
चरित्र अनुकूल संवाद, आत्मसंलाप, अन्तर्मुखी प्रवृत्तिगत मूल्यहरू पनि कथोपकथनकै माध्यमबाट व्यक्त हुन्छन् । यसमा बौद्धिक गहिराइ, शैलीगत नवीनता, भाषिक दक्षता पनि स्पष्ट हुन्छन् ।
००००
परिचेय सचेन राई दुमीको साहित्यिक व्यक्तित्वः
बहुमुखी प्रतभाका धनी साहित्यकार श्री सचेन राई दुमी कवि-गीतकार, कथाकार, निबन्धकार, समालोचक, सम्पादक तथा अनुवादका रूपमा सर्व परिचित छन् दुमीका हालसम्म ३ कवितासंग्रह ’मलाई के भन्ला (२००३)’, ‘जीवन कविता हो, कविता जीवन (२००९)’, ‘प्रस्फुटन (श्रद्धाञ्जलिमूलक कवितासंग्रह-२०१३)’, साथै एउटा गीति-कविता मिश्रित भाल तरङ्ग (२००१) प्रकाशनमा आइसकेका छन् । यसबाहेक बाह्र वार्ताहरू (रेडियो वार्ताहरूको सङ्गालो-२००५), अतीतका रङ्गहरूः जीवनको प्रथम दुई दशक (संस्मरण संग्रह-२०१६), बीसौं शताब्दीको प्रथम शतक (निबन्ध) र राष्ट्रिय शिक्षा नीति अनि दार्जीलिङ (प्रबन्ध) आदि निबन्धपरक कृति र समालोचना संग्रहहरू पनि प्रकाशित छन् ।
नेपाली र अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका श्री दुमी गम्भीर अध्येता पनि हुन् र लगभग चार दशक अधिक शिक्षण सेवामा बिताएका छन् । उनले आफ्ना जीवनका विभिन्नका उतार-चढाउ, स्थिति-परिस्थितिलाई आफ्ना लेखनीमा जीवन्त ढङ्गमा उतारेका छन् । उनका हालसम्म प्रकाशित कृतिहरू अध्ययन मनन गर्दा उनले शैक्षिक मनोविज्ञान, इतिहास, समाज, भाषा, संस्कृति आदि धेरै विषयको अध्ययन-अनुशीलन गरी गम्भीरतापूर्वक लेखेका छन् ।
* * * *
काव्यचेतना –

सचेन राई
कवि-गीतकार दुमीले आफ्ना कविता र गीति रचनामा समाजको जल्दोबल्दो स्थितिबारे आफ्नो भावलाई अभिव्यक्त गरेका छन् । आदर्शोन्मुख चिन्तनलाई सकेसम्म अघि सारेका छन् । यस अर्थमा उनी सामाजिक सुधारवादी, आदर्शवादी कवि हुन् । उनका कविता र गीतिरचनाहरूको भाषा सरल, सहज र सरस किसिमको छ । कविता र गीतमा नचाहिँदो बिम्ब- प्रतीक र मिथकहरूको प्रयोग गरिएको छैन ।
दुमीले आफ्ना काव्यरचनामा जतिसक्दो कवितामा हुनुपर्ने मिष्ठता, सुष्ठुता र कोमलतालाई उतार्ने प्रयास गरेका छन् । जीवनका अनुभव-अनुभूति, आरोह-अवरोह तथा आफूले जीवनमा देखे-भोगेका कुराहरूलाई सकेसम्म यथार्थ ढङ्गमा प्रकट गरेका छन् । उनका कविताको लेखनपक्ष भन्दा चिन्तन पक्ष निकै दरिलो देखिन्छ । कविता लेखनमा नियति, सामाजिक विसङ्गति र विडम्बना, देशप्रेम, मानवप्रेम र ईश्वरप्रेम, गम्भीर दार्शनिक भाव, जातीय र अस्तित्व चेतना, सामाजिक आदर्श, स्थानीय रङ्गचेत, मानवीय संवेदना आदिलाई अभिव्यक्त गरिएको छ । समालोचना र कथालेखनको अलिक अग्लो छहारीमा परेर हुनसक्छ उनको कविता र गीतिलेखनको उँचाइ, मोटाइ र गहिराइ भने केही सामान्य प्रकृतिको पो हो कि भन्ने भान पर्दछ । तथापि उनका कविता-गीतले दिने सामाजिक सन्देश र संवेदना भने उनका अन्य सिर्जनात्मक र समालोचनात्मक लेखनले दिन सकेको छैन । यस आधारमा मूल्याङ्कन गर्दा उनले आफूलाई मनमा लागेको कुरा कि कवितामा कि त कथालेखनमा अभिव्यक्त गरेका छन् । उनको मिश्रित भाव तरङ्ग (२००९)- गीतिसंग्रहमा जम्मा ६० वटा मिश्रित भावधाराका गीति रचना समाविष्ठ रहेका छन् । प्रत्येक गीतमा भावानुरूप शीर्षक दिइएको छ ।
समालोचना लेखनशिल्प –
सचेन राई दुमी मूलतः प्रभाववादी समीक्षक हुन् । कुनै प्रचलित सिद्धान्त पढेर वा सिद्धान्तलाई अघि राखेर उनी समालोचना लेख्दैनन् । साहित्यिक कृति पढेर त्यसबाट उब्जेका मानसिक प्रभावलाई लिएर नै उनले समीक्षा लेख्ने गरेका छन् । कृतिको भाव र शिल्प पक्ष, वस्तुतात्त्विक सन्दर्भ र अर्थबारे प्रकाश पारिएको देखिन्छ ।
उनका अधिकांश समालोचनामा सकेसम्म विवेच्य कृतिको गहन अध्ययन-अनुसन्धान गरी तिनको विश्लेणात्मक मूल्याङ्कन गरिएको हुन्छ । उनको पहिलो समीक्षामूलक पुस्तक ‘केही प्रबन्ध केही समीक्षा’मा ‘एरिस्टोटलको विरेचन सिद्धान्त’, ‘प्रगतिवादी साहित्य : एक चिन्तन’, ‘एरिस्टोटलका रचनाहरू’, ‘प्राचीन अंग्रेजी साहित्यको शुरूवात्’, ‘प्राचीन अंग्रेजी साहित्यका कविताहरू’, ‘फ्रान्सिस बेकनको मतमा प्रतिशोध’, ‘कवि जगत राई विश्व’, ‘विश्वेश्वरप्रसाद कोइराला : कृतिहरू’, ‘सम्प्रेषण सिद्धान्त’ शीर्षक समीक्षात्मक लेखहरू सङ्कलित रहेका छन् ।
यस पुस्तकमा एरिस्टोटलको काव्य सम्बन्धमा तीनवटा लेख समाविष्ट रहेका छन् । एरिस्टोटलको जीवनीको सापेक्षतामा उनको कृतित्व र उपलब्धिबारे गहिरो अध्ययन गरिएको छ । ‘प्रगतिवादी साहित्य एक चिन्तन’ शीर्षक लेखमा प्रगतिवादी साहित्यको लेखनगत विकास, यसका मुख्य-मुख्य प्रवृत्तिगत विशेषताहरूबारे प्रकाश पारिएको छ ।
यसबाट उनको पाश्चात्य साहित्यको अध्ययन निकै फाँटिलो रहेको स्पष्ट बुझिन्छ । एरिस्टोटलदेखि लिएर प्राचीन अंग्रेजी कविता, फ्रान्सिस बेकन, सम्प्रेषण सिद्धान्त, नेपाली साहित्यका स्वनामधन्य साहित्यकार विश्वेश्वरप्रसाद कोइराला, दार्जीलिङकै जगत राई विश्व आदिका कृतिहरूबारे पनि खँदिलो समीक्षा गरेका छन् ।
उनी कृतिभित्र पसेर मिहिन रूपमा कथ्य र तथ्य, वस्तुसन्दर्भ र अर्थ केलाउन-जिलाउनमा निकै मेहनत गर्छन् । अतः उनको समालोचनामा कृतिभित्रका आन्तरिक पक्षहरूको गहिरो अध्ययन-अनुशीलन गरी बाह्य सन्दर्भहरूको समेत रेखाङ्कन गर्ने अभिरूचि रहेको पाइन्छ ।
निबन्ध लेखनशिल्प –
निबन्धलेखन क्षेत्रमा सचेन राईको योगदान निकै उल्लेखनीय रहेको छ । उनले शिक्षण क्षेत्रमै आफनो जीवनको आधाभन्दा बढी उमेर बिताएका हुनाले शिक्षा र समाजसित सम्बन्धित अनेकौं विषयमा केही लेख लेखेका छन् । उनको राष्ट्रिय शिक्षा नीति अनि दार्जीलिङ (पूर्वार्द्ध, सन् १९९०), भाषा : नेपाली कि गोर्खा (सन् १९८८), बीसौं शताब्दीको प्रथम दशक (सन् २०१८) बाह्र वार्ताहरू (सन् २००५), अतीतका रङ्गहरू : जीवनको प्रथम दुई दशक (२०१७), Mingled (Collection of miscellaneous articles, अङग्रेजीमा, सन् २०१८) आदि निबन्धपरक पुस्तकहरू प्रकाशित छन् ।
यी पुस्तकहरूमा उनले आफ्नो जीवनकालका विविध अनुभव र ज्ञान, सूचना र तर्क आदिलाई सहज ढङ्गमा प्रस्तुत गरेका छन् । उनका प्रायः सबैजसो निबन्ध विषयपरक, वस्तुपरक र विश्लेषणात्मक प्रकृति र प्रवृत्तिका छन् । कुनै एउटा विषयमा केन्द्रित रहेर आफ्नो अनुभवी विचार-चिन्तन प्रकट गरिएको पाइन्छ । निबन्ध क्षेत्रमा शिक्षा, अनुशासन, भाषा, साहित्य संस्कृति, इतिहास आदि विषयमा उनको कलम चलेको देखिन्छ ।
लेखकले बीसौं शताब्दीको प्रथम दशकलाई केही खोजी केही तथ्याङ्क भनेका छन् । यस पुस्तकमा सन् १९०० देखि १९१० सम्म विश्वमा घटित केही मुख्य मुख्य राजनैतिक, सामाजिक घटना, भारतको राजनैतिक वैज्ञानिक घटनादि तथा विश्वसाहित्यको सापेक्षतामा नेपाली साहित्यको रेखाङ्कन गरिएको छ । साहित्येतिहासमा चासो राख्ने जो कोही अध्येताहरूलाई आफ्नो अध्ययन-अनुसन्धानमा निकै उपयोगी सिद्ध हुने देखिन्छ ।
राईज्यू एकजना सफल वार्ताकारका रूपमा पनि देखा परेका छन् । उनले बाह्र वार्ताहरू भन्ने पुस्तकमा आफूले कुनै एउटा विषयमा, कुनै एक लेखकका बारेमा र तीनजना साहित्य सर्जकहरूसित लिएको साहित्यिक अन्तर्वार्तालाई समेटेका छन् ।
यस पुस्तकको अध्ययनबाट पाठक-समाजले धेरै विषयका सूचना हासिल गर्नेछन् । ‘एक एक एघार’ शीर्षक वार्तामा मानव जीवनमा एकता, सामाजिक, राजनैतिक, पेशागत एकता, राष्ट्रिय एकता आदिबारे विचारपरक वार्ता प्रस्तुत गरिएको छ । भारतको राजनीतिमा असहयोग आन्दोलनले पुर्याएको योगदानबारेका इतिहासपरक तथ्यहरू वार्तामा राखिएको छ । यसका साथै प्रसिद्ध बौद्ध अध्येता सोमा डि कोरसको जीवनी, कृतित्व तथा दार्जीलिङ बसाइबारे विस्तृत रूपमा वार्तामा राखिएको छ । कथाकार-उपन्यासकार प्रेमचन्दका कथामा साहित्यमा पाइने देशप्रेम र आफ्नो देशप्रति तीव्र भावना, गरीबी तथा भारतीय समाजको वास्तविक चित्रणबारे आफ्नो विचार प्रकट गरिएको छ ।
डा. लक्खीदेवी सुन्दाससित लिइएको साहित्य विषयक अन्तर्वार्तामा दार्जीलिङमा नेपाली भाषा-साहित्यको विकास र परम्पराको रूपरेखा केलाउँदै समसामयिक साहित्यिक प्रवृत्तिमाथि पनि चर्चा गरिएको छ । यसमा डा. सुन्दासले लीलालेखनबारे पनि आफ्नो अवधारणा राख्दै आफ्नो बुझाइ अनुसारको व्याख्या गरेकी छन् भने साहित्यकार आर. पी. लामासित नेपाली साहित्य सम्मेलन, दार्जीलिङ र नेपाली साहित्यमा यसको योगदानबारे लिएको अन्तर्वार्ता पनि यसमा समावेश गरिएको छ । नेपाली साहित्य सम्मेलन, दार्जीलिङको योगदान अतुलनीय, गरिमामय र ऐतिहासिक रहेको तथ्यबारे प्रकाश पारिएको छ । यस संग्रहमा आफूले आकाशवाणी खरसाङमा प्रस्तुत गरेका वार्ता र अन्य प्रयोजनको निम्ति अरूसित लिइएको अन्तर्वार्तालाई लिपिबद्ध गरी पुस्तक तयार गरिएको छ । प्रस्तुत पुस्तकमा विविध कुरोको जानकारी छ, अनुभव र अनुभूति सिँचिएको छ, ज्ञान र विचारको सग्लो अभिव्यक्ति भएको छ । वस्तुतः उनको निबन्ध लेखनमा समीक्षात्मकता, विवरणात्मकता र वर्णनात्मकता जस्ता प्रवृत्तिगत विशेषताहरू देखिन्छन् ।
सम्पादन र अनुवादकला –
सचेन राई दुमी पनि एक कुशल सम्पादक पनि हुन् । उनले सम्पादन गरेको वितर्क भन्ने पत्रिका ६ अङ्कसम्म निरन्तर रूपमा प्रकाशनमा आएको हो । उनले वितर्क साहित्यिक पत्रिकाका अतिरिक्त साकेला (किरात खम्बू राई एसोसियसनको मुखपत्र) दियालो (नेपाली साहित्य सम्मेलन, दार्जीलिङको मुखपत्र), चोखो परिवेश (पर्यावरण बुलेटिन) पत्रिकाका साथै नेपाली कि गोर्खा (१९८८)- शीर्षक पुस्तकको पनि सम्पादन गरेका छन् ।
दुमीको बोज्यूले भनेका कथा (अनूदित बालउपन्यास)- कृतिले साहित्य अकादमी नयाँ दिल्लीबाट अनुवाद क्षेत्रको अकादमी पुरस्कार वर्ष सन् २०२१ ले सम्मानित र पुरस्कृत समेत बनेका छन् । आफ्नै सिर्जनाहरूलाई पनि उनले अङ्ग्रेजीमा उल्था गरेका छन् भने दुई वटा सिङ्गो पुस्तक अङ्ग्रेजीमै प्रकाशनमा ल्याएका छन् । यस दृष्टिले अङ्ग्रेजी भाषामा पनि उनको राम्रो दखल रहेको देखिन्छ ।
‘कथोपकथन’ संग्रहमा कथावस्तु र शिल्पसन्दर्भ –

कथोपकथन
कथाकार दुमीको ‘कथोपकथन’ कथासंग्रहमा कथोपकथनलगायत शिकार खोजौं न, छोटो यात्राको सानो घटना, जीवन-निर्वाहको साधन, बठ्याइँ अझै यथावत्, बात अधुरै रह्यो…, के एमज्यू, कथा अन्तर्मनको, रहल कथा चाहिँ अर्को भेटमा है र हाँस उठिरह्यो शीर्षक कथाहरू सङ्गृहित छन् । कथ्यविषय चयनको सन्दर्भमा दुमी नेपाली साहित्यका प्रसिद्ध कथाकार शिवकुमार राईको विचारलाई पैँचौं लिँदै यसप्रकार आफ्नो मन्तव्य प्रकट गर्छन्- ‘कथाको विषयवस्तु, घटनावस्तु खोज्न कहीँ जानै पर्दैन । हाम्रै वरिपरि, बिहानदेखि बेलुकीसम्म एक दिनको समय, एक घण्टाको समयावधिमा हाम्रो जीवनमा अनेकौं कथाबन्न लायकका घटनास्थितिहरू घटिरहेका हुन्छन् । तर हामीले गम्भीरतापूर्वक लिएकै हुँदैनौं । शिवकुमार राईले –खरले छाएको थेप्चे घरभित्र, खेतको कान्लाको छहारीमन्तिर, तिरतिरे धाराको चप्लेटी ढुङ्गामाथि, झण्डा-डाँडाका द्यौराली पल्लापट्टि औ नेहुली बनको कलकले खोलाभित्र हाम्रा नायक-नायिकाहरू लुकिबसेका हुन्छन्…।’
उनका कथामा आफ्नै वरिपरिका गाउँबस्तीका मानिसहरूकै कुरा, सन्दर्भ र घटनालाई लिएर कथावस्तु बुनिएको हुन्छ । कथाहरूमा आफ्नै जीवनका केही वास्तविक घटनालाई पनि कथ्यवस्तु बनाइएको छ । कथोपकथन शीर्षक कथामा आफ्नी पत्नीसित गरेको वार्तालापलाई पनि कथाको रूपमा प्रस्तुत गरिएको छ ।
कथालाई स्वाभाविक रूपमा अघि बढाउनमा कथोपकथनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । कथोपकथनले कथामा प्रवाहशीलता, सजीवता र कौतुहलता उत्पन्न गराउँछ । कथामा कथोपकथन मूलतः कार्यसिद्ध गर्न विशेष सहायक बन्दछ साथै चरित्रचित्रणलाई सजीव र जीवन्त बनाउन, घटनाक्रमलाई गतिशील बनाउन तथा भाषाशैलीलाई चुड्किलो बनाउनमा पनि कथोपकथनले कार्यकारी भूमिका निर्वाह गर्दछ । कथोपकथन छोटो-छरितो, पात्रहरूका स्वभाव र चरित्र अनुकूल, कथावस्तु अनुरूप स्वाभाविक र स्वादिलो हुनुपर्छ । कथामा पात्रहरूको उत्तेजना, राग-द्वेष, इच्छा-आंकाक्षा, उनीहरूको प्रवृत्ति कथोपकथनकै माध्यमबाट उद्धाटित हुन्छन् । अतः वस्तु र चरित्र-विन्यासलाई यसले सहज, स्वाभाविक र जीवन बनाउँछ । पात्रका अन्तर र बाह्य दुवै जगतका जटिलताहरू, कुण्ठा र वितृष्णाका, आकर्षण र उत्साहका सन्दर्भ वा घटना-प्रसङ्गहरू कथोपकथनबाटै व्यक्त हुँदै जान्छन् । उनीहरूका संलापबाट वस्तु, परिवेश र परिस्थितिहरू अनावृत्त हुँदै जान्छन् । चरित्र अनुकूल संवाद, आत्मसंलाप, अन्तर्मुखी प्रवृत्तिगत मूल्यहरू पनि कथोपकथनकै माध्यमबाट व्यक्त हुन्छन् । यसमा बौद्धिक गहिराइ, शैलीगत नवीनता, भाषिक दक्षता पनि स्पष्ट हुन्छन् ।
दार्जीलिङ अञ्चलमा पटक-पटकको जातीय अस्तित्व र जातीय चिह्नारीको नाममा भएको आन्दोलन, अदुरदर्शी सोंच र कार्यप्रणालीका कारण हाम्रो आन्दोलन असफल भएको, साधारणभन्दा साधारण मान्छे पनि क्षणिक राजनैतिक शक्तिका कारण राजा-महाराजा समान भएको, आफूले आफैलाई स्वघोषित महाराजा घोषित गरेको, समाजमा उनीहरूको नचाहिँदो ताण्डव नृत्य सुरु भएको, सचेत हामी मुक दशक भएर हेरिरहनु परेको, हाम्रैहरूबाट हामी पटक-पटक प्रताडित बन्न परेको, पटक-पटकको बन्द-हडताल र आन्दोलनबाट हामी आफै नाशिएको-मासिएको, हामी आफै अरूको हतियारको बेँड मात्र भएको अवस्थालाई यहाँ कतिपय कथामा सङ्केतात्मक रूपमा दर्शाइएको छ । घटनाहरू ठूलो हुनपर्दैन, आफ्नै वरिपरिका सानासाना प्रसङ्ग र घटनालाई नै कथा बनाइएको छ ।
उनको ‘बात अधुरै रह्यो‘ कथा भने कथाकारले निकै खिपेर प्रस्तुत गरेका छन् । कथामा एकजोडा युवक-युवतीको प्रेमविछोडको प्रमिल प्रसङ्गलाई कथात्मक रूप दिइएको छ । कथाले निकै लामो समयावधिलाई आफ्नो कथ्यपृष्ठभूमिमा समेटेको छ । कथामा कविता र चिठीलाई पनि कलात्मक ढङ्गमा प्रस्तुत गरिएको छ । संग्रहका अन्य कथाहरूको तुलनामा यो कथा निकै रोचक तथा उल्लेखनीय रहेको देखिन्छ । अन्य कथालाई पनि यस्तै रोचक बनाउने प्रयास गरिएको छ ।
कथाकार दुमीका पाठ्य कथाहरूको कथ्यवस्तुको चयन तथा योजना अवलोकन गर्दा मुख्य रूपमा वैश्विक, भूमण्डलीकरण, जीवन-जगतको जटिल प्रश्न, विचार-विघटन मानवको अवमूल्यन, निराशा र अन्धकारमय संसार, अव्यवस्थित वातावरणको अनुभूतिलिएर लेखिएका कथाहरूमा शिकार खोजौं न, जीवन निर्वाहको साधनलाई दृष्टान्तका रूपमा लिन सकिन्छ । उनले संस्मरण शैली तथा रोमान्सेली शैलीको प्रयोग गरी केही रमाइला कथाहरू लेखेका छन् । अतः संस्मरणात्मक शैलीपरक कथाहरूमा- छोटो यात्राको सानो घटना, कथोपकथन, कथा अन्तर्मनको हाँस उठिरह्यो शीर्षक कथाहरूलाई सफल उदाहरणका रूपमा लिन सकिन्छ ।
साथै रोमान्सेली शैलीपरक कथाहरूमा बात अधुरै रह्यो, के. एमज्यू, रहल कथा चाहिँ अर्को भेटमा है, बठ्याईँ अझै यथावत् शिरोनामित कथाहरूलाई सफल दृष्टान्तका रूपमा ग्रहण गर्न सकिन्छ । पैसामा मानिसले आफ्नो नैतिकता, इमानदारीपन सबै साटेको, निकृष्ट काम गर्न समेत पछि नपरेको घटनालाई शिकार खोजौं न, जीवन निर्वाहको साधन शीर्षक कथाहरू अघि सरेको देखिन्छ । सामाजिक, राजनैतिक, आर्थिक विडम्बना, चारित्रिक वैचारिक-मानसिक दिवालियापनले भित्र्याएको विसङ्गतिको यथार्थ चित्रणलाई बात अधुरै रह्यो, कथा अन्तर्मनको, छोटो यात्राको सानो घटना शीर्षक कथाहरूले निकै मिहिनसाथ प्रस्तुत गरेको छ ।
* * * *
उपसंहार एवम् मूल्याङ्कन –
उमेरले अहिले चार कोरी पार गरिसकेको भए पनि सचेन राई दुमी दैनिक रूपमा कुनै न कुनै रूपमा साहित्यिक चर्चा-परिचर्चा, साहित्यिक विचार-विमर्शमा डुबेका देखिन्छन् । उनले आफ्नो जीवनको प्रायः सम्पूर्ण समय र शक्ति नेपाली भाषा-साहित्य, समाज र शिक्षा क्षेत्रमा समर्पण गरेका छन् । आजीवन नेपाली साहित्य सम्मेलन, दार्जीलिङसित आबद्ध आफ्नो अध्ययन र लेखनकार्यलाई अघि बढाएका छन् । टाड़ा-नजिकका विभिन्न साहित्यिक, सामाजिक-सांस्कृतिक र शैक्षिक सङ्घ-संस्थानहरू निमन्त्रणा आएपछि निम्तो मान्न आफूले भ्याए र सकेजति साहित्यिक सभा-समारोहमा आफ्नो प्रत्यक्ष उपस्थिति दिएर प्रेरणा-प्रोत्साहन र सहयोग पुर्याइरहेका छन् । उनले विभिन्न विधामा आफ्नो पौरखी कलम चलाएका भए पनि उनी मूलतः समालोचक र कथाकार हुन् ।
दार्जीलिङ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

