खोज्दै जाँदा बाँचेका हुन्छन् कुनै कुनै शब्दहरू
हातमा स्पर्श बनेर
छातीमा धड्कन बनेर
ओंठको एक कुनामा मुस्कान बनेर ।
हिँड्दै जाँदा बाटाहरूमा यात्रा बनेर पनि
बाँचेका हुन्छन् शब्दहरू ।
पदचापहरूमा अल्झेका हुन्छन् शब्दहरू
बल्झेका हुन्छन् शब्दहरू घुर्कीहरूमा
पार्कमा थचक्क बसेर
कोही आउने बाटो हेरिरहेका पनि हुन्छन् शब्दहरू ।
खोज्दै जाँदा केही शब्दहरू यस्ता भेटिन्छन्
जो हरेक पटक छुटिनुअघि
गहिरो मौनतामा अलमलिइरहेका हुन्छन्
सीधा नजरले हेर्न नसकेर अतालिइरहेका हुन्छन्
हल्लिरहेका हुन्छन् शब्दहरू
बतासको एक झोंका पातमा ठोक्किँदा
चलमालइरहेका हुन्छन् शब्दहरू क्यानभासमा कुचीसँगै
दगुरिरहेका हुन्छन् शब्दहरू भ्वायलिनको तारहरूमा गीत खोज्दै
केही शब्दहरू यस्ता भेटिन्छन्
मध्यराति कोही
निद्रा फकाइरहेको बेला
तीन फिट अग्लो र्याकबाट पुरानो पुस्तकसँगै भूइँमा खस्दछन्
भर्खरै हाँगामा सरेका बचेरा हेरिरहेको गुँडमा भेटिन्छन्
निःशब्द बनिरहेका शब्दहरू
कतै कतै यस्ता शब्दहरू भेटिन्छन्
जो ऊनसँगै कुरुसमा आकार खोज्दै
आफैंलाई बिर्सिरहेका हुन्छन्
अथवा,
आकार खोजिहिँड्दै छिनोसँगै पत्थरमा ठोक्किरहेका हुन्छन्
कुनै कुनै शब्दहरू
वर्षौंपछि आँगनमा हाँसिरहेको मानिसको कल्पनामा
झ्यालबाट सुस्तरी चिहाइरहेका हुन्छन्
यसरी शब्दहरू खोज्दै जाँदा
यसरी शब्दहरू भेटिँदै जाँदा
दुःखसँग कहिल्यै हार नमानेको एउटा शब्द भेटाएँ बाटोमा मैले
जसलाई अब जिन्दगीका बाँकी पानाहरूमा लेखिबस्नु छ
जुन शब्द ’तिमी’ हौ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

