
चिनुवा अचिबे
माइकल ओबीले आफूले आशा राखेको उपलब्धि सोचेभन्दा धेरै चाँडो प्राप्त गरेको थियो । उसलाई सन् १९४९ को जनवरीमा न्दुम सेन्ट्रल स्कुल (नाइजेरियाको अनाम्बरा प्रान्तको आनी गाउँमा स्थिति एउटा स्कुल) को प्रधानाध्यापक नियुक्त गरिएको थियो । यो स्कुल लामो समयदेखि बिनाप्रगति चलिरहेकाले मिसन अधिकारी (इसाई धर्मप्रचारक) हरूले यसलाई चलाउनको लागि एकजना युवा र ऊर्जावान् व्यक्तिका रूपमा ओबीलाई पठाउने निर्णय गरे । बडो उत्साहका साथ ओबीले यो जिम्मेवारी स्वीकार गर्यो । ऊसँग धेरै चामत्कारिक विचारहरू थिए र यो उसका ती विचारहरूलाई व्यावहारिक प्रयोगमा ल्याउने राम्रो अवसर थियो । उसलाई माध्यमिक विद्यालयको नियुक्ति दिँदा मिसन कार्यालयको आधिकारिक रेकर्डमा एक “मुख्य शिक्षक” भनी नियुक्त गरियो र मिसन क्षेत्रका अन्य प्रधानाध्यापकहरूको सम्पर्कबाट अलग्गै राखियो । किनकि अलिक कम शिक्षित र साँघुरो सोचाइ भएका ती बूढा प्रधानाध्यापकहरूको ओबीले खुलेर निन्दा गर्थ्यो ।
“हामीले उत्तम काम गर्छौं, होइन त ?” आफ्नो बढुवाको समाचार सुनेपछि ओबीले आफ्नी जवान श्रीमतीसँग भन्यो ।

प्रकाशकुमार शर्मा
“हामी सक्दो गर्नेछौं,” जवाफमा उसकी स्वास्नीले भनी, “सायद त्यहाँ सुन्दर बगैँचा होला अनि सबैथोक आधुनिक र आनन्ददायी…।” तिनीहरूको विवाहको यो दुई वर्षे अवधिमा ओबीकी स्वास्नी उसको “आधुनिक पद्धति”को सङ्क्रमणले पूर्ण रूपम ग्रिसत भइसेकेकी थिई । “शिक्षण पेशामा रहेका यी बूढा र चलनचल्तीबाट हटाउनुपर्ने पैसाजस्ता मानिसहरू त बरु ओनिस्ठा (नाइजेरियाको अनाम्बरा प्रान्तमा पर्ने नाइजर नदीको पूर्वी किनारामा अवस्थित महानगर) का बनिया हुन लायक छन्” भनेर ओबीले गर्ने अपमानपूर्ण टिप्पणीलाई पनि उसले पचाइसकेकी थिई । उसले आफूलाई विद्यालयको जवान प्रधानाध्यापककी सम्मानित पत्नीको रूपमा देख्न थालिसेककी थिई, विद्यालकी रानी !
अरु शिक्षकका स्वास्नीहरू ओबीकी स्वास्नीको ओहदाको ईर्ष्या गरून् । ऊ हरेक कुरामा फेसन सेट गरोस् । तर अचानक उसले यो थाहा पाई कि त्यस विद्यालयका अन्य कुनै पनि शिक्षकहरूका स्वास्नीहरू छैनन् । आशा र डरको बीचमा हल्लिँदै उसले आफ्नो लोग्नेलाई यो चिन्ता जाहेर गरी । ओबी कुर्सीमा झुकेर बसिरहेका बेला उसले लोग्नेतिर हेरी । ऊ निहुरिएको थियो अनि कमजोर देखिएको थियो ।
“हाम्रा सबै सहकर्मीहरू जवान र अविवाहित छन्,” ओबले उत्साहित हुँदै स्वास्नीलाई सम्झायो जुन कुरा उसले पहिले एकचोटि पनि भनेको थिएन । “जो राम्रो कुरा हो,” उसले भनाइ जारी राख्यो ।
“किन ?”
“ताकि उनीहरूले आफ्नो सबै समय र ऊर्जा स्कुललाई दिऊन् ।”
न्यान्सी उदास थिई । केही मिनेटको लागि नयाँ स्कूलको बारेमा थाहा पाएर उसको मनमा सन्देह उत्पन्न भयो; तर यो मात्र केही मिनेटको लागि थियो । उसको सानो व्यक्तिगत दुर्भाग्यले उसको आफ्नो लोग्नेको उल्लासमय सम्भावनाहरूप्रति अन्धो बनाउन सक्दैनथ्यो । तर उसले कहिलेकाहीँ मानिसहरूलाई आफ्नो शारीरिक ऊर्जाको अचानक विस्फोट गरेर चकित पारेको थियो । उसको अहिलेको मुखमुद्राले स्कुल प्रवेशको एक असाधारण शक्ति दिइरहेको जस्तो देखिन्थ्यो तर यस्तो लाग्थ्यो कि उसको सारा शारीरिक शक्ति उसका गहिरा आँखाको पछाडि गएर अवकास लिइरहेको थियो । ऊ छब्बीस वर्षको मात्रै भएको थियो तर तीस वर्षभन्दा पाको देखिइरहेको थियो । समग्रमा भन्नुपर्दा त्यस्तो कुरूप थिएन ।
“तिम्रो सोचाइको लागि तिमीलाई एक पैसा माइकल,” एकछिनपछि न्यान्सीले आफूले पढेको महिलासम्बन्धी पत्रिकाको नक्कल गर्दै भनी ।
“यी मानिसहरूलाई स्कुल कसरी चलाउनु पर्दोरहेछ भनी देखाउनको लागि अन्तत: हामीलाई कस्तो उत्तम अवसर प्राप्त भयो है भनेर म सोचिरहेको थिएँ,” ओबीले जवाफ दियो ।
न्दुम सेन्ट्रल स्कुल हर मानेमा पिछडिएको थियो । ओबीले आफ्नो पूरा जीवन स्कुलको काममा समर्पित गर्यो साथमा उसकी स्वास्नी पनि थिई ।
उसका दईवटा उद्देश्यहरू थिए । पहिलो शिक्षाको गुणस्तर सुधार र दोस्रो स्कुल परिसलाई सुन्दर स्थानमा रूपान्तरण गर्नु ।
वर्षात् सुरु हुनासाथै न्यान्सीको स्वप्न बगैँचामा ज्यान भरियो र फूलहरू फक्रिन थाले । रातो र पँहेलो रङ्का सानदार तथा सुन्दर हिबिस्कस र अल्लामान्डा फूल्न लागे । अनि सावधानीपूर्वक स्कुल प्राङ्गणलाई आसपासको झाडीबाट अलग गरियो ।
एक साँझ जब ओबी आफ्नो कामको प्रशंसा गर्दै बगैँचा हेरेर आत्मरति गरिरहेको थियो त्यसैबेला गाउँकी एक बूढिया सयपत्री फूलको क्यारी र फूलकै बारको बाटो हुँदै स्कुल प्राङ्गण पार गरी हिँडिरहेको देखेर ऊ हतप्रभ भयो । त्यहाँ गएर हेर्दा उसले स्कुल प्राङ्गणको उतापट्टि झाडीसँगसँगै गाउँतिर जाने त्यति चलनमा नचलेको जस्तो बाटोको निसान फेलापार्यो ।
“म त छक्क परेँ,” तीन वर्षदेखि सो स्कुलमा काम गरिरहेको शिक्षकतिर हेर्दै ओबीले भन्यो, “किन तपाईँहरूले गाउँलेहरूलाई यो बाटो भोगचलन गर्नदिनुभयो भनेर । “विश्वासै गर्न सकिरहेको छैन” भन्दै उसले मुन्टो हल्लायो ।
सहकर्मी शिक्षकले ओबीसँग माफी माग्दै भन्यो, “यो बाटो गाउँलेहरूको निम्ति एकदमै महत्वपूर्ण छ जस्तो लाग्छ । यस बाटोले गाउँको मन्दिर र गाउँलेहरूको चिहानघारीलाई जोड्छ । तर वास्तवमै यो बाटोको भोगचलन बिरलै हुन्छ ।
“अनि यस कुराको स्कुललाई के सरोकार भयो र ?” प्रधानाध्यापक ओबीले सोध्यो ।
“मलाई थाहा छैन,” सहकर्मी शिक्षकले काँध उचाल्दै उत्तर दियो, “तर मलाई के थाहा छ भने जब हामीले केही वर्ष पहिले यो बाटो बन्द गर्ने प्रयास गरेका थियौँ त्यसले ठूलो बखेडा निम्त्याएको थियो ।”
“अर्को साता सरकारी विद्यालय निरीक्षक यहाँ आउने कुरा छ उसले यस्तो देख्यो भने के सोच्ला ? यी गाउँलेहरूले त सरकारी निरीक्षक आएकै बेलामा स्कुलको एउटा कोठामा मूर्तिपूजक अनुष्ठान गर्नलाई कोठा चाहियो भन्न पनि बेर लगाउन्नन् होला भन्ने मैले ठहर गरिसकें ।” हेडमास्टर कड्कियो ।
प्रधानाध्यापक ओबीको निर्देशनमा स्कुल परिसरमा प्रवेश गर्ने र बाहिर निस्किने दुवै ठाउँमा मोटामोटा काठ गाडियो । अनि त्यसमा तीखा काँडावाला तारहरू लगाएर बारियो ।
त्यसको तीन दिन पछि आनी गाउँको पुजारी हेडमास्टरलाई भेट्न आयो । ढाड कुप्रिएकाले निहुरिएर हिँड्ने पुजारी वृद्ध व्यक्ति थियो । ऊ एउटा बलियो लौरी लिएर हिँड्थ्यो अनि हरेकचोटि जब ऊ आफ्नो बहसमा नयाँ तर्क थप्थ्यो तब ऊ आफ्नो लौरी जोडले भूइँमा ट्वाकट्वाक पारेर बजार्थ्यो ।
सामान्य शिष्टाचारको आदानप्रदानपछि बूढो पुजारीले भन्यो, “मैले सुनेको छु कि हाम्रो पुस्तैनी बाटो तिमीले बन्द गरिदियौ…।”
“हो,” प्रधानाध्यापक ओबीले बूढो पुजारीको बोली भूइँमा झर्न नपाउँदै बोल्यो, “स्कुल परिसरलाई हामी गाउँलेहरूको राजमार्ग बनाउन दिन सक्दैनौँ ।”
“हेर मेरा छोरा,” पुजारीले आफ्नो लौरी तल झार्दै भन्यो, “यो बाटो यहाँ तिमी र तिम्रा बाजेबराजु जन्मिनु पहिल्यैदेखि थियो । यस गाउँको पूरा जीवन यही बाटोमा निर्भर छ । हाम्रा मरेका नातेदारहरू यही बाटो भएर बिदा हुन्छन् अनि हाम्रा पुर्खाहरू यही बाटो भएर हामीकहाँ आउँछन् । तर सबैभन्दा अहम् कुरा यो हो कि यो भविष्यमा जन्म लिने शिशुहरूको मार्ग हो…”
प्रधानाध्यापक ओबीले अनुहारमा एउटा सन्तुष्ट मुस्कानका साथ बूढो पुजारीको कुरा सुन्यो र अन्तमा भन्यो । “हाम्रो स्कुलको पूरा उद्देश्य नै यस्तै मान्यताहरूलाई हटाउनु हो । मरेका मानिसहरूलाई हिँड्नको लागि बाटोको खाँचो पर्दैन । मेरो विचार गज्जबको छ । हाम्रो कर्तव्य यही हो कि तिम्रा बच्चाहरूलाई यस्ता अन्धविश्वासी कुराहरूउपर हाँस्न सिकाऊँ ।”
“तिमीले भनेका कुराहरू साँच्चै पनि होलान्,” पुजारीले उत्तर दियो, “तर हामी त आफ्ना पुर्खाहरूकै रीतिहरूको पालना गर्छौं । यदि तिमीले बाटो फेरि खुला गर्यौ भने हामीले झगडा गर्नुपर्ने कुनै कारण छैन । म त सधैँ यही भन्छु: बाजलाई धर्मोपदेशना गर्नदेऊ अनि चिललाई धर्मोपदेशना गर्नदेऊ (यद्यपि तिमी सहमत छैनौ भने तापनि अरु मानिसहरू जे विश्वास गर्न चाहन्छन् तिनीहरूलाई विश्वास गर्नदेऊ)।” अनि ऊ जानको लागि उठ्यो ।
“मलाई माफ गर,” युवा प्रधानाध्यापकले भन्यो, “स्कुल परिसरमा कुनै पनि हालतमा आरपार गर्न मिल्ने बाटोको चलन गर्न दिइनेछैन । यो त हाम्रो नियमको बर्खिलाफ हो । म तिमीलाई हाम्रो स्कुल परिसरलाई फन्को मार्दै बाहिरबाट एउटा अर्को बाटो बनाउन सुझाव दिन्छु । तिमी यसमा राजी छौ भने म आफ्ना विद्यार्थीहरूलाई तिम्रो मद्दतको लागि आग्रह गर्नसक्छु । मलाई लाग्दैन कि तिम्रा बितेका पुर्खाहरूलाई स्कुलको एक फन्को लगाउन कुनै झन्झट होला ।”
“मलाई अब थप केही भन्नु छैन,” स्कुल परिसरबाट बाहिरिइसकेको बूढो पुजारीले भन्यो ।
त्यसको दुई दिनपछि गाउँमा एउटी कलिली केटी सुत्केरी व्यथाले मरी । एकजना जोखाना हेर्नेसँग सल्लाह मागियो । उसले पुर्खाहरू हिँड्ने बाटोमा स्कुलले तारबार लगाइदिएकोले त्यसको क्षमापूजाको लागि धेरै बलिदानहरू चढाउनुपर्ने सल्लाह दियो ।
भोलिपल्ट बिहान उठेर हेर्दा प्रधानाध्यापक ओबीले आफूले गरेको काम सबै धूलिसात् भएको देख्यो । बाटोको नजिक मात्रै कहाँ विध्वंश गरिएको थियो र । सुन्दर फूलको बार तहसनसह पारिएको थियो, फूलहरू कुल्चीमिल्ची पारिएको थियो अनि स्कुलको एउटा भवन पनि भत्काइएको थियो ।
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
त्यसदिन एकजना निरीक्षक (ऊ गोरो छालाको थियो ) स्कुलको निरीक्षण गर्न आयो र स्कुल परिसरको स्थितिमाथि एउटा खराब प्रतिवेदन लेख्यो । तर प्रतिवेदनमा “स्कुल र गाउँलेबीच आदिवासी लडाइँको स्थिति विकास भइरहेको र यस्तो परिस्थिति उत्पन्न हुनुमा नयाँ हेडमास्टरको बहुलट्ठी उत्साहले भूमिका खेलेको” भनेर खास गम्भीर रूपले लेखिएको थियो ।
(Chinua Achebe को Dead Men’s Path को अनुवाद ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

