हलिउडले कला र कलाकारलाई सम्झन कुनै कसर छाडेको छैन । भिन्सेन्ट भ्यान गगको १९५६ को बहुचर्चित फिल्म ‘लस्ट फर लाइफ’ होस्, या २००२ मा आएको फ्रिडा काहलोमाथि बनेको ‘फ्रिडा’ होस्, त्यस्तै आइरिस कलाकार क्रिस्टी ब्राउनमाथि बनेको र ड्यानियल डे लेविसको अभिनय रहेको बहुचर्चित ‘माई लेफ्ट फुट’ किन नहोस्, ती सबैले कलाकार भोगाईलाई बडो रोचक ढंगले पस्किएका छन् ।
झन् पिकासोमाथि बनाइएको एन्थोनी होपकिन्सको ‘सर्भाइभिङ पिकासो’ होस् या मार्गरेट केनमाथि बनाइएको ‘बिग आइज’ होस्, तिनको प्रभाव अद्यापि छँदैछ ।
तर जब कलाकार नै पिकासो हुने तर्खरमा लागे भने के हुन्छ ? के हुनु ? समाचार बन्छ । यतिबेला समाचार बनेका तिनै कलाकारको कलाबारे थोरै जानकारी पस्किन खोजिएको हो ।
हुन पनि कोविद १९ रोगले सबैलाई हैरान बनाएको छ । सबैतिर बन्द छ । कहाँ जानु ? के गर्नु ? घरमा पनि कति बस्नु ? यस्तो बेलामा अभिनेता अभिनेत्रीभित्र गहिरो गरी बसेको बेग्लै कलाकारिता प्रस्फुटित भइरहेको छ ।
राजेश हमाल गीत गाइरहेका छन्, नाट्य संवाद वाचन गरिरहेका छन् भने हलिउडका कलाकार पनि के कम ! हैन त ?
त्यसैले त पेशाले अभिनेता र अभिनेत्रीहरू यतिबेला बुरूस र क्यानभासमा आफ्नो भावना पोखिरहेका छन् । रोचक त के छ भने तिनको यो सोख देखेर धेरैले ‘नट ब्याड’ भनिरहेका छन् ।
तिनको कलाकारिता कुन तहको छ भन्ने कुरा त विज्ञहरूले नै बताउलान् तर सर्सर्ती हेर्दा ती पनि कम्ता मोहक छैनन् !
आउनुस्, हलिउडका हस्ती कलाकारहरूको कलामोह र तिनको कला हेरौँ ।
प्रख्यात अभिनेता एन्थोनी होपकिन्सको चित्रलाई धेरैले सराहना गरेका छन् । उनमा पिकासोको कलाप्रभाव बढी देखिएको केहीको धारणा छ । नहोस् पनि किन, उनले सन् १९९६ मा ‘सर्भाइभिङ पिकासो’ फिल्ममा अभिनयसमेत गरेका थिए । सो फिल्ममा अभिनय गर्नका लागि उनले पिकासोका बारेमा चाहिने जति सबैजसो कुराको अध्ययन पनि गरेका थिए ।
हास्य अभिनेता जिम क्यारीले अमेरिकी राष्ट्रपति डोनाल्डलाई व्यंग्य कस्न भ्याएका छन् ।
अभिनेत्री पेरिस हिल्टनको कला । उनले इमोजीलाई उपयोग गरेकी छन् ।
यी हुन्, सिनेमाका पर्दामा बोन्ड, जेम्स बोन्ड भन्दै देखापर्ने पुराना जेम्स बोन्ड पियर्स ब्रोस्नान ।
अस्कर अवार्ड विजेता अभिनेत्री रिजी विदरस्पुनको फूलको कला रोचक छैन त ?
स्यारोन स्टोनले पानीरङबाट बनाएको फूलको चित्र । यो उनको पहिलो प्रयास रहेको उनको फेसबुक पोस्टमा जनाइएको छ ।
यी हुन्, रकी फिल्मका अभिनेता सेल्भेस्टर स्टेलोन । यिनको चित्रलाई चाहिँ कला समीक्षकहरूले आफूजस्तै कडा रङहरू प्रयोग गरेको प्रतिक्रिया दिएका छन् । भनाइको अर्थ, समीक्षकहरू उति खुसी देखिएनन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

