
निद्राचारी
म जन्मेको गाउँमा एउटी महिला र उनकी छोरी बस्थे, जो निद्रामा हिंड्ने गर्थे ।
एक रात, जब संसारलाई निस्तब्धताले छोप्यो, हिंडदै जाँदा, कुहिरोले ढाकेको एउटा बगैंचामा आमाछोरीको भेट भयो, जो अझै निदाइरहेका थिए ।
आमाले छोरीलाई भनिन्, “अन्त्यमा आएर, तँ, मेरो शत्रु, यहाँ भेट भइस् ! तँ, जसले गर्दा मेरो यौवन बर्बाद भयो ! तैंले आफ्नो जीवन मेरो बर्बाद जीवनको भग्नावशेषमाथि ठड्याएकी छेस् ! तँलाई मार्न सके त !”
अनि छोरी बोलिन्, “ए स्वार्थी, घृणित बुढी ! मेरो स्वतन्त्रताको बाटोमा तँ जहिल्यै बाधा बनेर खडा छेस् । मेरो जीवनलाई तँ आफ्नै रुखासुखा जीवनको प्रतिबिम्ब बनाउन चाहन्छेस । तँ त बरु मरे हुन्थ्यो !”
त्यसै बेला भाले बास्यो, र दुवै महिला निद्राबाट जागे । अनि आमाले नरम स्वरले भनिन्, ए तिमी पो, प्यारी ?” र छोरीले विनम्र हुँदै जवाफ दिइन्, “अँ, मेरी प्यारी आमा !”
वस्त्र
एक दिन समुद्रको किनारमा सुन्दरता र कुरूपताको भेट भयो । उनीहरूले एकअर्कालाई भने, “आऊ, हामी समुद्रमा नुहाऔं ।”
त्यसपछि उनीहरूले आफ्ना वस्त्र फुकाले, र पानीमा पौडी खेले । अनि, केही समयपछि कुरूपता किनारमा फर्किइन्, र सुटुक्कसँग सुन्दरताको वस्त्र लगाएर त्यहाँबाट हिंडिन् ।
अनि सुन्दरता पनि जब समुद्रबाट निस्किइन्, उनले आफ्नो लुगा भेट्टाइनन् । नाङ्गो हुन उनलाई लाज लाग्यो, त्यसैले उनले त्यहाँ भएको कुरूपताको लुगा लगाइन् । त्यसपछि सुन्दरता पनि आफ्नो बाटो लागिन् ।
अनि, आजका दिनसम्म पनि मानिसहरु भूलवश सुन्दरतालाई कुरुपता र कुरुपतालाई सुन्दरता भन्ने ठान्छन ।
तैपनि, कोही कोही चाहिं अझै पनि छन् जसले सुन्दरताको अनुहार देखेका छन्, र त्यो लुगाको बावजूद उनलाई चिन्छन् । अनि कतिपय यस्ता पनि मानिस छन् जसले कुरूपताको पनि अनुहार चिनेका छन्, र कपडाले उनलाई उनीहरूको आँखाबाट लुकाउन सक्दैन ।
बुख्याचा
एक पटक मैले एउटा बुख्याचालाई भनें, “यो सुनसान खेतमा उभिंदा उभिंदा तिमी पक्कै पनि थाकेको हुनुपर्छ।”
उसले भन्यो, “अरुलाई तर्साउनुको आनन्द गहिरो र स्थायी हुन्छ, त्यसैले म यो कामबाट कहिल्यै थाक्दिनँ ।”
मैले एक मिनेट सोचें, र भनें, “सत्य हो; किनकि मैले पनि त्यो आनन्दको अनुभव गरेको छु ।”
उसले भन्यो, “जो सुकेका घाँस-परालले भरिएका हुन्छन, उनीहरूले मात्र यो आनन्दलाई बुझ्न सक्छन् ।”
त्यसपछि म उसलाई छोडेर त्यहाँबाट हिडें । उसले मेरो प्रशंसा गरेको हो वा अपमान, मैले बुझ्न सकिनँ ।
एक वर्ष बित्यो । त्यतिञ्जेलमा त्यो बुख्याचा एउटा दार्शनिक बनिसकेको थियो ।
अनि एकदिन जब म फेरि उसको छेउबाट गुज्रिएँ, त्यसबेला मैले देखें- उसको टोपीमुनि दुईवटा कागले गुँड बनाइरहेका थिए ।
(खलील जिब्रान (१८८३–१९३१) एक लेबनानी-अमेरिकी कवि, दार्शनिक र कलाकार हुन जसले आफ्ना साहित्यिक कृतिहरुमा प्रेम, स्वतन्त्रता, मानवता जस्ता विश्वव्यापी विषयवस्तुहरुलाई कवितात्मक गद्यको मध्यमवाट सुन्दर ढंगले अभिव्यक्त गरेका छन् । सय वटा भन्दा बढी भाषाहरुमा अनूदित “द प्रोफेट” (१९२३) त्यो प्रख्यात र प्रशंसित कृति हो जसको कारण खलील जिब्रानको स्थान विश्वका महान साहित्यकारहरु माझ स्थापित छ । जिब्रानले धेरै चोटिला लघुकथाहरु पनि लेखेका छन् जसले आध्यात्मिक ज्ञान र जीवन दर्शनका सूक्ष्म रहस्यहरु खोतल्छन् । जिब्रानको संदेश संसारका सबै संस्कृतिहरूमा प्रतिध्वनित हुन्छ किनभने उनका विषयवस्तुहरूले सम्पूर्ण मानवताको साझा भावना र संघर्षबारे बोल्छन् ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

द प्रोफेटको नेपाली अनुवाद, गुरू, अध्यायः ७ वस्त्र
