अमेरिकाको ओहायो राज्यस्थित एक महिला बिहेको तयारीमा थिइन् । बिहे त गर्ने तर त्यसका लागि रकम जुटाउन उनलाई धौ धौ परिरहेको थियो । बिहेका सामग्रीहरू किन्ने क्रममा उनले गएको महिना थ्रिफ्ट स्टोरमा किनमेल गरिरहेकी थिइन् ।

त्यही २.९९ डलर मूल्य लेखिएको एउटा पेन्टिङमा उनको ध्यान गयो ।

उनलाई शुरूमा त यो चित्र उति मन परेन तर अहिलेको समयमा जम्मा जम्मी तीन डलरमा के पो पाइएला ? ज्यादै सस्तोमा एउटा चित्रकला फेला पार्नु पनि रमाइलो नै हो भन्ने लागेपछि उनले सो चित्रकला किनिन् ।

डेटन निवासी मारिसा एल्कर्नको जीवनमा यसपछि रोचक मोड आयो । उनलाई यो चित्र वास्तवमै योहान बर्थेल्सनले बनाएको हो कि होइन भन्ने जिज्ञासाका कारण उनले सत्यता परीक्षण गराउनेबारे सोचिन् ।

अमेरिकी प्रभाववादी चित्रकार बर्थेल्सनको १९७२ मा निधन भएको थियो। उनका चित्रहरू प्रायः हजारौं डलरमा बिक्री हुने गर्छन्।

मारिसा भन्छिन्, ‘जब मैले पहिलो पटक चित्र देखेँ र त्यसमा जुन हस्ताक्षर पाएँ, त्यसलाई पत्याइहाल्न मलाई गाह्रो भयो । शायद नक्कली होला भन्ने सोचेँ तर जब एउटा खाजाको पैसा भन्दा पनि कम रकममा चित्रकला पाइन्छ भने किन नकिनूँ भन्ने सोचेर किनेँ ।’

त्यसपछि आफूले फेला पारेको चित्र नक्कली हो कि सक्कली हो भनी फेसबुकमा राखिन् । फेसबुकमा एउटा समूह छ, त्यसले निःशुल्क कला मूल्यांकन गरिदिन्छ । त्यसपछि उनलाई उक्त समूहले चित्रका विभिन्न कोणबाट फोटो खिची पठाउन आग्रह गर्यो । नभन्दै पछि उनीहरूले यो सक्कली रहेको प्रमाणित गरिदिए । उनले फेला पारेको यो कृति बर्थेल्सनको च्यापल, सेन्ट प्याट्रिक चर्च शीर्षकको कृति वास्तविक रहेको पत्ता लाग्यो ।

यसपछि सो समूहले तत्काल २८ सय डलरभन्दा बढीमा किन्न प्रस्ताव राख्यो । उनले तत्कालै बेचिदिइन् ।

यो रकम अब आफ्नो बिहेका लागि प्रयोग गर्ने बताइरहेकी छन् ।