

पर्ल एस. बक
द गुड अर्थ अमेरिकी साहित्यकार पर्ल. एस. बकले लेखेको विश्व प्रख्यात उपन्यास हो । नेपाली भाषामा कल्याणी धर्तीका नाममा अनूदित यो उपन्यासलाई एक महान् गाथाको रूपमा लिइन्छ र यसमा लेखिकाले तत्कालीन चिनियाँ कृषक समाजको चरित्र चित्रण गरेकी छन् । उनले सन् १९३८ मा साहित्यतर्फको नोबेल पुरकार प्राप्त गरेकी थिइन् । सन् १८९२ मा अमेरिकाको वेस्ट भर्जिनियाको ईसाई मिशनरी परिवारमा जन्मिएकी पर्लले आफ्नो जीवनकाल प्रायः चीनमा नै व्यतित गरिन् । उनी बालककालमा नै मातापितासँगै चीन पुगेकी थिइन् । साहित्यमा रुचि राख्ने उनकी आमाले उनलाई अंग्रेजी र चिनियाँ दुवै भाषा सिकाइन् । उनले सांघाईको एउटा स्कूलबाट शिक्षा लिएकी थिइन् । तर उनले उच्च शिक्षा अमेरिकामा नै प्राप्त गरेकी थिइन् । अमेरिकाबाट नै उनले साहित्यमा स्नातकोत्तर पनि गरिन् । सन् १९१४ मा पर्ल पुनः चीन आइन् र त्यहाँको एउटा स्कूलमा अंग्रेजी पढाउन लागिन् ।
पर्लले कृषि अर्थशास्त्री जोन लोसिङ बकसँग विवाह गरेकी थिइन् । चीनमा रहँदा उनले त्यहाँ धेरै दुर्गम स्थलहरूको यात्रा गरिरहिन् र त्यहाँको वास्तविकतालाई आफ्नो साहित्यमा पछि अत्यन्तै सुन्दरसँग चित्रण गरिन् । उनले नानजिंग विश्वविद्यालयमा आफ्ना पतिसँगै अंग्रेजी साहित्यको अध्यापन गराएकी थिइन् । चीनमा भएको गृहयुद्धपछि पर्लको परिवारले जापानमा शरण लियो । त्यसपछि भने उनी चीन फर्किनन् । उनले एशियाली समाजका विभिन्न पक्षहरूलाई समेटेर पत्रपत्रिकामा लेखहरू लेखिरहिन् । उनका लेखन प्रायः आत्मकथात्मक हुन्थे । तिनमा उनी आफ्ना व्यक्तिगत अनुभवहरू लेख्ने गर्थिन् । उनले ‘ए चाइनिज ओमेन स्पिक्स’ को माध्यमबाट आफ्ना विचार प्रवाह गरिरहिन् । पर्लले चिनियाँ साहित्यको गहन अध्ययन गरेकी थिइन् । उनको एक उपन्यास ‘ईस्ट विंड : वेस्ट विंड’ प्रकाशित भएपछि त्यसको पाठहरूले प्रशंसाका साथै धेरै आलोचनासमेत गरेका थिए । यो उपन्यासमा उनले एक चिनियाँ महिला क्वेनको जीवन-संघर्षको मर्मस्पर्शी घटनाक्रम उल्लेख गरेकी छिन् ।
पर्लको विश्व-चर्चित उपन्यास द गुड अर्थ सन् १९३१ मा प्रकाशित भएको थियो । यसले उनलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने काम गर्यो । यो उपन्यासमा उनले आफ्नो धर्ती, खेत र प्राकृतिक वातावरणप्रति गहन प्रेम गर्ने एक चिनियाँ किसानको जीवन-वृत्तान्तलाई अत्यन्तै रोचक ढंगले प्रस्तुत गरेकी छन् । ती किसानसँग पुस्तौंदेखि संचित अनुभव छ र ऊ आफ्नै संसारमा मग्न छ । जतिसुकै विपरीत प्राकृतिक अवस्थिति सिर्जना भए पनि ऊ बाँच्नका लागि निरन्तर संघर्ष गरिरहन्छ । यद्यपि उनको यो चित्रणमा धेरैको विमति पनि रहेको देखिन्छ । सन् १९३२ मा यही उपन्यासको लागि पर्लले पुलिट्जर पुरस्कार पनि प्राप्त गरेकी थिइन् । यसै उपन्यासलाई आधार बनाएर सन् १९३७ मा इरविंग टोलबर्गले एक चलचित्र पनि बनाएका थिए ।
पर्लले १९३२ मा ‘सन्स’ र १९३५ मा ‘ए हाउस डिभाइडेड’ जस्ता उपन्यास पनि प्रकाशित गराइन् । यी उपन्यासमा उनले किसानको अर्को पुस्ताको वर्णन गरेकी छन् । उनले १९३४ मा ‘मदर’ नामको उपन्यास पनि लेखेकी थिइन्, जसमा आमाहरूको आत्म-बलिदान र संघर्षको अत्यन्तै कारुणिक कथा लेखेकी छन् । यसलाई पनि उनको श्रेष्ठ उपन्यासमा गणना गरिन्छ ।
पर्ललाई १९३८ मा नोबेल पुरस्कार प्रदान गरेको बेला उनको साहित्यको प्रशंसा गर्दै भनिएको थियो – “पर्लको लेखनमा नश्लीय सीमाभन्दा पर गएर मानवीय संवेदना र सहानुभूतिको मार्गप्रशस्त गरिएको हुन्छ ।” पर्लले आफ्नो जीवनमा करिब ८० पुस्तक लेखिन्, जसमा उपन्यास, कथा र जीवनीको अतिरिक्त संस्मरण, कविता, समालोचना, निबन्ध र बालसाहित्यसमेत रहेका छन् । उनको लेखनको केन्द्रमा चिनियाँ जनजीवन मात्र हुँदैनथ्यो, बरु उनी जापानी र अमेरिकी जनजीवनलाई पनि उत्तिकै चित्रण गर्थिन् । उनले एशियाली संस्कृति, महिला अधिकार, धार्मिक जीवनपद्धति, आप्रवासन आदि विषयमा पनि धेरै लेखिन् । पर्लका उपन्यासहरूमा पूर्व र पश्चिमको द्वन्द्वलाई पनि दर्शाइएको पाइन्छ । साहित्यमा उनको छुट्टै प्रकारको योगदान भए पनि उनी विवादरहित लेखिका भने बन्न सकिनन् ।
सन् १९६४ मा पर्लले एशियाली बालबालिकाहरूको दरिद्रता र असमानतालाई दृष्टिगत गरी पर्ल. एस. बक फाउण्डेनको स्थापना गरिन् । यसपछि उनले एशियाली देशहरूमा अनाथालय र शिक्षण संस्थाहरू पनि खोलेकी थिइन् । पर्लले धेरै चिनियाँ रचनाकारका कृतिहरूलाई अंग्रेजीमा अनुवाद पनि गरिन् । आफ्नो जीवनको अन्तिम समयमा उनले कल्याणकारी धर्तीको चौथो खण्ड लेखिरहेकी थिइन् तर त्यो पूरा भएन । फोक्सोको रोगको कारण मार्च ६, १९७३ मा उनको देहान्त भयो ।

द गुड अर्थका अनेक आवरणमध्ये एक
द गुड अर्थ उपन्यासमा चीनको आनहुई प्रान्तको एउटा गरीब किसान वाङ लुङको जीवनलाई दर्शाइएको छ । यसमा वाङ लुङ र उसको परिवारका खुशी र त्रासदीहरूको मार्मिक कहानी बताइएको छ । गरीब किसान वाङ लुङ जटिल समयमा आफ्नो परिवारलाई सही ढंगले चलाउनको लागि धेरै संघर्षरत हुन्छ । शहरको एक धनी परिवारकी नोकर्नीसँग विवाह गर्दछ । विस्तारै कडा परिश्रम र अप्रत्यासित संयोगको माध्यमबाट यति धेरै जमिन र पैसा कमाउँछ कि उसले यो कुरा सपनामा पनि सोचेको हुँदैन । तर उसको दुर्दशा भने जारी नै रहन्छ । एक वर्ष प्राकृतिक प्रकोपबाट उसका सबै उत्पादन बिग्रन्छ र ऊ परिवारलाई जीवित राख्न दक्षिणतिर जान्छ । त्यहाँ उनीहरूले अत्यन्तै जटिल परिस्थितिमा गुजारा गर्दछन् । दक्षिणमा रहेको बेला एक दिन दंगाको बेलामा वाङ लुङले संयोगवश सुनको एक बण्डल पाउँछ । त्यसपछि त्यो धनसहित वाङ र उसको परिवार पुनः आफ्नो जमिनमा फर्किन्छन् र खेती गर्न शुरु गर्छन् । वाङ धनी भएपछि ऊ धेरै फुर्सिदिलो हुन्छ । त्यसपछि ऊ शहरतिर रमाइलो गर्न जान थाल्छ । यही बेला उसले एउटी रखैल राख्छ र ऊ आफैँ पनि सुखसयल, भोगविलासमा रम्न पुग्छ । पछि छिट्टै वाङ शहरको सबभन्दा धनी परिवारमध्येको एक मुखिया बन्छ ।
सम्पत्ति जति भए पनि वाङका समस्याहरू जारी रहन्छन् । उसको लालची काका ऊसँगै बस्न आउँछ । उसका छोराछोरी लगातार झगडा गरिरहन्छन् । वाङकी रखैललाई कसैले मन पराउँदैनन् । उसकी पहिली पत्नी भने निरन्तर खेतको र घरको काममा लागिरहन्छिन् । पछि वाङ यसबाट आजित हुन्छ र अन्ततः फेरि एक श्रमजीवी किसानको सरल जीवनतिर फर्किन्छ । जस्तोसुकै जटिल परिस्थितिमा पनि उक्त किसानले आफू र आफ्नो परिवारको जीवन-प्रक्रियालाई निरन्तर अगाडि बढाइरहन्छ । प्राकृतिक विपद, भोकमरी, आप्रवासन, शहरीमा बेरोजगारी, युद्धको सन्त्रास आदि विभिन्न अप्ठ्याराहरूले किसानको जीवनलाई नराम्ररी सताएका छन् । यद्यपि उसका छोरामा पिताकै जसरी काम गर्नै नैतिकता हुँदैन र अन्तिममा वाङ लुङको मेहनतको फल अर्को पुस्ताको लागि ज्यादतिको कारण बन्छ र बर्बाद हुन्छ ।
यसरी द गुड अर्थ उपन्यासमा चीनका किसानको जीवनको चित्रण गरिएको छ । लेखिकाले चीनलाई कति चिनेकी छन् भने त्यहाँको पितृसत्ता र त्यहाँका सहिष्णु नारीको अत्यन्तै मार्मिक चित्रण गरेकी छन् । यहाँ वाङ लुङको चरित्रमा धन र त्यसको प्रभाव प्रभावशाली तरिकाले देखाइएको छ । यसमा चीनका तीन पुस्ताका विभिन्न विचारधाराहरूको अत्यन्तै रोचक वर्णन छ । यो उपन्यासले एउटा लामो कालखण्डको कथा समेटेको छ । यसमा चीनको धार्मिक, सामाजिक, सांस्कृतिक र अनेकौं गरीब तथा धनीहरूको अत्यन्तै सरल चित्र लेखिकाले उपस्थित गरेकी छन् । यसले बीसौं शताब्दीको शुरुवातमा पारम्परिक चिनियाँ संस्कृतिको सटीक र गहन चित्रण प्रस्तुत गरेको छ । यहाँ चीनमा सबभन्दा बढी गरीबी र ग्रामीण इलाकामा जीवित रहन गरिने भयंकर संघर्षलाई उजागर गरिएको छ ।
संक्षिप्तमा सम्पूर्ण उपन्यास
उपन्यासको कथा वाङ लुङको विवाहको दिनबाट शुरु हुन्छ । ऊ आफ्ना पिताको खोकीबाट ब्युझिन्छ, झ्यालतिर जान्छ र हावाको सिरसिराहटलाई महसुस गर्दछ, त्यसपछि यो असल लक्षण हो भन्ने सोच्छ । उसले कराई मुनि आगो बाल्नको लागि केही सुकेको घाँस लिन्छ र मनमनै पिताको लागि चिया बनाउने आज अन्तिम दिन हो; भोलिदेखि त एक स्त्री आगो बाल्न सबेरै उठ्छिन् भन्ने सोच्छ । आफ्ना पितालाई चिया बनाएर दिएपछि वाङ आजको विशेष अवसरको लागि नुहाउँछ । पानी बर्बाद गरेको र आफू भोकै भएको भनेर उसका पिताले गाली गर्छन् । वाङले उनको लागि मकैको रोटी बनाउँछ । त्यसपछि उसले आफ्ना राम्रा कपडा लाउँछ र शहरतिर निक्लिन्छ । अब वाङले दारी काट्ने निर्णय गर्छ । दारी काट्न पनि चार पैसा लाग्दा ऊ आश्चर्यचकित हुन्छ । यसपछि ऊ बजार जान्छ र उसकी नयाँ पत्नीले तयार गर्ने आज रातिको विवाह भोजको लागि खाद्य सामग्री खरिद गर्दछ । ऊ आफ्नो विवाहको विषयमा अलि अन्धविश्वासी छ, त्यसकारण मन्दिरमा धुपवत्ती बाल्नको लागि रोकिन्छ । यही बीचमा ऊ केही खानको लागि रोकिन्छ, किनकि मालिक ह्वांगको घरमा गएर आफ्नी पत्नी बन्न लागेकी दासीसँग यो कुरा सोध्न डराउँछ ।
वाङ लुङ ह्वांगको घर पुग्छ र गेटपालेले वाङसँग चाँदीको एक टुक्रा लिनलाई जोड गर्दछ, ताकि ऊ भित्र जान सकोस् । वाङ आत्तिन्छ र शुरुमा बुढी मालिक्नीसँग कुरा गर्न सक्दैन । तिनले ओ-लानलाई बोलाउँछिन् र ती दुवै ह्वांगको घरबाट सँगसँगै निक्लिन्छन् । यसपछि वाङ ओ-लानलाई लिएर घर फर्किन्छ र उनलाई आफूले खरिद गरेका खाद्य सागम्रीबाट पाहुनाहरूको लागि भोजन तयार गर्नलाई अह्राउँछ । सबै पाहुना ओ-लानले मीठो खानेकुरा पकाएकोले प्रशंसा गर्छन् । ओ-लान लामो कदकी र प्रबल स्त्री थिइन् उनको मुख अलि सानो थियो, जसमा नाक केही समतल थियो, आँखा काला थिए ।उनी अत्यन्तै इमान्दारीपूर्वक मेहनत गर्दथिन् । उनी दस वर्षकी हुँदा अनिकाल लागेको बेलामा उनका माता-पिताले ह्वांगको धनी घरानामा एक दासीको रूपमा बेचिदिएका थिए । पाहुनाहरू गइसकेपछि ओ-लानलाई वाङले भित्र लैजान्छ र उनीहरू सुत्न जान्छन् ।
भोलिपल्ट विहान वाङले ओ-लानलाई आफ्ना पिताको लागि तातो पानी ल्याउने संकेत गर्छ । ऊ आफ्नी पत्नीसँग धेरै खुशी छ, तर उनले आफूलाई पतिको रूपमा मन पराउँछिन कि पराउँदिनन् भनेर धेरै उत्सुक हुन्छ । उनले आफ्नो काम पूरा गरेको कूरा सूचित गरेपछि वाङको लागि चिया ल्याउँछिन् । अब ऊ यी महिलाले उसलाई धेरै मन पराउँछिन् भन्ने महसुस गर्छ । अर्को केही महिनामा ओ-लानले उसलाई धेरै काममा सहयोग गर्छिन् । वाङ कामबाट फर्किएपछि खानाको प्रतीक्षा गर्नमा रुचि राख्छ । ओ-लान सरसफाई गर्छिन्, कपडा मिलाउँछिन्, ओच्छ्यान सफा गर्छिन् र खेतमा पनि धेरै काम गर्छिन् । उनी धेरै शान्त छिन् र एकदमै कम मात्र कुरा गर्छिन् । एक दिन उनीहरूले खेतमा काम गरिरहेको बेला उनले वाङलाई आफू गर्भवती भएको कुरा बताइन् । यो कुरा सुनेर वांग र उसका पिता धेरै नै खुशी भए ।
वाङको पहिलो बच्चा जन्मिने समय नजिक आउँदै गर्दा ऊ सुत्केरीको सहयोगको लागि ह्वांगको घरमा गएर एक दासी ल्याउनको लागि ओ-लानसँग सल्लाह गर्छ । उनले आफ्नो घरमा सहयोगको आवश्यकता पर्दैन भन्ने जवाफ दिन्छिन्; उनी बच्चा जन्मिएपछि आफ्नो बच्चालाई राम्रा कपडा लगाइदिएर ह्वांगको घर जानेछिन् । उनले पहिलेदेखि नै यो योजना बनाइराखेकी थिइन् भन्ने थाहा पाएपछि ऊ जिल्ल पर्छ । उनले कपडाको लागि चाँदीका तीन टुक्रा माग्छिन्, तर वाङले उनलाई चार टुक्रा दिन्छ, ताकि बच्चालाई रेशमको कपडा लाइदिन सकियोस् । पहिलो पटक चाँदीको टुक्रा समाउन पाएकोमा ओ-लान धेरै खुशी हुन्छिन् ।
एक दिन उनीहरू खेतमा काम गरिरहेको बेलामा ओ-लानले बच्चालाई जन्म दिनको लागि घर फर्किने कुरा गर्छिन् । वाङ खेतबाट घर फर्किंदा उसका पितालाई खाना दिएको र तातो खानाले टेबलमा उसको प्रतीक्षा गरिरहेको कुराले आश्चर्यचकित हुन्छ । ओ-लानले छोरा जन्माएको कुरा थाहा पाएर वाङ र उसका पिता धेरै खुशी हुन्छन् र भन्छन् छोरालाई जन्म दिनु एक राम्रो लक्षण हो । वांगले ओ-लानको लागि रातो चीनी र रातो रंगका अण्डा किन्ने कुरा गर्छ, ताकि उसको छोरो जन्मिएको छ भन्ने कुरा सबैले थाहा पाऊन् ।
अर्को दिन ओ-लानले खाजा बनाउँछिन् तर बाँकी समय घरमै बसिरहन्छिन् । वाङ दिउँसोसम्म काम गर्छ र त्यसपछि आफ्नी पत्नीको लागि अण्डा तथा रातो चीनी किन्न शहर जान्छ । वाङ गर्वका साथ पसलेसँग आफ्नो नवजात पुत्रको बारेमा कुरा गर्छ । उसले प्रत्येक परिवारका सदस्यको लागि चार वटा अगरबत्ती पनि किन्छ । वाङ धेरै अन्धविश्वासी थियो र उसलाई पृथ्वी देवतासँग राम्रो सम्बन्ध कायम राख्नुपर्छ भन्ने लाग्थ्यो ।
ओ-लान छिट्टै खेतमा काम गर्न फर्किन्छिन्, तर उनले बेला-बेलामा बच्चाको हेरविचार पनि गर्नुपर्थ्यो । यसपछि चीसो मौसम शुरु हुन्छ र उनीहरूको वाली पहिलेभन्दा धेरै हुन्छ । वाङ लुङ आफ्नो अन्न सबभन्दा राम्रो मूल्यमा बेच्न सक्षम हुन्छ, तर उसका छिमेकीहरू समयभन्दा पहिले नै कम मूल्यमा बेच्न बाध्य हुन्छन् । आफ्नो सबै अन्न बेचेपछि वाङ लुङ र ओ-लानसँग अतिरिक्त चाँदी बच्छ । उनीहरूले त्यसलाई आफ्नो शयनकक्षको भित्तामा लुकाएर राख्छन् ।
नयाँ वर्ष आउन लागेको थियो र यसको तयारी भइरहेको थियो । वाङले खुशी र भाग्यका अक्षरहरूले भरिएका राता पर्चा किन्दछ । ऊ तिनीहरूलाई अर्को वर्ष खेतमा राम्रो उत्पादन होस् भनेर औजारहरूमा टाँस्छ । उसका पिताले देवताहरूको लागि नयाँ बस्त्र बनाउँछन् र वाङ लुङले राम्रो भाग्यको लागि मन्दिरमा धूप बाल्छ । त्यसपछि उसले सुँगुरको बोसो र सेतो चिनी किन्दछ, ताकि ओ-लानले नयाँ वर्षको लागि केक बनाउन सकून् । ओ-लानले गाउँकी कुनै पनि अन्य स्त्रीले भन्दा उत्कृष्ट केक बनाउन सक्ने भएकीले वाङ गर्व महसुस गर्छ । उनले आफ्नो घरमा आउने पाहुनाको लागि दुई सादा केक बनाउँछिन् र ह्वांगको घरमा लैजानको लागि सुन्दर केक बनाउँछिन् । नयाँ वर्षको दोस्रो दिन उनीहरू आफ्नो छोरालाई पेश गर्नको लागि आफ्ना सबभन्दा राम्रा कपडा लगाएर ह्वांगको घरमा जान्छन् । वाङलाई अब गेटपाले ऊभन्दा कमजोर भएको जस्तो लाग्छ। ऊ ओ-लान भित्री आंगनमा भएकी बूढी मालिक्नीकोमा जाने बेलासम्म प्रतीक्षा गर्छ । उनीहरू घर फर्किंदै गर्दा ओ-लानले उसलाई भन्छिन् – अब ह्वांगको घर गरीब हुँदै गइरहेको छ, किनकि ह्वांगको छोराले आफ्नो पैसा खुलेआम खर्च गरिरहेको छ, बूढा मालिकले रखैल राखेका छन् र बूढी मालिक्नी अफिममा लिप्त भएकी छिन् । त्यसपछि ओ-लानले तिनीहरूले केही जमिन बेच्ने विचार गरिरहेका छन् भन्ने कुरा गर्छिन् । अब वाङ लुङ त्यो जमिन किन्ने निर्णय गर्छ ।
वाङले गोप्य ठाउँबाट चाँदी लिन्छ र एक भूभाग खरिद गर्नको लागि ह्वांगको घरमा जान्छ । बूढो मालिक आफ्नी नयाँ उप-पत्नी ब्लोसमसँगै सुतिरहेको थियो र उसलाई बाधा पुर्यउनु हुँदैनथ्यो । त्यसकारण उसले बूढो मालिकको एजेन्टबाट भूभाग खरिद गर्छ । अब वाङ जमिनको त्यो भागमा जान्छ, तर त्यसलाई साँध नलाउने निर्णय गर्छ, किनकि उसलाई शहरका मानिसहरूले ऊ धनी छ भन्ने थाहा पाउँछन् भन्ने डर हुन्छ । समयक्रमसँगै वशन्त ऋतु आउँछ र ओ-लान फेरि गर्भवती हुन्छिन् । उनले वाली भित्र्याउने समयमा काम गर्न सक्नेछैनन् भन्ने कुराले वाङ दुःखी हुन्छ । तर उनले ओ-लानले यो जन्म पनि सहज हुनेछ भन्ने कुराको भरोसा दिलाउँछिन् । उनले अर्को बच्चा जन्माउँछिन् । ओ-लानले आफ्नो लागि प्रदान गरेको सौभाग्यबाट वाङ धेरै खुशी छ । वाली धेरै राम्रो थियो । नयाँ जमिनबाट धानको वाली उसको खेतमा दुईगुना भएको थियो । वाङले उत्पादन भएको आफ्नो वाली बेचिदियो र पुनः चाँदी लुकायो । गाउँमा उसको ओहदा बढ्यो, किनकि धेरैलाई उसले ह्वांगको घरानाबाट जमिन खरिद गरेको कुरा थाहा थियो र ऊ धनी पनि भएको थियो ।
वाङको काकाको परिवार बदनाम छ । उसले आफ्नो परिवारको पेट पाल्नको लागि वाली उठाउनुभन्दा पहिले नै आफ्नो अन्न बेच्नुपर्छ । उसकी पत्नी अल्छे छिन् र बच्चाहरूलाई स्वतन्त्रतापूर्वक गाउँमा छाडा छोड्छिन् । छोरो पनि बदमास छ । एक दिन ओ-लानले आफ्नी काकाकी छोरीलाई गाउँमा एउटा मानिससँग कुरा गर्दै गरेको देख्छ । यसपछि उसले काकीलाई छोरीले आफ्नो कुमारित्व गुमाउनुभन्दा पहिले नै विवाह गरिदिनुपर्ने सुझाव दिन्छ । काकीले दाइजोबिनाकी गरीब केटीसँग कसैले पनि विवाह गर्दैनन् भन्ने जवाफ दिन्छिन् ।
अर्को दिन वाङ खेतमा भएको बेला उसको काका आउँछ र देउताले आफूलाई खराब भाग्य प्रदान गरेका छन् भन्ने कुरा गर्छ; आफूले धेरै मेहनत गरे पनि आफ्नो भाग्यले असल छोरो जन्माउने र राम्रो वाली उत्पादन गर्ने अनुमति दिंदैन भन्छ । वाङले आफू र ओ-लानले कडा मेहनत गरेकोले मात्रै आफ्नो खेतसँगै आफू भाग्यमानी भएको जवाफ दिन्छ । वाङको काकाले अभद्र व्यवहार गरेको आरोपमा उसलाई गाली गर्छ, त्यसपछि उसको खराब व्यवहारको बारेमा गाउँभरी हल्ला गर्ने धम्की दिन्छ । यसकारणले गर्दा आफ्ना काकाको लागि चाँदी जम्मा गर्न वाङ घर फर्किन्छ । घर पुग्दा ओ-लानले एउटी छोरी जन्माएको थाहा पाउँछ । अब ऊ छोरीको जन्म अलक्षण हुन सक्छ भन्ने महसुस गर्न लाग्छ । उसले काकालाई चाँदी दिन्छ र पुनः खेतमा फर्किन्छ । वाङ लुङ थप चाँदी जम्मा गर्नको लागि अझै अर्को वालीको प्रतीक्षा गर्नुपर्छ भन्ने कुराले चिन्तित छ । आकासमा काग उडिरहेका छन्, यसलाई पनि ऊ एउटा अर्को अलक्षण ठान्छ ।
खडेरी परेकोले वाङ लुङको अधिकांश वाली नष्ट हुन्छ । वाली उठाएको तुरुन्तै पछि उसले बचेको अन्न बेचिदियो । कसैलाई नबताइकन वाङ लुङ ह्वांगको घर गयो र जमिनको एउटा अर्को टुक्रा खरिद गर्यो । खडेरी जारी रह्यो र गाउँका मानिसहरू खाना र पैसा नभएर टाट पल्टिए । यही बीचमा ओ-लान फेरि गर्भवती हुन्छिन् । अब परिवारसँग खानको लागि केही पनि बाँकी रहँदैन । ओ-लानले परिवारको पेट भर्नको लागि गोरुलाई मार्छिन् । यही बीचमा वाङको काकाले वाङ लुङसँग अन्नको भण्डार छ भन्ने अफवाह फैल्याइरहेको हुन्छ । एक दिन गाउँलेले खानाको लागि उसको घरमा आक्रमण गरिदिन्छन् । गाउँलेले उसकोमा बचेको थोरै मकै र सिमी पनि लैजान्छन् ।
यसपछि वाङ यो दुर्भाग्यको लागि देवताहरूसँग क्रोधित हुन्छ । उसको परिवारका सबै पीडित थिए । यद्यपि उसले आफ्ना पितालाई भने खाना खुवाउन जारी राख्यो । यस्तैमा एक दिन चिंग नामको व्यक्ति वाङकोमा आउँछ र दक्षिणतिर जाने सल्लाह दिन्छ । यतिखेर गाउँका मानिस जीवित रहनको लागि जेसुकै खाइरहेका थिए, यहाँसम्म कि उनीहरू मानव-मांस खान पनि पछि परिरहेका थिएनन् । वाङ परिवारले दक्षिणतिर जाने निर्णय गर्छन् । छिमेकी किसान चिंगले परिवारलाई खानको लागि केही रातो सिमी दिन्छ । त्यही रात ओ-लानले एक बच्ची जन्माउँछिन् तर उनी जीवित रहँदिनन् । वाङ लुङले बच्चीलाई एउटा पुरानो गुन्द्रीमा बेर्छ र खेतमा लिएर जान्छ । यतिखेरै उसले बच्चीको गर्दनमा चोट देख्छ र ओ-लानले बच्चीलाई मारेकी हुन् भन्ने शंका हुन्छ । वांगको काका र गाउँका केही मानिस आएर वाङ लुङको जमिनको बदलामा थोरै धन दिन्छन् ।
अब वाङ लुङ र उसको परिवार दक्षिणतिरको यात्रामा लाग्छन् । दक्षिण क्षेत्रमा गर्मी बढी छ र यहाँ खाने कुरा धेरै पाइन्छ भन्ने छ । उनीहरु ह्वांगको घर हुँदै जान्छन् । त्यहाँ उनीहरूले भिखारीहरूले घरभित्रका मानिसहरूलाई सरापिरहेको देख्छन्, किनकि तिनीहरूसँग अझै पनि खाने कुरा छ तर उनीहरू बाँड्न चाहँदैनन् । यसपछि ओ-लान र वाङ लुङ दक्षितिर गइरहेका मानिसमा समूहमा जोडिन्छन् । वाङ र उसको परिवार दक्षिणमा जानको लागि रेलमा सवार हुन्छन् ।
वाङले रेलको टिकट र थोरै खाने कुरा किन्छ । ऊसँग अझै पनि गुन्द्री र आश्रयको लागि थोरै धन बचेको छ । वाङले रेलमा एउटा मान्छेबाट दक्षिणमा पुगेपछि खाने कुरा र आश्रयको लागि कसरी भीख माग्नुपर्छ र गुन्द्री लिनुपर्छ भन्ने कुरा सुन्छ । त्यो मानिसले वाङलाई एक पैसामा खाना बेच्ने भान्सेको बारेमा पनि बताउँछ । यसपछि आफूले दक्षिणमा रिक्सा चालकको रूपमा काम गर्नसक्ने कुरा वांगलाई थाहा हुन्छ । दक्षिणी शहरमा पुगेपछि वाङले परिवारको लागि गुन्द्री किन्छ र उनीहरू भान्सामा खाना खान जान्छन् । अब वाङ लुङ दिनभरी रिक्सा चलाउँछ भने अर्कोतिर उसको परिवारका अन्य सदस्य बाहिर गएर पैसा माग्छन् ।
अब वाङसँग सबैलाई खुवाउनको लागि पर्याप्त धन थियो । एक दिन वाङले आफ्नो रिक्सामा एउटा विदेशीलाई लिएर गइरहँदा दुई वटा चाँदीको सिक्का लिन्छ । वांगले त्यहाँ एक जनाले आफू जस्ता अनावश्यक विदेशीहरू विरुद्ध क्रान्ति आवश्यक हुन्छ भनेको सुन्छ । अब उसलाई के महसुस हुन्छ भने शहरमा भोकै रहने कुरा असंभव छ, जबकि बाहिर बस्नु देशमा बस्नु जस्तो हुँदैन । एक रात वांग आफू बस्ने ठाउँमा आउँदा खानाको लागि आगोमा कोबी र सुँगुरको मासुको पकाएको पायो । उसले आफ्नो एक छोरो भीख माग्नुको सट्टा चोरी गरिरहेको छ भन्ने कुरा थाहा पायो । यसबाट ऊ धेरै चिन्तित भयो र माँसु खान अस्वीकार गर्यो । उसले आफ्नो छोरालाई रातिको खानापछि बाहिर लग्यो र पिट्यो । अब वाङ लुङले आफ्नो घर फर्किने निर्णय गर्यो ।
वशन्त ऋतु आइरहेको थियो । ओ-लान फेरि गर्भवती भएकी छिन् । वाङ आफ्नो जमिनमा फर्किन चाहन्थ्यो । उसका पिताले पनि वाङलाई आफूले धेरै पटक आफ्नो जमिन छोड्नुपरेको तर सदैव फर्केको कुरा गर्छन् । ओ-लानले आफ्नी छोरीलाई बेचेर आफ्नो जमिनमा फर्किनसक्ने सुझाब दिइन् । किनकि ओ-लानका माता-पिताले पनि आफ्नो घर फर्किनका लागि उनलाई बेचेका थिए । तर वांग-लुंग आफ्नी छोरीलाई बेचेर आफ्नो जमिनमा फर्किन चाहँदैनथ्यो ।
अब आधिकारिक रूपमा नै वशन्त ऋतुको आगमन भयो । ओ-लान र उनका छोराहरू खानाको खोजीमा छन्, जबकि वाङ आफ्नो रिक्सा चलाउँछ । वाङ मानिहरूले यदि उनीहरूसँग धन भएको भए के गर्थे भन्ने कुरा गरिरहेको सुन्छ । वाङ चिच्याउँछ, ऊ जमिन किन्नेछ र जमिनबाट राम्रो वाली उत्पादनको लागि काम गर्नेछ । तिनीहरूले उसलाई हप्काउँछन् र भन्छन्, पैसाले के गर्न सकिन्छ भन्ने उसलाई थाहा नै छैन ।
एक दिन वाङले सडकमा सैनिकहरूद्वारा एउटा मानिसलाई पक्रिएको देख्छ । ऊ एउटा पसलमा लुक्छ र पसलेलाई के भइरहेको छ भनेर सोध्छ । पसलेले उसलाई युद्धमा मानिसहरूलाई पक्राउ गरिरहिएको छ भन्छ । अब सैनिकहरूद्वारा पक्राउ खानबाट बच्नको लागि वाङ राति माल ओसार्ने काम गर्छ । शहरमा भइरहेका सबै क्रियाकलापलाई हेर्दा वाङमा आफ्नो जमिनमा फर्किने इच्छा प्रबल हुँदै जान्छ ।
गरीबहरूको हा-हाकार दिन प्रतिदिन बढ्दै गइरहेको थियो । विशाल महलहरूभित्र धनीहरू अझ धनी हुँदै गइरहेका थिए र बाहिर भीड भोकले मरिरहेका थिए । अन्तमा सहिष्णुताका सीमाहरू टुटे । भोकको जादूले हलचल मच्चाइदियो र गरीबहरूले धनीहरूका भवनहरूमाथि आक्रमण गर्न थाले । एक दिन गरीबहरू धनी मानिसको पर्खालभित्र पस्छन् । मानिसहरू पागल जसरी धनी मानिसका सामान लिएर यता-उता भागिरहेका हुन्छन् । त्यही भीडमा वाङ लुङ पनि खनियो । वाङले आफूलाई छिट्टै सबभन्दा भित्रको आगनमा पाउँछ । उसले एउटा अधवैंस डरपोक मानिसलाई भेट्छ । उसले वाङसँग आफ्नो ज्यानको भीख मागिरहेको हुन्छ । वाङले सुन माग्छ । मृत्युको भयले उसले वाङ लुङलाई सुन दिन्छ । सुन पाएपछि वाङ लुङ फर्किन्छ । वाङले त्यो सुनलाई छातीमा दबाउँछ र भोलि नै जमिनमा फर्किने निर्णय गर्छ । अर्कोतिर ओ-लानलाई धनी मानिसहरूले आफ्नो धन कसरी लुकाउँछन् भन्ने थाहा पाउँछिन् । उनले घरका पर्खाल बाहिरबाट धेरै बुहमूल्य गहना प्राप्त गर्छिन् ।
यसपछि वाङले दक्षिणबाट राम्रो बीज खरिद गर्यो र घर जाँदै गर्दा एउटा किसानसँग गोरु पनि किन्यो । वाङ लुङ र ओ-लान आफ्नो घरमा फर्किंदै गर्दा त्यहाँ चोरहरूको एउटा गिरोह बसिरहेको थाहा हुन्छ, उसले तिनीहरूलाई नष्ट गरिदिन्छ । उसको छिमेकी चिंगले वाङ लुङलाई उनीहरू दक्षिणमा भएको बेला घरमा उसको काका बसेको कुरा बताउँछ । चिंगले उनीहरू गएपछि पत्नीको मृत्यु भएको र आफ्नी छोरीलाई बेचेर भोक मेटाउने काम गरेको कुरा बतायो । वाङले चिंगलाई नयाँ बीज दिन्छ, त्यसपछि भोलिदेखि नै जमिन जोत्ने कुरा गर्छ । आफूसँग खानको लागि केही पनि नभएको बेला चिंगले आफूलाई सिमी दिएको कुरा वाङले कहिल्यै भुलेको थिएन । यसपछि वाङ नयाँ कृषि उपकरण, घरेलु सामान र फर्निचर खरिद गर्नको लागि शहर जान्छ ।
दक्षिणमा धनी मानिसको घरबाट ओ-लानले लिएकी गहना वाङले फेला पार्छ । त्यसपछि उसले केही गहनाको प्रयोग ह्वांगको घरबाट केही जमिन किन्नमा गर्ने निर्णय लिन्छ । ओ-लानले अनुरोध गरेकीले उसले दुईवटा मोती चाहिँ राख्न दिन्छ । अब ऊ ठूलो घरमा जान्छ र बूढो मालिसकसँग आफूले केही जमिन खरिद गर्न चाहेको कुरा बताउँछ । एउटा महिला आउँछिन् र बूढो मालिकलाई पठाइदिन्छिन् । वाङले चोरहरूले घर फोरेको र घर खाली रहेको कुरा थाहा पाउँछ । वाङ लुङ जमिन खरिद गर्ने बारेमा सोच्नको लागि चिया पसल जान्छ । त्यहाँ उसलाई बूढो मालिक कुक्कूसँगै ह्वांगको घरमा बसिरहेको कुरा थाहा हुन्छ । कुक्कू धेरै वर्षसम्म दासी रहिन्, तर मालिककी पत्नीको मृत्युपछि र घर चोरहरूले लुटेपछि उनी मालिककी रखैल बनिन् । चिया पसलको मालिकले वाङलाई भन्यो, बूढो मालिकले दाहसंस्कार गर्ने ठाउँलाई छोडेर सबै सम्पत्ति बेच्नेछ भन्ने कुरा मलाई विश्वास छ । यसपछि वाङ लुङ ह्वांगको घरमा फर्किन्छ र गहना दिएर बाँकी जमिन खरिद गर्छ ।
वाङले आफ्नो साथी चिंगलाई वाली उठाउन सहयोग गर्न र घरमा बस्नको लागि आमन्त्रित गर्छ । उसका छोराहरूले भाडाका मजदूरसँगै खेतमा काम गर्नमा सहयोग गर्छन् । उसले अब ओ-लानलाई खेतमा काम गर्ने अनुमति दिंदैन, किनकि ऊ अब एक धनी मानिस भइसकेको छ । यसपछि ओ-लानले जुम्ल्याहा बच्चा जन्माउँछिन् – एउटा छोरा र एउटी छोरी । वाङले आफ्नो भाग्यलाई सुरक्षित तरीकाले निर्माण गर्ने निर्णय गर्यो, ताकि उसले फेरि कहिल्यै दक्षिणतिर जानु नपरोस् । अब ऊसँग ६ जना कृषि मजदूर थिए । उसले आफ्नो परिवारको लागि एउटा नयाँ घर पनि बनायो । मजदूरहरूलाई पुरानो घरमा बस्न दियो । चिंग अब वांगको लागि मजदूरहरूलाई काममा लगाउँथ्यो ।
वाङ आफू शिक्षित नभएको र धेरैले आफूलाई खिसी गरेकोले दुःखित थियो । त्यसकारण ऊ अब आफ्ना छोराहरूलाई बाली भित्र्याएपछि घरमा अन्नको मोलभाउ गर्नमा आफूलाई सहयोग गरून् भनेर स्कूल पठाउन चाहन्थ्यो । त्यसपछि उसले आफ्ना छोराहरूलाई गाउँको सामान्य स्कूलमा भर्ना गरिदियो, जहाँ एउटा बूढो मानिसले पनि पढाउने गर्थ्यो । स्कूलका शिक्षक र बूढो मानिसले केटाहरूको नयाँ नाम नुंग एन (ठूलोको) र नुंग वेन (सानोको) राखियो । नुंगको अर्थ धर्तीबाट आफ्नो सम्पत्ति आर्जित गर्ने व्यक्ति हुन्थ्यो ।
यसरी वाङका दिनहरू सुखसँगै व्यतीत भइरहेका थिए । तर जमिनमा फर्किएको सातौं वर्षपछि ठूलो बाढी आउँछ । वाङ लुङ बाढीको बारेमा त्यति धेरै चिन्तित हुँदैन, किनकि उसको घर उच्च ठाउँमा बनेको थियो र उसको भण्डार कक्ष अन्नले भरिएको थियो । शहरका सबै अन्न व्यापारीले वाङ लुङको पैसा तिर्न बाँकी थियो । ऊ बेचैन हुन्छ, किनकि ऊसँग केही गर्ने उपाय पनि हुँदैन । उसले चिंगलाई मजदूरहरूको व्यवस्थान गर्न भन्छ । उसका पिता धेरै बूढा भइसकेका छन् र धेरैजसो दिन सुतेरै काट्छन् । उसका पितालाई आफ्नो छोरो कति धनी भएको छ भन्ने कुरा पनि थाहा छैन । वांगले ओ-लानलाई हेर्छ र उनी अब धनी मानिसकी पत्नी बन्न लायक छैनन् भन्ने महसुस गर्छ । उसलाई अब पहिलेका केही कुरा पनि राम्रो लाग्न छोडेको छ ।
अब ऊ शहरमा घुम्न शुरु गर्छ र समय बिताउनको लागि दैनिक चिया पसलमा जान्छ । ऊ चियाको पसलमा बसेर सुन्दरी महिलाहरूको तस्वीर हेर्छ । एक दिन अचानक कुक्कू देखा पर्छिन् । वांगले उनी चिया पसलकी मालिक्नी बनेकी र यौन व्यवसायमा लागेकी छिन् भन्ने थाहा पाउँछ । कुक्कूले उसलाई तस्वीरहरू वास्तविक महिलाको भएको र ती चिया पसलको दोस्रो तलामा रहने कुरा बताउँछिन् । ऊ ती तस्वीरहरूमध्ये एउटी महिलातर्फ आकर्षित हुन्छ र उनलाई क्विन्सको रुखको फूल जस्तै सुन्दरी भएको कुरा बताउँछ ।
भूमि जलमग्न छ र वाङ लुङले अझै पनि खेतमा केही गर्नु छैन । ऊ शहरको चिया पसलमा जाने कार्य जारी राख्छ । कुक्कूले वांगलाई ऊ धनी मानिस भएको कुरा बताउँछिन् र सुन्दरी महिलामध्ये कुनै एकलाई छानेर आफ्नो मर्जी अनुसार सुख प्राप्त गर्न प्रोत्साहित गर्छिन् । वांगले कुक्कूलाई पैसा दिन्छ र कमलको फूल समातेकी सुन्दरी स्त्रीको माग गर्छ । कुक्कूले वांगलाई आफ्नो कोठामा लान्छिन् । शुरुमा त वांग केटीसँग कुरा गर्न समर्थ हुँदैन । उसले उनलाई हेरिरहन्छ र उनको सुन्दरतामा आश्चर्यचकित हुन्छ । अब ऊ उनीसँग आसक्त हुन्छ र प्रत्येक दिन त्यहीँ आउन लाग्छ । अब ऊ ती स्त्री लोटसको बारेमा नसोचीकन कुनै काम पनि गर्न सक्दैन र खाना पनि खान सक्दैन ।
वाङ लुङ आफ्ना कपडा, कपाल, सुगन्ध, आदिप्रति विशेष रूपले सजग हुन्छ । ओ-लानले उसलाई ठूलो घरको मालिक जस्तै देखिएको टिप्पणी गर्छिन् । वांगले पर्खालबाट चाँदी लिइरहेको पनि ओ-लानले थाहा पाउँछिन् । वांग अब लोटसको लागि गहना खरिद गर्न र घुम्नमा धेरै चाँदी खर्च गरिरहेको छ । एक दिन वाङ लुङ घर आउँछ र ओ-लानसँग उनको छातिमा रहेका दुई मोति पनि मागेर लिन्छ ।
वाङ लुङका काका, काकी खराब अवस्थामा गाउँ फर्किन्छन् । वाङ लुङ उनीहरू परिवारकै सदस्य भएकाले घर र खानेकुरा दिनु आफ्नो जिम्मेवारी हो भन्ने ठान्छ र उनीहरूको सबै व्यवस्थापन गर्छ । आफ्नी काकीले ओ-लानलाई शहरमा चलिरहेको आफ्नो प्रेम-सम्बन्धको बारेमा बताइरहेको कुरा वांगले थाहा पाउँछ । ऊ अब लोटसबिना रहन सक्दैन भन्ने निर्णय गर्छ र दुवैको बीचमा सम्बन्ध बनाउने कुरा गर्छ । यही आशामा वांग आफ्नो र लोटसको लागि एक छुट्टै घर बनाउँछ । ऊ धेरै अधीर हुन्छ, तर अन्ततः लोटस र कुक्कूलाई घरमा ल्याउनको लागि एक सम्झौता गर्न पुग्छ । लोटस र कुक्कू घरमा आएको दिन ओ-लान थिइनन् । उनी अन्ततः राति खाना बनाउने बेलामा आउँछिन् । यसपछि वांग हरेक रात लोटसकोमा गइरहन्छ ।
घरमा कुक्कू र ओ-लानको बीचमा दुश्मनी हुन्छ । ओ-लान अझै पनि कुक्कूलाई घृणा गर्छिन्, किनकि उनले ह्वांगको घरमा काम गरेको बेलामा कुक्कूले पिटेकी थिइन् । वांगले कुक्कूको लागि एक नयाँ भान्सा घर बनाइदिन्छ, ताकि उनले लोटसको लागि मीठा-मीठा खानेकुरा बनाउन सकून् । लोटसले काकाकी पत्नीसँग मित्रता कायम गर्छिन् । त्यसपछि कुक्कू, लोटस र काकाकी पत्नी दिनभरी बसेर मीठा-मीठा खानेकुरा खान्छन् । काकी आफ्नो आन्तरिक स्थलमा आएको कुरा वांगले मन पराउँदैन र लोटससँग उनलाई नबोलाउन भन्छ ।
वाङ लुङका पिताले लोटसलाई घरमा भएको पाए र उनलाई वेश्या भने । उनी आफ्नो छोराले घरमा दोस्रो स्त्री राखेको र गलत काम गरेकोमा बेखुशी थिए । बच्चाहरू लोटसको बारेमा जान्नको लागि उत्सुक हुन्थे र उनको घरमा पस्न लाग्थे । एक दिन वांगकी लाटी छोरीले आफ्ना कपडा छोइरहेको लोटसले थाहा पाउँछिन् र उनलाई मूर्ख भन्छिन् । लोटस क्रोधित हुन्छिन् र उनलाई बाहिर बन्द गर्नको लागि वांगलाई अनुरोध गर्छिन् । लोटसले आफ्ना बच्चालाई मूर्ख भनेकोले वांग रिसाउँछ । रिस त शान्त हुन्छ, तर अब प्रेम पहिलेको जस्तो रहँदैन । शरद ऋतुको एक दिन वांगले पानी कम भएको देख्छ र ऊ अब खेतमा काम गर्न निक्लिन्छ ।
वाङ लुङ अब प्रेम रोगबाट मुक्त भइसकेको छ र जमिनमा काम गर्न शुरु गरेको छ । अब ऊ लोटस र उनका मागहरूबाट हैरान हुँदैन । उनले बच्चा, दुर्गन्ध वा माटोले लत्पतिएका कपडाको बारेमा गुनासो गर्छिन् भन्ने पनि उसलाई कुनै परवाह छैन । ऊ जमिनमा निरन्तर काम गरिरहन्छ र यसैमा खुशी छ । अब गाउँका मानिसले पनि उसको प्रशंसा गर्छन् र ऊ एक महान घरमा बस्छ भन्ने सोच्छन् ।
बाली थन्क्याउने बेला आएपछि वांग आफ्नो सबभन्दा ठूलो छोरालाई कागजात पढ्नको लागि र तिनीहरूमा हस्ताक्षर गराउनको लागि बजार लिएर जान्छ । घर फर्किंदै गर्दा उसको छोरो विद्वान भएकोले उसलाई खेतमा काम गराउनु हुँदैन भन्ने सोच्छ र उसको विवाह गरिदिने बारेमा पनि सोच्छ । चिंगले आफ्नी छोरीसँग विवाहको प्रस्ताव राख्छ, तर वांग के सोच्छ भने एक सामान्य किसानकी छोरी उसको ठूलो छोराको लागि योग्य हुन्नन् । पछि वाङ लुङले आफ्नो दोस्रो छोराबाट ठूलो छोरो स्कूल गइरहेको छैन भन्ने कुरा थाहा हुन्छ । ऊ क्रोधित हुन्छ र ठूलो छोरोलाई त्यतिखेरसम्म पिट्छ, जतिखेरसम्म ओ-लानले उसलाई रोक्दिनन् । ओ-लानले उसलाई भन्छिन् – उसले ठूलो घरानाका युवा सरदारहरूमध्ये एककै जस्तै व्यवहार गरिरहेको छ । वांगले यो सुनेर मनमनै गर्व महसुस गर्छ ।
वाङ लुङले आफ्नो छोराको लागि पत्नी खोजिरहेको बारेमा लोटससँग छलफल गर्छ । लोटसले उसलाई लियू नामको एक अन्न व्यापारीको बारेमा बताउँछिन् । उसले चिया पसलमा आउँदा आफ्ना छोरीहरूको बारेमा बताएको थियो । वांग अन्न व्यापारीसँग सम्पर्क गर्न हिच्किचाउँछ । तर एक विहान उसको ठूलो छोरो नशाले मातेर घर आउँछ । वांगलाई उसको काकाको छोरोले उसको छोरालाई शहरकी एक बूढी वेश्याकोमा लगिरहेको कुरा थाहा हुन्छ । वाङ लुङले बूढी वेश्यालाई पैसा दिन्छ र आफ्नो ठूलो छोरासँग भेट गर्न बन्द गर्ने निर्देशन दिन्छ । त्यसपछि ऊ विवाहको व्यवस्था गर्न सकिन्छ कि भनेर कुक्कूलाई अन्न व्यापारीसँग भेट गर्न भन्छ ।
वाङ लुङ उसको काकाको छोराले आफ्नो छोरालाई मदिरा पान गर्न र वेश्याकोमा जान प्रेरित गरेकोमा धेरै रिसाएको छ । अब ऊ आफ्ना काकाकोमा जान्छ र उसको परिवारसहित उसलाई घर छोड्ने आदेश दिन्छ । काकाले आफ्नो कोट खोल्छन् र आफ्नो रातो कपडा देखाउँछन् । काका अब रेडबर्ड्स नामक चोरहरूको एक समूहको सदस्य भएको कुरा वाङ लुङलाई थाहा हुन्छ । यसपछि वांगले आफ्नो घरमा काका रहेकै खण्डमा आफ्नो परिवारलाई संभवतः कम खतरा हुन्छ भन्ने सोच्छ र उनीहरूलाई बस्न दिने निर्णय गर्छ । वांग आफ्नो घरका समस्याहरूबाट बच्नको लागि खेतमा काम गर्ने कामलाई जारी राख्छ । खेतमा अब सलह (फट्यांग्रा) को महामारी छ, जससँग उसले र उसका मजदूरहरूले लड्नु परिरहेको छ । वांग अब उत्कृष्ट खेतहरूलाई बचाउनमा सक्षम भएको छ ।
वाङको छोराले आफ्ना पितासँग गाउँका शिक्षकबाट थप केही सिक्न नसकिने भएकोले विद्वान बन्नका लागि दक्षिण जाने कुरा गर्छ । आफ्नो छोराको रूप-रंगप्रति घृणा गर्दै वांग उसलाई खेतमा काम गर्न पठाउँछ । पछि लोटसले वांगलाई उसको छोरो दक्षिण जानको लागि बेचैन भइरहेको कुरा बताउँछिन्, तर ऊ तुरुन्तै यो कुरालाई खारेज गरिदिन्छ । एक दिन ओ-लानबाट वांगलाई उसको छोराले लोटस भएको भित्री प्रांगणमा समय बिताइरहेको थाहा हुन्छ । त्यसकारण ओ-लान छोरालाई दक्षिण पठाउनु नै उपयुक्त हुन्छ भन्ने सोच्छिन् । वाङलाई उसको छोरो लोटसको भित्री प्रांगणमा जान्छ भन्ने कुरा विश्वास नै हुँदैन । वाङ अर्को दिन गाउँ जाने नाटक गर्दछ, र चुपचाप घरको निगरानीको लागि फर्किन्छ । अब उसले ओ-लानले भनेजस्तै उसको छोरो पनि लोटसलाई भेट्न भित्री प्रांगणमा प्रवेश गरिरहेको देख्छ । वांगले आफ्नो छोरालाई बेस्सरी पिट्छ र उसलाई दक्षिणतिर पठाइदिन्छ ।
ठूलो छोरो गएपछि वाङले केही राहत महसुस गर्छ । अब वाङ उसको दोस्रो छोरालाई अन्न व्यवस्थापनको सिकारुको रूपमा पठाउने निर्णय गर्छ । अन्न व्यापारीले आफूलाई भेट गर्छ कि भनेर सोध्नको लागि वांगले कुक्कूलाई पठाउँछ । लियू वांगको दोस्रो छोरालाई सिकारु बनाउन र आफ्नो छोराको मँगनी वांगकी छोरीसँग गर्नको लागि सहमत हुन्छ । वांगकी छोरीले पितालाई आफ्नो खुट्टा दुखिरहेको कुरा बताउँछिन् । ओ-लानले आफ्नो खुट्टा बाँधेर राख्नु भनेको र यदि खुट्टा बाँधिनरहने हो भने उसको हुनेवाला पतिले उसलाई प्रेम गर्दैन भनेको कुरा पनि उनले पितालाई बताउँछिन् । ओ-लानको टिप्पणीबाट वांग हैरान हुन्छ । उनले जे गरिरहेकी छिन्, त्यो साँचो हो भन्ने कुराले अझ दुःखी हुन्छ । वाङ लुङलाई खेतको हेरविचारको लागि कसैको आवश्यकता पर्दछ, त्यसकारण उसले आफ्नो सबभन्दा कान्छो छोरालाई घरमै राख्ने निर्णय गर्छ । पछि एउटा डाक्टरले वाङ लुङलाई उसको छिट्टै मृत्यु हुँदैछ भन्ने कुरा गर्छ । डाक्टर गएपछि वाङ लुङ भान्सामा जान्छ र रुन्छ ।
ओ-लान ओच्छ्यानमा पल्छिरहेकी छिन् र केही पनि काम गर्न सकिरहेकी छैनन् । अब वाङलाई घरमा उनको कति धेरै महत्त्व थियो भन्ने महसुस हुन्छ, किनकि उनीबिना के गर्ने भन्ने कसैलाई थाहा हुँदैन । वांगका पिता बेचैन छन्, किनकि ओ-लानले उसलाई सान्त्वना दिन सक्दिनन् । वांग सधैं ओ-लानको बारेमा सोचिरहन्छ । ऊ उनलाई तातो बनाउनको लागि कोठामा आगो बालिरहन्छ । वांग बाहिर जान्छ र ओ-लान तथा आफ्नो पिताको लागि कफन खरिद गर्छ । नयाँ साल आउँदै गर्दा ओ-लानको अवस्थामा केही सुधार आउँछ र उनी आफ्नो ठूलो छोराकी हुनेवाली पत्नीलाई नयाँ वर्षको तयारीबारे सिकाउनलाई घरमै बस्न भन्छिन् । नोकर र नोकर्नीहरू सँगै आउँछन् र ओ-लानलाई सान्त्वना मिल्छ, किनकि उनको हेरविचार गर्नको लागि एक महिला पनि छिन् । ओ-लानको अनुरोधमा ठूलो छोरालाई उसको विवाहको लागि शहरबाट घर ल्याइन्छ । विवाह समारोहको केही समयपछि ओ-लानको मृत्यु हुन्छ । त्यसपछि केही दिनभित्रै वांगका पिताको पनि मृत्यु हुन्छ । वाङले ओ-लान र उसका पितालाई आफ्नो खेतको उच्च ठाउँमा खजूरको रूखमुनि दफन गर्छ ।
चिंगले वांगलाई पहिले कहिल्यै नआएको बाढी आउने कुराको संकेत दिन्छ । अब छिट्टै गाउँ द्वीप जस्तै बन्यो । दिनप्रतिदिन वर्षा भइरहन्थ्यो । वांगको घर त सुरक्षित छ, किनकि यो उच्च ठाउँमा बनेको थियो । ऊ धनी भइसकेको थियो, त्यसकारण ऊसँग बाढी आएको बेलामा पनि आफ्ना परिवारको भरणपोषणको लागि धेरै पैसा र अन्न जम्मा भएको थियो । बाढीको कारण त्यो वर्ष कुनै वाली उत्पादन हुनसकेन । मानिसहरू भोकले मरिरहेका थिए र घरबारविहीन भइरहेका थिए ।
वांगको काकाको छोरो युद्धबाट फर्किएको थियो र घरको वरिपरि घुमिरहेको थियो । वांगको ठूलो छोराले उसको बारेमा गुनासो गर्न शुरु गर्दछ; वांगको काकाको छोराले आफ्नी पत्नीलाई नराम्रो दृष्टिले हेरिरहेको र उनलाई असहज भइरहेको कुरा गर्छ । वांगले आफ्नो छोरालाई काकाको परिवारको बारेमा सबै कुरा बुझाउँछ र उनीहरूलाई निकाल्न नसकिने कुरा पनि बताउँछ । ठूलो छोराले काकाको परिवारलाई निस्क्रिय नपुर्याउनको लागि अफीम खरिद गर्ने सुझाव दिन्छ । एक रात काकाको छोराले आफ्नी छोरीलाई नराम्रो व्यवहार गरिरहेको देख्दा वांग उदास हुन्छ । उसले आफ्नो तेह्र वर्षकी छोरीलाई सुरक्षा दिनको लागि लियूसँग राख्न लिएर जान्छ । फर्किएर आउँदा उसले ६ आउन्स अफीम खरिद गर्छ ।
वाङले आफ्ना काकालाई अफीम दिन्छ र आफ्नो पिताले धेरै दुखाईको बेला यसको प्रयोग गर्थे भन्छ । काकाले लालचपूर्ण ढंगले अफीम लिन्छ र तुरुन्तै घरभरी यसको गन्ध फैलिन्छ । वांगलाई यसबाट केही फरक पर्दैन, किनकि यसबाट उसलाई शान्ति मिल्छ । विस्तारै बाढी रोकिन्छ र मानिसहरू गाउँ फर्किन लाग्छन् । उनीहरूले आफ्नो जीवन पुनः शुरु गर्नुपर्ने हुन्छ र उनीहरूलाई पैसाको पनि आवश्यकता पर्छ । अब वांग उच्च व्याजदरमा पैसा ऋण दिन शुरु गर्छ । केही अन्य मानिसहरू पैसाको लागि आफ्ना छोरी र जमिन बेचिरहेका हुन्छन् । वाङ लुङले आफ्नो घरको लागि ६ जना अरु दास खरिद गर्छ । वांगको ठूलो छोरो अझै पनि बेचैन छ, किनकि काकाको छोराले अझै उसकी पत्नी र लोटसमाथि कुदृष्टि दिइरहेको छ । उसले गाउँको ठूलो घरमा जाने सुझाव दिन्छ । वाङ लुङ हिच्किचाउँछ, तर छोराले ह्वांगको घर किन्ने सुझाव दिएपछि ऊ सहमत हुन्छ । र, दोस्रो छोरो पनि उनीहरूले एकै छतमुनि रहनुपर्छ भन्ने कुरामा सहमत हुन्छ ।
अब वाङ छिट्टै घर बदल्ने प्रक्रिया शुरु गर्छ । उसको ठूलो छोरो घर भाडामा लिने व्यवस्था गर्छ र दोस्रो छोरो वांगलाई घर बदल्नमा मद्दत गर्छ । लोटस, कुक्कू, दासहरू, ठूलो छोरो र उसकी पत्नी तथा उसका नोकर ह्वांगको घरमा जान्छन्, जबकि वाङ लुङ, सबभन्दा कान्छो छोरो, लाटी छोरी, काकाको परिवार र खेत मजदूर पुरानै घरमा बस्छन् । वांगले चिंगलाई आफ्नो दोस्रो छोराकी पत्नीको लागि नोकर्नीको खोजी गर्न भन्छ । चिंगले तीन गाउँ टाढा एउटी नोकर्नी पाउँछ र वाङ लुङले कागजातमा हस्ताक्षर गरिदिन्छ । वाङ लुङले राहत महसुस गर्छ । वांगसँग धेरै जमिन छ, त्यसकारण उसले आफ्नो खेत गाउँलेलाई खेती गर्नको लागि भाडामा दिन शुरु गर्छ । पुरानो घरमा धेरै काम गर्न बाँकी रहेकोले ऊ आफ्ना परिवारका बाँकी सदस्यसहित ह्वांगको घरमा जान्छ । उसले आफ्ना काकाको परिवारलाई पुरानै घरमा छोडिदिन्छ । काकाको छोरो घर छोडेर सेनामा भर्ना भएकोले र काका-काकी शान्तिपूर्वक बसेर दिनभरी अफीम सेवन गरिरहने भएकोले वांगलाई अब धेरै कम दुःख महसुस भएको छ । वांगको ठूलो छोराबाट एक पुत्र हुन्छ । यही क्रममा एउटा नयाँ खेत मजदूरले भूलबस फालीले हान्दा वांगको मित्र चिंगको मृत्यु हुन्छ । वांगले चिंगलाई परिवारकै चिहानको पर्खालको ठीक बाहिर दफन गरिदिन्छ ।
वाङको दोस्रो छोराको छिट्टै विवाह हुनलागेको छ । जेठो छोरालाई आफ्नो भाइको विवाहको लागि घरमा मेच, कुर्सी र कचौराहरू हुनुपर्छ भन्ने लाग्छ । उसले परिवारका मानिसहरूलाई ठाउँ बनाउनको लागि अरु मानिसलाई बाहिर आँगनमा राख्ने कुरा सोच्छ । वांगले उसलाई जेसुकै गर तर मलाई दुःख नेदेउ भन्छ । छिट्टै घर सजावटले भरिन्छ र अरु मानिसलाई आँगनबाट बाहिर निकाल्छ । आँगनलाई पनि सजाइन्छ । गाउँमा अब उसलाई वांग किसान परिवारको रूपमा होइन, बरु धनी वाङ भनेर चिनिन्छ ।
वाङ लुङले सबै छोराहरूलाई गाली गरिरहेको छ । ठूलो छोरो धेरै पैसा खर्च गरिरहेको छ, दोस्रो छोरोले वांगको वित्तीय मामिलाको व्यववस्थापान गरिरहेकोले उदास छ । सबभन्दा कान्छो छोरो खेतमा काम गर्नमा खुशी छैन, त्यसकारण वांगलाई उसको लागि एक शिक्षक राखिदिन्छ । समयक्रमसँगै जाडो मौसम आउँछ र यो वर्ष धेरै चीसो हुन्छ । वाङ आफ्ना काका र काकीको लागि एक जोडी कफन खरिद गर्छ । उनीहरू अब सुकेका काठ जस्तै भएका छन्, किनकी उनीहरूले लामो समयदेखि अफीमको नसा लिइरहेका छन् । काकाको मृत्यु हुन्छ र उसलाई वाङको पिताकै छेउमा दफन गरिन्छ । अब काकाकी पत्नी ह्वांगको घरमा जान्छिन् ।
अब उनीहरूको गाउँको निकटसम्म युद्ध पुगिसकेको छ । एक दिन सैनिकहरूको एक समूह आइरहेको हुन्छ र वांगलुंगको भतिजाले आफ्नो काकालाई चिन्छ । भतिजाले आफ्ना सैनिक साथीहरूलाई ह्वांगको घरमा लिएर जान्छ र उनीहरू बाहिरी प्रांगणमा घुम्छन् । भतिजालाई भित्री प्रांगणमा जाने अनुमति हुन्छ, किनकि ऊ परिवारको सदस्य हो र उसकी आमा अझै जीवितै छिन् । महिलाहरू काकाको छोरासँग डराउँछन् र उनीहरूले भतिजालाई व्यस्त राख्ने एक तरीका निकाल्छन् । उनीहरूले उसलाई आफ्नो रुचिको दासी राख्ने अनुमति दिन्छन् । भतिजाले पियर ब्लोसमलाई छनौट गर्छ, तर पियर ब्लोसमले आफूलाई बचाउने भीख मागेपछि वांगले काकाको छोरालाई अर्को दासीको लागि प्रोत्साहित गर्छ । लोटसले वाङ लुङलाई पियर ब्लोसमलाई भित्री प्रांगणमा बस्न अनुमति दिएकोमा कहिल्यै माफ गर्दिनन्, किनकि उनले तिनको आदेश मान्दिनन् । लोटस काकाको छोरासँग धेरै डराउँछिन् । अन्ततः भतिजा र उसका साथी सैनिक अगाडि बढ्छन् ।
सैनिकहरू गएपछि घरको मर्मत गरिन्छ । केही समयपछि वांगकी काकाकी पत्नी अफीमको नसाको लतमा मर्छिन् । उनको छोराकी दासीबाट एक बच्चीको जन्म हुन्छ । यी दासीले अन्ततः भूलबस चिंगलाई मार्ने दास मजदूरसँग विवाह गरिन् । वाङ लुङ अब लगभग ६५ वर्षको भएको छ र उसका पाँच जना नाति-नातिना भइसकेका छन् । उसले अर्को छोराको पनि विवाह हुन्छ र शान्तिपूर्वक बस्छु भन्ने आशा गरिरहेको छ ।
घरमा दुई छोरा र उनीहरूका पत्नी लगातार एक-अर्कोसँग झगडा गरिरहन्छन् । जेठो छोराले धेरै खर्च गरिरहेको कुरा दोस्रो छोराले सोच्छ । भाइसँग पैसाको नियन्त्रण भएकोले दाजु बेखुशी छ । तुरुन्तै वांगका दुवै छोराका पत्नीहरू झगडा गर्न लाग्छन् र घरमा रीसको आगो बल्न लाग्छ । एक दिन वांगलाई पियर ब्लोसममाथि वासनापूर्ण दृष्टिले हेरेको आरोप लाग्छ, तर वाङ लुङले यस्तो गरेको थिएन । वाङ लुङ अब एक्लोपन महसुस गरिरहेको थियो र पियर ब्लोसम धेरै तरुनी र राम्री छिन् भन्ने सोच्न लागिरहेको थियो ।
वाङ लुङले आफ्नो दिमागबाट पियर ब्लोसमलाई निकाल्न सकिरहेको थिएन । ऊ आफ्नो सानो छोराको लागि उनी राम्रो जोडी हुन्छिन् भन्ने सोच्छ, तर मनमनै उनी आफ्नो लागि होऊन् भन्ने पनि चाहन्छ । उसले पियर ब्लोसमलाई मेरो कान्छो छोरासँग विवाह गर्छ्यौं भनेर सोध्छ । उनी यो विचारबाट हिच्किचाउँछिन् र आफूलाई बूढो मान्छे मनपर्ने कुरा गर्छिन् । त्यसपछि वांगले उनलाई उठाउँछ र आफ्नो कोर्टमा लिएर जान्छ । शुरुमा त वांगले कसैलाई पनि यो सम्बन्धको बारेमा बताउँदैन । त्यसपछि उसले पियर ब्लोसमसँगको सम्बन्धको बारेमा कुरा गर्न आफ्ना छोराहरूलाई एक-एक गरी बोलाउँछ । दोस्रो छोरालाई यो सम्बन्धको बारेमा परवाह हुँदैन, सबभन्दा सानो छोरो वांगलाई ईर्ष्या गर्छ । त्यसपछि तेस्रो छोरो आउँछ र आफ्ना पिताले पियर ब्लोसमलाई घरमा सामेल गरेमा बेखुशी हुन्छ । अब उसले वाङ लुङलाई भन्छ – म सैनिक बन्न जाँदैछु ।
वाङ लुङ पियर ब्लोसमलाई प्रेम गर्छ । तर तिनीहरूको सम्बन्ध पिता-पुत्रीको जस्तो हुन्छ । ब्लोसमले वांगलाई राम्रोसँग हेरविचार गर्छिन् र उसको आन्तरिक प्लेटफर्ममा सुरक्षित महसुस गर्छिन् । वांगले पियर ब्लोसममाथि भरोसा गर्छ र आफ्नो मृत्यु भएपछि आफ्नी लाटी छोरीको हेरविचार गर्नको लागि भन्छ । उनी समय आएपछि भातको कचौरामा ती लाटी छोरीलाई विष खुवाउन सहमत हुन्छिन् । वांग अब थकित भइसकेको छ र आफ्नो धेरैजसो समय यता र उता सुतेर बिताउँछ । ऊ कहिलेकाहीं लोटस र उसका छोराहरूकोमा पनि जान्थ्यो । तिनीहरू सबै धेरै विनम्र छन्, तर उसले आफ्ना छोराहरूकोमा एक बाहिरी व्यक्ति जस्तै महसुस गर्छ । अब ऊ उनीहरूकोमा जान बन्द गर्छ र आफ्नो परिवारमा के भइरहेको छ भन्ने कुराको जानकारीको लागि कुक्कूमाथि निर्भर हन्छ ।
हरेक वशन्तमा वांग आफ्नो खेतमै रहनको लागि एक नोकरसँगै पुरानो माटोको घरमा जान्छ । वाङ लुङले मजूरहरूलाई खेतमा काम गरिरहेको देख्छ, किनकि अब ऊ काम गर्न सक्ने स्थितिमा थिएन । उसले आफ्नो ठूलो छोराबाट उसको लागि एक बलियो कफन छान्छ र बाँकी दिन पुरानो माटाकै घरमा बस्ने योजना बनाउँछ । वाङ लुङ धेरै वृद्ध भएको थियो । एक दिन ऊ ठक्कर खाएर लड्यो । उसका छोराहरू ऊ मरेपछि जमिन बेचिदिने सल्लाह गरिरहेका थिए । उसको लागि यो कुरा असह्य थियो । उसलाई ह्वांगको धनी घरानाले धर्तीसँग सम्बन्ध तोडेर बरवाद भएको पुरानो दिन स्मरण भयो । वाङ लुङ क्रोधले काम्यो । त्यसपछि उसका पुत्रहरूले उसलाई धर्ती नबेच्ने कुराको आश्वासन दिए । तर वृद्ध वाङ लुङले उनीहरूको हाँसोमा व्यंग्य देख्न सकेन । र, एक दिन वृद्ध वाङ लुङ सदाको लागि धर्तीबाट बिदा भयो ।
सन्दर्भ स्रोतहरू
1. https://dn720305.ca.archive.org/0/items/goodearth00buck_1/goodearth00buck_1.pdf
2. संसार के महान उपन्यास, डा. रागेय राघव, हिन्दी, राजकमल प्रकाशन, दिल्ली
3. https://lup.lub.lu.se/student-papers/search/publication/8954253
4. Study and Research of various websites, bologs, books, online portals, youtube channels, etc.



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

