
लेखक
१) सत्र अक्षरीय हाइकु कविताको उद्गम थलो जापान हो । साढे तीन सय वर्ष पुरानो जापानी हाइकु कविता अहिले संसारभरका विभिन्न भाषामा लेख्ने गरिन्छ । छोटो मीठो मात्र होइन, तीखो भएका कारण पनि बौद्धिक व्यक्तिलाई हाइकुको शैली मनपर्छ । जापानमा हाइकुका अतिरिक्त अन्य धेरै शास्त्रीय लेखन शैलीका कविताहरु छन । जस्तै – तान्का, चोका, सेदोका आदि !
२) नेपालको हाइकु इतिहासबाट पनि यसको अनुमान गर्न सकिन्छ । नेपालका बौद्धिक लेखक मध्येका एक मानिने शंकर लामिछानेले २०१९ सालमा यसलाई नेपाल भित्र्याए । त्यसयता यो विधा जापानसँग साहित्यिक साइनो गाँसिएको अथवा कुनै न कुनै रुपमा जापानसँग सम्बन्ध जोडिएका बौद्धिक अभ्यास गर्न रुचाउनेहरु व्यक्तिहरुले अघि बढाएको देखिन्छ ।
३) हाइकु कविताले के भन्न खोजेको हो भन्ने बुझ्न केही घोत्लिनु पर्ने हुन्छ । केही लेखकहरुको अनुभवमा हाइकुको अभ्यास गर्दा अन्य विधालाई गहिरो बनाउन मद्यत गर्दछ । कम शब्दमा धेरै भाव व्यक्त गर्नु पर्दा हाइकु प्रभावकारी र बलियो ठहर्छ ।
४) आधुनिक हाइकु तीन लाइन र १७ अक्षरमा विभक्त भएको हुन्छ । पहिलो लाइनमा ५ अक्षर हुन्छन् । दोस्रो लाइनमा ७ अक्षर र अन्तिम लाइनमा पुनः ५ अक्षर हुन्छ । तीन लाइन र १७ अक्षरभित्र जति धेरै कुरा भन्न सक्यो, हाइकु त्यति नै राम्रो मानिन्छ । अक्षर गणना गर्दा सग्लो अक्षरको मात्र गणना गरिन्छ । आधा वा हलन्त काटिएको अक्षरलाई गणना गरिँदैन ।
५) जापानीहरु आफ्ना हाइकुमा प्रकृतिको वर्णन गर्न रुचाउँछन् । प्राकृतिक बिम्बको मिठासपूर्ण र सांकेतिक प्रयोगले हाइकु प्रभावकारी हुन्छ भन्ने मान्यता छ । जापानमा प्राकृतिक किगो सुचीकृत गरिएका पुस्तकहरु नै किन्न पाइन्छ ।
६) लिखित जापानी साहित्यको शुरुआत सातौँ शताब्दीबाट भएको हो । आज पनि सन् ७७० तिर लेखिएको पुरानो मान योशु ग्रन्थ जापानीहरुले सुरक्षित राखेका छन् । यस्मा थुप्रै एकतीस अक्षरीय ( ५-७-५-७-७ ) तान्का कबिता समेटिएको थियो । तान्का कबिताको आधुनिक रुप नै हाइकु हो ।
७) नेपाली कवितामा जसरी छन्द कविता र मुक्त भनेर लेखनका शैलीहरु छुट्याइन्छ, हाइकुमा पनि विभिन्न शैलीहरु हुन्छन् । हाइकुको गहिरो अध्ययन गर्नेहरुले यस्ता भिन्नता मज्जा मानेर पढ्ने गर्दछन् ।
८) संसारभरि हाइकु लेख्ने चलन व्यापक भएको छ । अङ्ग्रेजी, नेपाली, हिन्दी, बङ्गाली, डच्, फ्रेन्च, पोर्चुगल, स्पेनिस भिभिन्न भाषामा हाइकु लोक प्रिय छन् । नेपाली साहित्यमा त हाइकु कृतिहरु सयौँको संख्यामा प्रकाशित भएको पाइन्छ ।
९) हिजोआज नेपालमा ३ लाइन र १७ अक्षर बनाउनेबित्तिकै हाइकु बन्छ भन्ने भ्रम यदाकदा भेटिन्छ । सिकारु अवस्थामा १७ अक्षरमा कविता सिर्जना गर्न आफैँमा चुनौतीपूर्ण भएका कारण सुरुवातमा त्यो ठीकै लाग्न सक्छ । तर यसमा गहिरिँदै जाँदा भने विम्बहरु शक्तिशाली बनाउँदै लैजानु पर्छ । जसले कुशलतापूर्वक विम्बलाई हाइकुमा उतार्न सक्यो, हाइकुमा त्यित नै मिठास र गहनता भेटिन्छ ।
१०) हाइकु रचना गर्ने कविलाई जापानमा हाइजिन भनिन्छ । जापानमा हाइजिनको ठूलो इज्जत हुने गरेको छ । विद्यालय र कलेजको पाठ्य पुस्तकमा पुराना हाइजिनको जीवनी, हाइकु इतिहास र लेखन शैलीबारे पढाइ हुन्छ ।
११) कुनै पनि विधामा पारङ्गत हुन त्यही विधा नियमित पढ्नुपर्ने हुन्छ । त्यसको सैद्धान्तिक पक्ष र विगत पनि अध्ययन गर्नुपर्ने हुन्छ । हाइकुबारे निस्केका किताब, लेख तथा सामग्रीहरु खोजेर पढ्न सकिन्छ । थप कुराका लागि साहित्यपोस्टको सिर्जनमा सेक्सनमा गएर हाइकुहरु नियमित पढ्ने बानी बसाउन अनुरोध पनि गर्दछु ।
(प्रकाश पौडेल ‘माइला’ १५ वर्षदेखि जापानमा बसोबास गर्छन् । उनी वर्ड हाइकु एसोसिएसनका कार्यकारी सदस्य हुन् । उकत पदमा पुग्ने उनी पहिलो नेपाली हुन् ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

