डा. गौरव पाण्डेय एक जना सशक्त युवा कवि हुन्। हिन्दीका लगभग सबै प्रतिष्ठित पत्र-पत्रिकाहरूमा एवम् ब्लगमा उनका कविता अनि आलेख प्रकाशित छन्। उनका धेरै कविताहरूका अङ्ग्रेजी, बाङ्ला, गुजराती, मराठी भाषाहरूमा अनुवाद भएको छ। आकाशवाणीसमेत प्रसारण माध्यमका धेरै चैनलहरूमा कविताहरू प्रसारित छन्। गोरखपुर विश्वविद्यालय हिन्दी विभागका भित्ते-पत्रिका ‘लोकचेतना’का ५ वर्षसम्म उनले सम्पादन गरे। सन् २०२१ मा उनका कविता सङ्ग्रह ‘धरती भी एक चिडिया है’ साहित्य अकादेमीद्वारा प्रकाशित छ। हाल उनी गोस्वामी तुलसीदास राजकीय स्नातकोत्तर महाविद्यालय, चित्रकूटमा हिन्दीका असिस्टेन्ट प्रोफेसरको रूपमा अध्यापनरत छन्।
१) सहरमा भोक
साधारण लाग्ने कुराहरूलाई
ठुला-बडाहरूले गहनताका साथ भन्ने गर्छन्
“छोरा! यो देशमा मानिसहरू भोकै मर्ने गर्छन्
अनि कवि पनि!”
हामी हाँस्छौँ
उनीहरू रिसाउँछन्।
गाउँमा खेत थियो हाम्रो, बगैँचा थियो
बगैँचामा पुर्ख्यौली आँप-जामुन
कुवा-तलाउ
परिवार-छिमेक सबै थिए
कसरी बुझ्नू र बुवाका कुरा त्यस बेला!
अहिले सहरमा
केही अधिक नै लाग्ने गर्छ भोक
अलिक बढी नै सुक्ने गर्छ घाँटी पनि
हामीलाई खेतको सम्झना आउँछ
मृगझैँ दगुर्छ मन घरतर्फ…
तर अहिले कहाँ छ र
हाम्रो त्यो गाउँ पहिलाजस्तो
परिवार-छिमेक, बाग-बगैँचा-छाया !
तैपनि पाठकबृन्द !
गाउँमा बुवा छन्, आमा छिन् हाम्री
जहाँ बुवा छन् त्यहाँ भट्किरहन पर्दैन
जहाँ आमा छिन् त्यहाँ भोक हुँदैन।
*****
२) बुवाको ज्वरो
बुवालाई ज्वरो आएको छ
अनि हामी घरमा छैनौँ
बुवा घरमा बस्न रुचाउन हुन्न
ठुलोभन्दा ठुलो पीडामा पनि
केही न केही गरिनै रहनु हुन्छ
त्यसैले आज पनि
अत्यधिक ज्वरोमा पनि विद्यालयमा पनि जानु भएको छ
बिदाका दिनहरूमा पनि जानु हुन्छ
खेतबारीतर्फ।
साह्रो ज्वरोमा पनि
रातभरि जागेर खेतमा सिँचाइ गर्नु हुन्छ
खुर्पीले झार-जङ्गल साफ गर्नु हुन्छ
केही न भए रुखपातको जरामा माटो हाल्नुहुन्छ।
उनको मान्यता छ
रुखपातमा पुर्खाका आत्माको बास हुन्छ
जसले आपद्-विपदमा हामीलाई आशीर्वाद दिने गर्छन्
हामीलाई स्नेह गर्छन्
दबाइ हैन, लाडको अधिक आवश्यकता हुन्छ
ज्वरोमा
अब यसलाई के भन्ने
जब पनि बुवालाई ज्वरो आउँछ
हामी घरमा हुँदैनौँ
कतै यसो त हैन-
जब छोराहरू घरबाट टाढा पुग्ने गर्छन्
तब मात्र बुवालाई ज्वरो आउने गर्छ।
*****
३) बुवा पर्खिरहनु भएको छ
बुवा आकाशतर्फ हेर्नुहुन्छ
अनि कहिलेसम्म फर्कनु पर्छ भनी उपदेश दिनुहुन्छ
उनले हावालाई सोस्नु हुन्छ, विविध परिवर्तनबारे आकलन गर्नुहुन्छ
बुवालाई बादलमाथि भरोसा छैन
जसरी मानिसहरूलाई हिस्सेदार अनि छिमेकमाथि हुँदैन
तैपनि उनको मान्यता छ
कि हाम्रो केही न केही नाता त अवश्यै छ
यसैले जरुरी छ हर मौसममा एउटा चिठ्ठी लेख्न
बादलको रङ्ग अनि रफ्तार
बुवाले राम्ररी बुझ्नुहुन्छ
उनले भनिदिनु भएको थियो
धानको फलन कम्ती हुनेछ यसपालि
तर, तिल अनि बाजरामाथि आस गर्न सकिन्छ।
बुवा चिन्तित हुनुहुन्छ
आँपका फूलहरू अहिले पहिलाझैँ मौलाउँदैनन्
महुवाबाट कहाँ पाइन्छ पहिलाझैँ सुगन्ध
जामुनको पुर्ख्यौली बोट पनि गर्ल्याम्मै लड्यो
अनि तलाउ पनि यसपालि केही छिटै सुक्यो।
बुवा हरेक दिन बढ्दो दरारहरूसँग जुझ्नु हुन्छ
अनि, निरन्तर घट्दो आर्द्रतादेखि चिन्तित रहनुहुन्छ
हामी जान्दछौँ
बुवाले मनाही गर्दा पनि
व्यापारीले दर्जनौँपल्ट मोल तोकिसकेका छन्
आँगनमा ठडिएको निमको बोटको
जब कि बुवा पर्खिरहेको हुनुहुन्छ
कि एक दिन सबै समस्याहरू निप्ट्याएर
सहरबाट फर्कने छौँ हामी
अनि त्यही दिन पुराना हाँगाहरूबाट
एकपल्ट फेरि मौलाउने छन्
नयाँ-नयाँ पत्ताहरू।
*****
४) सन्दिग्ध
म यो भन्नै सक्दिनँ कि
मेरो दाहिने आँखाबाट बाहिरिने आँसुमा
त्यत्ति नै नुन छ
जति कि देब्रे आँखाबाट बाहिरिने आँसुमा।
हुन सक्छ कुनै घटनामा मेरो दाहिने आँखा रुने गर्छ
अनि देब्रे चुपचाप रहन्छ
मलाई थाहा छैन कि मेरो दाहिने हातमा छुरी कसले थमायो?
थाहा छैन कि देब्रेतर्फ रहेको मेरो मुटु
यति जोरले किन धड्किरहेछ?
*****
५) एक जना लेखकको मृत्युमा
एक जना लेखकको मृत्युमा अप्रकाशित रचनाहरू
सबैभन्दा बढी रुने गर्छन्
एउटा कलम जसमा केही स्याइ अवशेष थियो
आँसु झार्ने गर्छ
एउटा कागज जसमा रिक्त छन् धेरै ठाउँहरू
भुइँमा फरफराउने गर्छन्
प्रकाशक, सम्पादक अनि लेखकहरूले कति शब्दहरूमा
कहाँ-कहाँ श्रद्धाञ्जली दिने गर्छन् उनलाई
हेर्न आउँदैन लेखक
जसरी मध्यरातमा अचानक कुनै शब्दले बोलाउने गर्छ
यसरी नै कुनै पुकारमा निद्राबाट उठेर
लेखक आउने गर्छ।
बिलोक शर्माः
बिलोक शर्मा कवि, अनुवादक अनि सम्पादकको रूपमा परिचित छन्। उनका मौलिक कविता सङ्ग्रह ‘समयाभास’ (सन् २०१९) उनि ‘कबितार रोटेपिङ’ (भारतीय नेपाली कविताहरूका बाङ्ला अनुवाद सङ्कलन, सन् २०२२) प्रकाशित भइसकेका छन्। विगत दुई दसकभन्दा बढी समयदेखि साहित्यलेखनमा होम्मिएका शर्माका देश-विदेशका विभिन्न पत्र-पत्रिकाहरूमा कविता अनि अनुवाद रचनाहरू (नेपाली अनि बङ्गला) नियमितरूपमा प्रकाशित हुने गर्छन्। उनका मौलिक कविताहरू बाङ्ला, हिन्दी, अङ्ग्रेजी अनि पञ्जाबी भाषाहरूमा अनुवाद भइ प्रकाशित भएका छन्। केही साहित्यिक पत्रिकाहरूका सम्पादन कार्यमा पनि उनी सङ्लग्न रहेका छन्। मदारीहाट, डुवर्स (भारत)-का स्थायी वासिन्दा उनी हाल उत्तर भारतको जलन्धर सहरमा एक बहुराष्ट्रिय संस्थामा कृषि-प्रबन्धकको रूपमा कार्यरत छन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।