फ्रायड परिवार (१८९८)

फ्रायड परिवार (१८९८)

सिग्मण्ड फ्रायडले मन र मस्तिष्कको अध्ययन र विश्लेषण गरे । मनोविश्लेषणवाद मनोविज्ञानको एक शाखा हो । यो सम्प्रदायलाई मनोविश्लेषणवादी सम्प्रदाय भनिन्छ । सिग्मण्ड फ्रायड मनोविज्ञानका पिता मानिन्छन् । फ्रायड (१८५६ – १९३९) चेक रिपब्लिकमा यहुदी परिवारमा जन्मेका थिए । भनिन्छ, त्यो समय यहुदी परिवारमा ज्यादै अत्याचार हुन्थ्यो।

उनको लालनपालन अनाथालयमा भयो । तीक्ष्ण बुद्धिका धनी फ्रायड हिस्टेरियाको डाक्टर हुँदै पागलहरूको डाक्टर बने । फ्रान्सको पेरिसस्थित पैन्सी नगर अस्पताल प्रमुख भएर उनले काम गरे । उक्त अस्पतालमा उनले पागल तथा हिस्टेरियाका बिरामीको जाँच गर्थे । उपचारको क्रममा पागलहरूलाई धेरै प्रश्न सोध्ने र पागलले आफू पागल नभई दिमाग खराब भएको उत्तर पाउँदा उनकै दिमाग खराब हुन्थ्यो । उनको दिमाग खराब हुनुको कारण चाहिँ पागलहरूले लगाएको दिमाग र तिनको उत्तर थियो। पागलले दिमाग लगाउन र उत्तर दिन सक्दैनन् भन्ने धारणा त्यसबेला व्याप्त थियो । उनले पागलहरूको गरेको अध्ययनबाट धेरै नयाँ कुराहरू थाहा हुन आएको थियो । उनले विचारहरू कसरी आउँछन् भन्ने अध्ययन गरे ।

उनको व्यापक अध्ययनमा आधारित पछि पुस्तकहरू पनि प्रकाशित भएः

The introduction of Psychology (1893), Psychopathology of Every life (1904), Three contributions to the Theory of sex (1905), Unconscious (1915), Pleasure Principle (1920), The Ego & The Id (1923) तथा The Interpretation of Dreams (१९००) छन् ।

उनले मानव जातिमा तीन प्रकारको मन हुन्छ भन्नेमा जोड दिन्छन् । उनको भनाइमा अचेतन मन, अर्धचेतन मन र चेतन मन हुन्छ भन्ने हो । अचेतन मनले ९० प्रतिशत ठाउँ लिएको हुन्छ, अर्धचेतन मन र चेतन मनले बाँकीको १० प्रतिशत ठाउँ लिएको हुन्छ भनी उनले व्याख्या गरे । फ्रायडले सबैभन्दा ज्यादा महत्त्व अचेतन मनलाई दिएका छन् । अचेतन मनमा धेरै प्रकारको शक्ति हुने भएकोले कुनै पनि प्राणी वा मानवको बारेमा जान्नु छ भने अचेतन मनलाई विषयवस्तु बनाउनु पर्छ भन्ने उनको मूल विचार हो ।

मानवको बारेमा अध्ययन गर्नुपर्दा अचेतन मनको अध्ययन आवश्यक छ भनेका छन् । मनको तीन भाग अचेतन मन, अर्धचेतन मन र चेतन मन भए जस्तै व्यक्त्तित्वको पनि तीन भाग इदम ID, अहम Ego र परम अहम Super ego हुन्छन् भन्ने उनको राय छ।

अब यहाँ मन र व्यक्त्तित्व बीचको सम्बन्ध हेरौँ, अचेतन मनसँग इदम ID, अर्धचेतन मनसँग अहम ego र चेतन मनसँग परम अहम् super ego जोडिएको हुन्छ । इदम ID यो व्यक्तिको जन्मजात व्यक्त्तित्व हो । त्यसैले अचेतन मन पनि व्यक्तिले जन्मजात लिएर आउँछ । भावना, संवेग र मूलप्रवृत्ति अचेतन मनमा हुन्छ। विचारको अन्तिम रुप भावना हो । संवेग विचारको वाह्य प्रकाशन हो । विचारको क्रियात्मक रुप मूल प्रवृत्ति हो । अब यहाँ दमित इच्छा के हो भन्ने प्रश्न आउँछ । मरेको इच्छा जुन गएर अचेतन मनमा बस्छ । अर्थात आज मेरो मरेको इच्छा पूरा भएन त्यो पूरा नभएको इच्छा अचेतन मनमा गएर बस्छ । व्यक्तिको दमित यौनइच्छा, यौन ऊर्जा, अनैतिक, असामाजिक, अमर्यादित जस्ता कुराहरू अचेतन मनमा हुन्छ । आनन्दको नियम, वास्तविकताको नियम, नैतिकताको नियमको अन्तरक्रियाबाट विचार आउँछ । अचेतन मनले आनन्द र सधैं आनन्द चाहन्छ अनि आनन्दको प्राप्ति हुन्छ । माथि नै भनिसकेँ, अचेतन मन ९० प्रतिशत हुन्छ । आनन्द वा सुखको नियमअनुसार चल्छ, इच्छाको भण्डार ग्रह जन्मजात हुन्छ । विद्यार्थीका लागि महत्त्वपूर्ण मन, विचार, तर्क आदिको उत्पत्ति यही मनबाट हुन्छ ।

अर्धचेतन मन
यो मनमा मानवको अहम व्यक्त्तित्व ego रहन्छ । यो मन वास्तविकताको नियमअनुसार चल्छ । यसले आनन्द प्राप्ति नचाहेर वास्तविकता चाहन्छ । वास्तविकता वा समयको ज्ञान यश मनमा रहन्छ । अचेतन र चेतन मनको मध्यमा रहने भएकाले याद गरेको कुरा अचानक भुल्ने हुनु अचेतन मनको कारणले हो ।

चेतन मन
यो मन नैतिकताको आधारमा चल्छ । यसमा नैतिक मूल्यको भण्डार हुन्छ । हामीमा राम्रा कुराहरू यसै मनमा बसेको हुन्छ । यो मन आदर्शको भण्डार पनि हो । जम्माजम्मी १० प्रतिशत हुने अर्धचेतन र चेतन मनमा बच्चा बेलामा सामाजिकीकरणको भूमिका हुने, आध्यात्मिक प्रवृत्तिप्रति रुझान राख्ने, नैतिक काम गर्ने अनि अनैतिक काम गर्न नसक्ने मन हो ।

यसरी मन र व्यक्त्तित्वको विश्लेषण गर्ने क्रममा फ्रायड मनको तुलना समुद्रमा तैतिरहेको बरफको डल्लासँग गर्छन् र बरफको ९० प्रतिशत नदेखिने भाग अचेतन मन र १० प्रतिशत देखिने भाग अर्धचेतन र चेतन मन भनेका छन् ।

निष्कर्षमा हेर्दा फ्रायडका विचार र रचनाहरू २१ औँ शताब्दीको चार दशक प्रभावपूर्ण रह्यो । समाज विज्ञान र साहित्यको क्षेत्रमा नयाँ आयाम प्राप्त गर्यो । फ्रायडको व्यक्त्तित्व सिद्धान्तमा व्यक्तिको वातावरणसँग अन्तर्क्रिया हुन्छ र त्यही अन्तर्क्रियाको आधारमा उसको व्यवहारको शीलगत गुणको विकास हुन्छ । यसरी के देखिन्छ भने, फ्रायडको मनोविश्लेषणवाद मनोविज्ञानको एउटा शाखा हो । यसले व्यक्तिको मन, व्यक्तित्वका साथै उसको व्यवहारको अध्ययन गर्छ । यहाँ यौनभावना वा कामभावनालाई सर्वाधिक महत्त्व दिइन्छ । संसारभरि मनोविज्ञानलाई समाएर कथा र उपन्यास लेखिएका छन् ।

नेपालमा पनि यस प्रवृत्तिका साहित्य केही मात्रामा लेखिएका छन्। तारिणीप्रसाद कोइरालाका ‘फालिएको सामान’, ‘सर्पदंश’, विजय मल्लका ‘कुमारी शोभा’, ‘अनुराधा’, बीपी कोइरालाका ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’ तथा वासु शशीका ‘फूल ओइलाएपछि’ जस्ता उपन्यासहरू रहेका छन् । नेपाली कथाहरूमा मनोवैज्ञानिक कथाहरू पनि छन् । तीमध्ये बिपी कोइरालाका ‘चन्द्रवदन’, ‘बिहा’, ‘शत्रु’, ‘सिपाही’, भवानी भिक्षुका ‘गुनकेशरी’, ‘मानव’, ‘मैयासाहेब’, गोविन्दबहादुर मल्ल गोठालेका ‘कथा संग्रह’, ‘कथैकथा’, तारिणीप्रसाद कोइरालाको ‘आमाको हृदय’, पोषण पाण्डेको ‘चोट’, प्रेमा शाहको ‘प्रतिक्रिया’ र विजय मल्लका कथाहरू रहेका छन् । उत्तरआधुनिक नेपाली कथा र उपन्यासहरूमा पनि फ्रायडको मनोविश्लेषणात्मकतालाई समाएर लेख्ने साहित्यकारहरू प्रशस्त रहेका छन् ।

पूर्वीय साहित्य सिद्धान्तमा रस सिद्धान्त प्रमुख सिद्धान्तको रुपमा रहेको छ । रस सिद्धान्त र मनोविश्लेषणवादको सम्बन्ध एकअर्कामा कस्तो छ हेरौ: रस सिद्धान्तका बारेमा पूर्वमा भरत मुनिबाट चर्चा भएर सोह्रौँ शताब्दीसम्म आइपुग्दा पूर्ण विकास भएको देख्न सकिन्छ । उन्नाइसौं शताब्दीमा सिग्मण्ड फ्रायडको आगमनपछि मनोविज्ञानको क्षेत्रमा क्रान्ति भएको देखिन्छ । उनीसँगै एड्लर र युंगले यस क्षेत्रमा ठूलो योगदान दिएको देखिन्छ र मानिसको मनको अध्ययनमा ठूलो सफलता हात पारी निरन्तर अगाडि बढिरहेको देखिन्छ ।

पूर्वीय साहित्यमा रसको अनुभूति शारीरिक र मानसिक रुपमा हुने बराबरीको कार्यव्यापार हो । श्रोता भोक्ता दर्शक पाठकले काव्यको अर्थबोध भएपछि उसको शरीर र संवेदनशील तन्त्रका बीच एक प्रकारको एकत्रीकरण प्रक्रिया सम्पन्न हुन्छ। भावक आफ्नो र अर्काको फरक बिर्सेर आफ्नै मनको अन्तस्करणमा स्फुटित भावमा डुबेर त्यसको आस्वादन गर्दागर्दै रसको आनन्दमा डुब्दछ र यसप्रकार काव्यगत भावबाट प्राप्त अनुभव वा रसानन्द संश्लेषणात्मक हुन्छ । यसो हुँदा शरीर र मनबीच एकचित्त हुने अर्थात एकसुरे हुने जस्तो सम्बन्ध रहन्छ । हो, त्यही सम्बन्ध नै रसबोधको अवस्था हो भनियो । अब यहाँ रसनिस्पत्तिलाई मनोवैज्ञानिक प्रक्रिया भनियो र त्यससँग जोडियो भने रसको अनुभव नै मनोवैज्ञानिक अनुभव भनेर मान्नु पर्ने हुन्छ । मनोवैज्ञानिक मान्यताअनुसार अतृप्त कामवासना, इच्छा दमित भएर अचेतन मनमा बसेको हुन्छ । त्यहाँ रहेको वासनाहरू साहित्यमा आउँछन् वा साहित्यकार वा कलाकारले प्रकाशन गर्दछन् । त्यहीँ साहित्यको अध्ययन गरी आस्वादन गर्दा भावहरू आफ्नै ठानेर आनन्दित हुन्छन् । यसरी हेर्दा के देखिन्छ भने मनोविज्ञानमा कवि लेखकहरूको अवचेतन मनोभावको व्याख्या गर्छ भने रस सिद्धान्तले दर्शक, पाठक अनि भोक्ताको मनोभावको विश्लेषण गर्दछ । हालका वर्षहरूमा न्यूरो सर्जनहरू मस्तिष्कको अध्ययन विभिन्न इन्स्ट्रुमेन्टका ( instrument ) माध्यमबाट गर्छन् भने केही आध्यात्म (spirituality) जोडेर हेर्छन् । आउँदा दिनहरूमा मनोविज्ञानले अझ व्यापक क्षेत्रमा आफ्नो पंख फिजाउने निश्चित छ ।

बेल्जियम