मुवाविया

साउदी अरबले बनाएको १० करोड डलर बजेटको एउटा टेलिभिजन शृंखला यतिबेला विवादमा परेको छ । एक जना शासकमाथि बनाइएको सो शृंखला मध्यपूर्वमा विवाद उत्पन्न भएको हो । इराक र इरानले त यसलाई प्रतिबन्ध नै लगाएको छ भने कतिपय धर्मगुरूहरूले यो शृंखला हेर्नु पाप गर्नुसरह भएको भन्दै प्रतिक्रिया दिन थालेका छन् ।

अरब मुलुकमा बनाइएका सबैभन्दा महँगा शृंखलामध्ये एक ‘मुवाविया’ले सातौँ शताब्दीताका अरब संसारमा शासन गर्ने एक राजाको कथा भन्छ । उनको शासनकालमा मुस्लिम जगत् दुई भागमा बाँडिएको थियो र त्यही कारण अहिले मुस्लिम जगत् शिया र सुन्नी मुस्लिममा विभक्त भएको छ ।

साउदी अरबको एमबिसी टेलिभिजनका लागि बनाइएको यो भव्य शृंखला मुवाविया इब्न अबी सुफियानमाथि बनाइएको हो । उनी प्रोफेट मोहम्मदका सबैभन्दा नजिकका व्यक्ति थिए । उनले मोहम्मदका भतिजा र ज्वाइँहरूविरूद्ध युद्ध लडेका थिए । खासगरी, अली इब्न अबी तालिबसँग भयङ्कर युद्ध नै भएको थियो । तिनै अलीको समुदायलाई मान्नेहरू नै कालान्तरमा शिया मुस्लिम बन्न पुगे ।

यो शृंखला हाल प्रशारणरत छ । यतिबेला मुस्लिमहरूको पवित्र महिना रमजान चलिरहेको छ । यो पर्वका बेला मुस्लिमहरूले बिहान घाम उदाएदेखि सूर्यास्त नहुञ्जेल व्रत बस्ने गर्छन् । साँझ व्रत तोडेपछि परिवारसँगै बसेर टेलिभिजन हेर्ने चलन छ । सोही अवसरमा सारा परिवारलाई मुस्लिम युगका प्रवर्तकहरूको कथा देखाइनु राम्रै हुने ठानी यो शृंखला बनाइएको हो ।

शिया अथवा सियात अलीको अर्थ, अलीभन्दा फरक भन्ने अर्थ लाग्छ । मुस्लिम समुदायको अगुवा अली वा शिया हुनुपर्छ भन्ने मान्यता राख्नेहरू शिया हुन्छन् । यसको अर्थ, प्रोफेट मोहम्मदको रक्त सम्बन्धका व्यक्तिहरूले मुस्लिमहरूको अगुवाई गर्नुपर्छ भन्ने मान्यता राख्ने शिया बन्न पुगे । यही कुरा मोहम्मदका ज्वाइँ अलीले गरेका थिए । तर अलीको कुरा इन्कारी गर्नेहरू अर्को समूह बने । तिनीहरू सुन्नी कहलिए । संसारभर शियाहरूको संख्या १० देखि १५ प्रतिशत मात्र छन् । इरान, इराक र बहराइनमा शिया बाहुल्य छन् ।

यो शृंखलालाई ट्युनिशियामा छायाँकन गरिएको थियो । अरबभरिका कलाकारहरूले यसमा अभिनय गरेका छन् । यसलाई इजिप्टेली फिल्म निर्देशकले निर्देशन गरेका छन् । यो शृंखला सन् २०२३ मा प्रशारण गर्ने निधो गरिएको थियो । साउदी अरब सुन्नी मुस्लिम बाहुल्य देश हो । उसले यो शृंखला प्रशारण गर्दा विवाद हुने डर थियो ।

‘१४ शताब्दीपछि पनि सुन्नी र शियाहरू इतिहासका केही कथाहरूमा पूरै एकअर्काका कुरालाई खारीज गर्ने गर्छन्, मुवाविया इब्न अबी सुफियाका कुरामा पनि विवाद भइरहन्छन्,’ लन्डनस्थित रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्यूट फर डिफेन्स एन्ड सेक्युरिटी स्टडिजका एच.ए. हेलयर भन्छन्, ‘यही विवादका कारण यी दुई सम्प्रदायबीच बेलाबेलामा चर्को लडाइँ चल्ने गर्छ ।’

इरान र इराकसँग यतिबेला साउदी अरबको सम्बन्ध केही सुध्रिएका बेला यो शृंखला टेलिभिजनमा रिलिज गरिएको हो । यतिबेला जे जति विवाद उचालिन्छ, त्यसलाई आफूले खप्न सक्ने आकलनका साथ साउदी अरबले लामो समय यसको रिलिज कुरेर बसेको थियो । सन् २०२३ मा नै यसलाई रिलिज गर्ने तयारी गरिएको थियो तर मध्यपूर्वको तनावलाई विचार गर्दै यसलाई रोकिएको थियो ।

मुवाविया शृंखलाको एक दृश्य

तर यो शृंखला गत साताबाट शुरू भएपछि यसलाई इरान र इराकमा प्रतिबन्ध लगाइएको छ । बगदादस्थित प्रसारण मन्त्रालयले भने यस शृंखलाले सामाजिक शान्ति खल्बल्याउने प्रतिक्रिया दिएको छ । प्रतिक्रिया दिएर ऊ चूप लागेको छ ।

इजिप्टस्थित अल अजहर विश्वविद्यालयका विज्ञहरूले भने मुवावियामाथि बनाइएको शृंखला धार्मिक रूपमा अस्वीकार्य रहेको प्रतिक्रिया दिएका छन् । केही धार्मिक गुरूहरूले यसलाई हेर्नु पाप रहेको प्रतिक्रिया दिएका छन् । इजिप्ट भने शुरूदेखि नै यसलाई फिल्माङ्कन गर्नेबारे विरोध जनाइरहेको थियो । खासगरी प्रोफेट र उनका शुरूवाती सहयोगीमाथि जस्ता फिल्म बनाइए पनि त्यसले मुस्लिम जगतमा विवाद हुने भएकाले यस्ता विषयलाई नछोएकै राम्रो हुने बताइरहेका थिए ।

उता साउदी अरबमा भने विपक्षीहरू यसमा चुइँक्क बोल्दैनन् । पछिल्लो समय साउदीका शासक क्राउन प्रिन्स मोहम्म्द बिन सलमानले सामाजिक स्वतन्त्रताको मुद्दालाई प्राथमिकता दिएका छन् । सलमानको यस कार्यलाई अहिले साउदीभित्र कसैले पनि चुनौती दिन सकेको छैन । उनले नै महिलाहरूले कार चलाउन सक्ने, सिनेमा हलमा मनोरञ्जन लिन सक्नेजस्ता खुकुलो नीति अपनाएका छन् । उनीअघिका कुनै शासकले पनि यस्तो खुकुल्याइँको हिम्मत गर्न सकेका थिएनन् ।

यसअघि पनि साउदी टेलिभिजन एमबिसीले बनाएको सातौँ शताब्दीका मुस्लिम शासक उमर इब्न अल खत्तबको शृंखलाले निकै चर्को विरोध सहनु परेको थियो । एक दशकअघि प्रसारण भएको सो शृंखला प्रसारण भएपछि साउदी अरबका प्रमुख मुफ्ती शेख अब्दुलअजिज अलअलशेखले सो शृंखलाले मुस्लिम इतिहासका प्रमुख पात्रहरूलाई देखाइनु शास्त्रसम्मत नरहेको प्रतिक्रिया दिएका थिए ।

एमबिसीका पूर्व प्रमुख कार्यकारी माजेन हायेकले दर्शकलाई टेलिभिजनतर्फ आकर्षित गर्न यस्ता विषयलाई देखाउन आवश्यक रहेको बताए । विदेशी कन्टेन्टको भरमार रहेका बेला उनीहरूलाई आफ्नो इतिहास र कथातर्फ तान्नु जरूरी रहेको उनको भनाइ छ ।

टेलिभिजनमा प्रशारण शुरू भएपछि मुवावियामाथि दर्शकहरूले पनि आलोचना गरेका छन् । यसमा एतिहासिकतामा छेडखानी गरिएको दर्शकहरूको भनाइ छ । एक जनाले सामाजिक सञ्जालमा जब बालकको जन्मका बेला उसकी आमाले रात्रिकालीन पहिरन भिक्टोरियाज् सेक्रेटको पहिरन लगाएको, ओछ्यानको सिरक जाराको डिजाइन रहेकोजस्ता गलती देखाइएको छ ।