सम्भव छ !

समस्या छन् भनेर मात्र समाधान निस्कदैन । यही मान्यताबाट हामीले यात्रा अघि बढाएका छौँ ।

बाटाहरु दुई किसिमका हुन्छन्– एउटा छोटो तर अप्ठ्यारो । अर्को लामो तर सजिलो । तर साहित्यपोस्ट तेस्रो बाटो हिँड्ने दुष्प्रयास गर्दैछ । हामीले हिँड्न लागेको बाटो लामो मात्र होइन, सगरमाथा चढे जत्तिकै अप्ठ्यारो पनि छ ।

इतिहासले पनि यसैतर्फ संकेत गर्छ । नेपाली साहित्यिक पत्रकारिताले अनौठो विडम्वना भोगेको छ । ‘शारदा’ले आधुनिक नेपाली कथाकारहरु जन्मायो तर आफैँ भने व्यावसायिक हुन सकेन । ‘रुपरेखा’ मार्फत नेपाली साहित्यकै मानक कविहरु जन्मिए तर त्यो लामो समयसम्म चल्न सकेन । नेपाली भाषा प्रकाशिनी समिति हुँदै जन्मिएको साझा प्रकाशन र यसको साहित्यिक पत्रिका ‘गरिमा’ पनि उच्च साधन स्रोत हुँदा हुँदै मृत्युवरण गर्न पुग्यो । नेपालभित्र कुरा छाडौँ, कुनैबेला भारतका दार्जिलिङ्ग, बनारस र पछिल्लो समयमा विश्वभरि छरिएर रहेका नेपालीहरुले समेत साहित्यिक पत्रकारिताको प्रयास गरेका थिए–छन् । तर कुनै पनि पत्रिकाले सोचेजस्तो पाठक पाएनन्–पाउन सकेका छैनन् ।

यी केही उदाहरण मात्र हुन् । खासमा सयौं यस्ता पत्रिकाहरु थिए, जो निरन्तर चल्नुपर्दथ्यो, चलेनन् । चलाउन सकिएन । नेपालभित्र र बाहिर अहिले पनि केही अनलाइन पत्रिका चलिरहेका छन्, ती रहरे काममा सीमित भएका छन् । थोरै राम्रा कागजी पत्रिकाहरु छन् तर ती बाध्यताले चलिरहेका छन् ।

यस्तो अवस्थामा प्रश्न उठ्छ, संसारभरि ५ करोड भन्दा बढी मानिसले बोल्ने नेपाली भाषामा आउने साहित्यिक सामग्रीलाई किन व्यावसायिक बनाउन सकिँदैन ? कुन बाटोमा कस्ता सामग्री लिएर हिँड्दा नेपाली साहित्यिक पत्रिकारिताले व्यावसायिकताको मानक भेट्छ ?

साहित्यपोस्ट (www.sahityapost.com) विद्युतीय पत्रिका यी दुई प्रश्नको उत्तर खोज्ने प्रयास हो । हामीलाई विश्वास छ, नेपाली भाषा, संस्कृति र पठन संस्कृतिलाई माया गर्ने सबैलाई सँगै लिएर हिँड्ने हो भने यो सम्भव छ । अध्ययनले भन्छ, जुन देशका जनता जति पढ्छन्, त्यो देश त्यति नै सम्पन्न हुन्छ । पठन संस्कृति बढ्नु त्यो देश र त्यहाँका जनता पनि समृद्ध हुँदै जानु हो । हामी सम्पन्नताका मानक विकास र पैसामा खोजिरहेका छौँ । त्यो अध्ययन, चिन्तन र अन्वेषणमा हुन्छ । सिर्जना र त्यसले दिने खुसीमा हुन्छ । हामी त्यही दिशातिर उन्मुख हुन चाहन्छौँ ।

साहित्य समाजसेवा मात्र होइन, व्यावसायिक पनि हुनुपर्छ भन्ने सिद्धान्त व्यवहारमा उतार्नु यसको मूल ध्येय हो । संसारको जुन सुकै कुनामा रहेको अन्तिम पाठकले पनि आफ्नो मनपर्ने लेखक र उनीहरुका कृतिसँग सिधा पहुँच राख्न सक्ने हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । यसका लागि हामी अक्षर, श्रव्य र डिजिटल पुस्तकको व्यवस्था साहित्यपोस्टमै गर्नेछौँ ।

साहित्यमा रुचि हुनेहरुलाई हुर्कने वातावरण तयार पार्नु र त्यसका लागि उचित सामग्री पस्कँदै जानु पनि हाम्रो ध्येय हो । हामी अक्षरसँग नाता गाँस्न चाहने हरेकसँग सम्बन्ध गाँस्दै, जोडिँदै, हातेमालो गर्दै साहित्यको रसस्वाद गर्नेछौँ ।

साथै साहित्यका गलत तत्त्वहरुका विषयमा खबरदारी गर्दै बौद्धिक स्वच्छता कायम गर्ने काममा पनि लागिरहने छौँ ।

यी सबै काम एकै साथ गर्छु भनेर काँध थाप्न जति सजिलो छ, गन्तब्यसम्म पुर्याउन त्यो भन्दा कठिन छ । कतिपय अवस्थामा यो हाँस्यास्पद पनि लाग्न सक्छ । त्यसमाथि मानवमा हुने स्वार्थी प्रवृत्ति र आजको व्यावसायिक टकराब झेल्दै अगाडि बढ्नु कम चुनौतीपूर्ण छैन ।

तै पनि कसैले त प्रयास गर्नै पर्छ । त्यही अप्ठ्यारो सगरमाथा चढ्न खोजेका हौँ । यसका लागि संसारभरिका सयौं मनकारी साहित्यकारहरुले यसका लागि लगानी र समय दुवैलाई जोखिममा राख्ने प्रतिबद्धता देखाउनु भएकाे छ ।

यति हुँदाहुँदै पनि यो कठिन एवं दुरुह यात्राका लागि हामी सक्षम छैनौँ । तर यी अक्षर पढिरहनु भएका तपाईं सबैका सुझाव, सल्लाह र मार्गनिर्देशन पाउँदै गयौँ भने असम्भव पनि छैन ।

साहित्यपोस्टको लामो तर कठिन यात्रामा साथ दिन्छु भनेर सोच्ने तपाईं सबैलाई साहित्यको यो मनोरम तलाउमा स्वागत गर्दछु । आउनुहोस्, डुबुल्की लगाऔँ ।

अश्विनी कोइराला
प्रधानसम्पादक
साहित्यपोस्ट डट कम