यस कार्यपत्रमा इकोलोजीको अवधारणालाई सुस्पष्ट पार्दै साहित्यको क्षेत्रमा यसको सैद्धान्तिक चेतना कसरी विकसित हुँदैछ भन्ने कुरालाई नेपाली साहित्यको सन्दर्भमा प्रस्तुत गर्ने प्रयास गरेको छु । त्यसै सन्दर्भमा भारतीय वैदिक साहित्यदेखि नेपालीमा कवि लेखनाथ आदि कविमा पर्यावरण सचेतताको सामान्य चर्चा गर्दै विगतका केही वर्षमा पूर्वोत्तर भारतका सर्जकहरूमा यो चेतना व्यापक बन्दै गरेको आभास दिने प्रयास गरेको छु । पर्यावरणको सन्तुलनलाई जोगाउनु सबैको परम कर्तव्य हो; साहित्यको माध्यमबाट यस विषयमा व्यापक जनजागरण ल्याएर पृथ्वीलाई ध्वंस हुन्बाट जोगाउनुमा सर्जकको जिम्मेदारीलाई दर्शाउनु यस कार्यपत्रको ध्येय हो ।

* * * *

पर्यावरण र साहित्यमा पर्यावरण चेतना

इकोलोजी भन्नाले वनस्पति र प्राणीबीच प्राकृतिक रूपले रहने अन्यान्याश्रित सम्बन्धलाई बुझाउँछ । इकोलोजीले प्राणी, वनस्पति, भूगर्भ र मौसमको प्राकृतिक तालमेलको विज्ञानलाई अध्ययन गर्दछ अनि त्यो प्राकृतिक तलमेल यथावत् राख्ने प्रयत्न गर्दछ ।

प्राकृतिक स्रोतलाई रित्याउने गरी अत्यधिक उपभोग गर्नु, रित्तिने गरी माछा मार्नु, जङ्गलका चरा मारेर सिध्याउनु, पशुप्राणीको शिकार गर्नु, खानी खन्दै पहिरो लडाउनु, जङ्गललाई साफ गर्नु—गम्भीर चिन्ताका विषय हुन् । कृषिमा नयाँ प्रविधिले प्रवेश गरेपछि धेरै नोक्सान हुन् थालेको छ । यान्त्रिक सभ्यताले पृथ्वीको दिव्य सुन्दरतालाई विनष्ट पारेको छ । उसै गरी युद्धले  जीवजगतमा नकारात्मक प्रभाव पारेको छ । विभिन्न प्रकारका अस्त्रशस्त्रहरूको प्रयोग र परीक्षणले जल र वायुमण्डललाई विषाक्त पारेको छ । तिर्खा मेटाउन एक अँजुली पानी र सास फेर्न विशुद्ध हावाका लागि हाहाकार हुन्थालेको छ । स्वार्थी मान्छेको अविकेकी कर्मले गर्दा आज पृथ्वीको परिवेश सङ्कटमा छ । यी कुराको विरोध गर्नु वा रोक्ने प्रयास गर्नु नै पर्यावरणवादको अभीष्ट लक्ष्य हो । परिवृत्तीय साहित्यमा र तिनको समालोचनामा तिनै कुराको चर्चा गरिन्छ । डा. गोविन्दराज भट्टराईले उनको उत्तरआधुनिक विमर्श (विसं २०६४) भन्ने कृतिमा इकोराइटिङलाई छ वटा दृष्टिकोणले हेरिन्छ भनेर विषयलाई छर्लङ्ग पारेका छन ।  । ती हुन् –

  •  इकोलोजी । यसमा इकोसिस्टम, इकोलोजिकल निस र फुड चेनका हाँगा छन् ।
  •  मानवकेन्द्री तथा पर्यावरणकेन्द्री
  •  इकोफेमिनिजम
  •  प्रकृतिको महत्त्व
  •  ग्राम्यता र अप्रदूषित परिवेश र
  •  रोमान्टिकता

* * * *

रिवृत्तीय समालोचना र यसका आधार

लरेन्स ब्युल (सन् १९३९) परिवृत्तीय समालोचनाका एकजना अगुवा समालोचक हुन् । उनको द इन्भाइरनमेन्टल इमाजिनेशन (सन् १९९६) कृति परिवृत्तीय समालोचनाको महत्त्वपूर्ण मानक ग्रन्थ हो । यस ग्रन्थमा ब्युलले केही महत्त्वपूर्ण कुरा उल्लेख गरेका छन्-

१. मानवेतर वातावरण भनेको एक प्रकारको सीमाक्षेत्र मात्र होइन, तर यो एउटा यस्तो उपस्थिति हो जसले बताउँछ— प्रकृतिको इतिहासभित्रै मानवइतिहास अन्तर्निहित वा निर्मित छ । मानव र मानवेतरको कुनै भेद हुँदैन ।

२. मानवको इच्छा मात्र अन्तिम र वैध इच्छा हो भन्ने ठान्नु हुँदैन ।

३. वातावरणप्रति मानिसको उत्तरदायित्व भन्नु नै उसका कृतिभित्र आउनुपर्ने नैतिक दायित्वबोध हो ।

४. वातावरण भनेको मानवलाई दान गरिएको कुनै वस्तु होइन, यो एउटा परिवर्तनशील, कमजोर र सधैं संरक्षण चाहने प्रक्रिया (अस्तित्व ) हो ।

यी कुरालाई बुझ्न अनि बुझेर आत्मसात गरेपछि मानिस उसका अविवेकी कर्मको फल देखेर तर्सिन्छ र आफ्नो मुर्खताका लागि पश्चाताप गर्छ । योग्यभोग्या वसुन्धरा भनेर धरालाई बलात्कार गर्न खोज्नेलाई पनि बाधा दिन्छ । यसरी ऊ जिम्मेदारीपूर्ण आचरण गरेर सही अर्थमा  जीवश्रेष्ठ  बन्न सक्तछ ।

पर्यावरणको चेतना हाम्रो साहित्यमा पहिले नभएको होइन, हाम्रा ऋषिमुनिहरूले द्यौशान्तिरापशान्तिरोषधय शान्ति भनेर जल-स्थल-वायुमण्डल सबैतिर शान्तिको सद्भावना व्यक्त गरेका हुन् । वास्तवमा पर्यावरण चेतनाको जरा खोज्नु हो भने भारतीय ऋषि-मुनिहरूको अध्यात्म दर्शनमा पुगिन्छ । लेखनाथ पौडेलको तरुण तपसी (नव्यकाव्य) परिवृत्तीय साहित्य कै नमूना हो ।

पश्चिमेली जगतमा यो चेतना १९६० को दशकदेखि आएको हो । दोस्रो विश्वयुद्ध पछि विशेष गरी सर्जक-दार्शनिकहरूको चिन्तनमा ठूलो परिवर्तन आयो । पर्यावरणको सन्तुलनको कुरा पनि व्यापक रूपमा चर्चा हुन् थाल्यो । यही समयमा विकसित भएको सिद्धान्त हो यो  । यसमा वैज्ञानिक आधारमा सिर्जना र समालोचना गरिन्छ ।

रचेल कार्सनको द साइलेन्ट स्प्रिङ परिवृत्तीय साहित्यको पहिलो दृष्टान्त कथा हो । सन् १९६२ मा प्रकाशित यस ग्रन्थले साहित्य लेखनको इतिहासमा ठूलो परिवर्तन ल्यायो । कीटनाशकको अत्यधिक प्रयोगले पर्यावरणमा प्रतिकुल असर पर्छ भन्ने कुरा यस ग्रन्थमा उल्लेख गरिएको छ । मेलेरिया निर्मूल गर्न व्यापक रूपमा डिडिटिको प्रयोग गर्नाले वनस्पति र प्राणीजगत सखाप हुन्सक्छ भन्ने चेतावनी यस ग्रन्थमा एउटा मिथकको माध्यममा दिइएको छ । लेज्ली मर्मनको उपन्यास सेरेमोनी अनि रेमन्ड विलियमको समालोचना कृति द कान्ट्रि एन्ड द सिटि उठान कालका महत्त्वपूर्ण ग्रन्थ हुन् । विश्व साहित्यमा पर्यावरण विषयमा अरू पनि धेरै ग्रन्थ रचिएका छन् । समसामयिक विश्वसाहित्यमा परिवृत्तीय साहित्यको महत्त्व बढेको छ ।

* * * *

नेपाली साहित्यमा पर्यावरण साहित्यको सैद्धान्तिक चर्चा

परिवृत्तीय समालोचनामा भने नेपाली साहित्यमा सर्वप्रथम र निरन्तर लागिपरेका समालोचक डा. गोविन्दराज भट्टराई हुन् । उनको उत्तरआधुनिक विमर्शको एउटा अध्यायमा परिवृत्तीय सिर्जना र समालोचनाको सविस्तार छलफल गरिएको छ । पर्यावरण विज्ञानमा स्नातकोत्तरको डिग्री हासिल गरेर लन्डनमा कार्यरत विजय हितान इकोराइटिङमा समर्पित सर्जक हुन् । विजयका  इको उत्सर्जन (निबन्धसंग्रह) र थकित पृथ्वी (कथासंग्रह) परिवृत्तीय सिर्जनाका दृष्टान्तका रूपमा लिन सकिन्छ । विश्व पर्यावरण दिवसको छेक पारेर प्रकाशित स्वच्छन्द सुसेलीहरू (सम्पादक विजय हितान) मा विश्वका विभिन्न देशका कविहरूका नेपाली भाषामा लेखिएका पर्यावरण कविता समेटिएका छन् । अविनाश श्रेष्ठको कवितासंग्रह करोडौं सूर्यहरूको अन्धकार पर्यावरण विषयको उल्लेखनीय काव्यकृति हो । सरुभक्त, धर्मेन्द्र नेम्बाङ आदि सर्जकहरूले पर्यावरण सन्तुलनको महत्त्वलाई सिर्जनामा समेटेका छन् । उसै गरी देवेन सापकोटाको परिश्रान्त पृथिवी (२०२०) र राजा पुनियानीको तङसिङ (२०२१) भारतबाट नेपाली भाषामा प्रकाशित महत्त्वपूर्ण इको-कविता संग्रह हुन् ।

ज्ञानबहादुर छेत्रीको उत्तरआधुनिक सिर्जना र समालोचनाका आधारहरू (२०२०) र डा. देवचन्द्र सुब्बाको नेपाली कवितामा परिवेश (२०२१) पर्यावरण सिर्जना र समालोचना बारेमा चर्चा गरिएको पाइन्छ । यतिखेर इको थीममा फुटकर निबन्ध, कथा र कविता लेख्ने निकै सर्जक देखा परेका छन् । यो शुभलक्षण हो ।

* * * *

समकालीन भारतीय साहित्यमा पर्यावरण चेतना

साहित्य अकादेमी पुरस्कार विजेता मनप्रसाद सुब्बा नेपाली साहित्यका अग्रणी कवि हुन् । उनको २००१ मा प्रकाशित कवितासंग्रह ऋतु-क्यान्भसमा रेखाहरू महत्त्वपूर्ण कृतिमा सुब्बाले प्रकृति, संस्कृति, मानवीय सम्वेदना र परम्पराको पारिस्थितिकीय प्रणालीलाई केन्द्रमा राखेर जीवनमा प्रकृतिको भूमिका बारेमा गहन विचार अभिव्यक्त गरेका छन् । बजारवाद उपभोक्तावादले मानवीय सम्वेदनालाई ध्वस्त पारे पनि उनी आशावादी देखिन्छन् किनभने एक जोडी गौंथली मेरा कवितामा साथीले उनका गौंथलीलाई खेद्ने छैनन भन्ने उनले विश्वास व्यक्त गरेका छन् । उनी भन्छन् –

मेरा आँखाका नानीहरूलाई

उत्साहको एक जोडी गौंथली बनाई

उडाइपठाएको छु आकाशमा

कतै तिम्रो घरको सिलिङमा एक छेउ

गुँड लाउने ठाउँ तिनीहरूले रोजेछन् भने

मलाई विश्वास छ

तिमीले धपाउने छैनौ ।

(एक जोडी गौँथली मेरा)

उसै गरी कालुसिंह रनपहेलीको सन् २००७ मा प्रकाशित लघुकाव्य फेरि अर्को मेघदूत पनि पर्यावरण साहित्यको एउटा उल्लेखनीय कृति हो । महाकवि कालिदासको प्रख्यात खण्डकाव्य मेघदूतको सम्झना गराउने रनपहेलीको लघुकाव्यमा धरती माता, मेघदूत, परी र कविका बीचमा सम्वाद हुन्छ । कविको पर्यावरण चेतना पनि सुस्पष्ट रूपमा अभिव्यक्त भएको पाइन्छ । त्यसको दृष्टान्तका रूपमा धरती माताले कविलाई भनेका तलका पङ्क्तिहरूमा वन विनाश, जल, वायु र ध्वनि प्रदूषण अनि प्राणीहरूको सह अस्तित्वका कुरालाई लिन सकिन्छ ।

हेर ! हेर ! वन विनाशको त्यो लीलालाई,

हरे ! हरे ! बनायौ तिमीले आफ्नै बँचाइलाई…

प्राण प्रदाता वायुको पवित्र परिवेश,

प्रदूषणको नङ्ग्राले पार्यौं नि शेष!

जल थियो जीवन, जीवन थियो निर्मल

कहाँ बगायौ तिमीले त्यो स्वच्छ जल ?

सुमधुर धरतीको बँचाई थियो

कर्कशताले आज किन जितिलियो ?

किन सोच रहेन आफ्नो अस्तित्वको तिमीलाई ?

किन नाश गर्यौ सह-अस्तित्वका मित्रहरूलाई ?

जस योञ्जन प्यासीको साहित्य अकादेमी पुरस्कारले सम्मानित कविता संग्रह शान्ति सन्देह (२००२) अन्तर्गत भूस्वर्ग शीर्षकको कवितालाई पर्यावरण कविताको रूपमा लिन सकिन्छ । उक्त कवितामा कवि प्यासीले केवल सिर्जना, प्रवचन र भाषणबाजीले पर्यावरण सुरक्षित हुँदैन, यसका लागि ठोस कार्य गर्नुपर्छ भनेर सावधान वाणी सुनाएका छन् । उनी भन्छन् –

उनी प्राध्यापक

पर्यावरणको अर्थ र परिभाषाहरू व्याख्या गर्छन्

कवि-लेखक उनी

पर्यावरणका कविता र लेखहरू लेख्छन्

हुन् उनी गायिका

पर्यावरण प्रदूषण र परिशोधनका गीत गाउँछिन्

नेता हुन् उनी

पर्यावरण संरक्षण बारे लामो लामो भाषण दिन्छन्

अनि यस धरतीलाई स्वर्ग बनाउन

चाँडै एक प्रकल्प प्रारम्भ गर्ने घोषणा गर्छन्

पर्यावरणचेतीहरूलाई, स्वयंसेवीहरूलाई

कहिल्यै केही नदिए तापनि

सधैं ढाडस र आश्वासन दिन्छन्

(शान्ति सन्देह, पृ ७५)

राङभाङ समवाय साहित्य सदनद्वारा प्रकाशित तेजमान बराइलीको रूख (२०१३) शीर्षकको पुस्तिकामा रूख विषयमा तीन वटा कविता पाइन्छन् जसमध्ये आजकल रूख नामक तेस्रो कवितामा कविको पर्यावरण चेतना सुस्पष्ट रूपमा अभिव्यक्त भएको छ । कवि भन्छन् –

सुखको साधन रूख काटेपछि

पुन ‘चिप्को’ आन्दोलन गरिनपर्छ

भूमण्डलको तप्त ज्वालालाई शान्त गर्न

रूख धेरै रोप्नै पर्छ । (रूख, पृ. २३)

उल्लेखनीय के छ भने यस पुस्तकमा कविताहरूको अर्जुन प्रधानले गरेको अंग्रेजी अनुवाद पनि समावेश गरिएको छ ।

असमका कवि देवेन सापकोटाले इकोलोजी विषयमा परिश्रान्त पृथिवी (२०२०) नामको  सिङ्गो कवितासंग्रह निकालेर भारतीय नेपाली साहित्यमा कीर्तिमान स्थापित गरे । यस संकलनमा पर्यावरण विषयका ४१ वटा कविता समेटिएका छन । कविले उनका कवितालाई पर्या-कविता भनेका छन् । लेखकले उल्लेख गरे अनुसार उनको यो योजनाको वर्ष २०२० मा ५ जुनका दिन बेल्पाली पर्यावरण एक्टिभिस्ट विजय हितानको अगुवाईमा लण्डनबाट सञ्चालित पाँचौं पर्यावरण कविता संगोष्ठीमा बीजारोपण भएको थियो ।

पृथ्वीमाथि मान्छेले अत्याचार गरेको छ, लाचार भएर सहेकी छिन धरित्रीले । कहिले काहिं रिसाउँछिन हल्लिन्छिन, कहिले रुन्छिन्- सुनामी आउँछ । मान्छेले उनी रिसाएकोलाई वास्ता गरेन, उनको आँसुले पनि कुनै असर गरेन । अर्ती, ओखति, चेतावनी केहीले काम गरेन । यतिखेर उनी नराम्रोसँग रिसाएकी छिन ।  हण्डर खाँदैछस्, अब पनि चेतिनस् भने हे मनुवा, तेरो अन्त्य आइपुगेको छ । आगो चोरेर भागेको थिइस् – त्यही आगोमा जलेर खरानी हुनेछस् – कोरोनाको आकाशवाणी । कवि देवेन पनि रिसाएका छन् – ‍उनले पाप-पुण्यको कथित परिभाषा उल्टाइदिएका छन् । पहाड र वन मासेर मन्दिर बनाउँदा पुण्य हुँदैन, पाप हुन्छ कवि भन्छन् । अक्षम्य अपराधी मनुक्खे, पर्यावरणको खुंखार आतङ्कवादी—यसलाई सुलीमा चढाऊ भनेर उनी धर्मराजलाई अपील गर्दैछन ।

राजा पुनियानीको कविता संग्रह तङसिङ (२०२१) । यो राजाका इको-कविताहरूको सङ्कलन हो  । यसमा समावेश गरिएका एक एक ओटा कविताले कविको गहिरो पर्यावरण चेतनालाई उजागर पारेका छन् भने उनको दूरदृष्टि, सूक्ष्म अन्तर्दृष्टिको पनि परिचय दिएका छन् । कविले यस सङ्कलनका जम्मा ५३ वटा कवितालाई कला-सङ्गीतका शब्दले परिभाषित गर्ने प्रयास गर्दै  इको-सोलो (१६ वटा कविता), इको-कोरस (सात वटा), हरियो मिम्स (चार वटा), बाइसौं शताब्दीको मन्त्र (सात वटा), जङ्गल सेल्फी (चार वटा), नदी पोर्ट्रेट (आठ वटा) र पृथ्वीपीडा (सात वटा) गरी सातवटा ग्रुपमा सजाएका छन् । यस कृतिका लागि पुनियानीले पुरस्कार पाएका छन् । यसबाट साहित्यमा पर्यावरण चिन्तनको बढ्दो महत्त्व अनुभूत हुन्छ ।

देवेन सापकोटा पर्यावरण साहित्यमा समर्पित सर्जक हुन् । पर्यावरणलाई नै मुख्य विषय बनाएर उनले साहित्य सिर्जना गरेका छन् । उनको परिश्रान्त पृथिवी असमको मात्र नभएर भारतबाटै प्रकाशित पहिलो कवितासंग्रह बनेको छ । काठमाडौंमा आयोजित आठौं विश्व पर्यावरण दिवस उपलक्ष्यमा उनको पर्यावरण थीमको कथा संग्रहको लोकार्पण सम्पन्न भएको छ, यो  खुशीको कुरा हो । असमका विशेष गरी नवीन कविहरूमा पर्यावरणको चेतना जाग्रत गराउने उनको प्रयास सराहनीय छ ।

असमेली पर्यावरणीय कविता (२०२३) इन्देणी प्रकाशन ७० जना कविका एक एक ओटा गरी ७० वटा पर्यावरणीय कविता समावेश गरिएका छन् । भारतबाट प्रकाशित पर्यावरणीय कविताको यो नै पहिलो सामूहिक सङ्कलन हो । यसका सम्पादकद्वय हुन् देवेन सापकोटा र अनुपमा कटेल ।

धर्मेन्द्र उपाध्यायले लन्डनबाट सञ्चालित पाँचौं विश्व पर्यावरण दिवसमा विश्व इको-कविता वाचन गरेर प्रथम पुरस्कार जितेका हुन् । नाटकीय सम्वादको शैलीमा पार्थलाई सम्झाउँदै  संयत हुने चेतावती पनि दिएका छन्-

तिमीलाई उभ्याउन प्रकृतिले सरलताको औंलो दिंदा

तिमी उसको डुँडुलो निल्ने धृष्टता नगर पार्थ

यो विराटको सामु तिम्रो सूक्ष्मतालाई नियालेर हेर

संयत होउ पार्थ संयत होउ

तिम्रो विजय वासनाका तीरले ओजनमा छिद्र पारिसक्यो

तिम्रा आह्रिसका अग्निवाणले  आमाजनहरू भष्म पारिसक्यो

तिम्रा धनुषका टङ्कारले जीवजगतलाई मुर्छा पार्यो भने

तिम्रा कुरुक्षेत्रका फोहोरले पृथ्वीलाई फोहोरी बनायो भने

कसरी सास फेर्छौ पार्थ, कहाँ राज गर्छौ

हे गाण्डीवधारी

यो पृथ्वी, यो अन्तरिक्ष, यो ब्रह्माण्ड

तिम्रा निम्ति मात्र होइन

उसको निम्ति पनि हो

तिम्रा भावी पिँढीका निम्ति पनि हो ।

(यो विश्व तिम्रा निम्ति मात्रै होइन पार्थ)

इन्दुप्रभा देवीले उनको अव्यक्त शीर्षकको कवितामा एउटा डरलाग्दो बिम्ब सिर्जना गरेकी छन् । कविता लेख्तै गर्दा उनी एकछिन शब्दहरूलाई थन्क्याएर ढोका खोल्छिन । उनले देखिन् –

प्रदूषित धूवाँ र चर्को आवाजले तल झरेर मरेका चराहरू पन्साउँदै

बुढीआमा आँगन बढार्दै हुनुहुन्छ

 

दुर्गन्धको किचलोभित्र गाडिएका दुई खुट्टालाई

निकाल्न सहारा खोज्दै हुनुहुन्छ हजुरबुआ

भुराभुरी कागजका पन्नामा नदीमा मरेर उत्रिएका माछा आँक्तैछन्

बन्चराले काटेको रूख र भत्किएको पहाड आँक्तैछन् पेन्सिलले

जङ्गलबाट बाहिरिएका बाँदर, बाघ र हात्तीहरूको

सन्त्रासको कथा गल्ली र चोकमा उभिएर

जोडतोडले सुनाउँदैछन् ठिटाहरू

प्लास्टिक चबाएका गाईहरूका मुखबाट निस्किएको

फिँज चाट्दैछन् साना बाछाहरू

(असमेली पर्यावरणीय कविता, पृ. २२)

कवि खड्गबहादुर कौशिकले सभ्यताको विध्वसी रूपलाई हरप्पा-महेन्जोदारोका बिम्बद्वारा यसरी अघि सारेका छन् –

यतिबेला यो सहर दम्कीको रोगग्रस्त छ

सास फेर्न एक मुट्ठी शुद्ध हावा पर्खेर

नाङ्गो पहाडलाई टुलुटुलु हेर्दै छ

रातो आँसु पुछेर

महेन्जोदारो, हरप्पा र नालन्दाका खण्डहर

खोजी रहेछन् सभ्यताको तक्मा फर्काउन

यो प्रदूषणको कोठेबारी जस्तो शहरमा ।

(असमेली पर्यावरणीय कविता, पृ. ३४)

उसै गरी कवि नैना अधिकारी मान्छेको अविवेकी भष्मासुर प्रवृत्ति देखेर आक्रोश व्यक्त गर्दछिन् ।

सागर छेड्यो, हिमाल फोर्यो, नदी छेक्यो

अनि आनन्दले ताण्डव नाच्यो नशालु रमझममा

सृष्टिको ताडनाको भष्मासुर हो परिवेश विध्वंश

तर, मानिसले रक्षाकवच आफैं बनाउन जानेन

(असमेली पर्यावरणीय कविता, पृ. ४२)

कवि अनुपमा इकोलोजी विषयमा पुरै  सचेत कवि हुन् । जिम्मेदारीपूर्वक उनले कविता सिर्जना गरेकी छिन् । ग्लोबल वार्मिङ, ओजन लेयर, आल्ट्राभायोलेट रे, कार्बन मोनोक्साइड, विलुप्तप्राय जीवकुलका कुरालाई लिएर कवि खूबै चिन्तित छिन् । मान्छेको अविवेकी काण्डलाई उनका कविताले यसरी भण्डाफोर गरेको  छ –

ऊ पिंजरामा पक्षी राखेर प्रकृतिको सन्तुलन रक्षा गर्न चाहन्छ

टबमा बोनसाइ गर्छ वटबृक्षहरू

सोकेसमा सजाउँछ एउटा सिङ्गो चिडियाखाना

समुद्रलाई थुनेको हुन्छ एक्वेरियमभित्र

प्रकृति उसको बैठक कोठामा पिञ्जराबद्ध छ । (पृ. ७१)

निबन्धकार अञ्जन बाँसकोटा पर्यावरण सचेत लेखक हुन् । विश्व परिवेश दिवस सामाजिक वृक्षरोपण र हामी, वर पिपलको बिहे र हामी, विस्तीर्ण मानव समाज र विपन्न भँगेराहरू – यी निबन्धहरूले लेखकको पर्यावरण सचेततालाई दर्शाएका छन् । विश्व परिवेश दिवस सामाजिक वृक्षरोपण र हामी निबन्धमा लेखक बाँसकोटाले प्रकृति माथि मानिसले गरेको अत्याचारको फलस्वरुप तापमानमा वृद्धि हुनु, ओजन स्तरमा छेद पर्नु, बादल  विस्फोटन, भूकटाउ, खडेरी, वायु-माटो-पानी-शब्द प्रदूषणको चर्चा गर्दै तिनको रोकथामका लागि सबै सचेत हुनुपर्ने बताएका छन् । प्रत्येक वर्ष ५ जुनका दिन पर्यावरण दिवस मनाउने,  वृक्षरोपन जस्ता कार्यक्रम गरिनु पर्ने कुरा उनले निबन्धमा उल्लेख गरेका छन् । यसै सन्दर्भमा सनातन हिन्दू धर्मावलम्बीहरूमा प्रचलित वर र पिपलको बिहे गरिदिने परम्परालाई लेखकले पर्यावरणको दृष्टिले सराहना गरेका छन । विस्तीर्ण मानव समाज र विपन्न भँगेराहरू लेख पनि पर्यावरण विषयमा आधारित छ । प्रकृतिमा आएको द्रूत परिवर्तनले गर्दा कति जीवकुल विलुप्त भइसकेका छन् भने कति प्रजातिको दुमो जोगाएर राखिएको छ । लेखक बाँसकोटाले उनको  लेखमा गाउँघरमा सधैं देखिने भँगेराहरूको संख्या द्रूतगतिमा कमेको देखेर यो प्रजाति विलुप्त हुने हो कि भन्ने चिन्ता जताएका छन् । भँगेराको प्रजातिलाई विलुप्त हुनबाट जोगाउनु पर्छ भन्ने चेतनाले यो निबन्ध रचिएको बुझिन्छ । लेखक अञ्जन पर्यावरण प्रति सचेत, जिम्मेदारीका साथ कलम चलाउने लेखक हुन् भन्ने कुरा उपर्युक्त तीनोटा निबन्धले स्पष्ट पारेका छन् ।

* * * *

उपसंहार

यतिखेर असम भेकबाट धेरै सर्जकले पर्यावरणलाई आफ्नो सिर्जनाको विषय बनाएको देखिन्छ ।

नेपाली साहित्यमा उत्तरआधुनिक तथा पर्यावरण साहित्यका अग्रगामी सर्जक-समालोचक गोविन्दराज भट्टराईले पटक पटक असमका लेखकहरूसँग प्रत्यक्ष र भर्चुअल रूपमा पनि विमर्श गरी साहित्यको यो नवीन चेतनासँग परिचित गराएको कुरा बिर्सनु हुँदैन । प्रसाद सिंह सुब्बा अकादेमीका सभापति छत्रमान सुब्बाको अध्यक्षतामा सम्पन्न भएको डायास्पोरा र पर्यावरण साहित्य विषयको भर्चुएल सङ्गोष्ठीमा गोविन्दराज भट्टराईले मुख्य वक्ताका रूपमा पर्यावरण साहित्यको विस्तृत चर्चा गरेका थिए । उसै गरी सोही संस्थाको अगुवाइमा विश्वनाथ कलेजमा आयोजित साहित्यमा नवीन चेतना थीममा आन्तराष्ट्रिय संगोष्ठीमा भट्टराईले बीज भाषण प्रस्तुत गरेका थिए भने बेलायतका इको-अभियन्ता विजय हितानले पर्यावरण सिर्जनाको शङ्खघोष गरेका थिए । साहित्यमा देखा परेका नवीन चेतना विषयमा विष्णुसिंह राई, अन्जना वस्ती भट्टराई प्रमुख्य धेरैजना लेखकले कार्यपत्र पाठ गरेका थिए । विश्वनाथ कलेजको नेपाली विभाग र स्थानीय संस्थाहरूको सहयोगमा यो कायक्रम सफल भएको थियो ।

जुन साहित्यमा स्वाधीनताको कुरा हुन्छ, मानव मुक्तिको कुरा हुन्छ अनि समग्रमा धर्तीकै सुरक्षाका कुरा सुन्दर कलात्मक शैलीमा उपस्थापन गरिन्छ त्यस्तो साहित्य उच्चकोटिको हुन्छ । साहित्य भनेको स्वाधीनताको जयगान हो । यो स्वाधीनता मान्छे मात्रको स्वाधीनता होइन; बोल्ने-नबोल्ने, जीव-जड सबैको स्वाधीनता हो । यहाँ नदीले आफू खुशी बग्न पाउनु पर्छ, पहाडले शिर ठाडो पारेर उभिन पाउनु पर्छ अनि यसैगरी अरू सबै तत्त्वहरूको अस्तित्व पनि बेरोकटोक यथावत् रहनु पर्दछ । साहित्य धर्ती र जीवनलाई सुन्दर बनाउने सर्वोत्तम पन्था वा उपाय हो । त्यसैले जब जब धर्ती र जीवनमा संकट आइपर्छ लेखकको झन आवाज बुलन्द हुन्छ । त्यसैले यतिखेर एक हूल भारतीय नेपाली सर्जक-समालोचक पूरै निष्ठाका साथ पर्यावरणीय साहित्य सिर्जना र मूल्याङ्कन गर्नमा व्रती भएको देखिँदैछ – यो शुभलक्षण हो ।

 

सन्दर्भ ग्रन्थ

  • उत्तरआधुनिक विमर्श, डा. गोविन्दराज भट्टराई, मोडर्न बुक्स विसं २०६४
  • द इन्भाइरन्टल इमाजिनेशन, लरेन्स बुयल
  • उत्तरआधुनिक सिर्जना र समालोचनाका आधारहरू, ज्ञानबहादुर छेत्री
  • नेपाली कवितामा परिवेश, डा. देवचन्द्र सुब्बा