
समाचारमा निसृत सन्देशको सङ्गति खोज्छु म । जनमनमा सकार भावको अभिसञ्चार गर्ने तन्तुहरू छन् कि छैनन् त्यसलाई नियाल्न खोज्छु । बाटो नपाएर भड्किएको मान्छेलाई सृजनपथमा हिंड्न उद्रेक गर्ने तत्त्व छ कि छैन त्यसलाई ठम्याउन खोज्छु । विसङ्गति र निराशामा रुमलिएको मानव चरीलाई आशावादको ज्योति देखाएर उकाली चढ्न उत्प्रेरित गर्ने लाली किरण छन् कि छैनन्, तिनलाई हेर्न खोज्छु म । तर मिडियामा बज्ने समाचारमा, छापामा मुद्रित खबर पानाहरूमा नेता नेताबीचको सत्तोसरापको वर्षा छ । अहर्निश दन्तवजानको खेलमा मूल्यवान् समयलाई धुवाँ खरानी बनाइरहेका छन् । मानौँ हाम्रा नेताहरूलाई सराप्न सिवाय केही गर्न आउँदैन । मानौं हाम्रा नेताहरूलाई दन्तबजान गर्न सिवाय कुनै सुललित सृजनको बात बोल्न आउँदैन । के नेता र नेतृत्वको काम हमेशा विरोध बोल्नु मात्र हो । स्वीकार, सहमति र सहकार्यको कुनै भाषा छैन ? कुनै शब्दहरू छैनन् ? कुनै लवज र लयविधान छैनन् ।
विध्वंशको बोली बिकाएर कतिन्जेल राष्ट्र दोहन गर्न सकिन्छ ? सृजन र निर्माणमा सिपालु नेतृत्वको हातमा राष्ट्रको बागडोर पर्दा दशै वर्षमा, बीसै वर्षमा, तीसै वर्षमा देश कहाँदेखि कहाँ पुग्दोरहेछ ? त्यो दक्षिण कोरियाले देखाइरहेछ, मलेसियाले बताइरहेछ, सिंगापुरले सुसेलिरहेछ । तर हाम्रो राजनीतिक नेतृत्वलाई तोड्न भलिभाँती आउँछ, जोड्न फिटिक्कै आउँदैन । फोड्न आउँछ गोड्न आउँदैन ।
मिडियामा दूषित कुरा लेखेर बोलेर आबहवालाई प्रदूषित गरिरहेछन् यिनीहरू । यिनका मुखारविन्दबाट सृजनका सङ्गतिपूर्ण कुरा सुन्न पाइन्छ कि भनी आशा गर्नु बेकार छ । यिनका वाणीमा आनन्दको वर्षात गर्ने कुनै आह्लादकारी तत्त्व छ कि भनी खोजी गर्नु बेकार छ । यिनीहरू विध्वंश बोल्छन् । विद्रुपता बोल्छन् । विसंगति बोल्छन् । तनाव बोल्छन् । हिंसा बोल्छन् । प्रतिहिंसा बोल्छन् । आरोप बोल्छन् । प्रत्यारोप बोल्छन् । आमाचकारी गालीभाषा बोल्छन् । ईर्ष्या र तनाव बोल्छन् । जति कुरा बोल्छन्, आफूभित्रकै कुरा बोल्छन् । यिनीहरू भित्र स्वस्थ मन छैन । स्वस्थ र स्वच्छ चित्तदशा छैन । चित्तमा फोहोरै फोहोरको डङ्गुर थुप्रिएको छ । हमेशा त्यही आफू भित्रको फोहोर छरेर वातावरणलाई दुर्गन्धित पारिरहेका छन् । वर्षौं भयो, हामी त्यही दुर्गन्धको सिकार बनिरहेका छौँ ।
चित्तमा कुरूपता छ, त्यही कुरूपता वाणीमा अभिव्यक्त हुन्छ । सुन्दर सौम्य विचारको आशा गर्नु बेकार छ । यिनीहरूको आत्मामा मृदुलताको भाव छैन, छ त रूक्षता रौद्रताको बाढी उर्लेको छ । आर्तहरूका मुटु छुने करुणाका बोलहरू छैनन्, छन् त क्रोधाग्निका फिलुङ्गाहरू छन् । सरलताका सरसताका शालीन स्वरहरू छैनन् यिनका छातीमा, छन् त पाखण्ड र धूर्तताका हुँडार हुइयाहरू छन् । तिनै हुँडार हुइयाहरूले ऐँठन गरिरहेछ देश ।
निःस्वार्थी निरहङ्कार नेतृत्वको हातमा शासनको बागडोरको पर्दा संसारका कयौं मुलुकमा चमत्कार भएको छ । तर हाम्रो नेतृत्व अहङ्कारको र स्वार्थको दलदलबाट कहिल्यै माथि उठ्न सकेन । चाहे त्यो राणाकालीन नेतृत्व होस् । चाहे सातदेखि १७ सालको प्रजातान्त्रिक नेतृत्व होस् । चाहे पञ्चायतकालीन नेतृत्व होस् । चाहे छयालीस पछिको नेतृत्व होस् । चाहे राजाको सक्रिय नेतृत्व होस् , चाहे गणतन्त्रकालीन नेतृत्व होस् । चाहे प्रजातान्त्रिक धारको नेतत्व होस् । चाहे साम्यवादी वृत्तको नेतृत्व होस् । सबैको अभीष्ट खाने कमाउने र वैयक्तिक स्वार्थको दलदलमा फस्नुमा नै सीमित रह्यो ।
सबैसबैलाई सत्ताको सुर भयो, जनताको पीर भएन । आफ्नै निम्ति पदको पीर बोके, देशको पीर बोक्न सकेनन् । आफ्नो सुरक्षाको चिन्ता भयो, मुलुक र मुलुकवासीको सुरक्षामा खातिरदारी राख्न सकेनन् । हुन पनि हो उनीहरूले मीठो चोखो खाएका छन् । करोडको गाडीमा शयर गरेका छन् । यिनका घरमा लोडसेडिङको मार छैन । महँगी र कालावजारीको भार छैन । यिनले मट्टितेल र ग्याँसको लाइनमा उभिनु परेको छैन । सिटामोल र खोलेको अभावमा तड्पिनु परेको छैन । यिनले एउटा बर्कोको अभावमा जाडोले कठ्यांग्रिएर मर्नु परेको छैन ।
कालीदासको महाकाव्य रघुवंशका राजा अग्निवर्णको जस्तो चरित्र देख्छु हाम्रा नेता गणमा । अग्निवर्ण यति कामातुर छ, ऊ चौबिस घण्टा स्त्री लिप्सामा रत रहन्छ । उसलाई देश, दुनियाँ, जनताको पीरमार्का केहीको पर्बाह छैन । सर्वसाधारण जनता आफ्नो समस्या बिसाउन, केही कुरा राख्न दरबार आउँछन् । ऊ भोगविलासमा डुबिरहेको हुन्छ । ऊ यति स्त्री लम्पट हुन्छ, खोपीबाट एक मिनेट ओर्लिंदैन । जनताहरू पर्खिँदा पर्खिँदा आजित बन्छन् । सिपाहीले मान्छेहरू दर्शनभेटको लागि प्रतीक्षारत छन् भन्ने समाचार सुनाउँछ ऊ खोपीको झ्यालबाट एउटा खुट्टो देखाइदिन्छ । जनताहरू कम्तीमा राजाको खुट्टोसम्म त दर्शन गर्न पाइयो भनी सन्तोष मानेर फर्किन्छन् । यसरी जनतालाई झ्यालबाट खुट्टो देखाएर दर्शन भेट दिने अग्निवर्णका नयाँ संस्करण नेपाली राजनीतिमा परिव्याप्त भएको दृश्य देख्छु ।
अग्निवर्ण स्त्रीलम्पट भए जस्तो यहाँका पार्टी र नेतागण सत्ता लम्पट बनी कुर्सी लिप्सामा टाँसिएको टाँसियै छन्, उनीहरूले देशको स्वार्थ, जनताकोलाई भन्दा आफ्नै स्वार्थलाई सर्वोपरि बनाएका छन् । चुनाव जितेर गएपछि हिजो गरेका बोलकवोल बाचाकसम सबै भुलिदिन्छन् । अग्निवर्ण त कम्तीमा झ्यालबाटै भए पनि खुट्टोसम्म जनतालाई देखाइदिन्थ्यो । अनुहारको दर्शन गर्न नपाए पनि चरणको दर्शन गरेर जनगण फर्किन्थे । हाम्रा नेताहरू अग्निवर्ण भन्दा चुत्थो दर्जाका स्वार्थी र काञ्चन कामिनीप्रति कामातुर बनेका छन् । आफैं चुलिने, आफैँ मोटाउने धन्दामा रत छन् । द्रव्यलिप्साको अलिङ्गनमा यसरी बेरिएका छन्, त्यसको पाशबाट छुटाउनु मुस्किल छ ।
यस खालको नेतृत्वबाट पीडित जनतामा हेर्छु, उनीहरूको मनोविज्ञानमा सकारात्मक भाव छैन । उनीहरूप्रति समादरको चिन्तन छैन । छ त उनीहरूको अन्तरहृदयमा घोर उदासीनता छ, वितृष्णा छ, घृणा छ , उनीहरूको अन्तरहृदयमा घोर उदासीनता छ, वितृष्णा छ, घृणा छ, क्षोभ र ग्लानीको भाव टनाटन खाँदिएर बसेको छ । पार्टी र नेतृत्व गणमा मैत्रीभाव नहुनु, सहकार्य नहुनु, सहअस्तित्व स्वीकार नगर्नु, हरदम विद्वेष र विरोधको परिपाटी कायम राख्ता जनतामा निराशा, कुण्ठा र रुग्णताको रोग सल्केको छ । नेता र पार्टीको रोगले सर्वसाधारणका दिल दिमागलाई कुरूप र विक्षिप्त बनाउँदै लगेको छ । जाहींताहीं क्रोधित अनुहार, कुपित बोली, ईर्ष्या र आक्रोश, रोष र अहङ्कारको प्रदूषित हावा चलिरहेके छ । यसले गर्दा विस्तारीविस्तारी समाज सृजनतिर होइन विध्वंश र आगजनीतर्फ उन्मुख छ । निर्माणतिर होइन, तोडफोड हिंसातर्फ अभिमुख छ । शान्ति र निरङ्कारतिर होइन, अशान्ति र अहङ्कारतिर अग्रसर छ ।
यो भयानक डढेलोलाई बेलैमा ननिभाउने हो भने नेतापाटी, समाज, देश सबैसबैलाई एकै चोटि भस्मीभूत पार्ने खतरा बढेको छ । सरोकारवाला समुदायमा वेलैमा चेतना भया ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

