नेपाली नाट्य साहित्यमा नवीन चिन्तन र दृष्टिकोण बोकेको ‘भ्रुण’ नाटकले नाटककार तथा रंगकर्मी केदारनाथ पौडेललाई एक पृथक् पहिचान दिएको छ । यो नाटकले नाट्य लेखनको परम्परागत मान्यताहरूलाई चुनौती दिँदै एक नवीन प्रयोगको थालनी गरेको छ । यस नाटकको मूलभूत चिन्तन भनेको मान्छेको सम्पूर्ण जीवनयात्रालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्नु हो। जन्मदेखि मृत्युसम्मको चक्रलाई कलात्मक ढंगले चित्रण गर्ने यस नाटकले नेपाली नाटक लेखनको क्षेत्रलाई नयाँ आयाम प्रदान गरेको छ ।
संसारभरि नाटकमा संवाद र द्वन्द्व अनिवार्य मानिन्छ । तर ‘भ्रुण’ नाटकले यस परम्परागत मान्यतालाई तोड्दै सांकेतिक रूपमा जीवनलाई अभिव्यक्त गर्न सकिन्छ भन्ने दृष्टिकोणलाई अघि बढाएको छ । यो नाटकले केवल गर्भमा भ्रुणको अवस्था मात्र नभई, मान्छेको सम्पूर्ण जीवनचक्रलाई प्रतिबिम्बित गरेको छ। बाल्यकाल, किशोरावस्था, युवावस्था, प्रौढावस्था र वृद्धावस्था हुँदै मृत्युसम्मको यात्रा यस नाटकमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।
मानिसले सपनामा पनि जीवनकै विविध अवस्थाहरू देख्छ भन्ने विचारलाई संसारभर चर्चित नोबेल पुरस्कार विजेता नाटककार जोन सोफेले स्थापित गरेका थिए। सोही विचारलाई आत्मसात् गर्दै ‘भ्रुण’ नाटकले जन्मपूर्वको अवस्थादेखि मृत्युपर्यन्तको पीडा, संघर्ष, आशा र अनुभूतिलाई एकीकृत ढंगमा प्रस्तुत गरेको छ। यस नाटकमा संवाद मुख्य तत्व होइन; बरु प्रतीकात्मक अभिव्यक्तिहरू प्रयोग गरेर जीवनको सम्पूर्ण यात्रा देखाइन्छ ।
यो नाटक केवल नेपाली सन्दर्भमा मात्र सीमित छैन । विश्वव्यापी रूपमा जहाँसुकै जन्मिए पनि प्रत्येक व्यक्तिले आमाको गर्भमा दस महिना बिताउँछ, त्यसपछि बाल्यकाल, यौवन, प्रौढ र वृद्ध अवस्थाहरू पार गर्दै मृत्युलाई स्वीकार्छ । यही जीवनचक्र हरेक भूगोल, संस्कृति, र समाजका लागि समान हुन्छ । त्यसैले यो नाटकलाई कुनै पनि भाषामा अनुवाद गरी संसारभर प्रदर्शन गर्न सकिन्छ ।
‘भ्रुण’ नाटकले नेपाली नाट्य लेखनमा नविनतम चिन्तन स्थापित गरेको छ । विशेष गरी नेपाली नाट्य परम्परामा रहेका द्वन्द्व, संवाद र कथ्यका पारम्परिक नियमहरूलाई चुनौती दिँदै सांकेतिक अभिव्यक्तिलाई प्रमुख रूपमा प्रस्तुत गर्ने शैली यस नाटकले अपनाएको छ । यसले नेपाली नाट्य लेखनलाई एक अन्तर्राष्ट्रिय स्तरमा उठाउने अवसर प्रदान गरेको छ ।
केदारनाथ पौडेलले यस नाटकमार्फत नेपाली नाट्य परम्परामा एक नवीन प्रयोगको थालनी गरेका छन् । भविष्यमा उनले यस नाट्य चिन्तनलाई थप परिष्कृत गर्दै स्थापित गर्न सक्नेछन् वा सक्ने छैनन् भन्ने जिम्मेवारी उनकै काँधमा रहेको छ । तर हालसम्मको नेपाली नाट्य इतिहासमा ‘भ्रुण’ नाटकले नवीन प्रयोगको एउटा कोशेढुंगा स्थापना गरिसकेको छ ।
यस नाटकलाई एक समग्र जीवनयात्राको नाट्यरूपान्तरणको रूपमा व्याख्या गर्न सकिन्छ। यही कारणले गर्दा म यसलाई ‘जीवनचक्रको नाटक’ भनी सम्बोधन गर्ने गरेको छु । ‘भ्रुण’ नाटक नेपाली नाट्य साहित्यमा नवीन प्रयोग मात्र होइन, यो विश्व नाट्य लेखनमै एक गम्भीर चिन्तनको प्रतिफल हो ।
भ्रुण नाटकले जन्म र जीवनको सत्यलाई गहिरो ढंगले अनुभव गराउने प्रयास गर्छ । यो नाटक पढेर मात्र बुझ्न नसकिने, बरु महसुस गर्नुपर्ने कृति हो । यसको प्रस्तुति असामान्य छ, जहाँ पाठक स्वयं पात्र, निर्देशक, र दर्शक बन्न बाध्य हुन्छन् ।
नाटकको सुरुवातमा पाठकलाई आफ्नो सम्पूर्ण अस्तित्वलाई भ्रुण अवस्थामा रुपान्तरण गर्न भनिन्छ । उसलाई पृथ्वीमा निबस्त्र भएर, उत्तानो परेर सुत्न, आफ्नो शरीरलाई कंकालका रूपमा महसुस गर्न निर्देशन दिइन्छ । आँखाले देखिरहन, कानले सुनिरहन, तर मनलाई पूर्ण रूपमा शून्य बनाउन भनिन्छ । भ्रुण बन्ने यो अभ्यासले पाठकलाई आफ्नो पूर्वजन्मको स्मरण गराउन खोज्छ ।
नाटकको पहिलो दृश्यमा भ्रुण (पात्र) सुरक्षाको घेराभित्र छ, जहाँ संसार उसलाई परेवा गुँडजस्तो सुरक्षित लाग्छ । तर विस्तारै, सिमित ठाउँमा असहज महसुस हुन थाल्छ । पात्रले लामखुट्टेको लार्भाजस्तै छटपट अनुभव गर्छ, र अन्ततः जन्म लिन्छ । जन्म लगत्तै ऊ चिच्याउँछ, तर यो रोदन उसको पहिचानको पहिलो स्वर हो ।
दोस्रो दृश्यमा, नवजात शिशु जस्तै पात्र शक्तिहीन हुन्छ । ऊ एकदमै कमजोर छ, उभिन सक्दैन । विस्तारै, ऊ पृथ्वी, हावा, र प्रकाशसँग घुलमिल हुँदै जान्छ । ऊ प्रकृतिसँग सामञ्जस्य बिढाउँदै शक्तिशाली बन्दै जान्छ ।
तेस्रो दृश्यमा, पात्र पूर्णरूपमा आफ्नो शारीरिक क्षमतालाई महसुस गर्छ । ऊ अब सशक्त बनेको छ । ऊ आफ्नो हड्डी, मासु, स्वर, भाव, हाँसो, र रोदनको सम्पूर्ण शक्ति प्रदर्शन गर्न इच्छुक हुन्छ । ऊ पूर्ण रूपमा स्वतन्त्र महसुस गर्छ, समाजका बन्धनबाट मुक्त भई जीवनलाई नृत्यको रूपमा अभिव्यक्त गर्छ । नाटकको अन्त्यमा, ऊ यो संसारमा बाँच्ने कला आत्मसात गर्न खोज्छ ।
‘भ्रुण’ नाटक एक दार्शनिक यात्रा हो, जसले जन्मदेखि मृत्युबीचको अस्तित्वलाई अनुभवात्मक रूपमा बुझ्न प्रेरित गर्छ । यो केवल पढ्ने कथा होइन, यो जीवन महसुस गर्ने अभ्यास हो ।
०००
(लेखक पोखरेल नेपाल नाट्य प्रतिष्ठान पोखरा, नेपालका अध्यक्ष हुनुहुन्छ ।)