
‘तपाईँले भ्याउनुहुन्छ भने आइहाल्नु प्रभाजी, हाम्रो उडान एक घण्टा ढिलो छ । एयरलाइन्समा मिलाइदिन सक्छन् सिट ।’ सगुना शाहको फोनवार्ताले म झटपट तयार भएर वनस्थलीदेखि विमानस्थल पुग्दा जहाज उड्नै आँटेछ । दौडधुप काम लागेन । प्रतीक्षालयमा बसेर आराम गर्नुको विकल्प रहेन ।
२०८१ फागुन २३ गतेका दिन । त्रिभुवन विमानस्थलमा टीकापुर कैलालीको साहित्य महोत्सवमा सहभागी हुने सदस्यका विभिन्न समयका उडान तालिका थिए । अन्तिम तालिका थियो मध्यान्ह साढे बाह्रको । मसहित सात जना सदस्य रहेछौँ । शान्ति प्रियवन्दना, शान्ति शर्मा, भगवती बस्नेत, प्रज्ज्वल अधिकारी, होम भट्टराई र केकी अधिकारी । डेढ घण्टा ढिलो गरेर बुद्ध एयरको जहाज उड्यो, दिउँसो २ बजे । मेरो सिटमा परिन् डोल्पा शे–फोक्सुण्डो निवासी रिग्मो गाउँकी छिरिङ डोल्मा । आफ्नी दुई वर्षे छोरीका साथ उनी नेपालगञ्ज हुँदै डोल्पा फर्किँदै रहिछन् । म पनि तपाईँको गाउँ पुगेर आएकी छु भन्दा खुब खुशी देखिइन् ।
‘जहाजमा मलाई असाध्यै डर लाग्छ कुरा गरिराखौँ है दिदी ।’ उनी बोलिरहन खोजिन् । ३५ वर्षकी उनी निरक्षर रहिछन् । श्रीमान् नेपालगञ्जमै छन्, अब उनीसँगै जान्छिन् घर । हिउँदमा हिउँ पर्ने भएकाले अनुकूल स्थानमा जाने क्रममा योपटक आफन्तीको घरमा काठमाडौँ आएकी रे । काखकी छोरी रोएर उस्तै झिजिँइन् उनी । स्तनपान गराएर धन्न साम्मे पारिन् । हुन पनि करीब एक घण्टासम्म छोरीले आमाका दूधका लाम्टा चुसिरही । उनी कमजोर देखिएजस्तो मानेँ । मेरो झोलामा हात घुसारेँ । अलिकति किसमिस र काजुका दाना रहेछन्, त्यही खान दिए । प्रेमपूर्वक मुखमा हालिरहिन् ।
‘आज तपाईँलाई भेट्यो, एकैछिनमा आएजस्तो लाग्यो । नत्र कत्ति डराउँथ्यो म त ।’ ओर्लने बेला शिथिल अनुहारमा हाँसो ल्याउँदै भनिन् ।
‘हो र, अबदेखि नडराउनु ? केही हुँदैन । ल एउटा तस्बीर खिचाँै है ?’
मैले मोबाइलमा उनका आमाछोरीको सम्झना सँगाले र बाहिरिएँ ।
आयोजक समितिका सदस्य चक्रचन्द सोडारी भाइ हाम्रो स्वागतमा हुनुहुँदो रहेछ । भेटियौँ र अघि बढ्ने तरखरमा लाग्यौँ । २०७८ कार्तिक ११ गते डोल्पाबाट फर्किँदा सुर्खेत हुँदै नेपालगञ्जबाट काठमाडौँ जाने सिलसिलामा यहाँ आएकी थिएँ । आज पुनः यो ठाउँलाई साक्षात्कार गर्न पाउँदा हर्षित भएँ । परापूर्वकालमा तराईमा औलो, कालाजार लगायत रोगबाट यहाँ बसोबास गर्ने अधिकांश मानिसको मृत्यु भयो । यसपछि सीमित मानिस मात्र बसोबास गर्न थालेपछि यस ठाउँको नाम नै बाँके रहन गएको भन्ने कुरा मैले कतै पढेकी थिएँ । त्यही बाँकेको नेपालगञ्ज शहरलाई दोस्रोपटक नमन गर्दैछु । धम्बोजी चोकको छेउछाउको पसलमा गएर रावडी खाएको सम्झना आँखाभरि पुनरावृत भइरहेको छ । बागेश्वरी मन्दिरका जुँगे महादेव पनि सम्झनामा आए ।
फागुनको महीना मौसम समशितोष्ण छ । सुन्दर वातावरणलाई अवलोकन गर्दै हाम्रो गाडी सरर अगाडि बढिरहेको छ । अगिल्लो उडानमा आएको टोली कर्णाली नदीमा सँगै जलविहार गर्ने भनेर प्रतीक्षामा बसेको खबर सुनियो । चालकले गाडी अझै कुदाए । उनको गाडीभन्दा अझै बढी मेरो मन कुदिरह्यो ।
बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज
महेन्द्र राजमार्गमा अवस्थित कोहलपुर चोकबाट उत्तर दिशापट्टि लागे सुर्खेत । पूर्व लागे बुटबल र पश्चिमतिर लागे कर्णाली चिसापानी पुगिने रहेछ । हाम्रो गाडी पश्चिमतिर मोडियो । धागो तानेझैँ सीधा राजमार्गमा गाडी हुँइकियो । सबैभन्दा प्यारो मनले मनसँगै संवाद गरिरह्यो, छेउछाउका गाउँबस्ती हेरेर । बाँसगढी, भुरीगाउँ लगायत अनेक नामका साइनबोर्ड देखिए ।
तराईको जनजीवन हेर्दै, मीठा गफहरू सुन्दै र हाँस्दै अगाडि बढ्दा निकै आनन्द आयो । बाँके बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै जाने रहेछौँ हामी । कोहलपुर उता मेरो पहिलो सडक यात्रा थियो यो । निकै उत्सुक थिए दृश्यावलोकन गर्न । ४० कि.मि.को गतिभन्दा माथि हुँइक्याउन नपाउने नियम रहेछ । टाइम कार्डको ख्याल राखेर गाडीहरू चलाउन अभ्यस्त रहेछन् चालकहरू । वन्यजन्तु बाटोमा निस्कन सक्छन् र दुर्घटना हुन सक्छ भनेर सचेत गराइएको रहेछ । हुन पनि हामीले सेतासेता रङका लङ्गुर बाँदर, चित्तलहरू राम्रैसँग देख्यौँ । हुलै आएका थिए बाटोछेउका जङ्गलमा । अरूबेला बाघसम्म देखिएका अनुभवहरू पनि चालकभाइले सुनाए । घनाजङ्गलभित्र यी जीवजन्तुका बारेमा सुन्न पाउँदा मनै प्रसन्न भयो । प्रकृति छ र मानव जीवन पनि छ । यिनको जर्गेना हाम्रो ठूलो जिम्मेवारी हो । यी वन्यजन्तुका बारेमा यति संवेदनशील भएर सोचिएको देख्न पाउँदा मन प्रसन्न भयो ।
दुई वर्षअघि कैलालीको धनगढी र कञ्चनपुरको यात्रा गर्ने मौका मिलेको थियो । आज बाँके र बर्दियाको भूमिमा पाइला टेक्ने अवसर मिलेको छ । वि.स. १९९४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इस्टइण्डिया कम्पनीलाई सहयोग गरेबापत वि.सं. १८७३ को सुगौली सन्धिबाट गुमेको भूभागमध्ये पुरस्कारस्वरुप वि.सं.१९१७ मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता दिइएको कुरा इतिहासमा पढेकी थिएँ । आज त्यही भूमिमा पुनः पाइला पर्दैछन् । बाँके राष्ट्रिय निकुञ्जबारे अनेक किस्सा सुन्दै हुइँकिरहेका हुन्छौँ गाडी । फेरि शुरु हुन्छ बर्दिया राष्ट्रिय निकुञ्ज । फेरि दोहोरिन्छ टाइम कार्डको कथा ।
यात्राको दौडधुपमा खान नै बिर्सिरहेका हामीलाई भोक र तिर्खाले सताएजस्तो पाउँछौँ । मकैका फूल र पानी बेच्न राखेकी एउटी महिला भेटेपछि हतारिन्छौँ किन्न । चारपाँच प्याकेट मकै र पानीले हाम्रो भोक केहीबेरलाई मत्थर पारिदिन्छ । बाटोका छेउछाउमा रातै सिमल फूलेको देखेपछि मन तानिन्छ मेरो । आकाशै रातो भएजस्तो पाउँछु । सिमलको भुवा विम्बको रूपमा अधिक प्रयोग हुन्छ साहित्यमा । बबई नदीको पारि किनारमा सिमलघारी नै देख्छु । आहा, मन त्यसै त्यसै फुरफुर हुन थाल्छ । शान्ति प्रियवन्दना पनि खुब रमाउँछिन् सिमलका राताम्मे रूख देखेर । बबई नदी किनारमा आधा दर्जन गोहीहरू घाम तापिरहेको दृश्यले उस्तै रोमाञ्चित हुन्छु । अलि पर मृगका एक जत्था पानी खान आइरहेका देखिन्छन् । कति राम्राराम्रा अनुपम दृश्यको साक्षी हुन पाएँ । घर बसेको भए कहाँ देखिन्थे यी कुरा ? बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्न पर्यटकहरू आउँछन् । यहाँ एक सय बीसभन्दा बढी पाटे बाघहरू रहेका छन् भन्ने कुरा पत्रिकामा पढेकी थिएँ । कुनै दिन नजिकैबाट बाघ हेर्न निकुञ्जमा आउनु पर्ला – आफ्नै मनसँग वाचा गरेँ ।
हामीसँगै यात्रारत छन् सशक्त नायिका केकी अधिकारी । उनी पनि गफका फुँदोहरू गाँसिरहन्छिन् । उनी मृदुभाषी र मिलनसार लाग्छिन् । उनको पछिल्लो चलचित्र ‘बोक्सीको घर’को पनि हामी दर्शक भएको थाहा पाएपछि खुशी हुन्छिन् उनी । ‘मैले कोहलपुरमा आएर छायांकन गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ पनि हेर्नुहोला है ? युट्युबमा छ’, उनी भन्छिन् । यस्तै यस्तै कुराकानीले चिसापानी आएको पत्तै भएन । बेलु्काको चार बजेको छ । ऐतिहासिक कर्णाली पुल देखेर बेहद खुशी हुन्छु म ।
‘हामी अहिले यहाँ ओर्लेर फोटो खिच्न भ्याउँदैनौँ । छिटोछिटो खाजा खाएर जलविहार गर्नुपर्छ । हेर्नु त, साथीहरू जलविहारमा गइसक्नु भएछ । हामीलाई कुर्दाकुर्दै सँगै नभ्याउने भएर जानुभएछ उहाँहरू ?’, चक्र भाइ कर्णाली नदीमाथि सुलुल बगिरहेको कायाक देखाउँछन् ।
हत्तेरी ! छुटिगो । साथीहरूका साथ मेरो मन खिन्न हुन्छ । हाम्रो गाडी सिद्धार्थ कटेज अगाडि गएर रोकिन्छ । बिहे रहेछ । देउडा भाकामा गीत गाइरहेको वातावरणमा लोभिन्छौँ हामी । गीतको भाकाले नै तान्छ हामीलाई । सुदूरपश्चिमको अनुपम चिनारी । हाम्रो राष्ट्रको अमूल्य निधि । खाजा खाँदाखाँदै पश्चिमतिर सूर्य मधुरो देखिन थाल्छ । करीब दुई घण्टाको जलविहार नभ्याउने ठहर गछौँ । बरु सरासर गाडीमा जाने भयौँ टीकापुर । समय मिले पछि गरौँला । काठमाडौँको जहाज उड्न ढिलाइले हाम्रो योजनालाई असर पुर्याउँछ । हामी लम्कीचुवा नगरपालिका हुँदै दक्षिणपट्टि हुँइकिन्छौँ । आधा घण्टामै सिद्धार्थ होटल पुग्छौँ । साँझ पर्ने लागेको हुन्छ । रातो अबिर, फूलका गुच्छा र मीठो सर्वतले स्वागत गरिन्छ हामीलाई । हामी पुगेको करीब एक घण्टापछि बल्ल आइपुग्छन् जलविहार टोली ।
थारु बस्ती, केराको परिकार र सखिया नृत्य
छिप्पिँदै गरेको साँझमा हामीलाई लगिन्छ बनाना एग्रो रिर्सोटतर्फ । अँध्यारैमा पनि महसूस गर्छु टीकापुरको खुला ठाउँ । बहिरहेको स्वच्छ पवन । खेतीपाती र रूखबिरुवाको हरियाली । यतिबेलै सम्झना हुन्छ आततायी टीकापुर घटना । मनबाट हटाउन खोज्छु यो मानव सभ्यतामाथिको कलङ्कलाई । बेलाबेला किन दोहोरिइरहन्छन् इतिहासमा पढेजस्ता यी घिनलाग्दा खेलहरू । घटना सम्झदा पनि मुटुको धड्कन बढेजस्तो पाउँछु र हटाउँछु मनदेखि यी विचारहरू ।
थारु नृत्य गर्न सजिएका कलाकारको समूहले हामीलाई स्वागत गर्छन् । नृत्यसँगै केराको स्वाद पस्कन तम्तयार रहेछन् उनीहरू । टीकापुरको नयाँ चिनारी बनेको छ केराको परिकार । केराको जरादेखि फूलबाट बनेका ४० थरी परिकार खान पर्यटक आउने कुरा बिस्तारै थाहा हुँदै छ जनमानसमा । बनाना किङ कालु हमालले १४ वर्षअघि एग्रो टुरिजमको नमूना प्रस्तुत गरेको कुरा पढेकी थिएँ अक्षरहरूमा । एकैछिनमा हाम्रा अघि आइपुग्छन् केराका परिकारहरू । पकौडा, अचार, मम, स्वीट बल, चिप्स, निम्की, परौँठा अनेक अनेक । खाँदा खाँदा तृप्त हुन्छौँ हामी । यी परिकारसँगै सखिया नृत्यको अवलोकनले कृतकृत्य हुन्छौँ । सघन अन्धकार र थाकेको शरीरले विश्राम खोजेपछि फर्किन्छाँै होटल र मार्छौँ आजको दिनलाई बिट ।
टीकापुर साहित्य महोत्सव
उडेर, गुडेर र कर्णाली नदीमा जलविहार गर्दै काठमाडौँबाट टीकापुर आइपुगेका थिए साहित्यिक व्यक्तित्वहरू । २०७९ चैत्र २५–२७ मा को पहिलो संस्करण सम्पन्न भएको थियो । २०८१ फागुन २४–२६ दोस्रो संस्करण थियो । यो संस्करण पहलमानसिंह स्वाँर साहित्य विशेष थियो । अछाममा जन्मिएका स्वाँरको ‘अटलबहादुर’ नाटक प्रसिद्ध छ । उनकै सम्मानमा समर्पित छ यो महोत्सव ।
राजधानीको घन्चमन्चले आत्तिएकी म सुदूरपश्चिमको नौलो ठाउँमा आउन पाउँदा पुलकित छु । नयाँ ठाउँको भाषा, संस्कृति र प्रकृतिको सामिप्यमा दुई दिन भए पनि रमाउन पाउनु गौरवकै क्षण हो । महोत्सवको उद्घाटनको पहिलो दिन अध्येता हरि शर्माको विद्धत प्रवचन थियो र त्यसपछि विविध विषयका बहसका सत्रहरू थिए । शनिबारको दिन भएकाले स्थानीयहरूको राम्रो उपस्थिति थियो । स्नातकोत्तर तहमा सँगै पढेका मेरा मित्र यज्ञ बजगाईँ आफ्ना विद्यार्थीसहित आउनुभएको देखेँ । एकछिन गफिने मौका मिल्यो । स्थानीय सरकार र जनप्रतिनिधिहरूको उपस्थितिले कार्यक्रम भव्य बनेको थियो । यसैबीच कार्यक्रम स्थलसँगै जोडिएको ठूलो चौरमा पनि मानिसहरूको बाक्लो भीड थियो । मेरो ध्यान त्यतातिर पनि खिचियो ।
वसन्त ऋतुको भर्भराउँदो सुवास । ठूलो चौर । चौरको एक छेउमा चौतारो । चौतारोमुनि सेतो जामामा पगरी बाँधी सेतै फेटा पहिरिएर कमिज शुरुवालमा सजिएका अधबैँसे पुरुषहरू । केही बेरमै हातेसाङ्लो बनाउँदै देउडा भाकामा नाचिरहेका उनीहरू ।
‘अछामी होरी (होली) ।’ कसैले पछाडिबाट भनेको सुनेँ । मेरा कान होरीतिर पनि सोझिए ।
आयो शहरमा व्यापारी, जोगी आयो शहरमे व्यौपारी
इस व्यौपारीको भुक लगिहे, खाना खिलादे मतवाली……।
संस्कृतिको प्रवर्धनमा लागिपरेका यी दृश्यहरूले मन तानिरह्यो । तर यो दृश्यमा महिलाको उपस्थिति देखिनँ । पुरुषहरू मात्रै नाचिरहेको देखेँ । देउडा भाकामा हिन्दी भाषाको प्रभाव छ; किन होला ? एकछिन सोचमग्न भएँ । मनको तुलबुल मेट्न आडैमा बस्नुभएका स्थानीयबासी महेशविक्रम शाहलाई सोधेँ ।
‘टीकापुरमा अछामबाट बसाइँ सरेर आउनेहरूको वर्चस्व छ । अछामी होरी, वि.सं. १७५० मा भारतको कुमाउँ गढवालबाट दाइजोको रूपमा आएको हो । अछामी राजा भान शाहलाई कुमाउँका राजाकी छोरी बिहे गर्दा दाइजो के लिने भन्ने कुरा सोधिँदा उनले नमर्ने कृति दाइजो मागेका थिए । रानीले होरी खेलाउने मान्छे, त्यसमा प्रयोग हुने ढोल, टयाम्को, झ्याली पनि साथै लिएर आएकी थिइन् । पछि गएर अछामका केवलानन्द डण्डी स्वामीले कुमाउँ गढवाली बर्ज भाषाको होरीलाई अछामको संस्कृतिअुनसार परिमार्जन गरेका थिए । पहिलेदेखि नै होरी पुरुषहरूले नै खेल्ने प्रचलन रहिआएको छ । सुदूरपश्चिममा प्रचलित गौरा, पुतला पर्वमा भने महिलाहरूले गीत गाउँदै नाच्छन् ।’
अहिलेका नयाँ पुस्ताले यी कुरा थाहा पाउनुपर्छ । आफ्नो संस्कृतिको प्रवर्धन गर्नुपर्छ भन्ने भावनाको सघन मञ्चन देखेर खुशी लाग्यो मलाई । होली आउन एक हप्ता मात्र बाँकी थियो । यहीँ रौनकमा टीकापुर गर्मिलो बनेको देखेँ । साहित्य र संस्कृतिको महकले सुगन्धमय बनाइरहेको थियो परिसर ।
महोत्सवको दोस्रो दिन । नेपाली आख्यान र महिला लेखकको सत्रमा सहजकर्ताको मेरो जिम्मेवारी थियो । लक्ष्मणप्रसाद गौतम, सगुना शाह, प्रगति राई, सुमन वर्षा घिमिरे वक्तामा हुनुहुन्थ्यो । करीब एक घण्टा बहसमा भाग लियौँ । टीकापुरका महिलालाई लेखनमा आकर्षित गर्न यहाँको साहित्यिक संस्थाले पनि सोच्नु आवश्यक ठानेँ । स्थानीय सरकारको सहयोग लिएर आत्मकथा प्रतियोगिता गराइ लेखनमा रुचि जागृत गर्न अनुरोध पनि गरेँ । केन्द्रबाट गएका स्रष्टाले मोफसलका साहित्यिक महोत्सवमा फगत भाग लिनु मात्र होइन नवसर्जकलाई साहित्यमा आकर्षित गर्नु पनि दायित्यबोध जस्तो लाग्यो ।
विविध विषयका बहसका सत्र चली नै रहे । यसैबीच हामीलाई घुम्नु थियो टीकापुर । अझ बुझ्नु थियो यो शहरका बारेमा ।
टीकापुर पार्कः
कैलालीको सदरमुकाम धनगढीबाट ८० किलोमिटर दक्षिण रहेछ यो शहर । राजा महेन्द्रको हात छ रे टीकापुरमा बस्ती बसाउन । ठूलो बजार । चौडा सडक । खुला वातावरण । कतिपय बाटा पिच हुने क्रममा । टीकापुरका संस्थापक रहेछन् खड्कबहादुर । उनको परिकल्पनाको व्यवस्थित शहर रहेछ टीकापुर । उनकै सम्मानमा शालिक बनेको रहेछ । चोकको नाम रहेछ खड्क चोक । उनको नाममा खड्कबहादुर स्मृति रङ्गशाला पनि बनेको छ रे । असल कर्मको कदर भएको सुन्दा मयुरको पङ्खझै उचालियो मन । राम्रो काम गर्नेलाई यसरी नै कदर गरिनु पर्छ । भावी सन्ततिका लागि प्रेरणाको पाठ बन्दछ । मेरा आँखामा काठमाडौँका बालेन साह छाए । राम्रो काम गर्दै गए भने अवश्य पनि उनको नाममा केही न केही अमर कीर्ति राखिनेछ ।
टीकापुर विमानस्थल पनि रहेछ यहाँ । पहिले सञ्चालनमा भएको, अहिले नियमित रहेनछ । धनगढी र नेपालगञ्ज विमानस्थलको विकल्पको रूपमा रहेको यो विमानस्थलले चाँडै गति पाउला भन्ने अपेक्षा गुन्दै हामी टीकापुर पार्कमै पुग्यौँ । टिकट काटेर मात्र प्रवेश पाइने रहेछ । निकै सुन्दर थियो पार्क । फूल फुलेर ढकमक्क । व्यवस्थित ढङ्गले लगाइएका विविध रूखहरूको छायाले पार्क मुस्कुराइरहेको रहेछ । पार्कको स्तम्भद्वारमा म.वी.वि शाहको सुन्दर कविता सजिएको थियो ।
नेपाल मेरो तिमीलाई
उपहार भो यो जिन्दगी….।
अलि पर रहेछ महेन्द्र आरोग्य गृह । काठमा कालो रङ लगाएर चिटिक्क पारिएको थियो । महेन्द्र राजा आराम गर्न आउँथे र यहाँ । अभि सुवेदी, विन्दु सुवेदी, शान्ति प्रियवन्दना, प्रगति राई र म फोटो खिचेर सम्झना सँगाल्न पनि उत्तिकै लालयित थियौँ । सिमल र पलाँस फुलेर वातावरण रङ्गीन थियो । थरीथरी गुलाफ फुलेर उस्तै मनमोहक थियो वातावरण । ५२ थरीका गुलाफका बोट छन् रे यहाँ । आकर्षक बनाउन निकै मिहिनेत गरिएको रहेछ । कमल फुल्ने सुन्दर तलाउ थियो । यतिबेला कमलको फूलचाँहि फुलेको थिएन । पार्कको पूर्वी मोहोडामा रहेछ ऐश्वर्य उद्यान । देवकोटाको सुन्दर कवितांशले स्वागत गरिरहेको थियो ।
नटिप्नू हेर कोपिला,
नच्यात्नु पाप लाग्दछ… । यही कविताको सम्मानमा हाँसिरहेका थिए अनगिन्ती फूलहरू । फलफूलका बोटहरू र पाम ट्रीजस्ता लाग्ने अग्ला अग्ला रुखहरूले पार्कको वातावरण मनमोहक थियो । मानवनिर्मित यो सुन्दर ठाउँ कर्णाली नदीको छेउछाउमा रहेछ । घुम्न मन थियो घण्टौँसम्म । समय सीमित थियो । सँगै जानुभएका महेशविक्रम शाहको फोन तारन्तार बजिरहेको थियो । पुनः फर्कियौँ महोत्सवमै । सुनिए मीठा मीठा कविताहरू । कविताहरू सुन्दै गर्दा कवि धरणीधर कोइरालाको कवितांशको याद आयो ।
अतिसुन्दर मानव जीवन यो
अझ सुन्दर पार्ने कसोगरी हो
गरी काव्य सुधा रसपान अरे
मानवजीवन सार्थक रे ।
महोत्सवको अन्तिम दिन फर्किनु थियो काठमाडौँ । टीकापुरको माटोको असीम प्रेम र न्यानो माया बोकेर बिहान नौ बजे बिदा हुनै लाग्दा आउनुभो नन्दकृष्ण जोशी हामीलाई बिदाइ गर्न देउडा गाउँदै । मलगायत थुप्रै साथीहरूका पाउ उचालिए जानीनजानी नाच्न । पृथक् स्वादको व्यञ्जन पाएर केटाकेटीझैँ रमायौँ एकछिनसम्म । उत्साही मन नयाँ कुरा सिक्न र जान्न फुरफुर थियो नै ।
कहिले मन महाकाली
कहिले माया भेरी
आउँदा जाँदा भेट गरौँला
नबिर्सनुस फेरि झयाम्म झयाम्म……. भन्ने गीतमा हातको साङ्लो बनाएर नाचियो दिल खोलेर । अघिल्लो बेलुका मात्रै भेट भएको थियो उहाँसँग । आज उहाँसँग हातमा हात जोडेर गोडाको चाल मिलाउँदै गीत गाउँदा सुदूरपश्चिमको मुहानमै पुगेजस्तो लाग्यो । ढिलै भइसकेको थियो बिदा मागेर निस्कन लाग्याैँ । रक्षा बम हामीलाई छोड्न गाडीसम्म आइन् । कार्यक्रमका संयोजक महेशविक्रम शाहको आतिथ्य उत्तिकै प्रशंसनीय थियो । काठमाडौँदेखि साहित्यकारलाई हवाईयात्रा गराएर यत्रो सम्मान दिनु चानचुने कुरा होइन । आयोजक मण्डलको खटाइ देखेर उत्तिकै प्रभावित थिएँ म । समयले जुराएको यो सुन्दर यात्रा र मौका दिनुहुने टीकापुर साहित्य समाजप्रति आभार प्रकट गर्दै नेपालगञ्जतर्फ सोझियौँ हामी । कर्णाली नदीमा जलविहार गर्ने मेसो नमिले पनि, कैलालीको घोडाघोडी ताल हेर्ने मौका नजुरे पनि मन प्रसन्न थियो । मौका मिले फेरि आइन्छ भन्ने लाग्यो । मोहन मैनाली, केशव दाहाल, घनश्याम खड्का, सुनील पोखरेल, दिया मास्के, सन्तोष परियार, किरण बिकलगायत पन्ध्रजना हामी सँगै थियौँ । कर्णाली पुलसँग मितेरी गाँस्न बाँकी नै थियो । रहर मेट्ने गरी फोटो खिच्नै बाँकी थियो । त्यही अपेक्षा मैले मनभरि बोकेँ । गाडी सरर कुदिरह्यो । अघि गाएको देउडा गीत ‘आउँदा जाँदा भेट गरौला नबिर्सनुस फेरि झयाम्म झयाम्म’ले मेरो मन भने टीकापुरतिरै तानिरह्यो । तानिरह्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

