
सरोज दिलु
उदयपुर
श्रम त मेरै बाबुबाजेले हुन् गरेका
फाटेको फरियामा रगत बगाउने
मेरै आमा हुन् ।
तर तिम्रै मौजा भए—
लहलह धान फल्ने सिमसारहरू
हरिया मकै फल्ने उर्वर बारीहरू
जिन्सी र नगद तिम्रै भण्डारका सौदा भए
अन्न–धन्न सब गए तिम्रै ढिकुटीमा ।
जीवनभरि मेरा हजुरबालाई
तिम्रै चरुवा बनायौ
हजुरआमालाई कोपरा थमायौ
मेरा बालाई तिम्रै खल्यानको हली बनायौ
मेरी आमाको सुन्दर जवानीमाथि आँखा लगायौ
र प्रतिकार गर्दा कोर्रा लगायौ
मेरा बालाई
घोडाको टापले कुल्च्यौ, नृशंस ज्यान लियौ ।
मेरी कलकलाउँदी दिदीको जवानीमा
र्याल काढ्दै
निरीह शरीरमा आततायी हातहरूले नङ्ग्रायौ
रगताम्मे बनाई उनको वदन लुट्यौ
अनि मलाई दासको सन्तान भनी
सबै धनदौलत लुट्यौ, ज्ञानबाट विमुख पार्यौ ।
पहिले त तिमीले मेरो भाग ह¥यौ
त्यसपछि लाज लुट्यौ
अनि बन्यौ मालिक
तिमीले मात्रै शिक्षा पायौ, शिक्षित भयौ
दीक्षाको बदलामा मेरो ज्ञान लुट्यौ
फेरि श्रममा मार्यौ, भ्रममा फसायौ
गर्नुसम्म गर्यौ, फेरि मलाई कुजात बनायौ ।
हामीले रगत बगायौँ
जीवन बलिदान गर्यौँ
युद्धका माल र ढालहरू
श्रम र सीपका कलाहरू
तिम्रा पाउदेखि शिरसम्म
सुन्दरताका कवचहरूसहित
देशलाई पसिना चढायौँ ।
तर…,
तर, मैले कमाउने गोल्साराहरू
करेसाहरू झिटीझाम्टाहरू
तिम्रै तमसुकमा सहीछाप लागे
आज म तिम्रो घुर्यानमा
खोलाको किनारमा
बारीको डिलमा
पहाडको सिरानमा
फेरि तिम्रै हली गोठालो भएँ ।
तिमीले जमाउने, मैले कमाइदिनुपर्ने
तिमीले खान मैले पसिना बगाइदिनुपर्ने
तिमीले लिने, मैले मात्र दिने
मैले दानमान दिए स्वर्गमा तिम्रो पुण्य हुने
विज्ञानको वेदलाई धर्म बनायौ
धर्मलाई तिम्रै धोती अनुकूल बयान गर्दै
मनुस्मृति बनायौ
त्यही मनुस्मृतिलाई सिरानीमा हालेर
आफैँलाई देवता घोषित गर्यौ
मलाई भने असुरसरह बेइजती तुल्यायौ ।
मेरो धुरीमा पाकेका फर्सी
सह्य हुँदैन तिमीलाई
मेरो गोठमा ब्याएको भैँसी उम्काउन भय हुँदैन
मेरो आँगनको परालको कुनिउँ देखी छटपटी हुन्छ
मेरो स्वास्नीको सुन्दर जवानीले तिम्रो मुटु कम्पन्छ ।
अड्डा अदालत, प्रहरी र प्रतिष्ठानमा
प्रशासन र राजनीतिमा
न्याय र सञ्चारमा
जतासुकै तिम्रै कब्जा
जिब्रै थुतियो मेरो भने
ज्ञान सुन्ने कानमा तातो तेल हालियो
त्यसैले त आज तिमी सधैँ गुरु, म सधैँ चेला
तिमी न्यायाधीश, म सधैँ अपराधी
तिमी पुलिस, म चोर
तिमी नेता, म कार्यकर्ता
तिमी हाकीम, म सधैँ कारिन्दा
तिमी कर्मचारी, म बेकारी
बेरोजगार
गरिब
सर्वहारा
आवारा र हत्यारा
तर तिमी…।
तिमी नै भयौ
‘त्वमेवः माता च पिता त्वमेव’
जात र कुजातको थिति कस्तो बसायौ ?
तिमीले बनाएको रीति र विधि
जुन केवल तिम्रा लागि छन्
अतः इतिहासलाई सम्झेर गम्दा
तिमीलाई जिउँदै गाड्दा पाप लाग्दैन ।
तिम्री छोरी–बुहारीलाई नङ्ग्याउँदा अधर्मी होइँदैन
तिम्रो ढुकुटी लुट्दा कुनै फरक पर्दैन
जबकी तिमीले हिजो जो गर्यौ सोही गर्दैछु म आज
तिम्रो जातका विरुद्ध लडाइँ लड्दैछु ।
भैगो, म त्यसो गर्दिनँ
किनकि म तिमी जति अधर्मी छैन
तिम्रो पुर्खाको प्रतिशोध लिन्नँ
बरू तिमी इतिहाससँग माफी माग
प्रायश्चित्त गर
लौ अब समानता कबुल गर
समानताको कुरा गर, साझा व्यवहार गर
भैगो तिमीलाई माफ गरिदिएँ
अब जातपातको गाँठो खोलेर आऊ
हात समाऊ, अँगालो हाल
किनकि अब
कोर्नु छ नयाँ इतिहास
समृद्धिको शुभारम्भ गर्नुछ ।
लौ अब देश त
तिमी र मैले नै बनाउनु छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
