

हेम बरुवा भवनको सभागार श्रोता-दर्शकले खचाखच भरिएको थियो।
जिल्लापालले पौरोहित्य गरेको त्यस सभाको डायसमा, राज्यका मीनमन्त्री नुरजामाल सरकारले मुख्य अतिथिका रूपमा आसन अलङ्कृत गरेका थिए तर सभाका मध्यमणि भने रने उर्फ रनबहादुर माझी थिए । सबैको दृष्टि उनमै केन्द्रित भएको सजिलै बुझिन्थ्यो । उनी त्यस दिनका बेहुला नै थिए । डायस र दर्शकदीर्घाका बीचमा दाहिनेतिर एउटा ठूलो टेबिलमाथि शीशाको फ्रेममा एउटा बृहदाकारको शिलघरिया माछो ठाडो पारेर राखिएको थियो।
घाँटीमा क्यामेरा झुण्ड्याएका मिडियाकर्मीहरू माछाको फोटो लिँदै थिए। तिनको हूलमा मिसिएर कतिपय दर्शकहरूले पनि आफ्ना मोबाइल फोनले फोटा लिए । कतिपयले रनबहादुरका छेवैमा गएर उनको मात्र फोटो लिए। सेतो सर्ट, रातो टाइ र कालो सुट उनको श्याम वर्णको मझौलो कदको गोर्खे शरीरमा सुहाएको थियो। केही गाडिएका तर चम्किला आँखाले उनको व्यक्तित्व आकर्षक देखिन्थ्यो । उनी घरी-घरी दर्शकहरूको कुतुहलपूर्ण हेराइको प्रत्युत्तरमा हात हल्लाउँथे अनि घरी घरी दाहिने हातको चोरीऔँलो र माजिऔँलाले रोमन ‘भी’ आकृति पारेर दर्शकतिर देखाउँथे।
उद्घोषकले हातमा माइक्रोफोन लिएर सभाको उद्देश्य व्याख्या गर्दै भने – भुँडुली नदीमा वर्षेनी आयोजन गरिने माछा समात्ने प्रतियोगितामा लगातार तीन वर्ष प्रथम स्थान पाएर कीर्तिमान स्थापित गर्ने रनबहादुर माझीलाई सरकारका तर्फबाट पुरस्कार प्रदान गर्न यो सभाको आयोजन गरिएको हो।
त्यसपछि जिल्लापालले भाषण राखे। सभामा उपस्थित सबैलाई स्वागत-सम्बोधन गर्दै उनले भने, ‘…. आजको युग नै प्रतिस्पर्धाको युग हो । कुनै पनि काम सानो वा ठूलो हुँदैन । निष्ठा र सीपले कुनै पनि कर्मलाई गरिमामय पार्न सक्छ । आज सारा राज्यले रनबहादुर माझीको माछा समात्ने सीपको सराहना गरेको छ । सरकारका तर्फबाट आज उहाँलाई पुरस्कृत गरिँदैछ । यस कुराले हामीलाई ठूलो शिक्षा दिएको छ, त्यो के हो भने हामीले आफ्नो कामलाई कहिल्यै अवहेला गर्नु हुँदैन। आफ्नो पूरा सीप लगाएर निष्ठाका साथ काम गर्नु नै उन्नतिको मूलमन्त्र हो।’
आफ्नो छोटो भाषणपछि सभाध्यक्षले रनबहादुर माझीलाई पुरस्कार प्रदान गर्न मुख्य अतिथिलाई अनुरोध गरे।
यही समयमा जातीय वेशभूषामा सजिएका दुई सुन्दरी युवती मञ्चमा आए । एउटीका हातको ट्रे-बाट अर्कीले एउटा फुलबुट्टे गम्छा झिकेर मुख्य अतिथिका हातमा राखिदिई। मुख्य अतिथिले त्यो गम्छा रनबहादुरका गलामा पहिराई दिए अनि फेरि एउटा जापि पनि उनका शिरमा राखिदिए। त्यस पछि युवतीका हातबाट लिएको लिफाफा खोलेर एउटा चेक निकाले अनि पोडियमको माइक्रोफोनबाट मुख्य अतिथिको भाषण शुरू गरे —-

ज्ञानबहादुर छेत्री
‘— सभापति महोदय, मञ्चमा उपविष्ट, विशिष्ट अतिथिगण तथा सभागृहमा समुपस्थित सज्जनवृन्द, आज राज्यका सर्वश्रेष्ठ मछुवारे रनबहादुर माझीलाई उनको कृतित्वका लागि पुरस्कृत गर्न पाउँदा मलाई औधी खुशी लागिरहेछ । रनबहादुर साँच्चै नै प्रतिभाशाली मछुवारे हुन्। उनले आफ्नो कर्मलाई कलात्मक पारेर आदर्श प्रस्तुत गरेका छन् । सभ्य देशको संस्कृत सरकारले सधैँ प्रतिभाको कदर गर्दछ। म हाम्रो सरकारको भएर यो पाँच लाख रुपियाँको चेक रनबहादुर माझीका हातमा अर्पण गर्दछु।‘
त्यो चेक प्रदान गर्नु अघि एकछेउ आफूले समातेर अर्को छेउ रनबहादुरलाई समात्न लगाएर क्यामेराका लागि पोज दिए। तालीको गड्गडाहटले सभागृह गुञ्जायमान भयो। क्यामेराको शब्द र झिलिक मिलिक खेल केहीबेर चलिरह्यो।
रनबहादुरले मुख्य अतिथिका हातबाट चेक ग्रहण गरे । अब उनको बोल्ने पालो आएको छ। माइक्रोफोनका छेउमा उभिएर उनले एकपल्ट मञ्चतिर हेरेर नमस्कार गरे अनि फेरि दर्शकतिर हेरेर नमस्कार गरे। त्यसपछि उनी बोल्न थाले-
‘— म एउटा मामूली मछुवारे, सभामा भाषण गर्न आउँदैन। म विनम्रताका साथ यति नै भन्न चाहन्छु कि आज यस राज्यका सरकार तथा तपाईँहरू सबैले मलाई जुन माया दिनुभयो त्यसले मलाई अभिभूत पारेको छ । म सायद यत्रो सम्मानको सुयोग्य हकदार थिइनँ । मेरो हौसला बढेको छ, अब प्रयास गर्नेछु । मैले कुनै महत्त्वपूर्ण काम गरेजस्तो पटक्कै लाग्दैन । बाबू-बराज्यूले गरिल्याएको काममा मैले केही नयाँ टेक्निक, नयाँ कौशल र सीप थपेको मात्र हो। मैले उद्भावन गरेको टेक्निकले काम त गरेकै हो तर त्यस कामको यत्रो कदर हुन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ। तपाईंहरू सबैलाई मेरो शतकोटि नमस्कार।‘
यति भनेर सबैलाई नमस्कार गर्दै रनबहादुर आफ्नो आसनतिर जान लागे।
‘माछो समातेको कथा भन्नु पर्छ’;
‘हामी तपाईँकै मुखबाट माछो समातेको कथा सुन्न आएका’;
‘हामीलाई निराश नपार्नुहोस’;
श्रोता-दर्शकहरूको प्रबल माग सुनेर रनबहादुरले सभाध्यक्षतिर पुलुक्क हेरे । अध्यक्षले सम्मतिसूचक टाउको हल्लाए।
‘त्यसो भए सुन्नुहोस’—– मुसुक्क हाँस्दै उनी भन्न लागे।
‘— भुँडुली नदी अरूणाचलको कामेङ पहाडी क्षेत्रबाट बग्दै आएर तेजपुर सहरको छेउमा ब्रह्मपुत्र नदीमा मिसिएकी छिन् । अरूणाचलको पहाडी क्षेत्रमा नदीको वेग तीव्र हुनाले प्रतियोगीहरू त्यतातिर जान चाहँदैनन । दार्जीलिङको पहाडी क्षेत्रमा माछा समातेको अनुभव हुनाले म चाहिँ माछा समात्न त्यतैतिर जाने गर्छु । खतरा हुन्छ त्यतातिर नाउ लान । रिस्क नलिई कुनै पनि ठुलो काम गर्न सकिँदैन। भएन, मेरो पेशागत अनुभवले के भन्छ भने ठुला शिलघरिया माछा नदीको तीव्र वेगबाट बच्न ठुला ढुङ्गाहरूको चेपमा वा छेउछाउमा बस्न मन पराउँछन् । यसै कारण म अरू प्रतिभागीहरूलाई छोडेर ढुङ्गाहरूको आड लाग्दै नदीको वेगको विपरीत उत्तरतिर लागेँ । झमक्क साँझ परेको थियो। छेवैको भालुकपुङ सहरमा बिजुली बत्ती बलेको देखिन्थ्यो। म केम्पतिर फर्किने कुरा सोच्तै थिएँ, एउटा घुमाउरोमा मेरो बल्छीको धागो अडकिए जस्तो लाग्यो। पहिले त मैले ढुङ्गामा धागो बेह्रिएर अडकेको भन्ने ठानेँ तर लगत्तै त्यो मेरो धारणा भूल रहेछ भन्ने बुझेँ किनभने बल्छीको धागो तानिन थाल्यो। बल्छीमा माछो पर्दा यस्तो हुन्छ । मलाई विश्वास भयो, बल्छीमा पक्कै माछो परेको छ । तर मलाई शङ्कामा पार्दै माछो त ओरालोतिर लाग्नुको सट्टा नदीको वेगको विपरीत दिशातिर जान लाग्यो।
यसै पनि स्रोतको विपरीत दिशामा नाउ चलाउनु सजिलो हुँदैन । जताततै ठुला ठुला ढुङ्गा भएको नदीमा माछासँगै नाउ खियाउँदै जानु जोखिमको कुरा हो, त्यो पनि रातको अँध्यारोमा । मेरा मनमा चिसो पस्यो, मुटु ढुकढुक गर्न थाल्यो। मैले मनमनै भुँडुली माईलाई पुकारेँ —- रच्छे गर माई, तिमीलाई दूध चढाउँछु भनेर भाकल पनि गरेँ।
नाउमा राखेको टर्च मैले खुट्टाले थिचेर बालेँ अनि बडो सावधानीका साथ खुट्टाले नै उठाएर मुखमा च्यापेँ किनभने मेरो दाहिने हातमा बल्छीको धागो र देब्रे हातमा नाउ चलाउने लग्गी थिए। यस्तो सङ्कटको समयमा के देब्रे के दाहिने, शरीरका हरेक अङ्गले आइपरेको काम गरेनन् भने ज्यान गुमाउनु पर्छ। दिमागले पनि तत्कालै सही डिसिजन दिनु पर्छ, अङ्गहरूले चुस्ती फुर्तीका साथ आदेशको पालन गर्नुपर्छ। म देब्रे हातले लग्गी मार्दै, दाहिने हातको धागो छोड्दै-तान्दै उकालो लाग्दै थिएँ । मेरा मुखमा भएको टर्चको उज्यालो सिधा अघिल्तिर मात्र पर्थ्यो । घरी घरी टाउको दाहिने-देब्रे घुमाएर हेर्ने प्रयास गर्थ्येँ । एक पटक त बल्छीको धागो ढुङ्गामा अल्झियो । माछो ढुङ्गाको वरिपरि घुम्नाले धागो एक फन्को ढुङ्गामा बेरियो । बढो कष्टले उल्टो फन्का मारेर मैले धागोलाई खुला पारेँ । धन्य, टर्चको उज्यालोमा ढुङ्गालाई देखेको थिएँ । माछो उफ्रिएर वा धागो ढुङ्गा-मुढामा अल्झिएर, चुँडिएर दुर्घटना हुन्छ कि, यति दुख गरेर समातेको माछो उम्किने पो हो कि भनेर म सन्त्रस्त थिएँ। हुन त तेब्बर पारेर बाटेको पेरासुटको धागो मजबुत थियो।
रात छिप्पिँदै गयो । मलाई तिर्खा लागेर घाँटी च्याप-च्याप भयो । नाउमा पानीको बोतल र खानेकुरा थियो तर खाने कसरी ? मेरो एउटा हातमा लग्गी, अर्को हातमा धागो र मुखमा टर्च- सबै एक साथ काम गरिरहेका थिए । तर यस किसिमले कतिबेर टिक्न सकिएला ! माछाको र मेरो हालत पनि उस्तै थियो । माछाको मुखमा बल्छी थियो भने मेरा मुखमा टर्च। हामी दुवै भोकै थियौँ, खाने कुनै उपाय छैन । एकपल्ट त लाग्यो धागोलाई काटेर माछोलाई छोडिदिऊँ। भलै माछालाई छोडिदिउँला तर मुखमा बल्छी उनिएको माछाको मृत्यु निश्चित छ । फेरि सोचेँ, मान्छे भएर हातमा आएको जाबो माछालाई समात्न नसक्नु, हार मानेर त्यसलाई छोडिदिनु लाजमर्दो कुरा हुनेछ । हार्नका लागि होइन मान्छेको जीवन । मान्छेको समस्त कौशल प्रयोग गरेर माछालाई समात्नै पर्छ— मैले दृढनिश्चय गरेँ।
बिस्तारै माछो स्रोतको दिशातिर बग्न लाग्यो, साह्रै थाकेछ । निकै बेरसम्म माछाको चालचलन हेरेर मैले हातको लग्गी नाउमा राखेर मुखको टर्च हातमा लिएँ। ढुङ्गाहरूदेखि नाउलाई जोगाउँदै स्रोतको दिशामा छोडिदिएँ। केहीबेरमा समतल भूमि आइपुगे पनि नदीको वेग निकै थियो । लगभग एक घण्टापछि नाउको गति धीमा भयो, माछाको कुनै चालचुल थिएन । मैले टर्च बालेर माछालाई निहालेर हेरेँ। माछो घरी घरी उत्तानो पर्दै थियो । उसको हालत देखेर मलाई साह्रै माया लाग्यो । ‘हे मेरो प्यारो माछा, तँलाई कति दुखेको होला !’ –– मनमनै भनेँ। यस अवस्थामा उसलाई चलाउनु हुँदैन। चलायो भने ऊ समस्त शक्तिले उफ्रिने छ र दुर्घटना हुन सक्छ ।
साथमा घडी थिएन, पानीमा खस्न सक्छ भनेर मोबाइल फोन, घडी र पर्स केम्पमै सुरक्षित ड्रयारमा राखेर आएको थिएँ । छङ्ग आकाशमा तारा हेरेर समयको अडकल गरेँ। रातिको त्यस्तै एक-डेढ बजेको होला। भुँडुली पुलको छेउको बगरमा हाम्रो केम्प थियो । मध्यरातमा केम्पमा जानु ठिक ठानिनँ । प्रतिस्पर्धामा साथीलाई पनि विश्वास गर्न सकिँदैन। बिहान जिल्लापाल आउने समयमा केम्पमा हाजिर हुने निधो गरेँ। केम्प आइपुग्न दश-पन्द्र किलोमिटर छ भन्ने अनुमान गरेर एउटा सानो रुखको छेउमा नाउलाई किनार लगाएँ।‘
यति भनेर रनबहादुर एकछिन बिसाए । टेबिलमा राखेको मिनरल वाटरको बोतल लिएर घट्घट् पानी पिए।
सभागृहमा पिनड्रप साइलेन्स थियो।
‘त्यस पछि’ — रनबहादुर भन्दै गए, — ‘मैले माछालाई बल्लबल्ल उठाएर नाउमा राखेँ अनि टर्च बालेर धेरैबेरसम्म माछालाई हेरिरहेँ। माछो मरिसकेको थियो।
कति सुन्दर माछो ! हेरिरहन मन लाग्ने। त्यसका मुखभित्र औँला हालेर निकै कष्टले बल्छी निकालेँ, साह्रै नराम्रो गरी अडकिएको रहेछ।
भोक, तिर्खा र थकाइले लखतरान भएको थिएँ। झोलाबाट ब्रेड झिकेर एउटा चोइटो माछाका मुखमा हालिदिएँ, बोतलको पानी पनि उसका मुखमा हालिदिएँ। मलाई किन हो ब्रेड खाने इच्छा भएन । चार घुँड्की पानी माछाका छेउमा ढल्किएँ।
बिहान झिसमिसे उज्यालो हुँदा त्यहाँबाट केम्पतिर लागेँ। झण्डै दुई घण्टा नाउ चलाएर सात बजेतिर केम्पमा आइपुगेँ । केम्पमा म हराएँ भनेर हल्ला मच्चिएको रहेछ। मिसिन नाउ लिएर मलाई खोज्न जाने तरखर हुँदैरहेछ।
त्यस पछिका कुरा त यहाँहरूले अखबारमा पढनुभएको छ, दूरदर्शनमा पनि हेर्नु भएकै छ । यो कृतित्वको असल हकदार त तपाईँहरू हुनुहुन्छ किनभने तपाईँहरूको माया र हौसला नपाएको भए म यो काम गर्न सक्ने थिइनँ। माछो समातेको कहानीलाई मैले मसला नहाली निस्तै पस्किदिएँ । भुकचुक भए क्षमा गर्नु होला।‘
यति भनेर सबैलाई नमस्कार गरेर उनी आफ्नो आसनमा बसे।
पौरपति र स्थानीय विधायकले पनि कर्म-संस्कृतिको विषयमा बोल्दै रनबहादुरको कृतित्वको सराहना गरे । त्यसपछि केही औपचारिकता अनि सभाध्यक्षले आफ्नो छोटो मन्तव्य राखेर सभाको समाप्ति घोषणा गरे।
सभा सकिना साथ मिडिया कर्मीहरूले रनबहादुरलाई घेरेर प्रश्न गर्न थाले। उनलाई अर्को एउटा मिटिङ भ्याउनु परेकोले उनीहरूलाई एक एक ओटा मात्र प्रश्न गरिदिने अनुरोध गरे। ‘पहिले नारीले बोल्न पाउनु पर्छ’ भन्दै हाम्रोध्वनिकी सम्पादिका शान्ति थापाले प्रश्न गरिन्— ‘रनबहादुर दाइ, तपाईँले जुन सम्मान पाउनु भयो त्यसका लागि बधाई छ । आज गर्वले हाम्रो छाती ढक्क फुलेको छ पुरी फुलेझैँ । तपाईँ त साँच्चै गोर्खाली शान्तियागो हुनुहुन्छ।’
मुसुक्क हाँस्तै रनबहादुरले भने, ‘किन हुन्थेँ म शान्तियागोको समकक्ष ? उनले त सागरमा तीन दिन तीन रात सङ्घर्ष गरेर हेमानको मार्लिन माछो समातेका थिए। मैले एक दिन एक रात परिश्रम गरेर भुँडुली नदीमा मात्र तीस किलोको शिलघरिया माछो समातेको हो । विचरा शान्तियागोले त्यत्रो सङ्ग्राम गरेर माछाको कङ्काल मात्र भेटेका थिए तर मैले त यत्रो सम्मान र पाँच लाखको पुरस्कार पाएको छु। अवश्य हेमिङ्वेले शान्तियागोलाई अमर बनाइदिएका छन अनि त्यो नै उनको सर्वश्रेष्ठ पुरस्कार हो……’ उनका कुरा टुङ्गिएका थिए कि थिएनन् भीडलाई ठेल्दै सपरिवारका सम्पादक रोहित गौतमले प्रश्न गरे, — ‘सुनिन्छ, यो प्रतियोगितामा तपाईँलाई प्रथम पुरस्कारबाट वञ्चित गराउने षडयन्त्र भएको थियो रे, तपाईँ गोर्खाली हुनाको कारणले । के यो कुरा सत्य हो ?’
पत्रकारको यस्तो ठाडो प्रश्नमा रनबहाहुर सामान्य नर्भस भए तर तुरन्तै सम्भलिए। पत्रकार गौतमलाई हेरेर मुस्कुराउँदै भने, ‘युवा पत्रकारको जोशलाई मान्नुपर्छ। तपाईँले त्यसो भन्नुको आशय मैले बुझेँ । हिलारी र तेनजिङमा कसले पहिले सगरमाथामा पाइला टेक्यो भन्ने कुरालाई लिएर धेरैले धेरै कुरा गर्छन् । नेपाली भनेर तेनजिङलाई दोस्रो नम्बरमा राखियो भन्ने कुरा पनि सुनेको छु। प्रतिस्पर्धामा कुनै पनि तरिका अपनाएर प्रतिद्वन्दीलाई पछार्ने मानसिकता हुँदैन भन्न सकिँदैन तर म चाहिँ सत्यको जय हुने कुरामा विश्वास गर्छु।’
यो उत्तरले गौतमको चित्त नबुझेर होला फेरि अर्को प्रश्न सोध्न खोज्दै थिए तर रनबहादुर अर्का पत्रकारतिर फर्किए। यस पटक देशवार्ताका सम्पादक कुस्माखर बोले, — ‘सर तपाईँ त माछा मार्न जाँदा दार्जीलिङको खोलामा बगेर स्वर्गवास हुनुभएको, फेरि कसरी भुँडुली नदीमा माछा समात्न आउनुभो ?’
‘शिवकुमार राईले मर्यो भनेर ठान्नु भयो तर मेरो मानो सकिएको रहेनछ’—लामो सास फेरेर रनबहादुरले रहस्य खोले, ‘म बाँचेँ । त्यो दुखद घटनापछि मलाई दार्जीलिङमा बस्न मन लागेन। भनौँ, दार्जीलिङ मलाई फापेन । म आसामतिर लागेँ। आसामले नै मलाई धन-दौलत, मान-यश सबैथोक दियो।’
‘तपाईँले लेखक राईमाथि मुद्दा हाल्नुभएन ? जिउँदो मान्छेलाई त्यसरी मर्यो भन्न पाइन्छ ?’— यसपाली हाम्रो प्रजाशक्तिका सम्पादक अञ्जन उपाध्यायले प्रश्न गरे।
रनबहादुर—‘मुद्दा हालेर के गर्नु? उनले मलाई साह्रै गरीप र निम्सरो पारेका थिए। उनी थिए लीगका ठालु, मन्त्री पनि । त्यतिखेरको स्थितिमा जोरी खेल्ने मेरो आँट पुगेन। आजको स्थितिमा भए के गर्ने थिएँ भन्न सक्तिनँ ।’
त्यति भनेर रनबहादुर उनको गाडीतर्फ लागे । ड्राइभरले कालो बलेरो गाडीको ढोका खोलिदिए। यसै समयमा शान्ति थापाले फेरि प्रश्न गरिन्— ‘दाइ एउटा अन्तिम प्रश्न… तपाईँ नयाँ प्रजन्मलाई के सन्देश दिनु हुन्छ ?’
‘सन्देश दिनु के छ र ! महत्त्वपूर्ण सन्देश त हाम्रा हजुरबा शान्तियागोले दिएकै छन्। मानिसलाई चिन्तनले सर्वश्रेष्ठ प्राणी तुल्याएको हो। मान्छे विध्वस्त हुन सक्छ तर कहिल्यै हार मान्दैन ।’
यति भनेर उनी आसनमा बसे । ड्राइभरले गाडी हाँक्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

