राज्यले बनाएको
देशमा भोकै मर्न नपाइने
नयाँ कानुन थाहा नपाएर
किस्मत बहादुर भोकै मर्यो ।

मर्न त उसलाई पनि
मनै थिएन
गाउँका भोका परिवारका लागि
जोहो गर्न शहर पसेको ऊ
भोको छु नभनिकनै
भोकै मर्यो ।

लक डाउनमा थिए
शहरका कामहरु
लक डाउनमा थिए
शहरका मान्छेहरु
लक डाउनमा थिए
दोकानहरु
तर लक डाउनमा थिएन भोक
त्यही भोकले
मर्यो किस्मत बहादुर ।

रेडियोमा
उद्घोषण भइरहेको थियो
टेलिभिजनमा
उद्घोषण भइरहेको थियो
राजनेताहरुको
भाषणमा उद्घोषण भएरहेको थियो
देशमा भोकै मर्न पाइँदैन
तर
किस्मत बहादुरलाई थाहै भएन
र मर्यो भोकै ।

भोकै मर्न नपाइने देशमा
भोकै मरेको
किस्मत बहादुरको सनाखत हुन बाँकी छ
मुचुल्का उठाउन बाँकी छ
यो लक डाउनमा
कसरी गर्नु सरजमिन
कानुन विलखबन्दमा छ ।

हिँड्दा हिँड्दै
बाँच्नेआशाको दीयो निभेको
पत्तै भएन किस्मत बहादुरलाई
हातमा नाम्लो साबुत थियो
पेटमा कति दिनको भोक
यथावत् थियो
आँखामा झुण्डिएको सपना पनि
ज्यूँ का त्यूँ थियो ।

राज्यले बनाएको
देशमा भोकै मर्न नपाइने
नयाँ कानुन थाहा नपाएर
किस्मत बहादुर भोकै मर्यो ।