
झारखण्डकी जसिंता केरकेट्टा आदिवासी समाजबाट प्रतिनिधित्व गर्ने एकजना अग्रणी हिन्दी कवि हुन्। उनका तीनवटा कविता सङ्ग्रहहरू- अंगोर (२०१६) जड़ो कि जमीन (२०१८) अनि ईश्वर और बाजार (२०२१) प्रकाशित छन्। सन् २०१४ मा उनलाई एसिया इंडिजिनियस पीपुल्स पैक्टले भइस् अफ् एसिया रिकग्नेसन् एवार्डले सम्मानित गरेको छ, साथै उनी रविशंकर उपाध्याय स्मृति कविता पुरस्कार, प्रभात खबर अपराजिता पुरस्कार आदिले सम्मानित भइसकेका छन्।
===========
१. विवाह
विवाहबारे घरमा
आमाले पालै-पिलो सबैलाई सोध्नु भयो
अनि क्रमैले सबैको बिहे भयो।
तर यसबारे मलाई कहिल्यै केही सोध्नु भएन
एकदिन बेलुकीपख मैले उनलाई सोधेँ-
आमा ! यसबारे तपाईँले
मलाई मात्र किन सोध्नु भएन?

जसिंता केरकेट्टा
उनी केहीबेर मौन बस्नु भयो
अनि विस्तारै भन्नु भयो-
यदि दोस्रोपल्ट कुनै जीवन पाउँन सके भने
म फेरि कहिल्यै विवाह गर्ने छुइनँ
तिमीभित्र मैले सधैँ आफूलाई देखेकी छु
यसैले सायद तिमीलाई
बिहे गर्न कहिल्यै भनिनँ।
********
२. जङ्गल किन प्रतिरोध गर्छ
ऊ न रोप्छ न काट्छ
खाली बोरा बोकेर आउने गर्छ
गाउँमा गएर डेरा जमाउँछ
मात्र दस रुपियाँको हिसाबले
हड्डी खियाएर उब्जाएको
सप्पै धान सोहोरेर लान्छ
उसले गाउँलाई आज पनि
आफ्नो गाँठोमा बाँधेर राख्छ
उता महङ्गो दाममा
शहरलाई बजारले बंधक बनाउँछ
यता सस्तोमा प्रत्येक गाउँलाई
बनियाँ-साहुकार बन्धक बनाउँछन्
बन्धक बनिएको गाउँ जब आफ्नो आवाज उठाउँछ
त्यसबेला यो देश सम्झन्छ
जङ्गल केवल प्रतिरोध गर्छ।
****
३. लुगा लाउँने मानिसहरू
उनीहरू जो पुरा लुगा लाउँने गर्छन्
पुरा लुगा लगाएर आए
अनि ढोका भत्काएर मेरो घरभित्र पसे
म आफ्नो कमराभित्र अर्धवस्त्र पहिरिएर घुमिरहेथेँ
मलाई देख्ने बित्तिकै उनीहरूले भने-
अर्धनग्न! अविकसित! असभ्य!
म उनीहरूलाई यति नै भन्न चाहान्छु
कसैको घरभित्र
ढोका भत्काएर पस्नू असभ्य हुनू हो
सभ्यताका कुरा गर्न अघि
बस्, ढोका ढक्ढकाएर भित्र आउँन सिकून्।
****
४. मित्र
तपाईँ मलाई कुन नजरले हेर्नुहुन्छ?
छोरी जस्तै?
एकदिन मैले उनलाई सोधेँ
उनले भने- हैन म तिमीलाई त्यसरी हेर्दिनँ
यो सुनेर म उदास बनेँ
दुवैजना चुप्प लाग्यौँ धेरैबेरसम्म
फेरि अचानक
मेरो हातमाथि आफ्नो हात राख्दै उनले भने
मलाई लाग्छ-
पितालाई पितृसत्ताले उभ्याएको हो
त्यसैले म पिता हैन मित्र बन्न चाहान्छु
आफ्ना छोरा-छोरीलाई मित्रझैँ हेर्ने गर्छु
जसरी तिमीलाई हेर्ने गर्छु।
==============

अनुवाद : बिलोक शर्मा (डुवर्स)
(बिलोक शर्मा कवि अनि अनुवादकको रूपमा परिचित छन्। उनका मौलिक कविता सङ्ग्रह ‘समयाभास’ (सन् २०१९) उनि ‘कबितार रोटेपिङ’ (भारतीय नेपाली कविताहरूका बङ्गला अनुवाद सङ्कलन, सन् २०२२) प्रकाशित भइसकेका छन्। विगत दुई दसकभन्दा बढी समयदेखि साहित्यलेखनमा होम्मिएका शर्माका देश-विदेशका विभिन्न पत्र-पत्रिकाहरूमा कविता अनि अनुवाद रचनाहरू (नेपाली अनि बङ्गला) नियमितरूपमा प्रकाशित हुन्छन्। मदारीहाट, डुवर्स (भारत)-का स्थायी वासिन्दा उनी हाल उत्तर भारतको लुधियाना सहरमा कृषि-प्रबन्धकको रूपमा कार्यरत छन्।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

