
दुर्गालाल श्रेष्ठ एक कार्यक्रममा मन्तव्य व्यक्त गर्दै
दुर्गालालको बाल्यकाल निकृष्ट गरिबीमा गुज्रेको थियो । पेटभरि खान पाइँदैन थियो । राम्रो लगाउने त के आङमा नटालेको लुगा पर्दैनथ्यो । खुट्टामा जुत्ता कहिल्यै हुँदैनथ्यो । भात खाने भनेको बिहानै मात्र हुन्थ्यो । बेलुका पनि भात खाइन्छ भन्ने कुरा उनलाई धेरै वर्षसम्म थाहा थिएन, किनभने उनको घरमा बिहानै मात्र भात पाक्थ्यो । बेलुका कहिले हरियो केराउकोसा त कहिले भटमासकोसा खाएर सुत्थे । एक साल (वि.सं. २००० सालमा) आकासै ढाकिने गरी सलहको बगाल आएको थियो । त्यस बेला उनीहरूले दिनरात सलह किनेर महिनादिनसम्म त्यही मात्र खाएर बसेका थिए । खासमा उनका बुबाले सलह किनेर बेच्ने गरेका थिए । बेची नसकेको सलहले त्यो परिवारको छाक टर्ने गर्थ्यो ।
आमाको माया
बाल्यकालमा उनलाई निक्कै पल्ट एक्लै भात खाएको सम्झना छ । आमाले उनलाई एक्लै राखेर भात ख्वाउँथिन् । उनलाई थाहा थिएन, आमाले किन उनलाई एक्लै राखेर भात ख्वाउँथिन् भन्ने कुरा ।
एक दिन उनका बाबुले उनकी आमालाई भने “ल पस्क, सबैलाई बराबरी भाग राख । तिमी पनि खाऊ, म पनि खान्छु ।”
श्रीमान्को आदेश मान्नै पर्यो तर उनकी आमा दुर्गालालको थालमा हेर्दै आँखा भिजाउन लागिन् । श्रीमान्ले फेरि भने, “ल खाऊ तिमी पनि छिट्टै ।”
तर उनले घाँटीबाट गाँस निल्नसकेकी थिइनन् । उनी सम्झँदै थिइन्, “मेरो छोरो यति खाएर पुग्ने मान्छे होइन । उसलाई यो मेरो भाग पनि ख्वाउनु छ ।”
त्यस बेला मात्रै दुर्गालालले थाहा पाए कि उनकी आमाले लुकाई–लुकाई आफ्नो भागको भात पनि उनलाई ख्वाउने गरेकी रहिछन् । उनका बाबुले त्यो कुरो चाल पाएर नै सँगै खाना खाने जुक्ति निकालेका रहेछन् । तर उनकी आमाले बरु आँखाबाट आँसु झार्दै गरिन्, गाँस टिपेर मुखमा हाल्न सकिनन् ।
उनलाई थाहा छैन, चार सन्तानमा पनि उनलाई आमाले किन विशेष माया गर्थिन् । किन उनको पढाइका लागि त्यति चिन्तित हुन्थिन् । अरू सन्तानको लागि उनी त्यति व्यग्र थिइनन् । आमाले त्यतिखेर गरेको माया सम्झी कवि अहिले भन्छन्, “मेरी आमाले मलाई गरेको त्यो साधारण माया मात्र थिएन । किन भइन् उनी त्यति पक्षपाती मेरो लागि ? किन मलाई पढाउन त्यति चिन्ता लिन्थिन् ? दाइहरूको लागि त्यति साह्रै गरेको मलाई थाहा छैन । बहिनी त छोरी मान्छे नै भइहाली । त्यतिखेर छोरीलाई पढाउने चलन थिएन । आमाले मलाई आफ्नो पेट काटीकाटी पनि ख्वाउँथिन् भन्ने कुरा मैले त्यस बेला थाहा पाएँ । तर थाहा पाएर पनि त्यस बेला अहिले जस्तो मन द्रविभूत हुँदैनथ्यो । यो बुझ्ने भन्ने कुरा पनि अनौठो हुँदोरहेछ । त्यस बेला पनि म नबुझ्ने मान्छे त थिइनँ तर पनि ती कुरा सम्झँदा अहिले जसरी मन भरिएर आउँछ, त्यो बेला हुँदैनथ्यो । आमा बितेपछि मात्र मैले बुझेँ— उनी मेरा लागि कति महान् थिइन् !”
वर्गभेदको चेतना
उनीहरूको टोलमा एउटा पैसावालको परिवार थियो । उनको बुबाले सेवा गर्न जाने साहूहरू मध्येकै घर थियो त्यो । त्यस परिवारमा उनकै उमेरको एउटा केटो निकै दिनदेखि बिरामी परेको थियो । त्यो केटाको हेरचाह गर्न बालक दुर्गालाललाई बोलाइयो । त्यही घरमा दिनभरि बस्नुपर्दा खाने पनि त्यहीं नै भयो ।
एक दिन दिउँसो घर आउँदा उनकी आमाले उनको बाहुला र हातमा सेता टाटा देखेर त्यो के हो भनेर सोधिन् । त्यो दूधको दाग थियो । त्यस बेलासम्म पनि उनले दूधभात खान जानेका थिएनन्, किनभने उनले त्यसभन्दा अघि आफ्नो घरमा कहिल्यै दूधभात खाएका थिएनन् । त्यसैले पहिलोपल्ट दूधभात खाँदा गाँस टिप्न नजानेर दूध हात र बाहुलामा चुहिएको थियो ।
त्यो साहूको घरमा एक–दुई हप्तामात्र उनी के बसेका थिए, त्यसपछि त उनलाई आफ्नै घरको भात रुच्न छोड्यो । त्यो ठूलो घरमा बसेर आएपछि मात्र उनले थाहा पाएका थिए, ‘आफ्नो घरमा खाने त उसिनेको चामलको भात पो रहेछ ! उनीहरूको घरमा त अलिकता भए पनि दूध पाइन्थ्यो । आफ्नो घरमा त दूध भन्ने कहाँ पाउनु ?’
दूधभात पनि खाइँदोरहेछ भन्ने कुरा नै उनले त्यहीँ गएपछि मात्रै थाहा पाएका थिए ।
त्यो ठूलो घरमा केही दिन बसिसकेपछि उनले निकै कुरा थाहा पाए — ठूला घरमा खवाइ पनि उनीहरूको भन्दा फरक हुँदोरहेछ, बसाइ पनि फरक हुँदोरहेछ, सुताइ (बिछ्यौना) पनि फरक हुँदोरहेछ । उनको त लामखुट्टे आउने घर थियो । लामखुट्टे रोक्न ठाउँठाउँमा टालेको झूल थियो, त्यही पनि टाउको छोपे खुट्टा नढाकिने, खुट्टा छोपे टाउको बाहिरै हुने ! धनी र गरिबमा सबै कुरा फरक हुँदोरहेछ भन्ने धेरथोर ज्ञान उनले त्यो ठूलो घरमा केही दिन बसेर थाहा पाए । त्यसभन्दा अघिसम्म भोको पेट खेल्न हिँड्दा पनि उनलाई आफू गरिब छु भन्ने चेतना थिएन ।
स्वजातिभित्र वर्गीय भेद
काठमाडौंका सबैजसो केटाहरू चङ्गा उडाउन जान्ने हुन्थे, किनभने दशैंताका बच्चाहरूको विशेष मनोरञ्जन भनेकै चङ्गा उडाउने हुन्थ्यो तर पहिला बच्चाहरू दशैं सुरु हुन निक्कै अघिदेखि नै चङ्गा उडाउने ध्याउन्नमा लाग्थे भने दशैं सुरु भएपछि के बालक के युवक के वृद्ध सबै चङ्गा उडाउनमा मस्त हुन्थे । त्यसैले काठमाडौंमा चङ्गा उडाउन नजान्ने मान्छे नै हुँदैनथ्यो भन्दा पनि हुन्छ । तर दुर्गालाललाई चङ्गा उडाउन आउँदैनथ्यो । सबै मान्छे चङ्गा उडाउनमा मस्त रहने बेला दुर्गालाल बाटोमा काटिएर झरेका चङ्गा र धागो बटुल्नमा व्यस्त हुन्थे । उनलाई पनि चङ्गा उडाउने मन हुन्थ्यो तर उनको घरको कौसी होचो थियो, चङ्गा उडाउन मिल्ने खालको थिएन । दशैं आएपछि छिमेकीहरू छाना र कौसीमा चङ्गा उडाउँदै “चेट ! चेट ! !” आदि अनेक शब्द निकाली खुसीले उत्तेजित भई कराइरहेका हुन्थे । आफू सरहका अरू बच्चाहरूले चङ्गा उडाएको देख्दा उनलाई पनि चङ्गा उडाउने रहर कहाँ नहुँदो हो र ? उनलाई तिनीहरूको छानामा गएर चङ्गा उडाउने मन हुन्थ्यो । तर तिनीहरूले दुर्गालाललाई घरमा भित्र्याउँदैनथे । उनी सानो जातका भएर घरमा नभित्र्याएको होइन, न त तिनीहरू ठूलो जातका भएर नै त्यस्तो गरेका थिए । तिनीहरू उनकै थरका (श्रेष्ठ थरका) थिए । यसरी उनले विपन्नताको कारणले, टालेको सुरुवालको कारणले आफ्नै टोलछिमेकका मान्छेबाट पनि तिरस्कारको व्यवहार खेप्नुपरेको थियो ।
अझ उनले हुनेखानेको सौखको लागि तिलौरी फुटाउन आफ्नो निधार थापिदिने पनि गरेका थिए । त्यस बेला टोलका पैसावाल मानिसहरू तिलौरी फुटाएर बाजी राख्थे । उनीहरू बच्चाहरूको निधारमा तिलौरी ठोकाएर फुटाउँथे र जोर सङ्ख्यामा टुक्रा हुन्छ वा बिजोर सङ्ख्यामा भनी बाजी राख्थे । दुर्गालालले पनि बाल्यकालमा पैसावालहरूको त्यस्तै अनर्थपूर्ण लहडबाजीको लागि धेरैपल्ट निधार थापेका थिए । थाप्नुको कारण थियो, केही टुक्रा तिलौरी खाने लोभ ।
आमाको मायाका धनी
यी सबैका बावजूद अचम्मको कुरा के भने त्यतिखेर उनलाई कहिल्यै पनि गरिबीको अनुभव भएन । उनी भन्छन्, “मैले कहिल्यै गरिबीको अनुभव गरी चित्त दुखाई बाँच्नुपरेको थिएन । भौतिक अभावमा हुर्के पनि मेरो बाल्यकाल खुसीमा बितेको थियो । लघुताभास ममा कहिल्यै आएन । बरु अदम्य आत्मविश्वास थियो ।”
बाल्यकाललाई सम्झँदै कवि अहिले ती सबको कारण पहिल्याउन खोज्छन् र भन्छन्, “यी सबको कारण थियो — आमाको माया । आमाको काखमा हुर्कन पाए जस्तोसुकै गरिबले पनि आफू गरिब भएको अनुभव गर्नुनपर्दो रहेछ ।”
दुर्गालालसित आमाको जम्माजम्मी एउटै मात्र तस्बीर छ । सो तस्बीर उनले फ्रेम हालेर कोठामा सजाएर राखेका छन् ।
फोटोमा उनको हस्तलिखित एउटा छोटो कविता प्रष्ट देखिन्छः
ध्यान जक मखु प्राण हे नं
छंगु च्वन यःमां जिके !
मां दुसां छतिग्यंम्ह मेपिनि
मां सुयां मदुला सखे !
अर्थात्,
ध्यान मात्रै हैन आमा
प्राणतक तिम्रो ममा !
लाग्छ मेरा झैं कसैका
सायदै होलान् मुमा !
(मूलतः नेपालभाषाका लेखक आर. मानन्धर दुर्गालाल श्रेष्ठ विषयक शोधार्थी हुन् । नेपालीमा उनको ‘क्षितिजको स्पर्श’ पुस्तक प्रकाशित छ ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

