तिमी छद्मभेषी रहेछौ
सारा संसारलाई ससम्मान घरघरमा राखिएको बेला
तिमी कसरी फुत्त सडकमा आयौ !
टाढाको सूर्य हेर्यौ, तारा हेर्यौ, जून हेर्यौ
तर आफ्नै अगाडिको सरकार हेरेनौ !
तिमी विद्रोही रहेछौ
सारालाई राहत बाँडेका बेला
तिमी कसरी भोकै रह्यौ !
तिमी बहिरो रहेछौ
कोही कतै भोकले मर्दैन भनेर
पटकपटक फर्मान जारी गरेका बेला
तिमी किन यसो गर्यौ !
अब भन्नेछन् बुझक्कडहरूले
तिमी अन्धा रहेछौ
छिनछिनका ट्वीटर अपडेट नहेरेर
तामझाम सहितका खर्बौंका नीति-कार्यक्रम नपढेर
आउँदै गरेको बजेटको मुखमा
बजेटको एक चुस्की स्वाद नपाई
खुला सडकमा किन लड्यौ ?
यत्रो कोलाहालपूर्ण दुनियाँलाई
छक्याएर
तीन-तीन थरिका घाम सरकार
र एउटा छाया सरकारलाई समेत लत्याएर
तिमी किन विद्रोही बन्यौ !
समाजवादको भर्याङ नचढेर
किन पुँजीवादको नाम्लो समात्यौ
संसारले लाज र लोभले नाकमुख छोपेका बेला
तिमीले किन संसारलाई ङिच्याउँदै सारा देह देखाइदियौ !
किन आत्मबलिदान गर्यौ
हो !
वर्तमान व्यस्त भए पनि
भविष्यले इतिहासलाई सोध्नेछ
आज देश गम्भीर छ
सरकार गम्भीर छ
त्यसैले
अब कोही कसैले यसरी मर्न पाउने छैन
अब तिम्रो देहान्तमाथि राजनीति हुनेछ
नाम, थर, वतन सब खोजिने छ
तिम्रो मृत शरीर
अब जाँचपड्ताल गरिनेछ !
नापिन्छ, जोखिन्छ र चिरिनेछ
तिम्रा आफन्तलाई बोलाइनेछ
र कुनै पूर्जा थमाइनेछ
किनकि अब राज्यले सम्पूर्ण जिम्मेवारी वहन गर्छ
जो तिमीलाई थाहा भएन र पो नत्र
तिमी जिउँदो हुँदा पनि सरकार गम्भीर थियो
मन्त्रीहरू नयाँ नक्शा कोर्दै थिए
नयाँ नक्शा घरघरमा पुर्याउँदै थिए
भोक, रोग र शोक अन्त्यका लागि
अर्बौंको हिसाब किताब हुँदै थियो
शायद तिम्रो बारेमा पनि छलफल हुँदै थियो
एक थान नक्शा तिमीलाई पनि थमाइँदै थियो
तर तिमीले धैर्य गर्न सकेनौ !
हतार गर्यौ
तर जे गर्यौ आफैँले आफ्नो निम्ति गर्यौ
तर अब तिम्रो मृत शरीरमाथि राजनीति गर्नेहरूले
के के गर्छन्
शोक वक्तव्य, समवेदना, दुःख केके गर्छन्
तर ती सब अर्कैका निम्ति गर्ने छन्
किनकि तथ्य बङ्ग्याउन अनेक भ्रम छर्नेछन् !
तिम्रो निशब्द मृत्युमाथि
शब्दका पहाड थुपरिनेछन् ।
त्यही शब्दका थिचाइले तिम्रो निद्राहराम हुनेछ
सम्भवतः तिमीलाई मृत्युपछि पनि शान्ति मिल्नेछैन
किनकि यो राज्यको नजरमा
तिमी एक विद्रोही दर्ज हुनेछौ !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

