लन्डन/भिक्टोरियन कालमा खिचिएका प्रख्यात लेखक चार्ल्स डिकेन्सका आठ तस्बिरलाई यतिबेला उनकै नाममा खुलेको संग्रहालयले रंगीन बनाउने अभियान शुरू गरेको छ।

‘क्रिसमस क्यारोल’, ‘ओलिभर ट्विस्ट’, ‘अ टेल अफ टु सिटिज’, ‘डेभिड कपरफिल्ड’ तथा ‘ग्रेट एक्सपेक्टेसन्स’जस्ता प्रख्यात उपन्यासका लेखकको तस्बिर रंगीन बनाउने यस अभियानलाई केहीले स्वागत गरेका छन् भने केहीले भने आलोचना गरेका छन्। चार्ल्स डिकेन्स म्युजियमले यस अभियानलाई अघि बढाएपछि डिकेन्स वास्तवमै कस्तो देखिन्थे होला भनेर कल्पना गर्नेहरूका लागि एउटा मसलासमेत दिएको छ ।
रानी भिक्टोरियाको पालाका यी लेखकको फेसन मोह, रोजाई, छालाको रङ आदि सबै अध्ययन गरी उनको रंगीन तस्बिरमध्ये एक (यहाँ देखिएको) सार्वजनिक गरिएलगत्तै यसको पक्ष र विपक्षमा कुराहरू उठ्न थालेका हुन्।
उनको तस्बिरलाई रंगीन बनाउन डिकेन्सका पनातिका पनि पनातिको सहयोग लिइएको म्युजियमले जनाएको छ। डिकेन्सका सन्तानका दुई जना पनातिका पनि पनाति अझै ज्यूँदै छन्। गेराल्ड डिकेन्स र मार्क डिकेन्सको छालाको बनोट अध्ययन गरी चार्ल्स डिकेन्सको अनुहारलाई रंगीन बनाउन सहयोग लिइएको संग्रहालयले जनाएको हो।
‘अनुहारको रङलाई अन्तिम स्वरूप दिँदा मलाई त अचम्मै लाग्यो,’ रंगीन तस्बिर अभियानमा संलग्न ओलिभर क्लाइडले भने, ‘उनको यो तस्बिरलाई अन्तिम रूप दिइसक्दा मलाई के लाग्यो भने उनको यो तस्बिर खिच्ने क्रममा उनको स्वास्थ्य उति राम्रो थिएन होला। उनी अलि पहेँलिएजस्तो वा अनुहारमा कान्तिको अभाव स्पष्ट झल्कन्छ।’
उनको यात्रामोहका कारण बरोबर विभिन्न मुलुकमा गइरहन्थे । जसका कारण उनी एउटा गोराजस्तो नदेखिई अलि छाला डढेको अध्ययनले देखाएको ओलिभर बताउँछन्।
उनी भन्छन्, ‘यो तस्बिर हेर्नुभयो भने उनले कयौँ समयदेखि कपाल नकोरेको र दाह्रीलाई नसम्याएको देखिन्छ।’
डिकेन्सका आठ तस्बिरहरूलाई रंगीन बनाउने अभियान चलाइएको हो। तीमध्ये यो पहिलो चरणको तस्बिर हो। यो तस्बिर उनी ४७ वर्षको छँदा लिइएको विज्ञहरू बताउँछन्।
अभियानकी क्युरेटर फ्रान्की कुबिकी भन्छिन्, ‘धेरैलाई कुनै साहित्यकारको अनुहारलाई रंगीन बनाउनु सामान्य काम जस्तो लाग्ला तर यसका लागि हामीले लामो शोध गरेका छौँ र धेरैको सहयोगले उनको वास्तविक रङ ल्याउने प्रयास गरेका छौँ।
रंगीन बनाइएका यी सबै तस्बिरहरूलाई बन्दाबन्दी खुलेपछि चार्ल्स डिकेन्स संग्रहालयमा प्रदर्शनका लागि राखिने पनि कुबिकीले बताइन्।