विषय प्रवेश:

विश्वकै वृहत् लोकतान्त्रिक मुलुक भारतको विशेषता के हो भने विश्वमा यो एक मात्र यस्तो मुलुक हो, जहाँ असंख्य जाति भाषा, बोली र साहित्य विद्यमान छन् । यस्तो मुलुकमा व्यक्ति, समाज, जाति, असंख्य भाषा र साहित्यलाई जोडेर राष्ट्रिय अखण्डतालाई दह्रिलो बनाउँदै विश्व बन्धुत्वको भावना अनुरूप तत्परताका साथ आफ्नो लक्ष्यमा अघि बढ्दै जानुमा साहित्य अकादमीले अहम् भूमिका निर्वाहन गर्दै आएको छ ।

० ० ० ०

साहित्य र साहित्य अकादमीको भूमिका:

भारत यति विघ्न भाषा, बोली र साहित्यले डम्म भरिएको विविध रंगको फूलबारी नै भएको तथ्यलाई ध्यानमा राखेर मुलुकमा सरकारले संस्कृति मन्त्रालय अन्तर्गत सन् १९५४ मा सबै भारतीय साहित्यको विकासको लक्ष्यलाई आफूमा समाहित गर्न सक्ने एक सर्वोच्च साहित्यिक संस्थाको रूपमा साहित्य अकादमीको स्थापना गरेर यसलाई ठूलो जिम्मेवारी दिँदै आएको छ । साहित्य अकादमीले पनि आफ्नो लक्ष्यलाई गम्भीरताका साथ पालन गर्दै विश्वमा भारतको साहित्यिक र सांस्कृतिक गरिमा र प्रतिष्ठा अनि अस्मितालाई उच्चा राख्ने दिशामा समर्पित भावले काम गर्दै आएको छ ।

साहित्य अकादमी भनेपछि प्रतिवर्ष लेखकहरूलाई विविध विधामा पुरस्कार दिने, पुस्तकहरू प्रकाशन गर्ने र साहित्यिक सम्मेलन र सङ्गोष्ठीहरू आयोजन गर्ने संस्था मात्र होइन ।

आज विश्वमा जहीँ तहीँ धर्म, राजनीति र विभिन्न कलहका विषयहरूले शान्ति र सौहार्द्यता भङ्ग गरिरहेको बेला साहित्य मात्र एक यस्तो हतियार बनेको छ, जसले विभिन्न प्रकारका कठिनाइहरू झेल्दै भए तापनि विश्वलाई मानवीय मूल्य र मान्यताहरूको अनुभूत गराउँदै परस्परमा जोडेर राख्ने काम गर्दै आएको छ ।

० ० ० ०

साहित्योत्सवः

यही महत कार्यमा समर्पित रहेर आएको भारतको सर्वोच्च साहित्यिक संस्था स्थापना भएको पनि ७० वर्ष पुगेछ । यसैले यस वर्ष साहित्य अकादमीले साहित्य अकादमी पुरस्कार अर्पण गर्ने कार्य मात्र नगरेर ११ मार्चदेखि विराट रूपमा साहित्योत्सव २०२४ कै नाम दिएर एउटन ठूलो उत्सवको आयोजना गरेको छ । यो ठूलो साहित्य समागम हो । भनौं साहित्यको महाकुम्भ नै हो । अरू वर्ष भन्दा यस वर्षको कार्यक्रम छुट्टै र महत्त्वपूर्ण भएको छ, जसमा सात दशकभित्र साहित्य अकादमीको योगदानलाई समाहित गर्नु पर्ने हुनाले साहित्य अकादमी भवन र वरिपरिको परिवेशलाई अति सजिसजाउ गरेर, प्रकाशको माध्यमले अति रौनक बनाएको देखियो ।

दिल्लीलाई नै कर्मथलो बनाएर बसेको ३५ वर्षभन्दा बढी भयो । यतिका वर्षभित्र मैले यति ठूलो साहित्य समागम कहिल्यै देखेको थिइनँ । साहित्य अकादमीका सचिव श्री के. श्रीनिवासरावले यसलाई एडिनबरा लिट् फेस्टिभल वा जयपुर लिट् फेस्टिभल भन्दा ठूलो साहित्य महोत्वसव बताउनु भयो । ११ मार्चदेखि साहित्योत्सव विधिवत् सुरु भयो । यसको उद्घाटन केन्द्रीय संस्कृति राज्य मन्त्री अर्जुन राम मेघवालले गर्नु भयो ।

साहित्योत्सवको विधिवत् उद्घाटन गर्दै उहाँले भन्नुभयो, “साहित्य लेखन एक छुट्टै कला हो अनि साहित्यकार एक साधक हुन् । साधक साहित्यकारले नै एक विशिष्ट संस्कृति, एक सुन्दर समाज र एक गरिमामय देशको निर्माण गर्छन् ।” उहाँले अझ भन्नु भयो- “साहित्यले विवेक उत्पन्न गर्छ, जुन राष्ट्र निर्माणको लागि आवश्यकता पर्छ ।”

१६ मार्चसम्म चल्ने साहित्योत्सवमा मोठ १९० सत्र राखिएका छन् । भारतीय महान् सन्तहरूका नाममा स्थापना विभिन्न सभागारहरूमा अलग अलग सत्र राखिएका छन् । एकै दिनभित्र भिन्न भिन्न एघार सभागारहरूमा राखिएका कार्यक्रमहरूमा कैयौं सत्रमा त बहुभाषी कवि सम्मेलन नै भइरहेका छन्, जसमा अन्य भारतीय भाषा लगायत नेपाली भाषाका कवि कवियत्रीहरूले पनि सहभागीता जनाइरहेका छन् । एकै दिनमा कवितालाई मात्र लिएर सात भन्दा धेरै बहुभाषी कवि सम्मेलनहरू राखिएका छन् ।

बहुभाषी कवि सम्मेलन र कहानी पाठ कार्यक्रमहरू अतिरिक्त प्रतिदिन साहित्यिक विमर्श हुने अन्य कार्यक्रमहरू निम्न प्रकारले छन्- जस्तै- अनुवाद सम्बन्धी कार्यक्रम, साहित्य र नयाँ तकनिकी, साहित्य र संस्कृति, भारतको भक्ति साहित्य, कला र साहित्य, वैचारिकता र साहित्य, साहित्य र नारी सशक्तीकरण, भारतीय पर्यावरणीय समालोचना, उत्तर पूर्वी तथा पश्चिमी लेखक सम्मेलन, आदिवासी कवि सम्मेलन, दिव्याङ्ग कवि सम्मेलन, आदिवासी लेखक सम्मेलन, २१ औं शताब्दीको भारतीय अंग्रेजी लेखन, भावी उपन्यास, २१ औं शताब्दीको भारतीय उपन्यास, साहित्य र सामाजिक आन्दोलन, भारतीय साहित्यमा जादुइ यथार्थवाद, २१औं शताब्दीको भारतीय कविता, प्रकाशन तथा स्वामित्वको मुद्दा, भारतको लोक कथाहरू, भारतीय भाषामा बाल साहित्य, बीसौं शताब्दीको भक्ति आन्दोलन, लोकप्रिय चेतनामा रामकथा, भारतको सांस्कृतिक विरासद, भारतीय साहित्यमा नारीवाद, भारतको धार्मिक र दार्शनिक साहित्य, भारतीय भाषाहरूमा विज्ञान कथा, मिडिया र साहित्य, स्वतत्र्योत्तर भारतीय साहित्य, नारी शक्ति, दलित साहित्य, विभिन्न विषयमा परिसंवाद, भारतीय अंग्रेजी लेखन अनि अनुवाद, भारतमा नाट्य लेखन, भारतको भक्ति साहित्य, भारतीय वाचिक महाकाव्य इत्यादि ।

विगत सात दशकभित्र विभिन्न भारतीय साहित्यमा के कस्ता विकास भए त्यसबारे पनि विमर्श राखिएको छ । जस्तै ‘विगत सात दशकमा नेपाली साहित्य’ शीर्षकमा नेपाली साहित्यको पक्षमा प्राज्ञ डा. महेन्द्र पी. लामाले प्रपत्र सामेल छ ।

यति धेरै साहित्यिक विमर्शमा अझ एउटा थप आकर्षण राखिएको छ, हिन्दी तथा उर्दू साहित्य जगतका प्रख्यात लेखक तथा गीतकार गुलजारद्वारा  हिन्दी र सिनेमा साहित्य विषयमा संवत्सर व्याख्यान ।

० ० ० ०

साहित्य अकादमी पुरस्कार २०२३ अर्पण कार्यक्रम:

साहित्य अकादमी पुरस्कार अर्पण कार्यक्रमको मात्र कुरा गर्नु हो भने पनि यो कार्यक्रम ठीक साढे पाँच बजेदेखि कमानी अडीटोरियममा सुरु भएको थियो । साँझ ठीक साढे पाँचदेखि सुरु भएको कार्यक्रममा सबैभन्दा पहिले बन्दना गायनबाट श्रीगणेश गरिएको थियो । कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो, साहित्य अकादमीका अध्यक्ष श्री माधव कौशिकले । प्रमुख अतिथि हुनु हुन्थ्यो, ओडिया साहित्य जगतका अति नै प्रख्यात साहित्यकार तथा ज्ञानपाठ पुरस्कारले विभूषित श्रीमती प्रतिभा राय ।

कार्यक्रमको सुरुमा साहित्य अकादमीका सचिव श्री के. श्रीनिवासरावले स्वागत भाषण राख्नुभयो । आफ्नो  सम्भाषणमा उहाँले विगत वर्ष २०२३ मा साहित्य अकादमीले गरेको गतिविधि र उपलब्धिहरूबारे प्रकाश पनि पार्नु भयो । विगत वर्ष मात्र साहित्य अकादमीले विभिन्न भाषाका गरेर ४२५ पुस्तकहरू प्रकाशन गरेको, ७१ पुरस्कारहरू प्रदान गरेको र १०९ पुस्तक मेलाहरूको आयोजन गरेको बताउनु भयो । त्यसपछि पुरस्कार अर्पण कार्यक्रम थालियो । एक एक गर्दै मोठ २४ भाषाका पुरस्कार प्रापक स्रष्टाहरूलाई पुरस्कारले विभूषित गरियो । दर्शक दीर्घामा यस पटक अघि अघि भन्दा मानिसहरू खचाखच थिए ।

सबै स्रष्टाहरूलाई पुरस्कार अर्पण गरिएपछि आफ्नो अध्यक्षीय भाषणमा श्री माधव कौशिकले अति नै सारगर्भित वक्तव्य प्रस्तुत गर्नु भयो । साहित्यको महत्त्वमाथि प्रकाश पार्दै आफ्नो भाषणमा उहाँले भन्नु भयो- “विश्वमा मानवता कहीँ छ भने साहित्यमा नै छ । साहित्यकारहरू यति संवेदनशील हुन्छन् कि कसैलाई काट्यो र चोट लाग्यो भने कुनै कवि वा लेखकलाई दुख्ने गर्छ ।” उहाँले के भन्नुभयो भने- आज पुरस्कृत सबै रचनाकारहरू आफ्नो-आफ्नो भाषाको सेनापति हुन् अनि उनीहरूले सृजना मात्र गरेका छैनन् तर संरक्षण पनि गरेका छन् । उहाँले भन्नु भयो, अकादमीले २४ भाषाहरूमा नै पुस्तकहरू प्रकाशन गर्छ अनि अकादमी यति सक्रिय भएर काम गरेको हुन्छ कि हरदर रूपमा हेर्नु हो भने १८ घण्टामा एउटा पुस्तक प्रकाशन गरेको हुन्छ ।” साहित्य अकादमीले पुस्तक प्रकाशन र आफ्नो सबै कामहरूमा नयाँ प्रविधिको पनि पूरा पूरा उपयोग गरेको पनि उहाँले बताउनु भयो ।

प्रमुख अतिथि प्रतिभा रायले उस्तै सारगर्भित भाषण प्रस्तुत गर्नुभयो । आफ्नो भाषणमा साहित्यको परिभाषा दिँदै उहाँले भन्नुभयो, “विश्वमा धर्म र राजनीतिले जताततै मानव जातिलाई विभाजित गरिरहेको हुन्छ तर साहित्यले सधैँ मानव जातिलाई जोड्ने काम गरेको हुन्छ ।” उहाँले स्पष्ट शब्दमा भन्नुभयो- “भाषाको विकासबिना संस्कृति बाँच्नु सक्दैन । उहाँको भनाइमा साहित्यले प्रत्येक व्यक्तिलाई जोड्छ । साहित्यले विभाजन गर्दैन । यसैले साहित्य सधैँ सर्वव्यापी हुन्छ अनि विश्वमा आएको विभिन्न परिवर्तनमा पनि यसले आफ्नो आकर्षण हराउँदैन । सबै भारतीय भाषाहरूले हामीलाई शक्ति प्रदान गर्छ अनि हामीलाई प्रेमको भाषा बोल्न अभिप्रेरित गर्छ ।”

आफ्नो भाषणमा साहित्य अदाकमीका उपाध्यक्ष श्रीमती कुमुद शर्माले भन्नुभयो- “साहित्यलाई हामीले आमा ठान्न सक्छौं, जसले आफ्नो कुनै पनि छोराछोरीप्रति भेदभाव राख्दैन । साहित्यले हाम्रो निम्ति उज्यालो सृष्टि गर्दै मार्ग तयार गर्छ अनि भावी पिँढीको लागि के कस्तो धर्म निर्वाह गर्नु पर्छ, त्यो गर्छ । साहित्यले मनुष्यलाई जोड्ने काम गर्छ । उहाँले अझ भन्नुभयो- साहित्यको घेरोमा नै संस्कृति सुरक्षित रहेको हुन्छ ।” उहाँले फेरि भन्नुभयो, “साहित्योत्सव सिर्जनाको उत्सव हो अनि मनुष्यतालाई फेरि एक पल्ट झकझकाउने र आवाज दिने प्रतीक हो यो उत्सव ।”

उपाध्यक्षको भाषणपछि पुरस्कार अर्पण कार्यक्रम समापन भयो । यस पटकको यो साहित्य अर्पण कार्यक्रममा २४ भाषाकै साहित्य स्रष्टाहरू आफ्नो-आफ्नो आसनमा बसिरहनु भएको मञ्चतर्फ इङ्गित गर्दै सबै वक्ताहरूले आज यहाँ मञ्चमा भारतवर्षकै प्रतिरूप हामी देखिरहेछौं भन्ने उद्गार व्यक्त गर्नुभयो ।

छ दिनसम्म चल्ने यति महान् साहित्योत्सवको आयोजना गर्न र यसलाई सफल बनाउन साहित्य अकादमीले जस्तो मेहनत र भागीरथ प्रयत्न लगाउन पऱ्यो कि त्यसको प्रशंसा कुनै पनि शब्दमा गरे पनि अधुरो हुन्छ । यसको लागि साहित्य अकादमीका अधिकारी र कर्मचारीहरू कैयौं दिनदेखि आफ्नो घर समेत नगई खटेको उल्लेख साहित्य अकादमीका उपाध्यक्षले गर्नु भयो । साहित्य अकादमीको यो समर्पण र अठोट निष्ठा अनि प्रतिबद्धता हामी सबैको लागि एउटा ठूलो शिक्षा हो ।