“अहिलेको समय लकडाउनको समय हो । लकडाउनमा बस्नुलाई हामी थुनिएको नठानौँ, बरु यो समयलाई आफ्नो लागि, आफ्नो रुचिका लागि र आफुसँग सम्बन्धित कुराहरुलाई समय दिन पाइएको अवसरका रुपमा बुझौँ । यो सोचाइले हाम्रो मनोबलमा फरक पार्छ । मनोबलले स्वास्थ्यमा फरक पार्छ । यसैले यो समयलाई हामी चिन्तामा होइन, चिन्तनमा लगाऔँ । यसै पनि चिन्ता कि चिन्तन भन्ने फरक केवल सोचाइको हो । उहि सोचाइ नकारात्मक भए चिन्ता र सकारात्मक भए चिन्तन बन्न सक्छ । हामी केहिबेर साहित्यमा चिन्तन गरौँ । अग्रज वा अनुभवीका कुरा सुनौँ । विमर्श गरौँ ।” बूकाहोलिक्सले भनेको छ ।

बूकाहोलिक्स साहित्य तथा पठन संस्कृतिको श्रीवृदिका लागि प्रयासरत फेसबुक ग्रुप हो । उसले लकडाउनमा माथि उल्लेखित अवधारणा प्रयोग गर्दै हरेक दिन एक जना लेखकसँग अनलाइन साक्षात्कारको कार्यक्रम गरि रहेको छ ।

‘लकडाउनमा श्रष्टासँग साक्षात्कार’ नाम दिएको सो फेसबुक लाइभ कार्यक्रममा लेखकहरुले आफ्नो सृजनाको अंश वाचन गर्ने तथा लेखनका सिलसिलामा आफुले प्राप्त गरेको अनुभवहरु बाढ्ने गर्दछन् । सोही कार्यक्रममा सर्जक मनु मञ्जिल साक्षात्कारमा आएका थिए । सर्जक मनु मञ्जिलका ‘ल्याम्प पोस्टबाट खसेको जून’ लगायतका कृतिहरु प्रकाशित छन् । साक्षात्कार कार्यक्रममा उनले आफ्नो लेखन अनुभवबारे मात्रै सुनाएनन्, आफ्ना केहि कविताहरु पनि वाचन गरेका थिए ।

हामीले यो भिडियो बुकाहोलिक्सको युट्युब च्यानलबाट साभार गरेका हौँ ।