डा. अमिता दुबे हिन्दी साहित्यका एक प्रतिष्ठित साहित्यकार हुन्। साहित्यका लगभग सबै विधाहरूमा उनका पुस्तकहरू प्रकाशित भएका छन्। समालोचना, कथा, कविता, बाल-साहित्य, उपन्यास, समीक्षा-यी सबै विधाहरूमा अहिलेसम्ममा उनका कुल ३८ वटा पुस्तकहरू प्रकाशित भएका छन्। उनका पाँच वटा कृतिहरूले विभिन्न साहित्यिक पुरस्कार प्राप्त गरेका छन् भने आफ्नो लामो साहित्यिक जीवनमा उनी कुल ९० वटा विभिन्न साहित्यिक सम्मानहरूद्वारा सम्मानित भएका छन् । उनका कथाहरू उडिया, पञ्जाबी अनि बाङ्ला भाषामा अनूदित भई प्रकाशित छन्। हाल उनी उत्तर प्रदेश हिन्दी संस्थानका प्रधान सम्पादकका रूपमा कार्यरत छन्।
* * *
१. अव्यक्त पीडा
हामी उड्न चाहन्छौँ
यस्तो उडान
जहाँ हामीले पाउन सकौँ
आफ्नो सपनाको आकास!
हामी हिँड्न चाहन्छौँ
यस्तो मार्गमा
जहाँ हामीले पाउन सकौँ
आफ्नो सफलताको प्रकाश!
हामी दिन चाहन्छौँ
बालखहरूलाई समतल जमिन
जहाँ उनीहरूले पाउन सकुन्
आफ्नो महत्त्वाकाङ्क्षाका विकास!
हामी दिन चाहन्छौँ
आफ्नो सन्तानलाई यस्तो आकास
जहाँ उनीहरूले पाउन्
सबै ती कुराहरू जुन हामीले पाउन सकेनौँ!
हामी घर सजाउँछौँ
बैठक कोठा, छप्पर, बरन्डा
यहाँसम्म कि भान्साघर पनि
सुन्दर, फूलै-फूलले भरिएका चम्किला बोटहरूले।
विभिन्न आकार-प्रकारका
गमलाहरूमा रोपिएका यी बोटहरू
आकर्षक देखिन्छन्
कसै-कसैले यिनीहरूलाई
ईर्ष्यालु नजरले पनि हेर्ने गर्छन्।
किन कि
यी बोटहरू हुन् निमका
आँप-अनार-अम्बकका, बरका, पिपलका
कहिलेकाहीँ क्याक्टसका पनि।
आफ्ना जमिनबाट अलग्गिएर
हाम्रा आँगन, बरन्डा, छप्परका
शोभा बनेर मुस्कुराइ रहन्छन्
बिलकुल
त्यो चरा, सुगा, मैनाजस्तै
जसलाई थाहा छ धेरै अग्लो छ आकास
तर उड्नलाई पखेटा छैन
कहिले यी पखेटाहरूलाई मायाले कोत्र्याइन्छ
त कहिले नराम्रो घतले लुछिइन्छ…
हामी बनाउने गर्छौं
विशाल रुखहरूका बोनसाई
अनि सजाउँछौँ
आफ्नो घर, बैठक-कोठा, छप्पर
बरन्डा, भान्साघर अनि भान्साबारी पनि
अनि थाप्छौँ प्रशंसा
जो हामीलाई दिइने गरिन्छ सन्तोष-सौन्दर्यबोधका निम्ति!
हामी गर्व गर्छौँ
महसुस नगरीकन
त्यस अव्यक्त पीडाको
जुन आफ्नो जमिनदेखि
अलग्गिएपछि हुने गर्छ।
* * *
२. आनन्द
एउटा लामो अन्तरालपछि
तिमीले फेरि सहर छाडेका छौ
त्यो सहर जहाँ तिमी जाँदा
घाम पात्लिदैँ जाने गर्छ
अमलतास झन् पहिलिँदै जाँदछ
मानौँ उनीहरूलाई पीलिया भएको छ!
हरियो घाँस
तिमी गएदेखि फर्कञ्जेलसम्म
परेली झिमिक्क पारेको थिएन
कृष्णचुडा अनि गुलाफ
पहिला खिलखिलाउँदै फुलेका थिए
अनि फेरि उनीहरूले आफ्ना सबै पातहरू खसाएका थिए…
यसैबिच
पहिलाझैँ
तिम्रो चाँडो फर्काइको सम्भावनाले
विश्वास जगाएको छ
अमलतास पुनरनभाको सङ्गतले
पीलियामुक्त बन्नेछ
हरिया लहरा पारिजातका
ढकमक्क फूलहरूले सजिनेछन्
उसका उँघ्दै गरेका परेलीहरू
कहिले बन्ध हुन्छन् त कहिले खुल्नेछन्
किनकि ती परेलीहरूमा
सपनाहरू सजिएका हुनेछन्
अनि जब सपनाहरू रहनेछन्
तब
दिनहरू आफ्ना हुनेछन्
जहाँ कृष्णचुडा अनि गुलाफ
फेरि खिलखिलाउँदै फुल्नेछन्
अनि
उनीहरूका यसरी फुल्न
आनन्ददायक हुनेछ।
* * *
३. अलौकिक मधुमास
प्रेम के हो
कविताका पङ्क्ति
जीवनका सूक्ति
चिन्तकका उक्ति
अथवा
अन्तरात्माका मुक्ति?
प्रेम के हो?
मेरो विश्वासमा
प्रेम त त्यो भावना हो
जसले
सहज सन्तुष्टि दिने गर्छ
अद्भुत युक्ति दिने गर्छ
अपार तृप्ति दिने गर्छ
अनि विश्वव्यापी दृष्टि प्रदान गर्छ।
प्रेम भनेको त
शाश्वत तिर्खा
चातकको आस
गम्भीर हाँसो
अपूर्ण निःश्वास
अनि हो
अलौकिक मधुमास।
* * *
बिलोक शर्माः
बिलोक शर्मा कवि, अनुवादक अनि सम्पादकको रूपमा परिचित छन्। उनका मौलिक कविता सङ्ग्रह ‘समयाभास’ (सन् २०१९) उनि ‘कबितार रोटेपिङ’ (भारतीय नेपाली कविताहरूका बाङ्ला अनुवाद सङ्कलन, सन् २०२२) प्रकाशित भइसकेका छन्। विगत दुई दसकभन्दा बढी समयदेखि साहित्यलेखनमा होम्मिएका शर्माका देश-विदेशका विभिन्न पत्र-पत्रिकाहरूमा कविता अनि अनुवाद रचनाहरू (नेपाली अनि बङ्गला) नियमितरूपमा प्रकाशित हुने गर्छन्। उनका मौलिक कविताहरू बाङ्ला, हिन्दी, अङ्ग्रेजी अनि पञ्जाबी भाषाहरूमा अनुवाद भइ प्रकाशित भएका छन्। केही साहित्यिक पत्रिकाहरूका सम्पादन कार्यमा पनि उनी सङ्लग्न रहेका छन्। मदारीहाट, डुवर्स (भारत)-का स्थायी वासिन्दा उनी हाल उत्तर भारतको जलन्धर सहरमा एक बहुराष्ट्रिय संस्थामा कृषि-प्रबन्धकको रूपमा कार्यरत छन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।