सत्यजितका एक मित्र थिए अभिमान तामाङ । सत्यजितले अभिमानसँग भेट्दा सायद सत्यजित आफैँ सत्ताईस वर्षका थिए भने अभिमान सिंह पैँतीस वर्षका । अभिमान सिंहको स्वभाव नै आकर्षक खालको थियो । मिलनसार, हक्की, हँसिलो । कुरा गर्न होस् वा खर्च गर्न , पटक्क नडराउने । सत्यजित पार्टीले सदस्यता पनि नपत्याइएको परीक्षणकालको युवा थिए भने अभिमान सिंह युवा नेता भइसकेका थिए । उनको एउटा थेगोले सत्यजित प्रभावति थिए ।

भूमिगतकालमै उनी अग्रज नेताहरुलाई ‘आरामतलबी‘ भन्थे । पञ्चायतको राज थियो । शान्ति सुरक्षाको कानून कडा थियो । गाउँ गाउँमा कतिपय पुराना कम्युनिष्ट र कांग्रेस पञ्चायतका हिमायती भइसकेका थिए । अझ भन्ने हो भने पञ्चायती निकायका पदाधिकारी नै बनिसकेका थिए । त्यसैले भूमिगत राजनीतिक गतिविधि गरिरहनु, भूमिगत रुपमा कार्यकर्ता र जनता माझ पुगिरहनु सजिलो काम थिएन । कमयुनिष्ट पार्टीहरु त्यतिबेलै पनि भूमिगत रुपमैं जनता माझ पुगिरहेको थिए । बिद्यार्थीहरु, किसानहरु, मजदूरहरु, साना व्यवसायीहरु सबैमा आफ्नो राजनैतिक प्रशिक्षण गर्न सफल भइरहेका थिए ।

अभिममान सिंह तामाङ त्यस्तै एक पात्र थिए । अभिमान सिंहले कसरी कसरी भूमिगत रुपमैं कम्युनिष्ट शिक्षा प्राप्त गरे । भूमिगत रुपमा प्रशिक्षण चल्यो । उनी अरु कम्युनिष्ट नेता जस्तो गरिब परिवारबाट आएका थिएनन् । उनका पिताजी त गाउँका जमिन्दार थिए । गाउँभरीका जनता उनका कब्जामा थियो । उनका इसारामा गाउँका गाउँ पल्टेर आउँथे । उनका वा त्यस्ता नामूद शोषक पनि थिएनन् । गाउँले र गाउँका समस्या बुझ्थे, सुनिदिन्थे । जमीन्दार थिए त मोहीहरुले उनका घरमा कुत बझाउँथे । अभिमान सिंह जेठो छोरा भएको कारणले उनीप्रति विशेष प्रेम थियो पिताजीको । सामान्य पिताजीहरुमा झैँ आफूले निमार्ण गरेको सामाजिक , राजनैतिक र आर्थिक इज्जत अर्थात् अर्को अर्थमा भन्ने हो भने साम्राज्य उनी जेठो छोरा अभिमान सिंहले सम्हाले हुने भन्ने चाहन्थे । उनलाई खेल्न, पढ्न, बाहिर हिँड्न सबै छुट थियो ।

स्नेह सायमि

त्यो छुटको प्रयोग उनले कम्युनिष्ट पार्टीका लागि प्रयोग गरे । कम्युनिष्ट नेताहरुको परिभाषामा अभिमान सिंहका पिताजी सामन्त थिए, शोषक थिए । गाउँलेहरुलाई लुटुपुटु पार्थे । उनलाई कुनै पनि हालतमा विस्थापित नगरीकन जिल्लामा कम्युनिष्ट विचार फैलाउन सकिँदैन भन्ने भयो । अनि त निष्ठावान् कम्युनिष्ट कार्यकर्ता अभिमान सिंह नेताहरुले ठहर्याएको सामन्ती पिताजीलाई पतन गर्न तम्सिए । उनको पिताजीको प्रभाव यति शक्तिशाली थियो कि सहज रुपमा गाउँलेहरुबाट हट्न सम्भव थिएन । किनकि वास्तवमा उनी पञ्चायती रुपमा भित्री व्यवहारिक कम्युनिष्ट नै थिए । कुनै पनि गाउँलेको दुःख देख्न सक्दैनथे र सक्दो सहयोग निरन्तर गरिरहन्थे । त्यसले तिनको प्रतिष्ठा र प्रभाव बढाएको थियो । तर उनको कुनै राजनैतिक महत्वाकांक्षा थिएन । उनी जस्तो प्रभावशाली मान्छे पञ्चायतलाई पनि चाहिएकै थियो । त्यसको राजनैतिक प्रयोग पञ्चायतले गरेको थियो । अरु भूभिगत पार्टीको लागि भने राजनैतिक रुपमा उनी समस्याका रुपमा स्थापित भए । स्थानीय नेतृत्वले उनको व्यवहार हेरिकन उनलाई पनि सँगै लिएर जाने आँट गर्न सकेन । त्यसरी उनी भूमिगत पार्टीको विश्लेषणमा शत्रु साबित भए ।

शत्रु त बाँकी राख्न भएन । अभिमान सिंह आफैँ आफ्ना पिताजीलाई वैचारिक शत्रु ठानेर हत्या गर्न तम्सेका थिए । विचारप्रति त्यति कठोर अभिमान सिंह पार्टीका नेताहरुको अल्यांगमल्यांग, दुई अर्थ लाग्ने शब्द र लेखन, विभिन्न वाहाना बनाई मूल काम पन्छाएर पार्टीका नाममा काम नगर्ने प्रवृत्तिको खुलेर बिरोध गर्थे । उनको विरोधप्रति सिधै विरोध गर्ने हिम्मत कसैले गर्दैनथै । त्यसैले उनी नेताहरुलाई भूमिगतकालमैं ‘आरामतलबी’ भन्थे ।

उनको साथ सबैलाई चाहिएको हुन्थ्यो, तर उनको हक्की स्वभाव नेताहरुलाई अनावश्यक लाग्थ्यो । कम्युनिष्ट पार्टीमा नेताहरुकै हाकाहाकी आलोचना गर्ने एक कच्चा युवा साधारणतया मन पराउँदैनन् भनेर उनले बुझेनन् । कम्युनिष्ट विचारधारा र पार्टी पद्धर्तीमा त एकअर्काको खुलेर आलोचना गर्न पाइन्छ, मन माझ्न पाइन्छ, सामूहिक नेतृत्व हुने हुनाले एक जनाको मात्र विचार हावी नहुने कुरा सर्कुलरमा लेखिएको हुन्थ्यो । त्यस्तो विचार र पद्धती लेखिए तापनि कम्युनिष्ट पार्टीका नेता पनि यही गाउँ र यही समाजमा जन्मेको, हुर्केको, यहीँकै कुवा वा धाराको पानी खाएको, यताकै संस्कारमा अभ्यस्त भएको हुनाले नेतृत्ववर्गले पनि गल्ती गर्न सक्छन् भनेर कार्यकर्ताले नसोचेको हुन्थ्यो । यसरी अभिमान सिंहको क्षमता, योग्यता हुँदा पनि पार्टीमा अलि हैसियत त बनाए तर माथिल्लो स्तरमा पुग्न सकेनन् ।

अहिले पनि अभिमान सिंह सोच्छ, ‘त्यो नेतालाई त मैले सिकाएको, मैले सदस्यता दिएको ।’ तर ती नयाँ सदस्य लिएका कार्यकर्ता अब अभिमान सिंहका नेता बनिसकेका छन् । तैपनि अभिमान सिंहको कुनै गुनासो बाहिर सुनिदैन । तर भन्न छोडेका छैनन् – आरामतलबी ।