भनिन्छ जीवन एउटा यात्रा हो । जीवनरूपी यस यात्राको क्रममा विभिन्न यात्राहरू गरिन्छन् । यस्ता यात्रा कुनै विशेष उद्देश्य प्राप्तिका लागि गरिएका हुन्छन् भने कुनै ठाउँठाउँ घुमेर रमाइलो मान्नको लागि गरिएको हुन्छ । विशेष उद्देश्यले गरिएका यात्राहरू त उपलब्धिमूलक हुने नै भए तर मनोरञ्जनका लागि गरिएका यात्रामा पनि ती ठाउँहरूका सुन्दरता, विशेषता, त्यहाँका मान्छेहरूको संस्कार र संस्कृति र ती सबै देख्दा मनमा उठेका भाव र विचारहरूलाई अक्षरमा कुँदेर सबैका लागि केही दिनसक्ने कला भने कसैकसैमा मात्र पाइन्छ । यस कलाले निपुण हुनुहुँदो रहेछ लेखक खिमानन्द पोखरेलज्यू । उहाँले आफ्नो यात्रा संस्मरण अमेरिकी यात्राका ती दिन बजारमा ल्याउनुभएको छ जसको विमोचन २०८१ साल भाद्र १ गते काठमाडौंमा भएको थियो ।

अमेरिका कस्तो होला भन्ने कौतूहल भएको तर घुम्ने मौका नपरेकाहरूको लागि सात समुद्र पारिको त्यो देश कस्तो छ भनेर बुझ्न यो पुस्तक अत्यन्तै लाभदायी छ । यस पुस्तकले त्यहाँको भूगोल, विकास, प्रकृति, बोटबिरुवादेखि लिएर त्यहाँका सुन्दर शहरहरू, शहरका पुलहरू, पुलमुनिका समुद्र, बाटोबाट नियाल्दा देखिने मनोरम दृश्यहरू सबै आँखैमा झलझली ल्याइदिएर अमेरिका कस्तो होला भन्ने अन्योल मेटाइदिन्छ ।

चारैतिरबाट पहाडले घेरेको काठमाडौं उपत्यका झैँ क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा पहाडको फेदीमा र प्रशान्त महासागरको किनारमा रहेको घना र सुन्दर बस्ती, न्यु योर्कको एलिस आइल्यान्ड (टापु), टाइम्स स्क्वायर, एम्पायर बिल्डिङबाट देखिने सुन्दर दृष्य र पानी जहाजमा बसेर नायग्रा फल्स घुम्दाको रमाइलो, आन्द्र महासागरको तटमा अवस्थित ओसन सिटी, लस भेगसको मनमोहक सुन्दरता र अरू विभिन्न ठाउँहरूमा सुन्दर पार्कहरूको आकर्षकपन र अरू यस्ता थुप्रै रमणीय ठाउँहरूका बारेमा थाहा पाउन अब यो पुस्तक पढेरै सम्भव हुने भएको छ ।

यस पुस्तकमा उहाँले आफू पहिलो, दोस्रो र तेस्रो गरी तीन पटक सम्म अमेरिका जाँदा र त्यस क्रममा त्यहाँ रहँदा अमेरिकाको विभिन्न शहरहर घुम्न जाँदा आफूले देखेका-भोगेका अनुभवहरूलाई लिपिबद्ध गर्नुभएको छ । अमेरिका जस्तो विकसित मुलुकको सुख, सुविधा, व्यवस्था, अनुशासन, र सुन्दरतामा नरमाउने को होला र । लेखक पोखरेलज्यू पनि रमाउनु भएको छ तर आफू रमाएर मात्र नबसेर ती ठाउँहरू घुम्दा के के देखिए, तिनले आफूलाई कस्तो अनुभूति गराए भनी आफ्नो विचार र चिन्तनको पाटोलाई पनि फुकाउनु भएको छ ।

त्यसैले यसमा उहाँले घुम्नु भएको ठाउँहरूको वर्णन मात्र नभएर विभिन्न ठाउँमा देखेका दृश्यहरू, भोगेका घटनाहरू र त्यसले उहाँलाई कस्तो अनुभव भयो, कस्ता भावनाहरू मनमा आए ती पनि छन् । जस्तै कहिले बनाइएको कृत्रिम आकाश, चन्द्रमा र ताराहरू सहित दुरुस्तै प्राकृतिक जस्तै देखेर दङ्ग पर्नु, कहिले समुद्रमुनिबाट बनाइएको सुरुङमा पुग्नु, कहिले श्रीमतीको हीराको औंठी खस्नु, कहिले होटलमा आफ्नो पर्स छुट्नु, कहिले आफूहरू बसेको शिविरबाहिर फोहोर गर्दा पाल थुतिनु, कहिले पीङ खेल्ने हुँदा धन्ये धन्ये बाँच्नु जस्ता घटनाहरू घटेका छन् ।

त्यहाँका मान्छेहरूको जीवनशैली देखेर भन्नुहुन्छ :

‘यहाँका मान्छेहरू आफ्नो व्यस्ततामा रङ्गिएका छन् । समयसँग बाँधिएका छन् । परिवेश र परिधिसँगै खुम्चिएका छन् । गतिसँगै साटिएका छन् । वातावरणसँगै हराएका छन् । दैनिकीसँगै गाँसिएका छन् । दिनरात खटिएका छन् । तालिका अनुसार जीवन दौडाइरहेछन् । स्वतन्त्रतापूर्वक जीवन चलाइरहेछन् (पृष्ठः ५८) । 

त्यहाँका यस्ता अनुभवहरू धेरै छन् जसबाट पाठकले धेरै कुरा थाहा पाउनेछन् ।

त्यहाँको जस्तो व्यवस्था, अनुशासन, सुखसुविधा र उन्नति आफ्नो देशमा चाहिँ हुन नसकेकोमा घरीघरी चिन्तित बन्नुहुन्छ र गुनासो गर्नुहुन्छ । उता घुमिरहँदा पनि आफ्नै देशको बन, पाखा, जङ्गल, कृषिजन्य खेत, पहाड र हरियाली उहाँको स्मृतिमा आइरहन्छन् । चट्टानले भरिएका थुम्काहरूमा पहाड चढ्ने भनेर त्यहाँका मान्छेहरू हिँडेको देख्दा सुन्दर हिमालहरू र पहाडहरू भएको प्राकृतिक सुन्दरताले भरिपूर्ण आफ्नो देश नेपाल सम्झेर भन्नुहुन्छ :

‘यिनलाई त स्वर्गसरी हुँदो हो नेपाल । हामी त बुद्ध र सगरमाथाको देशमा जन्मिएर शिर उँचो गर्न पाएका मान्छे (पृष्ठः १०३) ।’ 

‘हामीले हाम्रो देशमा पर्यटक व्यवसाय, भाषा, भेष र संस्कृतिको सही उपयोग गर्न सक्यौ भने मात्रै पनि हामी स्वतः विश्वका लाखौं पर्यटकलाई आकर्षित गराई धनी बन्दै जानेछौं, देशलाई समृद्ध बनाउन सक्नेछौं । साँच्चै भन्नुपर्दा हामीले माल पाएर पनि चाल पाएका छैनौँ । हाम्रो कमजोरी भनेको कुरा धेरै काम थोरै गर्छौं (पृष्ठ: २५९) ।’ 

जहाजमा बसेर आकाशमा उड्दा होस् वा गाडीमा गुड्दा होस् जुनसुकै बेलाको अनुभूति पनि लेख्नुभएको छ । यो यात्रा संस्मरण पढ्दा लेखक हरेक क्षण सक्रिय र चनाखो भएर एकएक क्षणलाई महसूस गरिरहेको पाइन्छ । यो गाडीमा गइरहँदा अब यति समयमा यहाँ पुग्नेछौँ, हामी चढेको जहाज यतिवेला यति फीटको उचाइमा उडिरहेको छ, जहाज भित्रको तापक्रम यति छ, हामी अहिले यो समुद्रको माथि वा यो शहरको माथि उडिरहेका छौं, हामी जहाज चढ्दा पानी परिरहेको थियो तर अब हामी बादलको सतहभन्दा माथि आइसक्यौँ अब जहाजलाई पानीले भेट्दैन जस्ता वर्णन धेरै ठाउँमा पढ्न पाइन्छ । उहाँको यस्तो वृत्तान्त पढिरहँदा म पनि कहिलेकाहीँ जहाज चढ्दा झ्यालबाट कतै झलमल्ल पहाडका दृश्यहरू त कतै आकार बदलिरहेका बादलका थुम्काहरू देखेर रमाएको सम्झन्छु । साँच्चै रम्नु प्रकृतिमै छ, जिउनु प्रकृतिमै छ, अन्त्यमा मिल्नु पनि प्रकृतिमै छ । जीवन र प्रकृतिको यो अनुपम मेल नै आखिरमा सत्य र सुन्दर छ ।

लेखकज्यूले अमेरिकाको न्यु योर्क, वाशिङ्टन डी. सी., पेन्सिलभानिया, नेब्रास्का, मिनिसोटा, न्यु जर्सी, क्यालिफोर्निया, कनेक्टिकट, भर्जिनिया, बायोमिङ, ओहायो, शिकागो, मिसिगन, एरिजोना, कोलोराडो, बाल्टिमोर, लसभेगस र युटा स्टेटको भ्रमण गर्नुभएको छ । यी ठाउँहरू घुम्न जाँदा अवलोकन गर्नै पर्ने विशेष महत्वका कुराहरू, ती सँग जोडिएका इतिहास, सभ्यता र संस्कृति, एक ठाउँबाट अर्को ठाउँको दूरी, त्यहाँ हिँड्दा, घुम्दा, बस्दा पालन गर्नुपर्ने अनुशासनहरू यी सबै जानकारी समेत समावेश गरिदिनुभएको हुनाले यी ठाउँँहरू घुम्न जाने अरू नेपालीहरूका लागि पनि यो यात्रा संस्मरण अत्यन्त उपयोगी हुन सक्ने कुरामा कुनै सन्देह छैन ।

यसरी लेखक पोखरेलज्यू कहिले जहाजको उडानमा, कहिले बसको गुडाइमा, कहिले क्याम्पिङमा, कहिले बोटीङमा, कहिले पार्कमा, कहिले प्रदर्शनीमा, कहिले समुद्रको छाल र समुद्र किनारको बालुवामा, कहिले पानीजहाजमा, कहिले आफन्तको आतिथ्यमा रमेर जीवनको आनन्द लिइरहनु भएको छ । उहाँ अमेरिका गएको वेला आफ्नी छोरी कल्पना जसलाई उहाँले अमेरिकाकै नेब्रास्काको बेल्भ्यु विश्वविद्यालयमा पढाउनुभयो र ज्वाइँ डा. प्रितम न्यौपानेको साथमा बस्नुहुन्छ । अमेरिकामा उहाँका भाइ, बुहारी, भतिजाहरू लगायत अरू इष्टमित्र पनि हुनुहुन्छ । यात्राहरूमा उहाँको साथमा उहाँको श्रीमती, छोरी ज्वाइँ, भाइ बुहारीहरू र भतिजाहरू रहेको उल्लेख गर्नुभएको छ । आफ्नाको न्यानो माया र स्नेहमा जीवन व्यतीत गर्न पाउनु जीवनको परम सौन्दर्य हो । यो सौभाग्य उहाँलाई जुरेको छ ।

यो पुस्तक मार्फत मैले उहाँलाई पहिले जति बुझ्दथे त्यो भन्दा बढी बुझ्न सकेँ । उहाँ एक अत्यन्त उत्साही, अन्वेषक स्वभावको, जिज्ञासु र सकारात्मक सोचले प्रेरित व्यक्ति हुनुहुँदो रहेछ । उहाँको विचारमा नकारात्मक सोच मनमा लिएर हिँड्न हुँदैन, सही विचार नै सफलताको द्योतक हो । उज्यालोभित्र छिर्ने कोशिश गर्नुपर्छ, अँध्यारो जीवनको अभिशाप हो भन्दै उहाँ हरदम जीवनमा उज्यालो छर्ने प्रयत्नमा लागिरहनु हुन्छ । उहाँको यो हौसला, यो ऊर्जा देख्दा लाग्छ जीवनलाई गतिशील बनाउन आत्मविश्वास नै प्रशस्त छ ।

आत्मविश्वासका साथ अघि बढे अरू कमीकमजोरीले बाधा पुर्‍याउन नसक्ने रहेछन् । यात्रा वर्णनका क्रममा आएका उहाँका विचार, चिन्तन र दृष्टिकोणले उहाँभित्रको उज्यालो पक्ष झलमल्ल भएको छ । यसले समय र परिस्थिति सापेक्ष पाठकलाई मार्गदर्शन गर्ने नै छ ।

लेखक खिमानन्द पोखरेलज्यू प्रेस काउन्सिल नेपालबाट क वर्गमा वर्गीकृत गरिएको एक विशिष्ट दर्जाको पत्रिका हिमाली गुराँसको सम्पादक तथा प्रकाशक पनि हुनुहुन्छ । उहाँ स्वदेशमा भए पनि, विदेशमा भए पनि यो अभिभारा उहाँले वहन गरिरहनुभएको छ । उहाँको एउटा कवितासंग्रह मनको सुस्केरा पनि २०६९ सालमा प्रकाशित भइसकेको छ । कमीकमजोरीलाई नगण्य सम्झँदै जीवनमा आफूले गर्न सक्ने उन्नतिलाई नै सर्वस्व ठान्ने उहाँ कुनै गुनासो नगरी आफ्नो अथक प्रयास र आत्मबलले नै जीवनलाई सार्थक बनाउने तर्फ दिलोज्यानले लाग्नुभएको छ । उहाँको यो हौसला, यो चाहना, यो जिजीविषा नै उहाँको शक्ति बनेको छ । यो देखेर म कवि जय पाण्डेज्यूको मुक्तक कविताको केही हरफहरू सम्झन्छु,

म उपमा हुन चाहन्छु– उपमेय म ता हुन्न

मेरा आकाशका ए ! प्यारा सिताराहरू सुन 

म चन्द्रमा नै बन्छु– चन्द्रमा जस्तो हैन !

(मुक्तक कवितासंग्रह विकीर्ण चेत, पृष्ठ: ६४)

मान्छेको हृदयमा जब एउटा किरण जगमगाउँछ त्यसले उसलाई केही गर्न उत्प्रेरित गर्छ । जीवनलाई सार्थक बनाउन उत्साहित गर्छ । त्यो चेतना हो । चेतना आत्माको प्रस्फुरण हो । चेतना जीवनको उज्यालो हो । मान्छेलाई डोर्‍याउने जे छ त्यो चेतना नै छ, लक्ष्यलाई भेट्ने उन्मुक्त चाहना नै छ, त्यसलाई पाउने पिपासा नै छ । यी सबै म लेखक पोख्रेलज्यूमा झल्झल्ती देख्छु । मलाई भन्न मन लाग्छ:

चेतनाको प्रस्फुटित किरणले नै जीवनको लय तय गर्दछ, 

त्यो खोज्नु पर्दैन जगमा नभमा कतै त्यो त आत्माबाटै निस्किन्छ । 

लेखक तथा साहित्यकार एवं सम्पादक खिमानन्द पोखरेलज्यूमा म मेरो असीम श्रद्धा, आदर र शुभकामना टक्र्याउँछु । साथै उहाँको साहित्यिक यात्रा अविराम अघि बढिरहोस् भन्ने कामना पनि गर्दछु ।

सुमन पाण्डे