पछिल्लो समय बेलायत र अमेरिकामा दासदासीको प्रसङ्गलाई लिएर साहित्यकार र राजनीतिज्ञमाथि प्रश्न मात्र गरिँदै छैन, तिनको शालिक हटाउनेदेखि आलोचनात्मक विरोध प्रदर्शन र लेख लेख्ने चलन शुरू भएको छ ।
यसै प्रसङ्गमा पछिल्लो पटक दासविरोधी अभियन्ताहरूले बेलायतकी चर्चित लेखिका जेन अस्टिनले आफ्नो समयमा दासविरोधी विषय कुनै पनि साहित्यमा ठाउँ नदिएको भन्दै आलोचना शुरू भएको छ ।
तर जेन अस्टिनको आलोचनामा उठेका स्वरहरूलाई मत्थर पार्न केही इतिहासविद्हरू उभिएका छन् । जेन अस्टिनले जीवनभर लेखेका प्रख्यात साहित्यमध्येबाट केही लाइन सम्वाद र टिप्पणीलाई आधार बनाउँदै इतिहासविद्हरूले जेन अस्टिनले केही पनि नगरेको भन्दै आलोचना गर्नेहरूलाई जवाफ दिन थालेका छन् ।
जेन अस्टिनका बुवा रेभरेन्ड जर्ज अस्टिन दास व्यापारमा संलग्न नभए पनि उनी जुन कम्पनीका सेयर होल्डर थिए, त्यो कम्पनी दास व्यापारमा संलग्न भएको भन्दै जेनको आलोचना हुन थालेको थियो । जेन अस्टिनले जतिसुकै विश्वप्रसिद्ध रचना लेखेको भए पनि उनको समयमा ज्यादै चर्चामा रहेको दासहरूको व्यापारमाथि उनको कुनै आलोचनात्मक टिप्पणी नरहेको, साहित्यमा उनले तिनीहरूमाथि कुनै सहानुभूति प्रदर्शन नगरेको, खाली हुनेखाने वर्गका असन्तुष्टि, प्रेम, ईर्ष्यामाथि मात्र लेखेको भन्दै केही समययता दासविरोधी अभियानका अभियन्ताहरूले आलोचना गर्दै आइरहेका थिए ।
तर इतिहासकारहरूले भने जेनका बुवा रेभरेन्ड जर्ज अस्टिन दास व्यापारमा संलग्न कम्पनीको अंशियार रहेको भए पनि साहित्यमा केही लाइनहरू उनले लेखेको तर्क पेश गरिरहेका छन् ।
अस्टिन विज्ञ तथा एरिजोना विश्वविद्यालयका अंग्रेजीका प्राध्यापक डेभोनी लुजरले चाहिँ जेनका दाइ हेनरी अस्टिन दासप्रथा विरोधी अभियानका सदस्य रहेको पत्ता लगाएकी छन् ।
सन् १८४० मा लण्डनमा सम्पन्न विश्व दासत्वविरोधी सम्मेलनमा हेनरी अभियन्ताका रूपमा सहभागी भएको पाइएको छ । एसेक्सको कोल्चेस्टरबाट सहभागी भएर जाने दुईमध्ये हेनरी एक थिए ।
डेभोनी लुजरले टाइम्स लिटररी सप्लिमेन्टमा एक लामो आलेख लेख्दै जेन अस्टिनको पुस्ता दास प्रथाप्रति अनभिज्ञ नरहेको र यो प्रथा अन्त्य गराउने अभियानमा सहभागी नै भएको देखिएको बताएकी छन् ।
अस्टिन विज्ञ डेभोनी भन्छिन्, ‘जसरी जर्जको उपस्थिति दास बेचविखन गर्ने कम्पनीको सेयरमा देखिन्छ, त्यो पनि उनको रहरले लिएको सेयर होइन । जर्जका एक जना साथीलाई जब पैसाको सख्त आवश्यकता पर्यो, उनले त्यो कम्पनीमा आफ्नो सहभागिता जनाउनुपर्ने भयो ।
उनका साथीको नाम जेम्स लाङफोर्ड निब्स थियो । निब्सको निधनपछि उनको जर्जका नाममा नामसारी गरिएको सो कम्पनीको सेयर निब्सकी विधवा पत्नीको नाममा पुनर्स्थापित गरिएको थियो ।
चर्चित साहित्यकार एडवार्ड सइदले जेन अस्टिनले आफ्नो उपन्यास मेन्सफिल्ड पार्कमा दासविरोधी विषयलाई चाहिँदो जति ठाउँ नदिएको आरोप लगाउँदै एक लेख लेखेका थिए । सो उपन्यासमा उपन्यासकी मुख्य पात्र फेनीले उनको उखु रोप्ने कम्पनीका मालिक काकालाई दासहरूको अवस्था कस्तो छ भनी सोधेकी थिइन् तर उपन्यासले त्यो कुरा टुङ्गोमा नपुग्दै भाँडिन्छ र कथा अन्तै बग्न थाल्छ ।
यस्तै एम्मा उपन्यासमा जेन अस्टिनले स्पष्टमा रूपमा दासहरूको कारूणिक अवस्थाका लागि दास मालिकहरूको दोष देखाएकी छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

