कुनै समाजमा एउटा कलाकारको भूमिका कस्तो र के हुन सक्छ ? वा हुनुपर्छ ? यस प्रश्नको जवाफस्वरूप गुलजारले सतरंगा लेखेका थिए ।
त्यो बेला गुलजार मुम्बईमा आएका मात्र थिए र आउनेबित्तिकै नेनसल कलेजमा आइए भर्ती भएका थिए । पाकिस्तानको सानो गाउँ दीनाभन्दा पहिले अमृतसरबाट विस्थापित हुनु र त्यसपछि बम्बईमा उनी बस्न थालेका थिए । यो अवधि उनका लागि निकै अप्ठेरोले भरिएको थियो । तर त्यस्तो हालतमा पनि साहित्यप्रति उनको लगाव र समर्पण कम भएन । उनी एउटा मोटर ग्यारेजमा एकाउन्टेन्टको जागिर खान थाले, त्यसपछि मात्र उनको जीवन केही व्यवस्थित भएको थियो । सिधा शब्दमा भन्दा सांसारिक स्थिरताले उनको कलमले उडान भर्न स्वतन्त्रता पायो र फिल्मकर्मी विमल रोयको संगतले उनलाई आकाशसम्म पुर्यायो । रोयले नै पछि उनलाई बन्दिनी (१९६३) जस्तो महान् फिल्ममा गीत लेख्ने मौका दिए । गीत थियो, मोरा मोरा अंग लै लै ।
त्यो बेला गुलजार फिल्म उद्योगमा आफ्नो भविष्य देख्दैनथे । लेख्नुलाई बडो गम्भीरताले लिइरहेका थिए । त्यही बेला उनको सम्पर्क प्रगतिशील लेखकहरूसँग भयो । र, प्रगतिशील लेखक संघ (पिडब्लुए), जन नाट्य मञ्च (इप्टा) तथा पञ्जाबी साहित्य सभामा सक्रिय भएर लागेका थिए । यही संगतले उनलाई मार्क्सवादी दर्शनतर्फ रूचि बढायो ।
उनले भनेका छन्, ‘त्यही बेला मलाई प्रगतिशील फिल्म मन पर्न थालेको थियो, मोहन सहगलका फिल्म मन परेको थियो । ख्वाजा अहमद अब्बासका फिल्म रामा लाग्थे । अब्बासले थोरै तर निकै राम्रो फिल्म बनाएका थिए । गहिरो सामाजिक सरोकारका फिल्म मलाई मन पर्थ्यो । मलाई मार्क्सवादमा विश्वास थियो र आजपर्यन्त छ । मेरा सबै नजिकका साथीहरू मार्क्सवादी नै थिए र छन् । मार्क्सवादी भरोसालायक हुन्छन् ।’
तिनताक सुप्रसिद्ध पञ्जाबी लेखक सुखबीरले गुलजारलाई विश्व साहित्यका महत्त्वपूर्ण लेखकहरूका बारेमा बताए । यसपछि उनी ज्याँ पल सात्र, पाब्लो नेरूदा, डब्लुएच अडेनजस्ता रचनामा रमाउन थाले । पिडब्लुए र पञ्जाबी साहित्य सभामै उनको भेट बलराज साहनी, राजेन्दर सिंह बेदी, भीष्म साहनी आदि साहित्यकार पनि जोडिएका थिए । बलराज साहनी मातृभाषामा लेख्नुपर्ने आग्रह राख्थे र पञ्जाबी पत्रिका प्रीत लडीमा नियमित लेख्थे । गुलजार आफूलाई उर्दु लेखकको त्यो महान् पिँढीसँग जोड्न रूचाउँथे, जसको मातृभाषा पञ्जाबी भए पनि उर्दुमा लेख्थे । अल्लामा इकबाल, फैज अहमद ‘फैज’, अहमद नदीम काजमी, सआदत हसन मंटो, कृष्ण चंदर, अहमद फराज, साहिर लुधियानवी आदि यस्ता पञ्जाबी सर्जक थिए, जसले उर्दु साहित्यलाई समृद्ध बनाएका थिए ।
गुलजारले कुवर लजमा बस्दै गर्दा वरिष्ठ लेखकहरू कृष्ण चंदर र साहिर लुधियानवीलाई नजिकबाट नियाल्ने मौका पाए । त्यस्तै उनले समकालीन संघर्षशील सर्जकका साथ पनि जीवन्त सम्बन्ध बनाए । सागर सरहदी, भीमसेन, मेहबूब स्यालकोटी त उनीसँगै कूवर लजमै बस्थे ।
गुलजारलाई संगीत र चित्रकलामा पनि रुचि थियो । प्रगतिशील सांस्कृतिक संगठनका साथ काम गर्दै रहँदा उनले चित्रकार चित्तप्रसादलाई पनि नजिकबाट बुझ्ने मौका पाए । यहीबेला नृत्यको क्षेत्रमा इप्टामा सक्रिय शांति वर्धन र संगीतमा रविशंकरको जनवादी संगीतबाट पनि परिचित हुन पाए । इप्टाको नाट्य प्रस्तुतिहरूमा काम गर्दै रहँदा उनको परिचय रंग निर्देशक रमेश तलवारसँग पनि भयो । त्यो बेला तलवार बलराज साहनीको नाट्य मंडली ‘जुहू आर्ट्स’मा काम गरिरहेका थिए । त्यो बेला मुंबई (1957-58) मा सलिल चौधरीले बम्बे युथ क्वायर स्थापना गरेका थिए, जहाँ गुलजारको भेट शैलेन्द्रसँग भयो । राजनीतिमा जोडिएका उनका कयौँ परिचित सर्जकले जेल जीवन पनि भोग्नु परेको थियो । तीमध्ये सुखबीर, अली सरदार जाफरी, यूसुफ मन्नान आदि थिए । त्यसैले गुलजारलाई भारतीय वामपन्थको कट्टर र उग्र विचारधारा अपरिचित थिएनन् ।
अझै अघि बढ्दै जाँदा गुलजारलाई हामी सायर, कथाकार, फिल्म निर्देशक, गीतकार, पटकथाकार, अनुवादकजस्ता कुरामा एक साथ र लगभग समान रूपले विकसित भएको पाउँछौँ । त्यसका लागि त्यस बेलाको संगतले भूमिका खेलेको थियो र त्यसैले उनको त्यो विराट स्वरूप बनाउन भूमिका खेलेको थियो । सांस्कृतिक अभिव्यक्तिका विविध विधाहरूमा काम गरिरहेका यति समर्थ रचनाकारहरूका यति नजिक हुँदाको विरल अवसरले गुलजारलाई एउटा विशिष्ट परिपूर्णता दिएको हो ।
त्यो बेला पनि त्यस्तै थियो । त्यो बेला हिन्दुस्तानको राजनीतिको एक युगसन्धि काल थियो । एकातर्फ उपनिवेशवादी विदेशी शक्तिबाट मुक्तिको शुरूवाती उल्लास क्रमशः क्षीण र ठूलो जनसंख्याका लागि अर्थहीन हुँदै गइरहेको थियो । अर्कोतर्फ बामपन्थी विचारधारा विदेशी अनुभव र देशकै वास्तविक यथार्थका बीच दिशाहीनजस्तो देखिन थालेको थियो । बामपन्थीहरूको केन्द्रीय नेतृत्वमा फुट देखिन थालेपछि विभाजित बामपन्थी कार्यकर्ता र सांस्कृतिक विभागका योद्धाहरू पार्टीबाट छिन्नभिन्न भए । तिनीहरू पार्टीबाट अलग त भए तर तिनको रचनामा भूइँमान्छेहरू कहिल्यै छुटेनन् । गुलजारका रचना संसारले तिनै बामपन्थी मूल्यहरूलाई खुबीपूर्वक रेखाङ्कित गर्ने गर्छ ।
बामपन्थी राजनीतिको मञ्च चर्मराएपछि सांस्कृतिक संगठनमा आफू हुनुको उद्देश्यमाथि नयाँ बहस शुरू भइसकेको थियो । नयाँ समाज बनाउने सपना र संकल्पलाई आफ्ना आँखामा सजाउँदै प्रगतिशील लेखकहरूको एउटा प्रसिद्ध समूह नयाँ नयाँ प्रश्नहरूसँग जुझ्न थालेको थियो ।
त्यो तिखा बहसहरूको समय थियो । युवा गुलजारका विचार वयस्क र अनुभवी साथीहरूका विचारसँग जुझ्ने तार्किकता त्यो बेला सायद थिएन । तर तिनका विचारलाई सबैसबै अँगाल्न उनलाई अप्ठेरो भइरहेको थियो । त्यसैले उनी निरन्तर आफैँसँग नयाँ नयाँ जटिल प्रश्न सोधिरहेका थिए र तिनका उत्तर पनि जाँचिरहेका थिए ।
एक पटक बहस चलिरहेको थियो । सुखवीर, बलराज साहनी जस्ता स्थापित साहित्यकार बैठकमा थिए । बहसको मुद्दा थियो, समाजमा कलाकारहरूको भूमिका । विषय गम्भीर थियो । उनलाई लाग्यो, अधिकांश लेखकको धारणा उनको भन्दा फरक थियो । उनीहरूको धारणा थियो, प्रगतिशील समाजको संचरनामा किसान, मजदुर र अन्य श्रमजीवीहरूको भूमिका सबैभन्दा अग्लो हुन्छ । त्यसैले कला र कलाकारको भूमिका समाज निर्माणमा आवश्यक छ र ?
उनीहरूको धारणा छैन भन्ने नै थियो । उनलाई त्यसबारे बिल्कुलै चित्त बुझेन तर त्यसको सटीक जवाफ के हुनसक्छ भन्ने उनीसँग स्पष्ट उत्तर पनि थिएन । उमेरमा कच्चा सही, नयाँ नै सही तर छन त उनी सर्जक नै थिए । त्यो प्रश्नले उनलाई घोचिरह्यो । उनले पछि भनेका छन्, ‘यो प्रश्न मेरो अस्तित्व र स्वसँग जोडिएको थियो । उसो भए के हामी सबै कलाजस्तो एउटा अनावश्यक काममा लागिरहेका छौँ त ? बैठकमा मैले यसबारे केही भनिनँ तर म ज्यादै विचलित भएँ ।’
त्यसको केही दिनपछि उनलाई ‘सतरंगा’ कहानी फुर्यो । उनी भन्छन्, ‘यस कथालाई त्यो बैठकको प्रतिउत्तर ठान्नुस् या मेरो तर्क । अर्को बैठकमा मैले यो कथा पढेर सुनाएँ । कथा सबैलाई मन पर्यो । कसैलाई पनि यो कथामाथि कुनै आपत्ति थिएन । या भनौँ, सिद्धान्तविरूद्धको कथा भनेर कसैले टिप्पणी गरेन ।’
माथिका प्रसंग र सन्दर्भबिना पनि ‘सतरंगा’ कथा एक सार्थक कथा हो । यो कथाले गुलजारको लेखकीय उद्देश्य मात्र देखाउँदै, उनको लेखनीको धैर्य र साना-साना वाक्यहरूमार्फत् कुनै दृश्यलाई जीवन्त बनाउने कला पनि देखिन्छ । कला र श्रमका बीचको सम्बन्धमा गुलजार निकै सहजताका साथ आफ्ना धारणा राख्छन् । गुलजारले यहाँ कलाकार र समाजबीचको पारस्परिक सम्बन्धलाई मार्मिकताका साथ उजागर गरेका छन् ।
(अशोक भौमिकले केही वर्षअघि ‘तहलका’ पत्रिकामा गरेको टिप्पणी)
गुलजारको कथाः
‘सतरंगा’
आधा रातमा जब झुपडीमा खैरूले गाएको आवाज गुञ्जियो, धेरैले नाक खुम्च्याए, केहीले चाक कन्याए, अनि केहीले भने ओछ्यानमा कोल्टे फेरेर ।
‘ओहो ! यो पागलले दिउँसो काम गर्दैन-गर्दैन, अर्कालाई रातमा आराम पनि गर्न दिँदैन,’ ममदुकी स्वास्नी शायद निदाएकी थिइन, निद्रालु स्वरमा बोली ।
‘केहीमा काम लाग्ने भए पो !’ आ-आफ्नो कोल्टे फेर्दै दुवै जना फेरि सुते । खैरू झुपडीमा एक्लै अबेरसम्म गाइरह्यो ।
त्यो गाउँमा कसैलाई पनि कामबाट पलभरको फुर्सद थिएन । एक्लो खैरू मात्र हो, जसको एक पललाई पनि काम थिएन । झुपडीमा सुत्थ्यो, त्यहीँ उठ्थ्यो । बिहान-बिहान रहटतिर जान्थ्यो । (रहटः प्राचीन कालबाट प्रचलित एक यन्त्र, जसबाट पानी निकालिन्थ्यो) । त्यहाँ एउटा रूखको हाँगामा झोला-तोला टाँग्थ्यो, कपडा खोलेर धुन्थ्यो, सुकाउन राख्थ्यो र त्यतिञ्जेलसम्म नुहाइरहन्थ्यो, जबसम्म कपडा सुक्दैनथ्यो ।
उसको कुनै जानुपर्ने ठाउँ थिएन । त्यसैले कहाँ जाओस् ? त्यसैले ममदुको खेततिर गयो । तर ममदुलाई आफ्नो खेतबाट फुर्सद नै कहाँ थियो र उसतर्फ ध्यान देओस् ! ऊ गोरू जोत्थ्यो, हलो ठोक्थ्यो, पसिना-पसिना भएर तप्त मध्य दिउँसोसम्म काममा जुटिरहन्थ्यो । कहिले आली ताछ्थ्यो र मिलाउँथ्यो, कहिले ढेला फोड्थ्यो । खैरू झोलाबाट बाँसुरी निकालेर ऊसित छेउमा उभिन्थ्यो । अथवा, कहिलेकाहीँ राति देखेको सपना सुनाउन थाल्थ्यो । ममदुलाई सधैँ उल्झन भइरहन्थ्यो कि यो बेकारको मान्छेलाई के भनूँ ? न उसले नसुना यस्तो झ्याउलो भन्न सक्थ्यो, न आफू नै ऊ बसे ठाउँबाट अलग्गै कतै जान सक्थ्यो । एक पटक जब खैरूले गोरूका सिङ रंग्याउन हल रोक्यो, त्यो बेला ऊ साँच्चिकै ऊ रिसायो ।
‘भाग, तेरो यस्तो वाहियात् कामका लागि मसँग समय छैन ।’
खैरू त्यो बेला पर हट्यो तर दिउँसो जब ममदु खाना खान थाल्यो, उसले उग्राइरहेका गोरूको सिङ रंग्याइदियो । ममदुकी स्वास्नीले खाना खान बोलाइरही तर ऊ रंग्याउनमै मग्न रह्यो ।
‘काम, काम, काम भन्यो,’ ममदुकी स्वास्नी नज्जो गन्गनाई, ‘चाँडै खाऊ । समीना भोकले रून थाली होली, उसलाई दूध खुवाउनु छ ।’
‘ताजुलाई पनि औषधि खुवाउन नबिर्सी,’ ममदुले सम्झायो ।
‘खाँदै गर तिमी, त्यतिञ्जेल म पानी भरेर ल्याउँछु ।’
‘बिहान भरिनस् ?’
‘बिहान आँटा पिसाउनुथ्यो, त्यसैले त्याँ जानु पर्यो ।’
‘बुस काकाकहाँ गएर सिरक पनि बनाउनू ।’
‘यहाँ धान पनि छान्नु छ ।’
यी सबै काम उसलाई फाल्तु लागिरहेको थियो तर हरेक मानिस तिनै काममा व्यस्त थिए, निकै व्यस्त ।
अर्को दिन पनि फेरि त्यही भयो । ममदु खाना खाँदै गर्दा खैरूलाई बोलायो ।
खैरू झोलाबाट घण्टी निकालेर डोरीमा घुसाउँदै थियो ।
‘ओई खैरू, के गर्दैछस् हँ तँ ?’
‘गोरूहरूलाई घण्टी लगाइदिँदैछु । जब यिनीहरू टक टक हिँड्छन् नि, बडा मज्जाको टिङटिङ बज्छ ।’
‘आइज, खाना खा । यस्ता बेकारका धन्दा छाडिदे । गोरूहरू त हिँडिहाल्छन् नि, किन चाहियो घण्टी ! हिँड्नु नै त तिनको काम हो ।’
‘तँ पनि त गोरूभन्दा के कम छस्, एउटा घण्टी त तैँले बाँधे पनि हुने,’ खैरूले ठट्टा गर्यो ।
साँझ खैरू घर पुग्यो । उसलाई प्यास लागेको थियो तर अरू कसलाई फुर्सद थियो र उसलाई पानी दिओस् । एक जनालाई दाल बनाउनु थियो, अर्की आँटा गुँथेर आएकी थिई । तेस्रोलाई रोगी आमाको चिन्ता थियो । अर्की कागतीले गाग्रो माझिरहेकी थिई । दुई-तीन जना मिलेर पानी तान्दै थिए । खैरू एकातर्फ बस्यो । झोलाबाट उसले केही रङ निकाल्यो र एउटा मटकी (माटोको सानो घैला)मा विभिन्न आकृति बनाउन थाल्यो ।
‘खैरू !’
केटीले खैरूतिर मुन्टो फर्काई र मटकी रंग्याएकोमा चित्त नबुझेको जनाउ दिई । यही त गाह्रो थियो । खैरूका सारा काम फाल्तु थिए । तर उसलाई मुखले त रिस देखाउँथे तर सिधै झम्टिन भने सक्दैनथे । अँ, ज्यादै माया लाग्यो भने विचरो भन्थे र चुप लाग्थे । तर यो गाउँमा काम कहिल्यै रोकिएन । जब मटकीको पालो आयो, केटीले खैरूको काखबाट मटकी खोसी । खैरू पनि काममा माहिर भइसकेको थियो । ऊ कामको बीचमा, साना साना फुर्सदका बीचमा आफ्नो काम गर्थ्यो ।
एक पटक ऊ हीराकहाँ ऊ गएको थियो । हीरा वस्त्र सिलाउँथ्यो । हीराले तान बुन्दै थियो । खैरूले निकैबेरसम्म उभिएरै हीराको काम हेरिरह्यो । तानको आवाज सुनिरह्यो ।
‘धुतङ तुङ! धुतङ तुङ! धुतङ तुङ!’ अनि, ऊ फेरि गाउँभरि घुमिरह्यो, घुम्दै गर्दा उसले गाएको गीतको आवाज परपरसम्म सुनिन्थ्यो ।
‘धुतङ तुङ! धुतङ तुङ! धुतङ तुङ!’
त्यस दिन मुखियाले भन्यो, ‘यसको दिमाग त गएछ ।’
अर्को दिन खैरू फेरि त्यहीँ गयो, हीराकहाँ ।
‘हीरा काका तपाईं हरेक रङको तान किन बुन्नु हुन्छ ? दुई-दुई, तीन-तीन रङहरूलाई तानमा किन मिसाउनु हुन्न ?’
‘मेरो दिमाग अहिल्यै नै खुस्की सकेको छैन नि त, त्यसैले ।’
‘तर काका, हेर्दा बरू त्यो निकै राम्रो हुन्छ त ।’
‘यो तन्ना ओछ्याउनका लागि हो, हेर्नका लागि होइन, बुझिस् ।’
विचरा, के बुझाउनु ? हीराकी छोरी बर्खा धागोको टोकरी सम्हाल्दै थिई छेउमै । ऊ मज्जाले हाँसी । टोकरी राख्दाराख्दै बर्खाको कपाल काँधमा फैलियो । त्यसपछि बर्खाले कपाल सम्हालेर जुरो बनाउँदै भित्र गई, खैरूलाई भित्रभित्रै कुत्कुती लाग्यो र लाज लागेजस्तो देखियो ।
‘बर्खा,’ उसले स्पष्ट रूपमा नाम उच्चारण गर्यो । बर्खा फरक्क फर्केर उभिई ।
‘मलाई थोरै धागो दिन्छेस् ?’
‘धागोलाई के गर्छस् ?’
‘त्यसबाट तेरा लागि नाउ बनाउँछु,’ खैरू जति लजालु थियो, उति नै शरम बिना बोल्यो, ‘तर एउटै रङको नदे है, सबै रङ मिलाएर दे ।’
धेरै रङका धागो बटुल्न विचरोलाई निकै दिन आउनु पर्यो । उसले सबै रङका टुटेका धागाहरू जम्मा गर्यो । र, जुन दिन उसले चाहे जति धागो भेला पार्यो, एउटा रूखको मुनि बसेर सारा दिन नाउ बनाइरह्यो । र, त्यो क्रममा गाइरह्यो, ‘धुतङ तुङ! धुतङ तुङ! धुतङ तुङ!’
उसको ताल देखेर बाटोमा हिँड्नेहरू सबै हाँस्दै जान्थे । नहाँस्ने एक जना मात्र थियो, स्कुलको शिक्षक । उसले बाटोमा हिँड्दै गर्दा सोधेको थियो, ‘के गरिरा खैरू ?’
एक मिनेट त ऊ चुपो लाग्यो, फेरि हाँस्दै भन्यो, ‘कालो घना बादलका लागि म नाउ बुन्दैछु ।’
उसले काम गरिरहेको त आजसम्म कसैले देखेको थिएन, साँच्ची । ऊ केही गरिरहेका बेला पनि कसैले केही देख्दैनथ्यो । बिहानै जब ऊ नहर जाँदादेखि राति आफ्नो सुत्ने झुपडीसम्म आइपुग्दा ऊ गाउँको एउटा छेउदेखि पल्लो किनारासम्म पुगेको हुन्थ्यो । थाहा छैन, कति पटक गाउँको चक्कर लगाइरहेको हुन्थ्यो । हजार पटक कुनै ढोकाको छेउ हुँदै निस्किरहेको हुन्थ्यो र अचानक एक दिन ऊ कुनै ढोकामा उभिन्थ्यो । झोलाबाट चक्कु निकाल्थ्यो र तुरून्त त्यसमा कुनै तस्बिर अंकित गर्थ्यो । कतै हरिण त कतै स्वस्तिकको चिह्न बनाउँथ्यो । उसको पुँजीको नाममा त्यही एउटा झोला थियो । तर ऊ यस्तो तरिकाले गाउँमा घुम्थ्यो कि मानौँ सारा गाउँको मालिक उही होस् । जुन ठाउँमा मन लाग्यो, त्यही बस्यो । जता जान मन लाग्यो, उतै हिँड्यो । जसले उसलाई सहन सक्यो, उसैकहाँ बास बस्यो । कसैले दुत्कार्यो भने त्यहाँबाट उठ्यो । कसैले केही दियो भने लिन्छ, कसैले केही माग्यो भने जिम्मै दिन्छ । कहिले टाढाको यात्रा ! कहिले कहीँ न कहीँ ! यहीँ, यत्तिकै !
र, आधा रातमा जब सबै सुतिरहेका हुन्थे, ऊ आफ्नो आवाजले सारा गाउँलाई ब्युँझाउँथ्यो । उसको आवाज सुनेर कोही नाक खुम्चाउँथे, कोही ओढ्ने तन्काएर जिउभरि ओढ्थे र सुत्ने प्रयत्न गर्थे भने कोही कोल्टे फेर्थे ।
सुस्तरी जे आइरहेको थियो, एक दिन अचानक अघिल्तिर नै आइपुग्यो । कहिलेसम्म उसलाई सित्तैमा रोटी दिन्थे र ? कहिलेसम्म उसका लागि न्यानो र चिसोका कपडाको ख्याल राख्थे र ? खैरू बिस्तारै रोगाउन थाल्यो । तर आफ्नो रङहरूमा उसले आफ्नो पीडा र दुःख लुकाइरह्यो । चुपचाप सही रह्यो । एक दिन मुखिया निद्राबाट उठेर उसको कुटीसम्म आयो ।
‘हरामी साला,’ एकै थप्पडमा विचरा खैरू जमिनमा ढुन्मुनियो । झ्याल जो खुल्ला थियो, त्यो पनि बन्द भयो ।
त्यो बिहान लगभग हरेक व्यक्ति उसको झुपडी हुँदै गयो । खैरी कतै थिएन । उसको झोला त्यसरी नै झुण्डिरहेको थियो, जुन अरू बेला हुन्थ्यो । मानिसहरू एकअर्कासँग सोधिरहे, कहाँ गयो ऊ ? कसैले पनि उसलाई पानीको कुवा छेउ देखेन । खेतमा पनि ऊ थिएन । नहरमा पनि फेला परेन । पहिलो पटक मानिसहरूले ढोकामा कुँदेको चित्र ‘मयूर’ नियाले ।
पहिलो पटक ममदुले जोतिरहेको हल रोकेर गोरूहरूको घण्टी छोयो र केही महसुस गर्यत्र । कसैले पानी भर्ने ठाउँमा उसलाई सम्झँदै मटकी (माटोको घैला) काखमा लियो । काम जुन पहिले कहिल्यै रोकिएको थिएन, आज एक एक कदममा रोकिदै थियो र कसैको प्रतीक्षा गरिरहेको थियो । खैरूको नाम हरेकको ओठमा आइरहेको थियो र मानिसका आँखामा पग्लिन थालेको थियो ।
रात आधाभन्दा बढी बितिसकेको थियो । उसको झुपडीमा बस्, त्यही एउटा झोला झुण्डिरहेको थियो । र, उसको आवाज बिना सारा गाउँ ब्युँझिरहेको थियो ।
अनुवादः अच्युत कोइराला



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

