ गर्न सक्छन् भन्ने भनाइ र वैदिक साहित्यमा पुरुषहरूको एकछत्र नेतृत्वलाई गार्गीले चुनौती दिई याज्ञवल्क्य र सम्पूर्ण ब्राह्मण समुदायका अगाडि आफूलाई प्रमाणित गरिन् । त्यस बेला ब्रह्म ज्ञानसम्बन्धी बहसको नेतृत्व त्यही समयका ब्रह्मज्ञानी याज्ञवल्क्यले गरेका थिए । याज्ञवल्क्यको पहिलो ब्रह्म ज्ञानसम्बन्धी बहस र गार्गीसँगको प्रश्नोत्तर तत्कालीन मिथिला राज्यअन्तर्गत राजा महावशी जनकको दरबारमा भएको थियो । तत्कालीन मिथिला राज्य भन्नाले आजको आधुनिक नेपालको जनकपुरलाई बुझ्नुपर्दछ ।
कथा यसरी अगाडि बढ्दछ ।
एक पटक मिथिलाका राजा जनकले “बहुदक्षिणा” यज्ञ गराउने निधो गरे । यस यज्ञमा हस्तिनापुरबाट कुरुलगायत पाञ्चाल आदि देशहरूबाट विद्वान् ब्राह्मणहरू आएका थिए । यज्ञमा राजा जनकले ब्राह्मणहरूलाई प्रशस्त दान दिए । यज्ञमा विभिन्न देशहरूबाट विद्वत् ब्राह्मण समुदायको उपस्थिति भएकोले यज्ञान्तमा राजा जनकले सर्वश्रेष्ठ ब्रह्मवेत्ता को छ ? भनी जान्ने विचार गरी ब्रह्मवेत्ताहरूको भेला गराई ब्रह्मज्ञान सम्बन्धी शास्त्रार्थ कार्यक्रम आयोजना गरे । उनको सभामा एकभन्दा अर्को ब्रह्मज्ञानी, ब्रह्मवेत्ता ब्राह्मणहरू शास्त्रार्थका लागि तयार भए । राजा जनकले शास्त्रार्थमा जसले आफूलाई ब्रह्मज्ञानी ब्रह्मनिष्ठ साबित गर्दछ, उसले दुवै सिङमा दश दश वटा सुनका सिक्का जोडिएका एक हजार गाई पाउनेछ भनी घोषण गरे ।
सभामा उपस्थित कसैले पनि ती गाईहरू लैजाने साहस गर्न सकेनन् । यसपछि महर्षि याज्ञवल्क्यले उठेर आफ्ना भक्त र सेवक सामस्रवालाई आज्ञा दिए, “हे प्रियदर्शन, सामस्रवा ! यी गाईहरू लिएर जाऊ ।”
याज्ञवल्क्यको यस्तो आज्ञा सुनी ऋत्विज् अश्वलले सोधे, “हे याज्ञवल्क्य ! तिमी नै ब्रह्मनिष्ठ हो ?”
याज्ञवल्क्यले जवाफमा भने, “नमोः वयम ब्रह्मनिष्ठा, कुर्मो गोकामा यव वयम स्मह ।” अर्थात् “जो ब्रह्मनिष्ठ हो, उसलाई मेरो नमस्कार छ । मलाई त गाईहरू लैजाने लोभ जाग्यो ।” याज्ञवल्क्यको यस्तो जवाफ सुनेर याज्ञवल्क्यले आफूलाई सिद्ध नगरी गाईको लोभ गरेको भनी यस्ता लोभी व्यक्ति कसरी ब्रह्मनिष्ठ ब्रह्मज्ञानी हुन सक्छन् ? भनी उपस्थित सम्पूर्ण ब्राह्मणहरूले एक स्वरणमा प्रश्न उठाए । याज्ञवल्क्यले अविचलित भएर आफूलाई प्रश्नहरू सोध्न अनुरोध गरे ।
तब ब्रह्मनिष्ठ अश्वलले अहङ्कार स्वरूप एकपछि अर्को गर्दै अप्ठ्यारा प्रश्नहरू सोधे । याज्ञवल्क्यले ती सबै प्रश्नहरूको सहज उत्तर दिँदै गए । त्यसपछि क्रमशः ऋतभागका छोरा आर्तभाग, लैयपुत्र भुज्यु, चक्रपुत्र उसस्त चक्रायण, कुसितक पुत्र कहोल, कौशिकेय, आरुणि, अरुणका छोरा उद्दालक आदि थुप्रैले याज्ञवल्क्यलाई जटिल प्रश्नहरू सोधे । याज्ञवल्क्यले उनीहरूका सबै प्रश्नहरूको उत्तर दिए । अब सबै ब्राह्मणहरूसँग सोध्न कुनै प्रश्नहरू बाँकी रहेनन् । ब्राह्मण समाज परास्त भयो र चुप लाग्यो । सभामा मौनता छायो ।
त्यो मौनतालाई चिर्दै सभाबिचबाट गार्गी जुरुक्क उठिन् र सम्पूर्ण ब्राह्मण समुदायलाई सम्बोधन गर्दै भनिन्, “हे ब्राह्मण समुदाय ! म याज्ञवल्क्यसँग प्रश्नोत्तर गर्नेछु । मलाई याज्ञवल्क्यसँग प्रश्न सोध्ने अनुमति दिनुहोस् ।” परास्त ब्राह्मण समाजले गार्गीलाई प्रश्न सोध्ने अनुमति दिए ।
गार्गी यात्रवल्क्यको शास्त्रार्थसम्बन्धी प्रश्नोत्तर दुई चरणमा चल्यो । पहिलो चरणको शास्त्रार्थमा गार्गीले सोधेका प्रश्नहरूबाट याज्ञवल्क्य विचलित भई परास्त हुनुपरेको थियो ।
आधुनिक भाषामा भन्ने हो भने गार्गी पौराणिक समयकी प्रथम पत्रकार थिइन् । अर्को शब्दमा गार्गी महिला द्रष्टा थिइन् । उनलाई उच्च बौद्धिक र आध्यात्मिक ज्ञानका लागि अनुकरणीय मानिन्छ । गार्गी याज्ञवल्क्यबिचको प्रश्नोत्तर अत्यन्तै घनीभूत थियो ।
गार्गाीले याज्ञवल्क्यलाई पहिलो चरणमा मूल रूपमा अति सामान्य लाग्ने तर महत्त्वपूर्ण एउटा प्रश्न सोधिन् । प्रश्न थियो-
गार्गी- “हे याज्ञवल्क्य ! पानीको बारेमा भनिएको छ, हरेक वस्तु पानीमा घुल्दछन् । अब भन्नुहोस्, पानी केमा गएर घुल्दछ ?”
याज्ञवल्क्यले सहजै उत्तर दिए, “गार्गी ! पानी अन्तमा हावामा गएर मिल्दछ ।”
गार्गी- “हे याज्ञवल्क्य ! त्यसपछि हावा केमा गएर मिल्दछ ?”
याज्ञवल्क्य- “गार्गी, हावा अन्तरिक्षमा गएर मिल्दछ ।”
गार्गीले पुनः प्रश्न गरिन्, “अनि अन्तरिक्ष केमा गएर मिल्दछ ?”
याज्ञवल्क्यले पनि जवाफ दिँदै गए तर याज्ञवल्क्यले दिएको जवाफलाई नै गार्गीले प्रश्नमा रूपान्तर गरी सोध्न थालिन् । यसरी प्रश्नोत्तर चल्दै जाँदा गन्धर्वलोक, आदित्यलोक, चन्द्रलोक, नक्षत्रलोक, देवलोक, इन्द्रलोक, प्रजापतिलोक र अन्तमा ब्रह्मालोकसम्म प्रश्नोत्तर चलिरह्यो ।
यसपछि पनि गार्गीले याज्ञवल्क्यलाई नछोडी प्रश्न सोधिरहिन्, “हे याज्ञवल्क्य ! यो ब्रह्मालोक उता कहाँ गएर मिल्दछ ?”
यसपछि याज्ञवल्क्यको धैर्यता टुट्यो । रिसाउँदै उनले कड्किएर भने- “गार्गी, यति धेरै प्रश्नहरू नसोध । यस्ता प्रश्नहरूले तिम्रो दिमाग नखलबलियोस् । यसो भन्नुको अर्थ याज्ञवल्क्य गार्गीसँग पराजित भए ।
यसलाई अर्को अर्थमा पनि बुझ्न सकिन्छ । सुरुमा सबै ब्राह्मणहरूलाई परास्त गरेका याज्ञवल्क्यले गार्गीलाई पहिलो प्रश्नमा सही रूपमा चिन्न सकेनन् । त्यत्रा ब्राह्मण समुदायलाई सहजै परास्त गरेका याज्ञवल्क्यले सुरुमा गार्गीलाई एउटी सामान्य स्त्री जातीको रूपमा लिए । गार्गीले सोधेको प्रश्नको गहिराइलाई उनले हलुका रूपमा लिए । तसर्थ, याज्ञवल्क्यले प्रश्नमाथि प्रश्नको सामना गर्नुपरेको र गार्गीलाई बिचमै रोक्नुपरेको थियो ।
गार्गी एक कुशल प्रश्नकर्ता, ब्रह्मज्ञानी र असल वक्ता थिइन् । याज्ञवल्क्य एक्कासि रिसाएपछि उनी चुप लागिन् । विद्वानहरूले कहाँ बोल्नुपर्छ र कहाँ चुप लाग्नुपर्छ भन्ने कुरा गार्गीलाई राम्रोसँग थाहा थियो । गार्गीको प्रश्नको आशय सृष्टिको रहस्यको बारेमा थियो तर याज्ञवल्क्यले प्रश्नको गम्भीरतालाई नबुझेको हुँदा त्यस खालको अप्रिय संवाद भएको थियो । गार्गी तत्क्षण मौन बसिन् ।
यसरी पहिलो चरणको प्रश्नोत्तर सकियो र शून्य समय सुरु भयो ।
यो शून्य समयमा बाँकी अरू ब्राह्मणहरूले याज्ञवल्क्यलाई थप प्रश्नहरू सोधे । याज्ञवल्क्यले सबै प्रश्नको सहज उत्तर दिए । केही समयपछि शून्य समय सकियो र दोस्रो चरणको प्रश्नोत्तर कार्यक्रम सुरु भयो ।
दोस्रो चरणको कार्यक्रममा गार्गी उठेर फेरि याज्ञवल्क्यलाई प्रश्न सोध्न तयार भइन् । उनले अगाडि आएर यो घोषणा गरिन्, “हे ब्राह्मण समुदाय ! म याज्ञवल्क्यलाई दुई वटा प्रश्नहरू फेरि सोध्नेछु । यदि यिनले मेरा प्रश्नहरूको जवाफ दिएमा यिनलाई कसैले हराउन सक्ने छैन । उनी ब्रह्मनिष्ठ ब्रह्मज्ञानी कहलाउनेछन् ।”
उनी याज्ञवल्क्यतिर फर्किन् । याज्ञवल्क्यले पनि गार्गीलाई प्रश्न सोध्ने अनुमति दिए । गार्गीले भूमिका बाँध्दै अगाडि भनिन्, “हे याज्ञवल्क्य ! विदेहका राजपुत्रले आफ्नो धनुमा ताँदो चढाई लक्ष्यभेदन गर्न सक्ने दुइटा पखेटा भएका दुइटा वाँण धनुमा चढाएर ताके जस्तै गरी म तपाईंलाई दुइटा वाणरूपी प्रश्न सोध्न चाहन्छु ।”
महर्षि याज्ञवल्क्यले भने, “हे गार्गी, निःशङ्कोच प्रश्न सोध ।”
गार्गीले सोधिन, “हे याज्ञवल्क्य ! यो ब्रह्माण्डदेखि माथि र तल जे छ, स्वर्ग र पृथ्वीको बिचमा जे छ तथा जो बितेर गइसक्यो, जो अहिले छ र जो अब हुन बाँकी छ अर्थात् जो भूत वर्तमान र भविष्य रूपमा छ, त्यो के हो र त्यो केमा समाहित छ ?
(स्पष्टीकरण यो प्रश्नको आधुनिक वैज्ञानिक रूप के हो भने शून्य (स्पेस) र समय (टाइम)भन्दा बाहिर पनि केही छ वा छैन ? छ भने त्यो के हो ?)
महर्षि याज्ञवल्क्यले उत्तर दिए, “हे गार्गी ! जो ब्रह्माण्डभन्दा माथि र तल छ, जो स्वर्ग र पृथ्वीको बिचमा छ तथा जो भूत वर्तमान र भविष्यका रूपमा छ, यसबारे शास्त्रवेत्ताहरू भन्दछन्, “त्यो अव्याकृत जगतरूप सूत्रात्मा हो । त्यो त्रिकालदर्शी अन्तर्यामी रूप आकाशमा ओतप्रोत छ ।”
(अव्याकृत भन्नाले प्रचलित व्याकरणका नियमबाट असिद्ध अथवा सिद्ध गर्न नसकिने, अव्युप्पादित वा असाधु । वृहत् नेपाली शब्दकोश, प्रज्ञा एकेडेमी)
गार्गीले याज्ञवल्क्यलाई भनिन्, “हे याज्ञवल्क्य ! तपाईंले मेरो प्रश्नको स्पष्ट उत्तर दिनुभएकोमा हार्दिक धन्यवाद । अब दोस्रो प्रश्न सोध्न चाहन्छु ।” याज्ञवल्क्यले अनुमति दिएपछि गार्गीले सोधिन्, “त्यो अव्याकृत, जगत् रूप सूत्रात्मा तीनै कालस्वरूप अन्तर्यामी रूप आकाशमा ओतप्रोत छन् । उसो भए त्यो आकाश केमा समाहित छ, त्यो कसको अधीनमा चल्दछ ?”
महर्षि याज्ञावल्क्यले जवाफ दिए, “एतस्य वा अक्षरस्य प्रशासने, गार्गी ।” अर्थात् कुनै यस्तो अ-क्षर (क्षय नहुने वा अक्षय) वा अविनाशी तत्त्व छ जसमा सबै ओतप्रोत छन् । यो अन्तर्यामी रूप, अव्याकृतको अधिष्ठान (बस्ने ठाउँ) त्यही अविनाशी अक्षर तत्त्व हो ।”
गार्गीले अगाडि भनिन्, “हे याज्ञवल्क्य ! मेरो दोस्रो प्रश्नको सही जवाफको लागि कृतज्ञ छु । अब सम्पूर्ण ब्राह्मण समुदायका लागि यो बताइदिनुहोस्, यो अविनाशी सूत्रब्रह्म अक्षरका बारे कस्तो वर्णन छ ?”
याज्ञवल्क्य अगाडि भन्दछन्, “यस अविनाशी सूत्रब्रह्म अक्षरको वर्णन ब्रह्मवेत्ता गण यसरी गर्छन्- यो स्थूलभन्दा भिन्न, सूक्ष्मभन्दा भिन्न, ह्रस्वभन्दा भिन्न, दीर्घभन्दा भिन्न, रङभन्दा भिन्न, स्नेहभन्दा भिन्न र प्रकाशभन्दा भिन्न छ । यो अन्धकार, वायु र आकाशभन्दा पनि भिन्न छ । यो अविनाशी अक्षर तत्त्व सँगरहित, रसरहित, गन्धरहित, चक्षुरहित, सूत्ररहित, वस्त्ररहित, वाणीरहित, मनरहित, तेजरहित, प्राणरहित, मुखरहित, परिमाणरहित र छिद्ररहित छ । हे गार्गी ! यसै गरी, यो अविनाशी अक्षर तत्त्व देश, काल र वस्तु आदि परिच्छेदबाट पनि पर छ, सर्वव्यापी र अविच्छिन्न छ । यो निराहारी छ । यसले केही खाँदैन, यसलाई कसैले खान सक्दैन । यो सबै प्रकारका विशेषणरहित एक अद्वितीय छ ।”
यस प्रकार सम्पूर्ण विशेषणहरूलाई “ब्रह्म”मा निषेध गरेर महर्षि याज्ञवल्क्यले अगाडि भने, “हे गार्गी ! यस प्रकार यही अक्षर तत्त्वका आज्ञामा रहेर सूर्य र चन्द्रमा नियमित रूपमा चल्दछन् । यस प्रसिद्ध अक्षरको आज्ञाले नै स्वर्ग र पृथ्वी पनि हातमा राखेको ढुङ्गा जस्तै मर्यादामा रहेका छन् । यस प्रसिद्ध अक्षरको आज्ञामा रहेरै निमेष, मुहूर्त, दिन, रात्रि, पक्ष, मास, ऋतु र संवत् आदि समयको गणना गर्ने इकाईका रूपमा सेवक जस्तै नियमित रूपमा आउने जाने गर्दछन् ।”
“हे गार्गी, यस प्रसिद्ध अक्षरको शासनमा रहेर नै गङ्गा आदि नदीहरू श्वेत हिमालबाट निस्केर समुद्रतिर बग्दछन् भने अन्य नदीहरू यसै अक्षरको नियन्त्रणमा आजसम्म आ-आफ्नै दिशामा बगिरहेका छन् । इन्द्रादी देवगण, यजमान, मानिस र पितृगण आदि सबै यसैको अधीनमा छन् ।”
“हे गार्गी, यस अक्षर “ब्रह्म”लाई नचिनी यदि कोही व्यक्ति यस लोकमा सहस्र वर्षसम्म रहेर स्वर्ग र मोक्षको लक्ष्य राखेर यज्ञ गर्दछन्, व्रतादि वा तप गर्दछन्, ती सबै निष्फल हुन्छन् । तिनीहरूले त्यो परम कल्याणकारी अक्षरलाई प्राप्त गर्दैनन् । जो व्यक्ति यस अक्षरलाई नबुझी भगवत् प्राप्त गर्नुभन्दा पहिले नै यस लोकबाट बिदा हुन्छ, तिनले मोक्ष पाउँदैनन् । ती फेरि यस मत्र्यलोकमा जन्म लिन्छन् । तिनीहरू दीन-दुःखी हुन्, ती कृपण बन्दछन् । जो यस अक्षरलाई जानेर यस लोकबाट मृत्यु प्राप्त गर्दछ, त्यो ब्रह्मवेत्ता भई मोक्ष प्राप्त गरेर जान्छ ।”
गार्गी, “यस प्रसिद्ध अक्षरलाई कसैले देख्दैनन् तर यसले सबैलाई देख्दछ । यसको आवाज कसैले सुन्दैन, तर यसले सबैलाई सुन्दछ । यो कसैको धारणमा आउँदैन, तर सबै यसको धारणामा आउँछन् । यसलाई कसैले बुद्धिले जान्दैन तर यो सबैको विज्ञाता हो । यसभन्दा भिन्नै द्रष्टा छैन र यसभन्दा भिन्नै श्रोता पनि छैन । तसर्थ, यो आकाश यही प्रसिद्ध अविनाशी अक्षर अथवा अव्याकृत ब्रह्ममा ओतप्रोत छ ।”
याज्ञवल्क्यको यो विलक्षण जवाफ सुनेर ब्रह्मज्ञानी गार्गी सन्तुष्ट भइन् । उनले मिथिला नरेश महावशी जनकको दरबारमा सम्पूर्ण सभालाई सम्बोधन गर्दै घोषणा गरिन्, “हे ब्राह्मण समुदाय ! याज्ञवल्क्य परम ब्रह्मनिष्ठ, ब्रह्मज्ञानी र ब्रह्मवेत्ता हुन् । ब्रह्मसम्बन्धी ज्ञानमा याज्ञवल्क्यलाई कसैले हराउन सक्ने छैन । सबैले याज्ञवल्क्यलाई सम्मान गर्नुहोस् ।”
साँचो अर्थमा भन्दा, मिथिला राजदरबारमा राजा महावशी जनक र सम्पूर्ण विद्वत् ब्राह्मणहरूलाई साक्षी राखेर गार्गीले ब्रह्मज्ञानसम्बन्धी प्रश्नहरू सोधेर याज्ञवल्क्यको परीक्षा लिइन् । गार्गीका खरा प्रश्नको उत्तर दिएर याज्ञवल्क्य परीक्षामा सफल भए । यसपछि गार्गीले याज्ञवल्क्यलाई ब्रह्मनिष्ठ ब्रह्मज्ञानी भएको घोषणा गरिन् । यसरी याज्ञवल्क्यलाई ब्रह्मनिष्ठ ब्रह्मज्ञानी बनाउने पहिलो व्यक्ति नै गार्गी थिइन् ।
गार्गीले त्यही सभामा याज्ञवल्क्यलाई गुरु मानिन् । आफू स्वयम् ब्रह्माज्ञानी भएर पनि याज्ञवल्क्यलाई गुरु मान्नुका पछाडि उनमा रहेको अहङ्कार रहित गुणको प्रमाण हो । गार्गीको यस कर्मबाट हामीले सिक्नुपर्ने कुरा के हो भने ज्ञानयोग्य मानिसका अगाडि कसैले पनि अहम् प्रदर्शन गर्नु गलत कर्म हो । यस्तै कर्मले व्यक्तिको महिमा र गरिमा अभिवृद्धि गर्दछ भन्ने कुरा गार्गीको चरित्रबाट बुझ्न सकिन्छ ।
त्यसपछि ब्रह्मनिष्ठ सभा समाप्त भयो । ब्रह्मनिष्ठ याज्ञवल्क्य आफ्नो बाटो लागे । साथै, गार्गीले आफ्नो बौद्धिक क्षमताले जनक र याज्ञवल्क्यलाई आपसमा अविभाज्य गरिदिइन् ।
याज्ञवल्क्य-गार्गी संवादको समय मापन
गार्गी-याज्ञवल्क्यको समयको हिसाब गर्दा महाभारतकालीन युधिष्ठिरको समयदेखिका तथ्यहरूलाई तान्नुपर्ने हुन्छ । महाभारतको युद्धपश्चात् हस्तिनापुरमा युधिष्ठिरले ३६ वर्ष राज्य गरे । युधिष्ठिरपछि उनका नाति परीक्षित हस्तिनापुरका राजा भए । परीक्षितपछि उनका छोरा जन्मेजयले हस्तिनापुरको राजगद्दी समालेका थिए ।
युधिष्ठिरपछिका राजा परीक्षित महाभारतमा अर्जुनका नाति एवम् अभिमन्युका छोरा थिए । महाभारतको युद्धमा अभिमन्युलगायत पाँच पाण्डवका द्रौपदीतर्फका पाँचै राजकुमारहरू मारिए । अभिमन्युको मृत्यु हुँदा उनकी पत्नी उत्तरा गर्भवती थिइन् । उत्तरा विराटनगरका तत्कालीन राजा बृहदबल र रानी सुदेष्णाकी छोरी थिइन् । राजा बृहदबललाई बिराटननरेश अथवा मत्स्यनरेश नामले पनि चिनिन्छ । उत्तराले युद्धको अन्तिम समयमा परीक्षितलाई जन्म दिइन् । परीक्षितका छोराको नाम जन्मेजय भएको र परीक्षितपछि उनी राजा भएको कुरा माथि नै आइसकेको छ । गार्गी यिनै जन्मेजयको शासनकालकी एक साहसी महिला विदुषी थिइन् । उनको विद्वताको कदरस्वरूप उनलाई परमहंस पनि भनिन्छ । यो समयलाई आज गणना गर्दा द्वापर युगको अन्त भई कलियुगको प्रारम्भिक समय सुरु भएको थियो भन्न सकिन्छ ।
अब हस्तिनापुर र मिथिला जनकपुरमा राजाहरूको समयको तुलना गरौँ । हस्तिनापुरमा युधिष्ठिर राजा हुँदा जनकपुरमा उनका समकालीन बाहुलाश्व राजा थिए । त्यसपछि क्रमशः हस्तिनापुरमा परीक्षित राजा हुँदा मिथिलामा कृती जनक राजा भए । हस्तिनापुरमा जन्मेजय राजा हुँदा मिथिलामा महावशी जनक राजा भए । हो यिनै महावशी जनकका पालामा मिथिलामा गार्गी र याज्ञवल्क्यले शास्त्रार्थ गरेका थिए । यो समय युधिष्ठिरपछि करिब पचास वर्षपछाडि भएको अनुमान गर्न सकिन्छ ।
यी सबै तथ्य केलाउँदा मिथिलामा महावशी जनकको दरबारमा भएको शास्त्रार्थ कर्ममा गार्गीले भाग लिएको हुनाले उनी मिथिलावासी नै थिइन् भन्ने पुस्टी हुन्छ ।
यसरी, गार्गीले आफ्नो विशिष्ट ज्ञान र अदम्य जिज्ञासाका माध्यमले याज्ञवल्क्यसँग बहस गरेर आफ्नो अब्बल सामर्थ्यको नमुना छोडिन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।