भारतले नेपाली भूमिमा भारतीय लिङ्क रोड बनाएको विरोधमा एक हजार भन्दा बढी श्रष्टा आबद्ध भएको संस्थाहरुले विरोध जनाएका छन् । उनीहरुले नेपाल सरकारको नालायकीपनको पनि भत्सर्ना गरेका छन् ।
विश्व कोभिड–१९ को सङ्क्रमणबाट ग्रस्त भएको र नेपाल भारत दुवै देशमा बन्दाबन्दी (लक डाउन) रहेको मौका छोपेर कैलाश मानसरोवर यात्राका लागि ८० कि.मि. को पक्की धार्चुला – लिपुलेक लिङ्क रोड (नयाँ सडक) बनाएकोमा विरोध गरेका हुन् । त्यत्रो सडक बनेर भारतका गृहमन्त्री राजनाथ सिंहले उद्घाटन गरिसक्दा पनि नेपाल सरकारलाई थाहा नभएको कुरा पढ्न पाउनु सबै श्रष्टाहरुका लागि लज्जाको विषय भएको विज्ञप्तिमा जनाइएको छ ।
‘देशको भूभाग अतिक्रमण गरेर भारतले नयाँ नक्सा बनाई विश्वमाझ सार्वजनिक गर्दा समेत आफ्नो वास्तविक र आधिकारिक नक्सा सार्वजनिक गरी मिचिएको भूभाग दाबी गर्नु त कहाँ हो कहाँ विदेशीले नेपाली माटोमा ८० कि.मि. पक्की सडक निर्माण गरिसक्दा पनि थाहा नपाउनु लज्जाको विषय भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
सन् २०१५ मै भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी र चिनियाँ प्रधान मन्त्री लि खस्याङले लिपुलेकलाई व्यापारिक मार्गका रूपमा विकास गर्ने भनी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । त्यति वेला नै नेपालले कडा रूपमा आपत्ति जनाई त्यसका विरुद्धमा विश्व जनसमुदायमा आफ्नो प्रस्ट अडान राख्न सकेन । नेपाली जमीन कब्जा गरेर भारतीय पक्षद्वारा निर्माण गरिएको सडक त्यसैको परिणाम थियो ।
सन् १८१६ को सुगौली सन्धिअनुसार काली (महाकाली) नदी पूर्वको सम्पूर्ण भूभाग नेपालको रहेको स्पष्ट उल्लेख छ । महाकालीको वास्तविक मुहान लिम्पियाधुरा भएकाले लिम्पियाधुरा–लिपुलेक–कालापानीसम्मको ३७२ वर्ग कि.मि. भूभाग नेपालको हो ।
‘नेपाली भूमिमाथि भारतद्वारा गरिएको यो नाङ्गो हस्तक्षेपको हामी घोर भत्सर्ना गर्दछौँ, साथै नेपाल सरकारलाई आफ्नो भूमिको रक्षाका लागि तुरुन्त कदम चाल्न समेत आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । आफ्नो भूमि फिर्ता लिन स्रष्टासँगै आम जनता पनि एकजुट हुन स्रष्टाहरुले विज्ञप्तिमार्फत अपिल गरेका छन् ।
उक्त विरोध कार्यक्रममा सहभागी हुनेहरुमा साहित्यपोस्ट डट कम, बुकाहोलिक्स, प्रगतिशील लेखक संघ, नेपाली लेखक सङ्घ, पारिजात स्मृति केन्द्र, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान, हेटौंडा, रमेश विकल साहित्य प्रतिष्ठान, देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठान, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान, घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल साहित्यिक पत्रकार संघ, इच्छुक सांस्कृतिक प्रतिष्ठान, शिवपुरी साहित्य समाज, साहित्यिक पत्रकार सङ्घ, शंकर लामिछाने स्मृति प्रतिष्ठान, भैरव पुरस्कार गुठी, साहित्य सन्ध्या, नेपाल, जनमत वाङ्मय प्रतिष्ठान, नेपाल, माक्र्सीय गुरुकुल, इन्द्रेणी साँस्कृतिक समाज, कीर्तिपुर, साहित्य सङ्गम, चितवन, कौसिकी वाङ्मय प्रतिष्ठान, दायित्व वाङमय प्रतिष्ठान, नेपाल, भवानी घिमिरे स्मृति प्रतिष्ठान, नेपाल, लघुकथा समाज नेपाल, स्रष्टा चैत्र–३०, सिर्जना चैत्र–३, नेपाल वाङ्मय परिषद, नागार्जुन साहित्य प्रतिष्ठान, गण्डकी साहित्य सङ्गम, सर्वदा वाङ्मय प्रतिष्ठान, इन्द्रेणी साहित्य समाज, साहित्य सदन, नेपाल, न्ह्यज्या खलस् , थिमि, शिल्पी नाट्य समूह, निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान, सिर्जना तरेली साहित्य समाज, हाइकु सङ्घ, प्रतिभा–प्रवाह, दुधौली प्रज्ञा प्रतिष्ठान, सिन्धुली सन्देश, बीडी त्यागी साहित्य स्मृति प्रतिष्ठान, सगरमाथा वाङमय प्रतिष्ठान, जन्मभूमि नेपाल साहित्य समाज, संगम साँस्कृतिक मञ्च, नेपाल, जरा फाउन्डेसन,नेपाल, नोबेल साकोस साहित्य संस्था, निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान, उन्मुक्त पुस्ता, नेपाल दलित साँस्कृतिक प्रतिष्ठान छन् ।

भारतीय अतिक्रमणको बिरोध गर्दै आन्दोलनकारीहरु । (फाइल तस्विर : देशसञ्चार)
भारतको दादागिरीलाई श्रष्टाहरुले चरणबद्ध विरोध गर्ने जनाएका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

