
युवाहरूको गीत चीनकी क्रान्तिकारी एवं सिर्जनशील लेखिका याङ मो (१९१४ अगस्त २५ – १९९५ डिसेम्बर ११) द्वारा लिखित एक विश्वप्रसिद्ध उपन्यास हो । याङ मोको जन्म बेइजिङमा भएको थियो तर उनको पुर्ख्यौली घर हुनान प्रान्तमा थियो । उनको लेखन चिनियाँ कम्युनिष्ट क्रान्ति, नारीवाद र समाजवादी यथार्थवादबाट गहनतापूर्वक प्रभावित भएको देखिन्छ । उनको मुख्य नाम यांग चेंगयी थियो र उनी जिओ हुई उपनाले चिनिन्थिन् । यांगको बालककाल आर्थिक संकट र पारिवारिक कलहमा बितेको थियो । उनी १३ वर्षको उमेरमा बेइजिङको बाहिरी क्षेत्र पश्चिम पहाडी भागमा एउटा केटीहरूको स्कूलमा भर्ना भएकी थिइन् । तर उनको परिरवारलाई परिस्थितिले साथ नदिएपछि उनले स्कूल छोडेर जीविकाको लागि काममा जान विवश हुनुपरेको थियो । शुरूमा उनी हेबेई प्रान्तको डिंगजियानमा एउटा प्राथमिक विद्यालयको शिक्षिका बनिन् । पछि पुस्तक पशलमा पनि काम गरिन् । त्यसपछि बेइजिङमा एक निजी शिक्षिका बनिन् । यही क्रममा उनी कम्युनिष्ट विचारधाराबाट प्रभावित भइन् ।
सन् १९३४ बाट उनले लेखन कार्य शुरू गरेकी थिइन् । त्यही वर्ष उनले आफ्नो निबन्ध ‘रेहे प्रान्तको पहाडी इलाकाका निवासीहरूको एक रेखाचित्र’ प्रकाशित गरिन् । सन् १९३७ मा जापानको विरूद्धमा प्रतिरोध युद्ध शुरू भएपछि उनी शांक्सी चाहर हेबेई सीमाक्षेत्र गइन् । त्यहाँ उनी अंगुओ काउन्टीमा राष्ट्रिय मुक्ति महिला संघको निर्देशक बनिन् र यसको साथै केन्द्रीय हेबेई क्षेत्रमा राष्ट्रिय मुक्तिको लागि महिला संघको सूचना ब्यूरोको निर्देशक पनि बनिन् । सन् १९४२ मा उनी ‘डन लाइट डेली’ को सम्पादक बनिन् र पछि शांक्सी-चाहर-हेबेई डेली र पिपुल्स डेलीमा काम गरिन् । कहिलेकाहीँ उनले यी पत्रिकाहारूको पुरकको कार्यभार पनि सम्हालिन्। उनले सन् १९४९ मा लेखेको उपन्यास ‘लाइफ अन द रिडी लेक’ प्रतिरोध युद्धको एक यथार्थवादी अभिलेख हो । सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनापछि यांगले बेइजिङ महिला संघको सूचना विभागमा काम गरिन् । सन् १९५२ मा उनले केन्द्रीय चलचित्र प्रशासनिक ब्यूरोको परिदृश्य बोर्डमा काम गरिन् । यसपछि उनले विभिन्न पत्रिकाको सम्पादकको जिम्मेवारी पनि सम्हालिन् ।
सन् १९५८ मा प्रकाशित उनको उपन्यास ‘द सङ अफ युथ’ (युवाहरूको गीत) ले सम्पूर्ण चीनमा पाठकहरूको बीचमा हंगामा मच्चायो र सर्वाधिक विक्रीको सूचीमा पुग्यो । यसले चिनियाँ युवाहरूलाई क्रान्तिको लागि प्रेरित गर्यो । स्वतन्त्र र स्पष्ट शैलीमा लेखिएको यो कृतिले सन् १९३१ को डिसेम्बरको घटनादेखि लिएर १९३५ को डिसेम्बरको आन्दोलनसम्मको महत्त्वपूर्ण समयक्रममा चीनको कम्युनिष्ट पार्टीको नेतृत्वमा देशभक्त युवा-विद्यार्थीहरूको कठिन जीवन र निरन्तर संघर्षलाई दर्शाउँदछ । सन १९८० को दशकमा उनले आत्मकथा ‘फ्लावर अफ लाइफ’ लेखिन्, जसमा उनले आफ्ना संघर्षहरूलाई उजागर गरिन् । सन् १९८५ मा प्रकाशित उनको दोस्रो उपन्यास ‘द बेस्ट सङ इन हर प्राइम’ मा विश्विविद्यालयमा मानसिक पीडाबाट पीडित भएपछि जापान र मुक्ति युद्धमा स्वयंलाई झोकिदिने एक छात्राको बारेमा उल्लेख गरिएको छ । यांग मोका अन्य प्रमुख कृतिहरूमा ‘टिनेन्ट’ (1963), ‘माई फिजिसियन’ (1964), ‘द रेड मर्निङस्टार लिली’ (1964) हुन् । उनका धेरै लघुकथा र निबन्ध पनि प्रकाशित भए, जसमा नारीवाद, समाजवाद र देशभक्तिको विषयलाई समेटिएको छ । यांगले चिनियाँ युवा र महिलाहरूको संघर्षलाई आफ्ना रचनामा प्रमुख स्थान दिएकी छिन् । उनको लेखनलाई चिनियाँ इतिहास र समाजको दर्पण मानिन्छ । युवाहरूको गीत उपन्यासलाई आज पनि साहित्यको एक प्रमुख कृति मानिन्छ ।
युवाहरूको गीत एक चर्चित क्रान्तिकारी युवा-विद्यार्थीहरूको वीरताको गाथा हो । यसमा एक युवती लिन ताओचिङको व्यक्तिगत संघर्ष र क्रान्तिकारी जीवनलाई दर्शाइएको छ । यो उपन्यासमा अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक चिनियाँ समाजको मुक्तिको लागि अजेय उत्साह र अत्याधिक बलिदानीपूर्ण संकल्पसहित संघर्षरत युवा-विद्यार्थीहरूको वीरगाथको अन्यन्तै सजीव, प्रेरणादायी र रोचक वर्णन गरिएको छ । यो उपन्यास क्रान्तिकारी संघर्षहरूको विवरण मात्र नभएर क्रान्तिकारी संघर्षको राजनीति, क्रान्तिको दिशा, सही रणनीति र त्यसानुसार सही रणकौशलको सैद्धान्तिक विवेचना तथा तिनीहरूको व्यावहारिक प्रयोगको एक अमूल्य दस्तावेज नै हो । यसले चीन निर्माणको कथा बताउँछ । चीनको विगतको भयंकर संघर्षको कथा बताउँछ । युवाहरूको गीतमा समाजको क्रान्तिकारी परिवर्तनको एक सुनिश्चत र उद्देश्यपूर्ण विचारधाराले लैस युवाहरूको कथा छ । उनीहरूको जीवनको एक-एक क्षणले, उनीहरूको रगतको एक-एक थोपाले क्रान्तिकारी चेतना अन्तर्गत आफ्नो महान लक्ष्यको दिशामा सार्थक योगदान गर्दछ । यो उपन्यासको सबभन्दा महत्त्वपूर्ण पक्ष एक युवक वा युवती क्रान्तिकारी जीवनको अग्निदीक्षा कसरी हुन्छन् भन्ने हो।
युवाहरूको गीत उपन्यासमा विद्रोह, राजनीतिक जागृति, क्रान्तिमा समर्पण जस्ता विषयहरूलाई समेटिएको छ । यसरी नै यहाँ नारीवाद र सामाजिक बन्धनबाट मुक्ति, सामाजिक हितार्थ जीवन वा क्रान्तिको यात्रा, राष्ट्रवाद, त्याग, साहस, सौर्य, प्रेम, आदि विषयको बडो रोचक ढंगले उल्लेख गरिएको छ । यो उपन्यास सामाजिक यथार्थवादी र भावनात्मक शैलीमा लेखिएको छ । यसमा पात्रहरूको मनोवैज्ञानिक विकासलाई धेरै गहिराईपूर्वक देखाइएको छ । यो उपन्यासले चिनियाँ युवाहरूमा देशभक्ति र सामाजिक जिम्मेवारीको भावना जागृत गरानुका साथै महिला सशक्तीकरणमा पनि महत्त्वपूर्ण योगदान दिएको थियो । त्यसकारण युवाहरूको गीत उपन्यासलाई इतिहासको दस्तावेजसमेत मान्ने गरिन्छ । यसले युवहरूको ऊर्जा, महिलाहरूको संघर्ष र क्रान्तिको सपनालाई दर्शाउँछ ।
उपन्यासमा लिन ताओचिङ शुरुमा एक परम्परावादी र दमनकारी परिवारबाट विद्रोह गरेर आत्मनिर्मर हुने प्रयास गर्छिन् । उनी विस्तारै कम्युनिष्ट विचारधाराबाट प्रभावित हुन्छिन् र राष्ट्रिय संघर्षमा सामेल हुन्छिन् । उनको यात्रा व्यक्तिगत मुक्तिबाट सामूहिक क्रान्तितर्फ अगाडि बढ्छ । यहाँ ताओचिङले महिला मुक्तिको पनि प्रतिनिधित्व गर्छिन् । उनी पुरुषप्रधान समाजको बन्धलाई तोडेर शिक्षा, राजनीति र युद्धमा सक्रिय भूमिका निभाउँछिन् । यो उपन्यासमा लू चियाचुआन र चियाङ हुआ जस्ता पुरुष क्रान्तिकारीहरूसँग उनको सम्बन्ध र समानताको भावना पनि दर्शाइएको छ । यो उपन्यासमा जापानी साम्राज्यवादी आक्रमणको विरोध र कम्युनिष्टहरूको प्रतिरोध आन्दोलनलाई प्रमुख रूपमा देखाइएको छ ।
उपन्यासको सम्पूर्ण कथा संक्षिप्तमा
बीसौं शताब्दीको चौथो दशक चीनको लागि एक भयंकर समय थियो । देश निराशापूर्ण राष्ट्रिय संकटले घेरिएको थियो र छटपटाइरहेको थियो । एकातिर जापानी साम्राज्यवादी आक्रमणकारी चीनको उत्तर-पूर्वी प्रान्तहरूमा कब्जा गरेर तीव्रतापूर्वक चीनभित्र पस्दै आइरहेको थियो; अर्कोतिर सत्तासीन क्वोमिन्ताङ सरकारले च्याङ काइशेको नेतृत्वमा अप्रतिरोध र आत्मसमर्पणको नीति अपनाउँदै विभिन्न अपमानजनक सम्झौतामा हस्ताक्षर गरी चीनका धेरै प्रान्तमा जापानको सम्प्रभुता स्वीकारेको थियो । यतिमात्र होइन, च्याङ काइशेक सरकारले जापानी साम्राज्यवादी आक्रमणको प्रतिरोध युद्ध गरिरहेका लाल सेना र कम्युनिष्ट पार्टीको नेतृत्वमा संघर्ष गरिरहेका क्रान्तिकारी कार्यकर्ताहरू तथा देशप्रेमी युवाहरूलाई निर्दयितापूर्वक दमन र हत्या गरिरहेको थियो ।
सन् १९३५ को चीसो मौसममा जापानी साम्राज्यवादीहरूले चीनको होपेई र चाहार प्रान्तमा आफ्नो कठपुतली सरकार गठन गरेपछि र यसरी सम्पूर्ण उत्तरी चीनमा खतरा पैदा भएपछि पेइपिङका युवा-विद्यार्थीहरूले देशका जनतालाई ‘चिनियाँ जनताहरू देशको रक्षाको लागि उभियौं !’ भन्ने नारासहित आव्हान गरे र ९ डिसेम्बरदेखि चिनियाँ जनताले जापानी आक्रमण र प्रतिक्रियावादी क्वोमिन्ताङ सरकारको अप्रतिरोधको नीतिको विरोधमा शानदार शुरूवात गरे। यिनै घटनालाई युवाहरूको गीत उपन्यासको पृष्ठभूमिमा उल्लेख गरिएको छ । यसपछि धेरै संख्यामा वीर युवक-युवतिहरू मेशिनगन, संगीन, क्रूर यातना, लामो जेल सजाय र मृत्युदण्डसमेतको बेवास्ता गर्दै शत्रुहरूको विरूद्धमा भयंकर संघर्षमा हाम फाले । यो संघर्षमा वीरतापूर्ण ढंगले युवाहरूले मुस्कुराउँदै प्राण उत्सर्ग गरे । सबै जनतालाई के विश्वास थियो भने एक दिन अवश्य आफ्नो देशले साम्राज्यवादीहरूलाई मात्र परास्त गर्दैन, बरू सामन्ती शोषण र उत्पीडनको पनि अन्त्य गर्नेछ र एक नयाँ समाजको उदय हुनेछ, जसको रक्तकिरणले समाजवादी समाज निर्माणको मार्गप्रस्त गर्नेछ।
युवाहरूको गीतको मुख्य पात्र लिन ताओ-चिङले एक पिछडिएको अर्धसामन्थी-अर्धऔपनिवेशिक समाजको क्रूरता र अमानवीयताको संघर्षमा दृढतापूर्वक लागिरहेकी एक युवा बुद्धिजीको प्रतिनिधित्व गर्छिन्। ताओ-चिङको जन्म र वालकालको कथा सामन्ती व्यवस्थाको चरम पतनको क्रममा सामन्ती जमिन्दारको क्रूर विलाशिता र निकृष्ट सम्पत्तिलिप्साको गाथा हो। जेहोक प्रान्तको सुदुर पहाडी गाउँमा एउटा अत्यन्त गरीब मजदूर परिवारको एउटा विधुवा स्त्री सिउ-नीलाई त्यो इलाकाको जमिन्दार लिन पो-ताङले आफ्नो वासनाको शिकार बनाउँछ । उनीबाट एउटी बच्ची जन्मिएपछि जमिन्दारले सिउ-नीलाई आफ्नो महलबाट निकालेर उनको पहाडी गाउँमा पठाइदिन्छ । त्यसपछि त्यहाँ उनले लुटिएर, पिटिएर र विक्षिप्त अवस्थामा नदीमा हाम फालेर आत्महत्या गर्छिन् ।
जमिन्दारको महलमा ताओ-चिङले सामान्य गल्तीमा पनि कुटाई खान्थिन् । उनी दासको रूपमा रहन्थिन् । उनकी सौतेनी आमा उनलाई हरेक दुःख दिइरहन्थिन् । उनी नोकरहरूको कोठामा सुत्थिन् । उनका कपडाहरू फाटेका हुन्थे, चीसोमा उनी कामिरहन्थिन् र नाङ्गा खुट्टा पूरै फुटेका हुन्थे । उनी आफ्नो सम्पूर्ण समय नोकरहरू, उनीहरूका बच्चा र गल्लीमा कपडा र कोइला बनाउने गरीब र अनाथ केटाकेटीहरूको बीचमा बिताउँथिन् । जीवनको यो अवस्थाले उनलाई गरीब र श्रमजीवीहरूप्रति दया र आफ्नो जमिन्दार पिता र उसकी पत्नीप्रति घृणाले भरिदिएको थियो ।
यसरी ताओ-चिङ केही ठूली भइन् र त्यसपछि जमिन्दारकी पत्नीले उनलाई स्कूल पठाउन शुरू गरिन्, किनभने पढेलेखेकी युवतीको बजारमा बढी मूल्य थियो। तर हाइस्कूलको परीक्षा हुनुभन्दा दुई महिना पहिले नै उनकी सौतेनी आमाले पढाई खर्च पठाउन बन्द गरिन्, किनभने ताओ-चिङले एउटा धनी बूढो र अशिष्ट अधिकारीसँग विवाह गर्न अस्वीकार गरेकी थिइन् । ताओ-चिङले जमिन्दारको महलकी नोकर्नी काकी वाङबाट आफ्नी आमामाथि भएको अत्याचारको वास्तविकता पनि थाहा पाइसकेकी थिइन् । त्यसपछि उनले फेरि कहिल्यै आफ्नो घर नफर्किने निर्णय गरिन् । साथीहरूको सहयोगबाट उनले हाइस्कूलको पढाइ सकिन् र कामको खोजीमा गाउँको एउटा विद्यालयमा शिक्षक रहेको आफ्नो एक फुपुको छोराकोमा गइन् । तर त्यहाँ पुगेपछि उनलाई के थाहा भयो भने ऊ आफ्नो प्राध्यापकको बदमासीबाट आजित भएर आफ्नी पत्नीसहित कतै गइसकेको थियो । यद्यपि प्रधानाध्यापकले उनलाई स्कूलमा रहने ठाउँ दिने र मेजिस्ट्रेडलाई सिफारिस गरेर उनलाई जागिर दिलाइदिने आश्वासन दियो।
वास्तवमा प्रधानाध्यापक यी सुन्दर युवतीलाई मजिस्ट्रेटकोमा सप्लाई गरेर आफ्नो प्रगतिको मार्ग खोल्न चाहन्थ्यो । पर्खाइको समयमा ताओ-चिङले पेकिङ विश्वविद्यालयको एक विद्यार्थी युङ-त्सेलाई भेट्छिन् । ऊ त्यही गाउँमा बस्दथ्यो र प्रधानाध्यापकको फुपुको छोरो थियो। उसको पिता गाउँको एक प्रभावकारी जमिन्दार थियो र मेजिस्ट्रेटको पनि साथी थियो । युङ-त्सेले आफ्ना साहित्यिक कुराले कल्पनाशील ताओ-चिङलाई आफूतिर आकर्षित गर्यो। एकपटक प्रधानाध्यापकको कुत्सित हर्कत थाहा पाएपछि ताओ-चिङ हताश भएर आत्महत्या गर्न गइरहेकी बेला युङ-त्सेले उनलाई बचायो । उनले आफ्नो प्रभावबाट ताओ-चिङलाई त्यो प्राथमिक स्कूलमा अध्यापिका पनि बनाइदियो । यी सबै कुराले गर्दा ताओ-चिङ युङ-त्सेसँग धेरै आकर्षित भइन् । पढाईको लागि पेकिङ जाँदा पनि उसले ताओ-चिङलाई लगातार चिठ्ठी लेखिरहन्थ्यो । त्यसपछि ताओ-चिङ ऊप्रति बढीभन्दा बढी भावुक हुँदै गइन् ।
यसरी रोमान्टिक परिकल्पनामा विचार गरिरहेको बेलामा ताओ-चिङले पेकिङ विश्वविद्यालयको विद्यार्थी रहेको कम्युनिष्ट कार्यकर्ता लू चिआ-चुआनलाई भेटिन् । त्यसपछि उनको दिमागमा राजनीतिले सबभन्दा पहिले प्रवेश पायो । लू चिआ-चिआन आफ्नी बिरामी आमा र बहिनीलाई भेट्न गाउँ आएको थियो । यही बेलामा जापानले चीनमाथि आक्रमण गरी तीनवटा उत्तरपूर्वी प्रान्तहरूमा कब्जा गरेको थियो । यसको सबैतिर उच्च बहस भइरहेको थियो । अध्यापक कक्षमा चलिरहेको बहसको क्रममा लू चिआ-चुआनले स्पष्ट र गहन राजनीतिक समझदारीको परिचय दिंदै आफ्नो कुरा राखेपछि उसबाट ताओ-चिङमा एक नयाँ ज्ञान प्राप्त भयो। लू चिआ-चुआनको कुराबाट उनले सशस्त्र संघर्षबिना जापानी साम्राज्यवादलाई परास्त गर्न सकिंदैन भन्ने कुरा त बुझिरहेकी थिइन् तर अन्य अध्यापकहरू जसरी नै उनले पनि यसमा बुद्धिजीवीहरूको के भूमिका हुनसक्छ भन्ने कुरा बुझिरहेकी थिइनन् ।
लू चिआ-चुआनको उत्तर थियो – हरेक देशभक्तले आफ्नो काँधमा राइफल बोकेर युद्धक्षेत्रमा गएर लड्नु आवश्यक छैन। तपाईंहरूले प्रचार कार्यद्वारा जनतालाई जागृत गर्न सक्नुहुन्छ । यदि तपाईंहरूले विद्यार्थीहरूलाई आफ्नो देशप्रति प्रेम गर्ने र सम्मान दिने शिक्षा दिनुभयो भने त्यो हतियार उठाउनु समान हुन्छ । वास्तवमा कुनै पनि सशस्त्र क्रान्तिको लागि विचारको क्रान्ति एक अनिवार्य शर्त हो। यो क्रान्तिकारी सिद्धान्तको पहिलो शिक्षा ताओ-चिङलाई लू चिया-चुआनबाट प्राप्त भयो । उसको प्रभावशाली व्यक्तित्व, गहन राजनीतिक बुझाई, स्पष्टवादीताले ताओ-चिङलाई अभिभूत गरिदियो । त्यसपछि उनी के तुलना गर्न लागिन् भने जहाँ एकातिर युङ-त्से केवल सुन्दर साहित्यिक रूप र प्रचलित प्रेमालापहरूको मात्र चर्चा गर्दथ्यो र वर्तमान समाजका विद्रूपता र भयंकरताबाट एकदमै कटेर आफ्नो रूमानी संसारमा मग्न रहन्थ्यो, त्यसको विपरीत लू चिआ-चुआन वर्तमान सामाजिक जीवनसँग एक सजीव सरोकार राख्दथ्यो ।
त्यसपछि ताओ-चिङले आफ्नो हृदयबाट युङ-त्सेलाई निकाल्न त सकिनन्, तर उनले राजनीतिक जीवनमा प्रवेश गर्नको लागि आवश्क ठानिन् । यसपछि उनी अध्यापक र विद्यार्थीहरूको बीचमा जनविरोधी क्वोमिन्ताङ सरकारको अप्रतिरोध नीतिको आलोचना गर्थिन् र बच्चाहरूलाई महान देशभक्तिपूर्ण कथाहरू सुनाउने गर्थिन् । यसरी उनको र विद्यार्थीहरूको बीचमा जीवन्त राजनीतिक सम्बन्ध फस्टाउन लाग्यो । ताओ-चिङको व्यक्तित्वमा पनि रूपान्तरण भइसकेको थियो । तर प्रधानाध्यापकको प्रलाप र नीचतापूर्ण व्यवहारबाट वाक्व भएर ताओ-चिङले स्कूलको जागिर छोडिन् ।
उनी आफ्नो घर फर्किन सक्दिनथिन् । त्यसकारण उनी पेकिङ विश्वविद्यालयमा युङ-त्सेकोमा गइन् । युङ-त्से एक अत्यन्तै निकृष्ट स्तरको बुद्धिजीवी थियो । उसको संसार एकदमै आत्मकेन्द्रित थियो । अझै उसको पढाई पूरा भएको थिएन, तर पनि उसले आफ्नो प्रयासबाट उनलाई कुनै न कुनै राम्रो जागिर मिल्छ भन्ने आशाले आफ्ना साथी र प्रोफेसरहरूको चाप्लुसी र प्रशंसा शुरू गरेको थियो । ताओ-चिङ जीविकाको मामिलामा स्वयं आत्मनिर्भर बन्न चाहन्थिन् र उनले धेरै ठाउँमा कोशिस गरिन् तर सफल हुन सकिनन् ।
युङ-त्से कुराले त ताओ-चिङको आर्थिक रूपले आत्मनिर्भर बन्ने कुरामा सहमत थियो तर भित्र-भित्र ऊ अत्यन्तै रूढीवादी व्यक्तित्व थियो । ऊ ताओ-चिङ केवल एक गृहिणी बनेर रहून् भन्ने चाहन्थ्यो । वास्तवमा ऊ मूल्यको स्तरमा सामन्ती मूल्यमान्यताबाट जकडिएको थियो । उसको अध्ययनको विषय पनि पुरातन सामन्ती चिनियाँ साहित्य थियो, यहाँसम्म कि उसको पहिरन र रहनसहन पनि पुरातन नै थियो । यसको विपरीत ताओ-चिङ वर्तमानमा बाँच्ने एक भविष्योन्मुख युवती थिइन् । उनी पुरातनवादी समाजको बन्धनबाट निस्किएर एक स्वतन्त्र समाजमा उन्मुक्त सास लिन चाहन्थिन् । त्यसपछि युङ-त्से र ताओ-चिङको आपसी अन्तर्विरोध धेरै बढ्दै गयो र एक दिन ताओ-चिङ सधैंको लागि युङ-त्सेलाई छोडेर भाग्ने कुरा सोच्न लागिन्।
सन् १९३३ को मई दिवस समारोह पेकिङ विश्वविद्यालयका विद्यार्थीहरूले भव्यतापूर्वक मनाए; पुलिस र सेनाको प्रबल प्रतिरोधको सामना गर्दै जापानी साम्राज्यवाद र अप्रतिरोध तथा समर्पणको नीतिमा चल्ने जनविरोधो क्वोमिन्ताङ सरकारको विरूद्धमा जबर्जस्त प्रदर्शनसहित जमेर नाराबाजी गरे । पुलिस र गुप्तचर विभागका जासूहरूले देशभक्त क्रान्तिकारी युवा-विद्यार्थीहरूलाई खोजी-खोजीकन गिरफ्तार गर्न लागे; यातना दिँदै उनीहरूको निर्ममतापूर्वक हत्या गर्न लागे । विशेषगरी कम्युनिष्ट क्रान्तिकारी लू चिआ-चुआनलाई कदम-कदममा जासूसी र खोजबिन गर्न लागियो ।
यस्तै संकटपूर्ण स्थितिमा लू चिआ-जुआन जासुस र पुलिसहरूलाई छक्याउँदै एक दिन ताओ-चिङको कोठामा पुग्यो । ताओ-चिङ युङ-त्सेको मूर्खताबाट अत्यन्त क्षुब्ध र हताश भएर बसेकी थिइन् । उनलाई आफ्नो जीवन नीरस र अर्थहीन लागिरहेको थियो । कुराकानीको क्रममा एकदमै हताश भएर उनले लू चिआ-चुआनलाई यस्तो बन्दी जीवनभन्दा क्रान्तिमा भाग लिएर बहादुरीपूर्वक मर्नु नै उत्कृष्ट हुन्छ भनिन् । लू चिआ-चुआनले यस्तो सोचलाई गलत बतायो र भन्यो – हामी क्रान्तिमा मर्नको लागि होइन, बरू जिउनको लागि सामेल हुन्छौं – पहिलेदेखि नै धेरै उत्कृष्ट सार्थक जीवन जिउनको लागि र करोडौं उत्पीडित जनतामा खुशियाली ल्याउनको लागि जिउँछौं । उसले कुनै सार्थक काम नगरीकन मर्ने कुरा सोच्नु भनेको संघर्षबाट पलायन हुनु हो भन्यो ।
त्यसपछि उसले उनलाई केही कागजात दुई-तीन दिनको लागि सुरक्षित राख्न दियो। उसले उनलाई यी कागज पछि आएर लाने र नआएको खण्डमा जलाइदिनु भन्यो । यसपछि उसले एउटा जरूरी सन्देश एक निश्चित ठेगानामा पुर्याउनको लागि ताओ-चिङलाई पठायो र उनी फर्किने समयको प्रतीक्षा गर्न लाग्यो । यही बीचमा युङ-त्से आइपुग्यो र लू चिआ-चुआनलाई आफ्नो कोठामा देखेर पूरै जल्यो र उसलाई आफ्नो कोठाबाट निकालिदियो । बाहिर निस्किएर ऊ आफ्नो एउटा साथीको ढोकामा पुग्नै लाग्दा गिरफ्तार भयो । जेलमा उसलाई भयंकर यातना दिइयो तर पनि शत्रु उसबाट कुनै रहस्य उकाल्नमा सफल भएनन् । यति मात्र होइन लू चिआ-चुआनले जेलमा पनि संघर्ष गरिरह्यो, आफ्ना मागहरूलाई लिएर उसले जेलमा कैदीहरूको भोक हड्ताल गराइदियो । अन्ततः उसलाई मारियो । तर मर्नुभन्दा पहिले उसले अन्तिम साससम्म आफ्नो क्रान्तिकारी लक्ष्यको दिशामा काम गरिरह्यो ।
यता ताओ-चिङले सन्देश पुर्याएर फर्किंदा लू चिआ-चआनलाई नदेखेर सशंकित भइन् । उनी युङ-त्सेको व्यवहारबाट अत्यन्त क्षुब्ध र दुःखी थिइन् । दस दिनसम्म लू चिआ-चुआन कागजात लिन नफर्किएपछि उनले कागजात भएको ब्रिफकेस खोलिन् । त्यसमा साम्राज्यवाद-विरोधी र क्वोमिन्ताङ सरकार विरोधी पर्चा थिए । उनले तिनीहरूलाई जलाइनन्, बरू साहसपूर्वक एक्लै धेरै रात मेहनत गरेर ठाउँ-ठाउँका गल्लीहरूमा टाँसिन् । केही नबताइकन बाहिर निक्लिने र अबेर राति फर्किएको कारणले युङ-त्से असन्तुष्ट थियो । दुवैको आपसी झगडाको कारणले ताओ-चिङले घर छोड्ने निर्णय लिइन् ।
ताओ-चिङले आफ्नो सामान समेटेर जाने तयारी गरिरहेको बेलामा एउटा गद्दार कम्युनिष्ट कार्यकर्ता ताई यू उनलाई भेट्न आयो । ऊ क्वोमिन्ताङ सरकारको जासूस बनिसकेको थियो तर ताओ-चिङलाई यो कुरा थाहा थिएन । त्यसकारण उनले लू चिआ-चुआनसँग आफ्नो अन्तिम भेट र पर्चा टाँसेको सम्पूर्ण विवरण खोलेर बताइन् । ताई यूले धैर्यपृवक सुनिरह्यो । ऊ पटक-पटक ताओ-चिङलाई कमरेड, कमरेड भनेर सम्बोधन गर्दथ्यो तथा क्रान्तिकारी लफ्फाजीका कुरा सुनाइरहन्थ्यो । तर सोझी र अनुभवहीन ताओ-चिङले यो कुरा बुझिनन्। ताई यू गएपछि उनी अर्को ठाउँमा गएर बस्न लागिन् । यहाँ उनी क्रान्तिकारी साहित्य पढ्न र क्रान्तिकारी साथीहरूसँग भेटघाट गर्न पूर्ण रूपले स्वतन्त्र थिइन्। उनी गिरफ्तार भएका क्रान्तिकारी साथी सू निङलाई हेर्न र आफ्नी साथी वाङ सियाओ-येनसँग भेट्न जाँदा ताई यू उनको गतिविधिमाथि दृष्टि दिइरहन्थ्यो ।
गद्दार ताई यूको कारण उनी एक दिन गिरफ्तार भइन् । गिरफ्तारीको यो षड्यन्त्रमा त्यो बूढो अशिष्ट अधिकारी हू मेङ पनि सामेल थियो, जो उनीसँग विवाह गर्न चाहन्थ्यो । त्यो बूढाले ताओ-चिङलाई जमानतमा रिहा गरायो, किनकि ऊ उनलाई पैसाको लालच र धम्की देखाएर मनाउन चाहन्थ्यो । तर ताओ-चिङले उसलाई दुत्कारिन् । हूले उनलाई धम्क्याउँदै तीन दिनको समय दियो र के भन्दै गयो भने यदि उनले त्यो समयसम्म उसको कुरा मानिनन् भने उनलाई कम्युनिष्ट गतिविधिहरूमा सामेल भएको आरोपमा फसाइदिनेछ । त्यसपछि ताओ-चिङ आफ्नी साथी सियाओ-येनका पिता प्रोफेसर वाङ हुङ यिनको सहयोगबाट तिङ-त्सिएन नामक स्थानमा गइन् । त्यहाँ प्रोफेसर वाङको सिफारिसमा एक प्राथमिक स्कूलमा उनलाई अध्यापिकाको जागिर मिल्यो । तिङ त्सियेनमा काम गर्दैगर्दा ताओ-चिङको एउटा कम्युनिष्ट कार्यकर्ता चियाङ हुआसँग भेट भयो। उसको सम्पर्कमा आएर ताओ-चिङले धेरै राजनीतिक जानकारी प्राप्त गरिन् र उनले श्रमिकहरूसँग भेटघाट बढाउने प्रेरणा प्राप्त गरिन् । चियाङ हुआले ताओ-चिङलाई व्यावहारिक काममा रुचि लिन र मजदूर-किसानहरूसँग घनिष्ठ सम्बन्ध बढाउन सल्लाह दिएर गयो।
यही बीचमा गद्दार ताई यूको षड्यन्त्रमा ताओ-चिङ पुनः गिरफ्तार हुन लागेकी थिइन् । तर आफ्नो एउटा विद्यार्थीले यसको संकेत दिएपछि उनले यो ठाउँ छोडिन् । उनी आफ्नो एक साथी सिऊ यीङको घरमा लुकिन् । यहीँ उनको एक अधवैंशे क्रान्तिकारी महिलासँग भेट भयो, जसको एकपटक चियाङ हुआले फूपु ली भनेर चर्चा गरेको थियो । फूपु ली पार्टी कार्यकर्ता थिइन् । उनको सहयोगले तथा पार्टी कार्यकर्ताको सल्लाहबाट ताओ-चिङले एउटा जमिन्दार परिवारका बच्चाहरूलाई ट्यूसन पढाउने काम पाइन् । पढाउने बहानामा केही आवश्यक सूचना संकलन गर्नु र तिनीहरूलाई पार्टीमा सुम्पिनु उनको जिम्मेवारी थियो ।
जमिन्दार परिवारमा काम गर्दै ताओ-चिङले एउटा घरेलु नोकर्नीसँग मिलजुल बढाइन् तथा उनको मद्दतबाट जमिन्दारको छोरो सूङ यू पिनले तयार गरिराखेको कालो सूची प्राप्त गर्नमा सफल भइन्, जसमा तमाम कम्युनिष्ट क्रान्तिकारी र देशभक्तहरूका नाम थिए । सूङ यू-पिनले क्वोमिन्ताङ प्रतिक्रियावादीहरूसँग मिलेर सम्पूर्ण क्रान्तिकारी र देशभक्तहरूलाई पक्राउने योजना बनाएको थियो । यसमा ताओ-चिङको नाम पनि थियो । त्यसपछि ताओ-चिङलाई त्यहाँबाट निक्लिएर भाग्नमा एकजना मजदूर चेङ तेह-फूबाट सहयोग प्राप्त भयो । ऊ पहिले ताओ-चिङको जमिन्दार पिताको आसामी रहिसकेको खेतमजदूर थियो । तर उसको जमिन्दार पिताले यो मजदूरलाई बर्बाद बनाइदिएको थियो । उसले चेङकी पत्नीलाई बलात्कारको शिकार बनाएको थियो, जसको ग्लानी सहन नसकेर उनले आत्महत्या गरेकी थिइन् । त्यसपछि ऊ त्यहाँबाट भागेर यहाँ आएको थियो ।
पहिले त चेङ तेह-फूह ताओ-चिङलाई घृणा गर्दथ्यो तर पछि उसलाई उनको व्यक्तित्वको वास्तविकता थाहा भएपछि हृदयबाट नै उनलाई साथ दियो । ताओ-चिङमा पनि धेरै परिवर्तन भयो । अहिलेसम्म जमिन्दारहरूप्रति उनको मनमा जुन घृणा थियो, त्यो व्यक्तिगत कारणले यो – उनको जमिन्दार पिताले उनलाई अत्यन्तै घृणित रूपमा प्रताडित गरेको थियो । तर खेतमजदूरसँग उसको पिताले गरेको शर्मनाक व्यवहारले उनलाई सम्पूर्ण जमिन्दार वर्गको विरूद्ध घृणाले भरिदियो । अब उनले को मित्रवर्ग हो र को शत्रुवर्ग भन्ने कुरा स्पष्ट रूपले बुझिसकेकी थिइन् ।
जमिन्दारकोबाट भागेर ताओ-चिङ पुनः पेइपिङ आइन् र आफ्नी साथी सियाओ-येनसँग भेट गरिन् । ताओ-चिङसँग लगातार सम्पर्कको कारणले सियाओ-सेन हृदयदेखि नै क्रान्तिकारी विचारले लैस भइन् । यही बीचमा ताओ-चिङ फेरि गिरफ्तार भइन् । अशिष्ट बूढो निर्देशक हू मेङ-ऐन अझै उनको पछाडि लागेको थियो । जेलमा ताओ-चिङलाई भयंकर यातना दिइयो । उनको नाकमा खुर्सानी पानी हालियो, उनको शरीरलाई तातो फलामको डण्डीले डामियो। उनी रगतले लत्पतिएर धेरै दिनसम्म बेहोस रहिन् तर पनि उनले कुनै पनि गोप्य कुरा खोलिनन् । जेलमा नै उनले क्रान्तिकारी सिद्धान्त र व्यवहारको धेरै शिक्षा लिइन् ।
चेङ चिङलाई मृत्युदण्ड दिएपछि ताओ-चिङ धेरै दुःखी भइन् तर त्यसपछि क्रान्तिकारी संघर्ष र क्रान्तिकारी लक्ष्यमा उनको आस्था अझ बढ्यो । यसपछि उनी जेलभित्र कैदी साथीहरूको भोक हड्तालमा सामेल भइन् । उनैको प्रभावबाट एक कैदी विद्यार्थी शू सिऊ पनि क्रान्तिकारी संघर्षमा कन्भिन्स भइन् । केही पछि प्रोफेसर वाङले ताओ-चिङलाई जमानतमा रिहा गराइदियो। लाखौं कोशिस गर्दा पनि जेलका अधिकारीहरूले ताओ-चिङको विरूद्धमा कुनै प्रमाण नपाएको कारणले उनको रिहाइ भएको थियो । जेलबाट छुटेपछि कम्युनिष्ट पार्टीले ताओ-चिङको संकल्पबद्धता र क्रान्तिकारी सिद्धान्त तथा व्यवहारमा आस्था एवं सहभागितालाई देखेर उनलाई पार्टी सदस्यता दियो ।
ताओ-चिङको जीवनमा यो एक अविस्मपरणीय आनन्ददायी घटना थियो । उनलाई पार्टीको तर्फबाट एक महिला क्रान्तिकारी लिऊ यी-फेङसँग साहित्य-वितरण र जनसम्पर्कको काममा लगाइयो । यही बीचमा उनकी साथी सियाओ-येन गद्दार ताई यूको पक्कडमा फसिसकेकी थिइन् । त्यो गद्दारले उनलाई यसरी गुमराहमा पारिदिएको थियो कि उनी ऊसँग विवाह गर्नसम्म तयार भएकी थिइन् । ताओ-चिङले उनलाई ताई यूको शंकास्पद चरित्रको बारेमा सतर्क पनि गरिन् तर उनले ताओ-चिङको कुरामा विश्वास गरिनन् । ताई यू धेरै चलाख थियो । उसले एकपटक चियाङ हुआलाई पनि फसाएको थियो तर ऊ आफ्नो कौशलबाट बचेर निक्लियो । उसले ताई यूको पार्टी विरोधी गतिविधि र क्वोमिन्ताङसँग उसको साँठगाँठको सम्पूर्ण रिपोर्ट पार्टी कमिटीलाई दिएको थियो, जसको परिणामस्वरूप उसलाई पार्टी कमिटीबाट बाहिर निकालियो ।
यही बीचमा सियाओ-येनको पनि ताई यूसँग मोहभंग भयो । उनले एक दिन ताई यूको गोजीबाट सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र देशभक्तहरूको नाम भएको कालो सूची प्राप्त गरिन् । त्यसपछि सियाओ- येनको पुनः ताओ-चिङसँग घनिष्ठ सम्बन्ध बढ्यो र उनी क्रान्तिकारी काममा जुटिन् । यता पार्टीबाट निष्कासित भएपछि ताई यूले अन्तर्घातको काम गर्न सक्दैनथ्यो । अब ऊ क्वोमिन्ताङ प्रतिक्रियावादीहरूको कुनै कामको रहेन, त्यसकारण प्रतिक्रियावादीहरूले उसको हत्या गरिदिए।
विद्यार्थीहरूको एक संयुक्त फेडेरेशन संगठित गरी जापानी साम्राज्यवाद र प्रतिक्रियावादी क्वोमिन्ताङ सरकारको आत्मसमर्पणकारी एवम् अप्रतिरोध नीतिको विरोध गर्ने निर्णय कार्यमा चियाङ हुआ, ताओ-चिङ र सम्पूर्ण क्रान्तिकारी एवं प्रगतिशील युवा विद्यार्थीहरू एकजुट भए । प्रतिक्रियावादी तथा उनीहरूको संगठनको विरूद्धमा व्यापक संघर्ष भयो । ताओ-चिङ यसमा धेरै पटक अपमानित र प्रताडित पनि भइन्। तर अब उनी पहिले जस्ती थिइनन् र न उनी दुस्साहसवादी नै थिइन् । उनले एक क्रान्तिकारी विचारधाराको माध्यमबाट संघर्षका सम्पूर्ण कठिनाइहरू झेल्दै लक्ष्यको दिशामा निरन्तर अघि बढिरहने मानसिक परिपक्वता हासिल गरिसकेकी थिइन् । अब उनमा पहिलेको जस्तो कोरा आदर्शवादी कल्पनाशीलता थिएन र उनमा निराश भएर दुस्साहसपूर्ण शहादतमा जीवनको सार्थकता खोज्ने उत्ताउलोपन पनि थिएन । क्रान्तिकारीकरणको आगोमा बलेर उनी धेरै निखारिएकी थिइन। उनले संघर्षको निर्ममतलाई बुझेकी थिइन् र ढुलमुलपन वा उदारतावादको दुर्बलताबाट छुटकारा पाइसकेकी थिइन्।
यद्यपि अझै पनि उनको मनमा शहीद लू चिआ-चुआनको एक आदर्श क्रान्तिकारी छवि बनेको थियो, तर पनि उनको क्रान्तिकारीकरणको व्यावहारिक अग्निदीक्षामा चियाङ हुआको अविस्मरणीय योगदान थियो । त्यसकारण एक दिन चिआङ हुआले उनीसमक्ष आफ्नो हार्दिक प्रेमको प्रस्ताव राखेपछि उनले आफूलाई अत्यन्त सम्मानित महसुस गरिन्, तर लू चिआ-चुआनको स्मरण एक वेदना बनेर उनको मनमा आएको थियो, जसको थोरै पनि पीडा चिआङ हुआलाई थिएन ।
जे भए पनि यी क्रान्तिकारी युवाहरू पेकिङ विश्वविद्यालय र अन्य विश्वविद्यालय, कलेज र स्कूलका विद्यार्थीहरूको संयुक्त फेडेरेशन बनाउनमा सफल भए । त्यसको नेतृत्व उनको हातमा आयो। सेप्टेम्बर ९, १९३५ मा यो फेडेरेशनको आव्हानमा विद्यार्थीहरूले आम हड्ताल गरे, प्रदर्शन गरे, नाराबाजी गरे र सशस्त्र पुलिस तथा सेनाको विरूद्धमा जमेर संघर्ष गरे । यस क्रममा धेरै हताहत र गिरफ्तार भए ।
एकातिर माओ त्से-तुङको नेतृत्वमा लालसेनाले जापानी साम्राज्यवादी र क्वोमिन्ताङ प्रतिक्रियावादीहरूसँग संघर्ष गर्दै निरन्तर अगाडि बढिरहेका थिए भने अर्कोतिर युवा-विद्यार्थीहरूको वैचारिक आन्दोलन र जनसंघर्ष आम जनतालाई जागृत गर्दै व्यापक जनाधार तयार गर्ने दिशामा निरन्तर अगाडि बढिरहेको थियो । सिद्धान्त र व्यवहार, वैचारिक संघर्ष र सशस्त्र संघर्षको यो परस्पर तालमेलले क्रान्तिकारी संघर्षलाई क्रमशः उद्देश्यतिर बढाइरहेको थियो । युवाहरूले साम्राज्यवादी शत्रुहरूलाई ध्वस्त बनाउन र युगौंदेखि दबदबा कायम गरेर रहेको सामन्ती कचेरालाई फ्याँकी एक नयाँ समाजको रचनाको जुन गीत गुन्जाए, त्यसको प्रस्थानमा केवल अहिलेसम्म तटस्थ रहेका पढैया विद्यार्थी मात्र सामेल भएनन्, बरू बुजुर्ग प्रोफेसरसम्म पनि आफ्नो मध्यमवर्गीय जडतालाई तोडेर सडकमा उत्रिए ।
डिसेम्बर १६, १९३५ को विशाल प्रदर्शन कुन अर्थमा अभूतपूर्व थियो भने त्यसमा प्रोफेसर वाङ जस्ता बुजुर्ग अध्यापक पनि आफ्नी बूढी पत्नी र अन्य साथीहरूसँगै प्रदर्शनमा सामेल भए, नारा लगाए र पुलिसका डण्डा खाए । उनीहरूले आफ्नो जीवनलाई पहिलो पटक सार्थक भएको ठाने । यहाँ सियाओ-येनका पिता प्रोफेसर र उसकी आमा अर्थात् श्रीमति वाङको बीचमा प्रदर्शनमा सामेल हुनुपूर्व भएको वार्ता खासगरी कुनै पनि बुद्धिजीवी अध्यापकको लागि प्रेरणादायी छ । युवा जोशले भरिएर प्रोफेसर प्रदर्शनमा जानको लागि उठेपछि उसकी पत्नीले चिन्तित भएर भनिन्, हूङ सोच्नुहोस् त म करिब पचास वर्षकी भएँ र सियाओ-येनका बहिनी अझै साना छन् । यदि तपाईं बाहिर गएर केही भयो भने के गर्नु ? त्यसपछि प्रोफेसरले हप्काउँदै भन्यो, यदि कसैले यो खतरा उठाउने हिम्मत गरेन भने यो संसार छिट्टै खत्तम हुन्छ । यसपछि श्रीमती वाङ पनि प्रोफेसरसँगै जान तयार भइन् ।
यसरी १६ डिसेम्बरमा भएको यो ऐतिहासिक प्रदर्शनको दिशा र लक्ष्य प्राप्तिको लागि समर्पित संघर्षमा बुद्धिजीवीहरू र खासगरी युवा-विद्यार्थीहरूको भूमिकालाई रेखाङ्कित गरेपछि याङ मोको यो भव्य उपन्यास सकिन्छ । जिन्दगी अगाडि बढिरहन्छ, गाइरहन्छ र लडिरहन्छ । यो उपन्यास चिनियाँ सामाजिक पृष्ठभूमिमा लेखिएको भए पनि यसले संसारका क्रान्तिकारी बुद्धिजीवी र विद्यार्थीहरूलाई सामाजिक संघर्षमा आफ्नो भूमिका निर्वाह गर्नको लागि महत्त्वपूर्ण मार्गदर्शनको काम गरेको देखिन्छ ।
सन्दर्भ स्रोतहरू
1. The Song of Youth – Yang Mo, Foreign Languages Press, China, 1964
2. तरुणाई का तराना – याङ मो – हिंदी संस्करण – अनुवाद विश्वनाथ मिश्र, परिकल्पना प्रकाशन
3. Study and Research of various websites, blogs, online portals, youtube channels, etc.



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

मानवीय मूल्यहरूको गरीमालाई समाजमा स्थापित गर्ने उपन्यास ‘अग्निदीक्षा’

भोल्तेअरको विश्वप्रसिद्ध, दार्शनिक र व्यङ्ग्यात्मक उपन्यास ‘क्यान्डिड’
