
(पात्र-पात्रा – हजुरीराम, चन्टु, सम, दम, रउता महाजन, रुकु, शिक्षिका आदि) बाद्यवादनको ध्वनि
हजुरीराम- तपाईंको, खूबै मनासिब, होइन चन्टु बाबु, यो पुतली छटाइ जुङ्गा त क्या राम्रो खुल्छ तपाईंको चेहरामा ! झलक्क हेर्दा बज्यूको कथाको राजकुमार जस्तो तपाईंको !
चन्टु- हे… तपाईंले पनि अब फुर्क्याउन थाल्नुभो हजुरीरामज्यू !
हजुरी- खूबै मनासिब, साँचो कुरो हो चन्टुबाबु, फुर्क्याएको होइन ।
चन्टु- साँचो भन्नुस् त हजुरीज्यू, के म नराम्रो छु र !
हजुरी- तपाईंलाई नराम्रो भन्ने त आँखै फुटेको हो खूबै मनासिब । मान्छे कालो हुँदैमा नराम्रो हुन्छ र ? शरीरको बान्की पो हेर्नुपर्छ !
।
चन्टु- त्यही त म भन्छु मेरा साथीहरूलाई । उनीहरूले मलाई नराम्रो भन्दा त म छक्क पर्छु । ममा केको कमी छ र ? त्यसै छोरी दिन आउँदै थिए मलाई चारैतिरबाट ! तपाईंलाई त थाहा नै छ, आजै बिहान आएका थिए एउटी कन्याको कुरो लिएर ।
हजुरी – खूबै मनासिब… किन आउँदैनन् ? हजार ठाउँबाट आउँछन् तपाईंको ।
चन्टु- तर मैले नै नकारिदिएँ । केटीको फोटो देखेरै हरेश खायो मनले । रंग पनि कालो, अनि केटी पुड्की छ रे ।
हजुरी- अहिले के बितेको छ र त्यस्तोमा हात हाल्नू ? भर्खर ३५ वर्ष त लाग्नुभो तपाईंको ? पश्चिमी देशतिर ४० वर्षमा बल्ल बिहे हुन्छ । फेरि बिहे आफैंले खोजेर रोजेर गर्नुपर्छ । ला गर भन्न आएकामा त केही खोट हुन्छ नै तपाईंको ।
सम र दमको प्रवेश । (ढोका उघ्रेको ध्वनि)
दम- ओहो भाइ चन्टु ! हजुरीरामले के पाठ पढाउँदै हुनुहुन्छ तिमीलाई ?
चन्टु- अरे सम दम ! आऊ आऊ ! बडो मौकामा आयौ । तिमीहरूलाई त भेट्न नै पर्ने थियो ।
सम- एकदम ठीक !
दम- के ठीक भन्छौ यार तिमी पनि ? हजुरीले हामीलाई छेड हानेको थाहा छैन । आफूजस्तै सम्झनुहुन्छ यहाँले हामीलाई पनि ?
सम- एकदम ठीक, त्यो त छौं ।
हजुरी- हो, त्यही भनेको, बिहे गराउने ताकमा हुनहुन्छ तपाईंहरू पनि, तपाईंको । आज बिहानै एकजना आउनुभएछ, कन्याको फोटो लिएर, खूबै मनासिब ।
दम- फोटो खूबै मनासिब भन्नु भो कि कसो ?
हजुरी- होइन, फोटो राम्रो भए त कुरो मिलिहाल्थ्यो नि ? मनै नपर्ने तपाईंको ।
दमु- कसो भाइ चन्टु । हजुरीज्यूलाई मन नपरेको कि, तिमीलाई पनि ?
चन्टु- मनपर्ने कुरै के थियो र एकदम काली औ पुड्की पनि ।
दम- त्यो त तिमीलाई पनि त हेर्नुपर्यो नि ? तिमी चार फुटको छौ त केटी अग्ली खोजेर काँ पाउनू ?
चन्टु- चार फिट पाँच इञ्ची भन यार, पाँच इञ्ची किन घटाउँछौ ? त्यो त केटो अलि होचै सुहाउँछ मिस्टर । फेरि रङ्ग पनि त हेर्नुपयो । फोटोमै त्यस्ती डढेकी ठूटाजस्ती छ… ।
सम- एकदम ठीक ।
दम- भाइ, ठीकै छ तिम्रा कुरा पनि । तिमी पनि त कालै छौ ?
चन्टु- फेरि उही कुरा । म कालो छु र त ऊ गोरी हुनुपर्यो । मेरो त शरीरको गठन त मिलेको छ ! फेरि लोग्ने मान्छेको रूप नै कसले हेर्छ र ?
हजुरी- खूबै मनासिब ! गुणमा कमी छ भने भन्नुहोस् ?
चन्टु- फेरि मेट्रिकमा फेल भएर पढ्नै छाडेकी केटी !
दम- तिमी पनि त आइ.ए.मा पाँच-पाँच चोटि फेल भएका हौ आखिर ।
सम- एकदम ठीक ।
चन्टु- त त्यसले के भो ? यस पाला छैटौं चोटि परीक्षा दिने तयारी गर्दैछु । मैले पढ्न त छोडेको छैन ।
सम- एकदम ठीक । (सानो)
दम- चूप लागत तिमी ? यो पनि ठीक, ऊ पनि ठीक । काम नपाएर ।
सम- एकदम ठीक । (बिस्तारो)
दम- अच्छा चन्टु । त्यसो भए भन, बिहे गर्ने नै विचार छैन कि कसो ?
हजुरी – खूबै मनासिब सोध्नुभो । यहाँको बिहेसम्म पनि गराउन नसके हामी इष्टमित्र भएको के सार भो, तपाईंको ?
सम- एकदम ठीक, बिहे त गराउनैपर्छ चन्टुको ।
दम- त्यो त चन्टुको इच्छामाथि भर पर्छ, हामीले भनेर हुँदैन ।
चन्टु- होइन, भनेजस्तो केटी पनि त पाउनुपर्यो ?
दम- आखिर कस्तो केटी चाहन्छौ, तिमी नै भन ।
चन्टु- मेट्रिक पढ्दै गरेकी, अग्ली, गोरी, राम्री, नाच्न जान्ने, गाउन जान्ने… ।
सम- (प्रत्येकमा ठीक ठीक भन्दै जानु ।)
दम- (हाँसेर) होइन, नाच स्कूल खोल्ने विचार छ कि कसो ?
हजुरी- खूबै मनासिव, दमज्यू तपाईंको यी सब कुरा छोडौं न अब ।
!
दम- ओहो ! हजुरीज्यू मेरो कुरा कहाँ हो र, चन्टुको भन्नोस् न ।
हजुरी- भैगो तपाईंको … ।
दम- फेरि तपाईंको भन्नुहुन्छ ।
हजुरी- खूबै मनासिब, क्या हाँसो गर्नुहुन्छ तपाईं पनि । तपाईंको यह बिर्सेछु । चन्टुज्यूको निम्ति कन्या मैले देखेको छु । सबै कुरामा मिल्ने, तपाईंको यहाँले खोजे जस्तै । तपाईंको, निलिकोट, रउता महाजनकी छोरी ।
दम- त्यो त देख्नु भो होला तर उनीहरू राजी हुन्छन् ? फेरि चन्टुलाई मनपर्ला ?
हजुरी- खूबै मनासिब ! त्यो ता कन्या हेरी कोरी नै कुरो छिनिन्छ नि तपाईंको । मन नपर्ने कुरो त आउँदै आउँदैन । रह्यो कन्यापक्षको कुरो । त्यो ता कन्यार्थी भएर तपाईंहरू साथमा हिंड्नुहोस्, न मात्र । कुरा ठीकठाक पार्ने मेरो जिम्मा । एकप्रकार कुरो चलाई पनि सकेको छु मैले ।
चन्टु- तर कन्या देख्नमा सुन्दरी त छे ?
हजुरी- त्यो ता पूर्णिमाको जून भन्छन्, तपाईंको !
दम- भन्छन् मात्रै कि तपाईंले पनि देख्नु भएको ?
हजुरी- नदेखे पनि, देखेकै सम्झनुहोस् न तपाईंको ! कन्याका पितासित मेरो पुरानो परिचय हो ।
चन्टु- त्यसो भए कन्या माग्न जाने पो ठीक गर्नु पर्यो ।
हजुरी- खूबै मनासिब, यही आइतवार जानुपर्छ । शुभ काममा ढिलो किन, होइन त समजी ?
सम- एकदम ठीक । आइतवार हाम्रो छुट्टी पनि रहन्छ ।
हजुरी- खूबै मनासिब, छुट्टि तपाईंको यहाँहरूले अरू दुई दिन लिनुपर्छ । टाढाको कुरो, बुधवार यता फर्कन कठिन पर्छ तपाईंको ।
दम- छुट्टी त लिउँला नि हजुरीज्यू, चन्टुको बिहेको निम्ति किन पछि सरिन्छ र । तर हेर्नुहोस्, कन्यार्थी भएर म त कहिले कतै गएको छैन । यस्तो काममा त अलि बुढापाकालाई लानु बेश हुन्छ ।
सम- एकदम ठीक, हामीलाई छुट्टी पाउन पनि मुश्किल छ ।
चन्टु- समको कुरा सुन्नुभो हजुरीज्यू, छुट्टी पाइँदैन रे । साथी भाइ भएर तिमीहरू नै फुत्कन खोजेर कसरी हुन्छ ? तिमीहरू त जानैपर्छ ?
हजुरी- खूबै मनासिब ! यहाँहरू सँगै गइदिनु मात्र पर्यो । कुरो कानी, काम दाम मिलाउन त यो सेवक छँदै छ नि ।
दम- भैगो सबै कुराको अङ्गभर तपाईं लिनुहुन्छ भने हामी-साथ लाग्न सक्छौँ, होइन त सम ?
सम- एकदम ठीक, छुट्टी पाउन के छ, पाइहालिन्छ ।
दम- अच्छा, त्यसो भए आजको सभा भङ्ग गरौं अब । आइतवार जाने निश्चित भो, कि कसो चन्टु ?
चन्टु- अब तिमीहरूले जे मनासिब ठान्छौ, म त तिमीहरूकै भरमा छु ।
हजुरी- यही आइतवार, खूबै मुनासिब पर्ला, सबैजना यही भेला हुने ! लौ अब बाटो लागौं, तपाईंको ।
****
(दृश्य परिवर्तनको संकेत-वाद्यध्वनि)
दम- होइन हजुरीज्यू, चन्टुलाई त तपाईंले फुर्याएर भुइँमाथि उचाल्नु भो त । अब भन्नुहोस्, त्यो रउता महाजनले चन्टु जस्तालाई देला छोरी ? फेरि तपाईं भन्नुहुन्छ, केटी, पढेकी, राम्री गुणवती छ । त्यस्ती केटीले चन्टु जस्तो केटासित बिहे गर्न राजी होली ?
हजुरी- खूबै मनासिब, ओहो दमज्यू तपाईं हेर्दै मात्र जानोस् न, ईश्वरले सबैको निम्ति सुहाउँदो जोडी बनाएका छन् यस संसारमा । हाम्रा चन्टु बाबुको पनि बिहे हुन्छ नै । लौ म त यहाँ पस्नु छ एक ठाउँ । अहिले छुटिउँ है दम र सम बाबु, तपाईंको ?
दम- हवस् (अलि टाढाबाट) ।
दम- (नजिक) सम । म त यसमा पनि हजुरीको केही चाल छ जस्तो लाग्छ ।
सम- एकदम ठीक । कुरामा केही रहस्य त अवश्य छ, तर हजुरीराम, मान्छे त्यति बइमान त छैन ।
दम- बइमान छैन तर लोभी छ साह्रै । चन्टुलाई फुर्याई फुक्र्याई कति पैसा झारिसकेको छ ।
सम- एकदम ठीक । चन्टु जस्ताको त खानै पर्ने हो ।
दम- अरू यो चन्टु । आफू बूढो हुन आँटिसक्यो, अक्कल केटाकेटीको छ । आफ्नो अनुहार हेर्दैन, केटी बत्तीस लक्षणले परिपूर्ण चाहिन्छ उसलाई ।
सम- एकदम ठीक, आफू स्वयं पोल्दापोल्दै उम्केको जस्तो छ, केटी चाहिन्छ अग्ली, गोरी । फेरि आफ्नो चाहिं खुट्टा पनि त एउटा अलि छोटो छ ।
दम- केटी मेट्रिक फेल भई रे ? आफू कौनसा पढन्ते छ । आइ.ए. मा पाँचचोटि फेल भइसक्यो ।
सम- एकदम ठीक । यसपाला छैटौंचोटि तैयारी गर्दै छ ।
दम- अरे, अरू ६ छोटि एपियर गरे पनि पास हुँदैन । आफ्नो आङको भैसी नदेख्नु, अर्काको आङको जुम्रा कोट्याउनु भनेको यही हो ।
सम- एकदम ठीक । फेरि रूप नभए पनि गुण होस् । प्याला र पासाको व्यवहार नगरी हुँदैन उसलाई ।
दम- जे होस् । साथी हो । यो आइतवार गएर हेरौं हजुरी रामले के कता घुमाउने हुन् । लौ सम मेरो त जङ्कशन आइपुग्यो अब ।
सम- एकदम ठीक ! तिम्रा डब्बा काट । यो इञ्जीनलाई त अझ अघि बढ्नु छ ।
****
दृश्य परिवर्तन (वाद्यध्वनि)
हजुरी- दमज्यू, घर त यही हो । लौ हिंड्नुहोस् न तपाईंको, किन रोकिनु भो ?
दम- तपाईं अघि हिंड्नुहोस् न । तपाईंले चिनेको घर ।
हजुरी- खूबै मनासिब, लौ आउनुहोस् तपाईंहरू (टाढैबाट) महाजन साहेब हुनुहुन्छ ?
महाजन- (टाढैबाट) को हो ? वहाँ हजुरीज्यू, माथि नै पाल्नोस् भित्रै पाल्नोस् न । (आशन ग्रहण गरेको शब्द)
महाजन- यहाँहरूलाई त चिन्न सकिनँ ?
हजुरी- यह, यहाँ समज्यू, यहाँ दमज्यू, अनि यहाँ हुनुहुन्छ हाम्रो चन्टु बाबु । बडा गुणी मानिस तपाईंको ।
महाजन- नमस्ते । यहाँहरू पाल्नु भएर बडो असल भो । हजुरीज्यू । यसपाला कति कामले कष्ट पाउनुभयो को नि ?
हजुरी- खोइ तपाईंको, काम त थियो सानो सानो । असलमा यहाँको बारीमा सुन्दर फूल फक्रेको छ भन्दा सुनेर यहाँ हाम्रा चन्टु बाबुले आफ्नो घरको शोभा बढाउन खोज्नुभएको थियो र भिक्षा मागूँ भनेर तपाईंको । कुरो मैले अस्ति नै झल्काएकै हुँ । बुझ्नु नै भयो होला ?
महाजन- ए बुझें त्यो ता । खइ, अझ एक वर्ष दिने विचार त थिएन । कन्यालाई घरैमा गुरुमा राखेर पढाउँदै पो छु । तर तपाईंले अस्ति नै कुरो छिनिहाल्नुभो । अब हेराउँदा कोराउँदा जुरेछ भने कन्या तपाईंकै हो, म के भनूँ ?
दम- त्यो त सबै ठीकै छ महाजनज्यू, तर मेरो विचारमा कन्या हेर्न पाए बेश होला । कन्याले पनि वरलाई हेर्नुपर्यो । दुवैको मन बुझेर गर्दा राम्रो हुन्छ ।
महाजन- त्यो त बेशै हो । अचेल त्यस्तै चलन झिकेका छन् । अघिको जस्तो छैन । हेर्नुहोस् न कन्या त । (टाढाबाट) ए बिर्से । कता गयो ? जलपान ल्याउन बिर्स्यौ कि क्या हो यसले । ए रुकु ।
रुकु- हजुर ! (टाढाबाट)
महाजन- पानी ल्याऊ बा पाहुनाहरूलाई ?
रुकु- (टाढैबाट) हवस् । (भाँडाकुँडाको शब्द, वाद्य ध्वनि)
महाजन- हजुरीज्यू । लौ जलपान लिँदै गर्नुस्, म भित्रबाट आइहालें ।
दम- हजुरीज्यू । कन्या पानी ल्याउने चाहिं हुन् वा अर्की चाहिं ? दुई जना सँगै आए, कुन हो कुन ?
चन्टु- के कुरा गर्छौ यार तिमी पनि ? पानी लिएर आउने चाहिं केटी नोकर्नी हो । कन्या त अर्की साथमा आउने चाहिं हुन् । ठूला बडा घर्की केटी त्यसै छुट्टिहाल्छ नि । क्या राम्रो कमलको फूल जस्तो चेहरा । हजुरीज्यूले भनेको ठीकै हो ।
हजुरी- खूबै मनासिब । खानदानकी केटी, पानी आफै बोकेर किन आउँथिन् ? पानी ल्याउने नोकर्नी र अर्की चाहिं कन्या हुनुपर्छ, तपाईंको ?
दम- तै पनि सोद्धा के बिग्रन्छ र ?
चन्टु- किन सोध्न पर्यो ? केटी उनै हुन् भन्ने कुरामा शंकै छैन ।
हजुरी- खूबै मुनासिब, सोधेर आफ्नो मूर्खता किन प्रकट गर्नु ।
चन्टु- हजुरीज्यू । अब कुरो छिनिहाल्नोस् ?
महाजन- (आउँदै) यह । (यहाँहरूले त केही पनि लिनुभएन ।) यहाँहरूले त केही पनि लिनुभएन छ । खानुहोस् न ।
दम- निको छ महाजनज्यू, लिंदैछौँ ।
हजुरी- खूबै मनासिब, अब कुरो छिनेकै बेश होला महाजनज्यू । तपाईंको, शुभकाममा किन ढिलो गर्नु ?
महाजन- जसो भन्नुहुन्छ नै, ज्योतिषी तपाईं हुनुहुन्छ आफैं । हेर कोर गर्नुहोस्, कुण्डली केटीको तपाईंसितै छ।
दम- पात्रो त होला नै हजुरीज्यूसित ?
हजुर- किन नहुनु तपाईंको, आफ्नो त धन्दै यही हो । कुण्डली मैले हेरिसकेको छु । जहाँ यी कन्या जान्छिन्, त्यो घरै स्वर्ग हुन्छ तपाईंको । यो बिहेमा कुनै बाधा छैन तपाईंको ।
दम- लगन कहिले निस्कन्छ ?
हजुरी- लगन यही फागुन १७ गते, अब बारै दिन रह्यो तपाईंको ।
दम- कसो चन्टु । भ्याइएला !
चन्टु- त्यो त गर्ने साथी तिमीहरूनै हौ । तिमीहरू ताते किन हुँदैन ?
दम- हामी त छँदैछौं नि, अब महाजनज्यूले के भन्नुहुन्छ ?
महाजन- मलाई केही आपत्ति छैन । सबै कुरा भइहाल्छ ।
हजुरी- खूबै मनासिब, त्यसो भए छिनियो कुरो महाजनज्यू, फागुन १७ गने जन्ती आउँछन् तपाईंको ?
दम- अब उठ्न पनि पर्छ होला, होइन सम ।
सम- एकदम ठीक, दम !
महाजन- एकैछिन अब, जनै सुपारी गरेरै जानोस् । म व्यवस्था मिलाउँछु । अहिले आएँ ।
****
(दृश्य परिवर्तन वाद्यध्वनि)
(वाद्यध्वनि-शहनाइ, नौमती बाजा, बिहेघरको स्वर)
एउटा स्वर- कन्यालाई मण्डपमा ल्याउन पर्यो, किन ढिलो भयो ?
दम- ऊ ल्याउँदै छन् ।
चन्टु- (बिस्तारै हजुरीसित) हजुरीज्यू । कन्या त होची जस्ती छन् त धोका त भएन ?
हजुरी- बोकेकाले होचो देखिएको होला तपाईंको ?
चन्टु- कस्तो बोकेकाले ! हेर्नोस्, हामीले हेरेकी कन्या त दुलहीको पछिपछि आउँदै छिन् । दुलही त त्यो नोकर्नी भनेकी केटी पो हो क्या र ? हामीलाई धोका भो । यो बिहे हुन सक्तैन ।
हजुरी- धैर्यले काम लिन पर्यो चन्टु बाबु । अहिले हल्ला गर्नुभएन तपाईंको ।
चन्टु- कस्तो धैर्य ? यो सब तपाईंको चाल बुझिन्छ । म अहिले महाजनसित गएर भन्छु ।
दम- सम ! देख्यौ, कस्तो रहस्य छ ? दुलही मैले सन्देह गरेकै केटी हो ।
सम- एकदम ठीक । चन्टुलाई सुहाउँदी छ । जस्तालाई तस्तै । चन्टु कता गयो उठेर ? हजुरी पनि छैन ।
चन्टु- महाजनज्यू ! यो बिहे हुन सक्तैन । मैले हेरेकी कन्या त्यो होइन ।
महाजन- के भन्नुहुन्छ । एउटै त छ मेरी छोरी जम्मा, त्यसदिन पानी ल्याउने निहुँ गरेर मैले देखाएको होइन कन्या ?
चन्टु- पानी ल्याउने चाहिं तपाईंकी कन्या हो ?
महाजन- अन्त के नोकर्नी सम्झनु भो उसलाई ?
चन्टु- तपाईंकी कन्या त्यस्ती काली ठूटी र पुड्की न पुड्की ?
महाजन- त्यसो नभन्नुहोस् । त्यस्तै थिई र त तपाईं जस्तालाई दिनुपर्यो । नभए के आँखा फुटेका थिए मेरा ?
शिक्षिका- के भो महाजन बा ?
चन्टु- मैले त्यस दिन हेरेकी कन्या यी हुन् ।
महाजन– को ! गुरुमा ? यी त रुकुकी मास्टरनी हुन् । हामी सबै गुरुमा भन्छौं यिनलाई ।
चन्टु- मैले त यिनैलाई रोजेको हो ।
शिक्षिका- यहाँले मलाई रोज्नुभएछ, मेरो सौभाग्य हो । तर एउटा कुरा गर्न बिर्सनुभएछ कि जस्तो लाग्यो !
हजुरी- खूबै मनासिब ! के होला गुरुमा तपाईंको ?
शिक्षिका- मलाई रोज्नुभन्दा पहिले, यहाँले आफ्नो चेहरा ऐनामा हेरेर आउनु भएको भए बेश हुने थियो ।
चन्टु- ऐना ?
हजुरी- मगाइदिऊँ, तपाईंको ?
शिक्षिका- किन चाहियो अब ? उहाँले झलझली स्मृतिपटमा आफूलाई देखिरहनुभएकै होला ।
दम- चन्टु । हिँड मण्डपमा, किन इज्जत फ्याँक्छौ ? अब जे भो भो !
चन्टु- तर… ।
शिक्षिका- जानुहोस् चन्टुज्यू ! तपाईंको भाग्य हो रुकुलाई पाउनु भो । मान्छेको रूपले के हुन्छ, उसको गुण तपाईंले देख्नुभएको छैन, बुझ्नुभो ?
चन्टु- अच्छा, तपाईं भन्नुहुन्छ भने…. ।
****
एक स्वर : ए ! बाजा बजाओ, अब लगन हुन आँट्यो । (बिहेको बाजा मन्त्रोच्चारण र कोलाहल)
शिक्षिका- कसो त हजुरीज्यू !
हजुरी- खूबै मनासिब ! तपाईंको भूमिका सुन्दर थियो तपाईंको ।
शिक्षिका- होइन, मूल भूमिका त तपाईंकै थियो, मेरो त छोटो सहयोगी अभिनय मात्रै ।
हजुरी- जोडा ठीकै हो ! किन नमिलोस् जोडा ? आखिरी जुराएको कसले, हजुरीरामले, तपाईंको । कसो दमज्यू !
दम- ठिकै हो ! यता हजुरीराम उता गुरुमा, चन्टु बिचरा उम्केर काँ जाँ ! होइन त सम ?
सम- एकदम ठीक दम ।
(बाजा र कोलाहलको स्वर तीव्र हुन्छ ।)
वाद्यध्वनि-समाप्तिको ।
(‘लीलबहादुर क्षत्री चर्चित नाटकहरू’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

