कसैले हिउँफाँटहरूमा आलमुनियमका भर्याङ‍ेपुल बिछ्याइदिएका रहेछन् । ती पुलका दुईतर्फी नै हिउँका कडा चट्टानहरूमा कीला ठोकी नाइलनका मोटा रस्सी तानिएका रहेछन् । दुई हातले दुईतर्फी रस्सी समाई जीउको सन्तुलन कायम राखी पुल पार गर्नुपर्ने रहेछ र यस्ता पुल  रहेछन्  चालीस-पचासवटा जति नै । जुत्तामा क्रेम्पोन लाएर यस्ता पुल पार गर्नु कम्ती जोखिमपूर्ण हुँदैन, तर उसलाई लाग्छ- यो एक सुविधापूर्ण जोखिम हो । मान्छेहरू अरूका बाटा हिँड्न अभिशप्त छन् । तर जीवन यस्तो कुराका लागि होइन । होइन… ।

ऊ स्थितिहरूप्रति असन्तुष्टि बोध गर्दै भऱ्याङेपुलहरूमा हिँड्छ । ठोस क्रेम्पोन पाइलाहरू । गल्तीका सम्भावनाहरूले कुनै गल्ती गर्दैनन् ।

ऊ बुझ्छ, पहिलेपहिलेका अभियान दलका मान्छेहरूलाई खुम्बु आइसफलमा बाटो बनाउन आठ-दस दिन लाग्थ्यो । प्रायः नाम्चे, थ्याङबोचेतिरबाटै अभियान दलका नाइकेहरूले बाटो बनाउन, खोज्न अग्रिम दल पठाउँथे र आफूहरू ‘एक्लिमेटाइजेसन’ का लागि उतै रहन्थे वा आधारशिविर आई बस्थे । तर अहिले यो केही घण्टाको काम भएको छ । कारण आइसफल डाक्टरहरूले पहिले नै बाटो बनाइदिइसकेका हुन्छन् । भर्याङेपुलहरूमा वारपार-वारपार गर्दै ऊ सोच्छ । त्यसपछि अपराह्न नढल्कँदै ऊ आधारशिविरमा फर्कन्छ ।

भरिया साथीहरूले उसलाई न्यानो स्वागत गर्छन् ।

“खोइ हाम्रो नयाँ साथी ?” तात्तातो कफी पिउँदै ऊ सोध्छ ।

“हाम्रो नयाँ साथी हाम्रो मात्र साथी होइन ।” एक जना भरिया साथीले भनिदिन्छ दाँतहरू जम्मै देखाएर । त्यही बेला पर कतै भोटे कुकुर भुक्छ । सबै मुखामुख गर्छन् । अनि घतपरी हाँस्छन् जोडले ।

आधारशिविर छेउको हिमालमा कुनै हिउँपहिरो जाँदैन ।

रात परिसक्छ । जाडो बढिसक्छ । त्यसैले ऊ भरियाहरू र गाइडहरूको साझा मेसमा जाँदैन । तर उसका भरिया साथीहरू त्यहाँ दिउँसै पुगेका रहेछन् ।

“त्यहाँ सबैलाई तपाईंको चिन्ता लागेछ त्यसैले लप्साङमा पूजा गरेछन् ।” एउटा भरिया उसलाई जानकारी गराउँछ ।

“ए, हो । मलाई खुसी लाग्यो। यो मप्रति सबै साथीहरूको असल भावना हो । भोलि म पनि लह्प्साङमा खादा चढाउँछु है ?” ऊ उत्साहित भई भरिया साथीहरूलाई सोध्छ ।

“हुन्छ । हुन्छ ।” भरिया साथीहरूले अनुकूल प्रतिक्रिया व्यक्त गर्छन् खुम्बु आइसफलले दिएको थकाइ बेपत्ता भइदिन्छ ।

भोलिपल्ट बिहान ऊ भरिया साथीहरूसँगै लह्प्साङमा जान्छ अनि खुसीखुसी खादा चढाउँछ। परपर अभियान दलका तम्बू बाहिर निस्केका भरिया गाइडहरूले देखासिकीमा हात हल्लाईहल्लाई खुसी व्यक्त गर्छन् । केही गोराहरूले देखासिकीमा हात हल्लाउँछन् । ऊ पनि सबैलाई हात हल्लाइदिन्छ त्यही बेला कतैतिरबाट उसको नयाँ साथी याने भोटे कुकुर दगुर्दै त्यहाँ आइपुग्छ ।

“के छ साथी ?” ऊ सोध्छ । भोटे कुकुर भुक्छ अनि उफ्रँदै अगाडिका दुवै खुट्टा उसको छातीमा तेर्साइदिन्छ । भरिया साथीहरूले फेरि साइत परेको अनुभव गर्छन् ।

त्यस दिन ऊ खुम्बु आइसफलतिर लाग्दैन । सबैले देख्ने गरी आधारशिविर क्षेत्रकै एउटा चट्टान चढ्ने काममा लाग्छ । ठूला अभियान दलका ठूला मान्छेहरू सबै ऊ चट्टानमाथि पुग्दा र त्यहाँबाट तल झरिसक्दा ताली बजाइदिन्छन् । भरियाहरू र गाइडहरूका ताली झन् जोडदार र हार्दिकतापूर्ण हुन्छन् । ऊ सबैसित मुस्कुराउँदै आफ्नो तम्बूमा जान्छ । तम्बूबाहिरै बसी थकाइ मार्छ । अकस्मात् बदली हुन्छ । तेज हावा चल्छ र त्यही हावामा उडी आएझैँ गरी एक सुन्दरी युवती ऊसामु देखा पर्छे । ऊ छक्कै पर्छ ।

“हेर्नुहोस् महाशय, तपाईंले चट्टान चढेको देख्दा तपाईं एक दक्ष र अनुशासित आरोही हुनुहुन्छ भन्ने कुरा थाहा हुन्छ तर पनि एक्लै हिमाल चढ्नु हुँदैन । एकपल्ट सोच्नुहोला है… म अनुरोध गर्छु… प्लिज… ।” हावासित मुकाबिला गर्दै निकै चर्को अनि भावनात्मक पारामा युवतीले भन्छे । त्यसपछि केही नपर्खेर अनुहार छोप्न आएका केशहरू हटाउँदै, अघिल्तिर झुकी आफूलाई सम्हाल्दै पछिल्तिरबाट बेतोडले आएको कुहिरोको गुफाभित्र हराउँछे ।

ऊ छक्कमाथि छक्क पर्छ । अलमल्ल पर्छ । युवती कुन तम्बूभित्र छिरी उसलाई थाहै हुन सक्दैन । ऊ यो कुराको चर्चा भरिया साथीहरूसित गर्छ । कुन्नि के बुझेर उनीहरू हाँसो गर्छन् ।

राति सुत्ने बेला ऊ थकथिकन्छ । ऊ त्यस सुन्दरी युवतीको आकस्मिक व्यवहार र कुराहरू सम्झन्छ । रहस्यमय लाग्छ उसलाई ।

भोलिपल्ट मौसम त्यति सफा हुँदैन । ऊ आधारशिविर वरिपरि घुम्दै सुन्दरी युवतीलाई खोज्छ । सुन्दरी युवती कतै फेला पर्दिन । ऊ छोटो पदयात्रामा निस्कन्छ । पर्सिपल्टदेखि सबैलाई आश्चर्यमा पार्दै मौसम पूरै बिग्रन्छ । ठूला अभियान दलका मान्छेहरू भूउपग्रहका माध्यमद्वारा दक्षिण एसियामा कहाँ उच्च एवम् निम्न वायुचाप क्षेत्र सिर्जना भएका छन्- अध्ययन गर्नमा व्यस्त हुन्छन् ।

ऊ सोच्छ- ‘अब उसले हिमाल चढ्ने योजना बनाउनुपर्छ । सगरमाथा उसको सपना हो । सपनाको चुली हो । यो एउटा हिमालको चुली मात्र होइन, सर्वोच्चताको चुली पनि हो । राम्ररी योजना गरिएन भने सपना सधैं सपनै रहन्छ । ऊ यहाँ छुट्टी बिताउन आएको होइन ।’

ऊ मानसिक रूपले योजनाबद्ध भइरहन्छ ।

दुई दिनपछि मौसम सुध्रन्छ । ऊ भरिया साथीहरूलाई भन्छ- “अब म सगरमाथा चढ्न जान्छु ।”

“मौसम बिग्रन सक्छ फेरि । अरू दुई दिन पर्खनुहोस्… ।” भरिया साथीहरू उसलाई भन्छन् । तर ऊ भरिया साथीहरूको सल्लाह मानी बस्ने स्थितिमा आफूलाई पाउँदैन ।

ऊ हिँड्न तयार हुन्छ । भरिया साथीहरू लह्प्साङमा प्रार्थना गरी उसलाई भन्छन्- “तपाईंको यो ठूलो काम सफल होस् । चोमोलोङ्माकी देवीले राम्रो गर्छ गर्छ ।”

त्यसपछि उनीहरू असाध्य भावुक हुँदै उसलाई खादा दिन्छन् । ऊ पनि भावुक हुन्छ ।

“म भोलि पर्सिसम्ममा सगरमाथा चढी आइपुग्नेछु, चिया बसालिराख है ?” ऊ अलिकति हाँसो गर्न खोज्छ ।
“हुन्छ ।” भरिया साथीहरू नहाँसी भन्छन् । ऊ अप्ठेरो मानी मुस्कुराउँछ अनि हिँड्छ फटाफट । नयाँ साथी याने भोटे कुकुर कतै देखा पर्दैन ।

र, माथितिर खुम्बु आइसफल देखिन्छ । उसलाई अनुभूति हुन्छ भरिया साथीहरू उसलाई हेरिरहेछन् । तर ऊ फर्केर हेर्दैन । ऊ सोच्छ, यस्तो भावुकताले मान्छेलाई कमजोर बनाउँछ । जीवन शौर्यको महान् यात्रा हो । र उसले अब आफूलाई पूरै यात्रामा व्यस्त पार्नुपर्छ ।

दुई दिनसम्म मौसम बिग्रेको हुँदा खुम्बु ग्लेसियरभरिका बाटोमा अत्यधिक हिमपात भएको हुन्छ । उसले टेकेका पाइलाहरू जम्मै मेटिइसकेका हुन्छन् । ऊ बाटो खोज्दै नयाँ पाइलाहरू चाल्दै हिँड्छ । सायद कमजोर भावुकताहरूबाट बच्न ऊ थ्याङ्बोचे सम्झन्छ, इम्जाखोले बाटो सम्झन्छ, अमादब्लमको बदलिइरहने दृश्य-छटाहरू सम्झन्छ । साथै ऊ आक्कलझुक्कल देखिएको सगरमाथालाई पनि सम्झन्छ, जुन पछि नुप्चे श्रेणीपछिल्तिर हराएको थियो । ऊ लोबुजेतर्फ खुम्बु ग्लेसियरको बगर (Moraine) सम्झन्छ । लोबुजे चुली सम्झन्छ । त्यसपछि ऊ कालापत्थरको ढुङ्गे चुलीमुन्तिरको गरेक्सेप तालदेखि आधारशिविर अनि बाटोमा देखा पर्ने टुन्ड्राच्छादित बगरहरू सम्झन्छ । त्यसपछिको चट्टान छरिएको उपत्यकाभूमि जसको पुछार पुमोरी, लिङट्रेन र खुम्बुत्सेहरूद्वारा घेरिएको छ- ऊ सम्झन्छ ।

यी सम्झनाहरूसँगै ऊ सम्झन्छ- ‘अब बल्ल आधारशिविरका ठूला अभियान दलका भूउपग्रह सुत्ने कोठाहरूमा केही चहलपहल सुरु भए होलान् ।’

ऊ अप्ठेरो नमानी मुस्कुराउँछ, अनि सोच्छ- ‘एकाबिहानै धेरै पो हिँडिसकिएछ । उसलाई खुसी लाग्छ, अझै घाम लाग्ने बेला भएको छैन ।’ जब खुम्बु ग्लेसियर माथितिरबाट काला बादलका दलहरू देखा पर्छन्, ऊ मौसम बिग्रने सम्भावनाले केही चिन्तित हुन्छ । तर ऊ हिउँमा अगाडि बढेका पाइलाहरू रोक्दैन । ऊ सोच्छ- ‘कति मान्छेको जीवन राम्रो मौसमको प्रतीक्षा गर्दागर्दै त्यत्तिकै बित्छन् । राम्रो मौसम राम्रो कुरा हो तर राम्रो मौसमको प्रतीक्षा गरिबस्नु मात्रै राम्रो कुरा होइन ।’

ऊ सकभर चाँडो र सोझो पाराले हिँड्दै आइसफलसम्म पुग्छ अनि पहिलेझैं त्यहाँ बिछ्याइएका भर्याङेपुलहरू र आफूसित भएको भर्याङ, डोरीहरू प्रयोग गरी अघि बढ्न थाल्छ । कसैले भनेका थिए- ‘आइसफलमा मूर्खहरूले झैँ हतार गरी हिँड्नु हुँदैन ।’ ऊ मूर्ख नभई यो कुरा अनुभूति गर्छ अनि ठोस क्रेम्पोन पाइलाहरू चाल्छ ।

हिउँको आतङ्क । हिमखाल्डाहरू नीला-हरिया । र, नीरवता मात्रै ।

उसले आइसफल पार गर्दा-नगर्दै चिन्ताका बादलहरू छिन्नभिन्न हुन्छन् । घाम लाग्छ । ऊ पूरा नब्बे पाउन्डको भारी पिठ्यूँमा बोकेर उत्साहपूर्वक सोच्छ- ‘जीवन भनेको कहिले हावाहुरी, कहिले आँधीतुफान त कहिले चकमन्न शान्ति र सुन्दरता हो । शान्ति र सुन्दरता सबैलाई मन पर्ने हुन्छ । हिमालभन्दा शान्त, सुन्दर पृथ्वीमा अरू केही छैन । तर बुझ्नुपर्ने कुरा, मान्छे वातावरण वा पर्यावरणको कृपामा बाँच्ने प्राणी होइन । मान्छेको इतिहास भनेको प्रकृतिसित सम्झौताको इतिहास होइन । मान्छे एक साहस हो । साहस आफैँमा एक प्रतिभा हो ।

आइसफल पार गरी क्याम्प एक क्षेत्रमा पुग्नुभन्दा पहिले बीचैमा ऊ केहीबेर थकाइ मार्छ । त्यसपछि पेययुक्त हलुका खाना खाँदै ऊ सन् १९५२ मा कुनै क्लार्क महोदयद्वारा दिइएको फाइल सङ्ख्या ‘XV चुली’ को भावबोध गर्दै त्यसको स्थितिबोध गर्छ । उसलाई थाहा हुन्छ यो हिमाल चढ्ने बाटाहरू धेरै छन्- जस्तो साउथ कोल बाटो, वेस्ट रिज बाटो, नर्थ कोल बाटो, साउथ-वेस्ट फेस, वेस्ट रिज डाइरेक्ट, नर्थ-इस्ट रिज, काङसुङ फेस, नर्थ-वेस्ट फेस । कति मान्छेका लागि जीवनको अर्थ नयाँ बाटो पत्ता लगाउनु हुन्छ । हिमालमा पनि जीवनमा पनि ।

क्याम्प एकतर्फको बाँकी हिँडाइ उस्तै हुन्छ । ताजा हिउँ र कठोर पुराना हिउँका उकाली-ओह्रालीहरूमा क्रेम्पोन पाइला चाली हिँड्दा उसले खासै ठूलो कठिनाइ महसुस गर्दैन । उसलाई थाहा हुन्छ ताजा हिउँ अत्यन्त मुलायम हुन्छ । कुनै पाउडरी र कुनै क्रिस्टली हुन्छ । तर कठोर पुरानो हिउँ अत्यन्त साह्रो, पारदर्शी सेतो वा नीलो हरियो रङको हुन्छ । यस्तो हिउँ याने बरफ पचासौं वर्ष पुरानो हुन सक्छ । त्यसैले हिमालमा यी दुवै खाले हिउँहरूको चरित्र र व्यवहार बुझ्नुपर्छ ।

ऊ ताजा हिउँमा पाइलाका डोबहरू छोड्दै, कठोर पुराना हिउँका पहराहरूमा हिम-बन्चरोले ‘स्टेप कटिङ’ गर्दै, खुंटी र डोरीका अपरिहार्य सहयोगमा अघि बढ्दै जान्छ । क्याम्प एक पुग्दासम्ममा ऊ प्रशस्त थाक्छ ।

जीवनमा कोही हिमाल चढेर थाक्छन्, कोही हिमाल नचढेर थाक्छन् । हिमाल चढ्नेहरूका जीवनमा थकाइ हुन्छ, थकाइमा जीवन हुँदैन ।

क्याम्प एक क्षेत्र । ६१०० मिटरको उचाइ । ऊ त्यहाँ केहीबेर थकाइ मारी अलिकति पानी र फ्रुटकेक खान्छ । तर अरू अभियान दलका मान्छेहरूले झैं त्यहाँ तम्बू टाँगी बास बस्ने सुर कस्दैन । अहिले बिहानको जम्मा आठ बजेको हुन्छ र ऊ आधारशिविर-बेसक्याम्पबाट यहाँ चार घण्टामा आइपुगेको हुन्छ । स्वास्थ्य पनि एकदम ठीक हुन्छ । उसको जीउमा उचाइको कुनै प्रभाव हुँदैन । टाउको दुख्दैन । वमन हुँदैन । हातखुट्टा चिसिँदैन । त्यसैले शीतदंश (Frostbite) को कुनै सम्भावना हुँदैन । अनि थकाइ थकाइलाग्दो हुँदैन । तब त्यहाँ तम्बू टाँगी बस्नुको महत्त्व नै के छ ? जीवनमा कति मान्छेहरू थोरैथोरै परिश्रम गरी धेरैधेरै आराम खोज्छन् । जीवनमा कति मान्छेहरू अल्छी बन्नकै लागि जन्मन्छन् त्यसैले जीवनका सुनौला अवसरहरूलाई शत्रुतापूर्ण दृष्टिले हेर्छन् । हिमाल चढ्नेहरूलाई यस्तो कुरा सुहाउँदैन । अल्छीले हिमाल चढ्दैन ।

क्याम्प एकबाट क्याम्प दुईतर्फ लाग्दा ऊ तलतिर फर्किहेर्छ । आधारशिविर क्षेत्र र सम्पूर्ण भूसतहहरू धेरै पछि परिसकेछन् ऊ सोच्छ- ‘हिमाल चढ्दै जाँदा धर्तीका अन्य भूभागहरू कति होचा र पुड्का देखिन्छन् । जीवनको सतहमा उभिएको मान्छेले जीवनको होचाइ र पुड्काइ अनुभव गर्न सक्दैन । जीवनको महानता बोध गर्न मान्छेले पखेटा लगाई उड्नु पर्दैन ।’

ऊ क्याम्प दुईतर्फको चढाइमा लाग्छ । खुम्बु ग्लेसियर, सगरमाथा र ल्होत्से-नुप्चेबीचको उच्च हिमाली उपत्यका अर्थात् पश्चिमी कुमक्षेत्र (CWM) । सन्नाटाको घाँटी । यो चढाइ उसलाई अपेक्षाकृत रूपले निकै सजिलो लाग्छ । सामान्य घुमाइ परेका उकाली बाटाहरू जहाँ हावा पनि उति साह्रो चल्दैन । दूरीको भिन्नता पहिलेभन्दा केही कम । तर हिमालमा दूरीको भिन्नताले त्यति महत्त्व राख्दैन जति महत्त्व उचाइको भिन्नताले राख्छ । यहाँ उसको सामना ताजा हिउँका तेर्सा उकालीहरू र कठोर पुराना हिउँका उकालीहरूसितै हुन्छ ।

ऊ आफ्नो सम्पूर्ण तकनिकी कुशलता एवम् हार्दिक उत्साहसहित क्रेम्पोन पाइलाहरू अघि बढाइरहन्छ । उसलाई यो चिसो मरु उपत्यकामा गर्मीको अनुभूति हुन्छ । बाटोमा केही खरपसहरू हुन्छन् जुन कुनै पूरै वा आधीभन्दा बढी ताजा हिउँले ढाकिएका हुन्छन् । त्यस्ता ठाउँहरूबाट बच्न ऊ लट्ठीले भुइँमा घोच्दै हिँड्छ । लट्ठीले भुइँमा घोच्दा ठोस भाग फेला पर्यो भने हिँड्नलायक हुन्छ, यदि फेला परेन र लट्ठी ग्वाम्मै हिउँमा गड्यो भने त्यहाँ खरपस छ भन्ने थाहा हुन्छ । ऊ सोच्छ- ‘खरपस हिमालमा पनि हुन्छ, जीवनमा पनि हुन्छ, देख्न सक्नुपर्छ ।’

क्याम्प दुई क्षेत्र ६४०० मिटरको उचाइ । मध्य कुमक्षेत्र । प्रायः ठूला अभियान दलका मान्छेहरू यसलाई ABC भन्छन्, एडभान्स बेसक्याम्प । यस ठाउँबाट मुख्य चढाइ सुरु हुन्छ ।

अपेक्षाकृत रूपले चौडा, करिब आठ-दसवटा तम्बू सजिलै अटाउन सक्ने यस ठाउँमा केहीबेर थकाइ मार्दै ऊ माथितिर हेर्छ । त्यसो गर्दा ऊ दूरबिन प्रयोग गर्छ । माथितिर याने अगाडि बाटोमा थुप्रै आइसफलहरू देखिन्छन् जुन खुम्बु ग्लेसियरबाट उच्च हिमउपत्यकातर्फ बढेका हुन्छन्- पश्चिम कुम– सगरमाथा र ल्होत्से- नुप्चे रिजतर्फ । यस्तो लाग्छ यस्ता कठिन परिदृश्यहरूमा हिमाल भनेको एक बन्जर उच्चता हो, जहाँ मान्छेका लागि जीवन भनेको मृत्यु हो । त्यसैले कायरहरूलाई कायरताका गीत गाउन सजिलो हुन्छ । तर आइसफलहरू, ग्लेसियरहरू, चट्टानहरू, हिमस्खलनहरू, हावाहुरीहरू र हिमआँधी- ब्लिजहरू नभए मान्छेका महान्, अदम्य सङ्घर्ष- गाथाहरू पनि हुँदैनन् । जबसम्म महान् हिमाल रहिरहनेछ, तबसम्म मान्छेका महान्, अदम्य सङ्घर्ष-गाथा पनि रहिरहनेछन् ।

ऊ केही चकलेट, फलफूलको रस र पानी खाइपिई- जुन धेरै उचाइमा आवश्यक हुन्छन्– क्याम्प तीनतर्फको चढाइमा लाग्छ । यहाँ हिउँका थुप्रै फाटाहरू हुन्छन् । यी फाटाहरू हिउँभित्रभित्रै आफैँ खुल्ने र बन्द हुने हुन्छन् त्यसैले असुरक्षित किसिमका हुन्छन् । उसलाई खुम्बु आइसफलको सम्झना आउँछ । अत्यन्त सावधानीपूर्वक हिँड्दै ठाउँठाउँमा आल्मुनियमको भऱ्याङलाई पुलको रूपमा प्रयोग गर्दै ऊ सोच्छ- ‘जो जीवनको अर्थ बुझ्दैनन्, उनीहरू भनिठान्छन् हामीहरू असुरक्षित जीवन बाँचिरहेछौं । वास्तवमा उनीहरू जीवनहीन जीवन बाँचिरहेछन् । मान्छेले जीवनहीन जीवन होइन मृत्युहीन मृत्यु रोज्नुपर्छ ।’

मध्याह्न दिन । घाम अझै लागिरहेको हुन्छ, तर हावा चल्न थाल्छ । ऊ तनमा हो कि मनमा हो- काम्छ, सिरिङ्ङ भई । अनायासै उसलाई आफ्ना सपनाहरूको सम्झना हुन्छ जुन उसले ती सपनाहरूकै निम्ति बिर्सिराखेको थियो । मान्छे आफ्नै इतिहासको स्वप्नद्रष्टा हो । ऊ किन नदेखोस् आफ्नो जीवन-सपना ?

ऊ आफ्नी प्रेयसीलाई सम्झन्छ जो पूरै उसको प्रेयसी भइसकेकी छैन । प्रयास जारी छ । हिमाल चढेर उसले प्रेयसीको मन जित्नु छ । प्रेयसी नभए ऊ पत्नीको परिकल्पना गर्न सक्दैन । पत्नी नभए छोराछोरीको । ऊसँग उसको हृदयमा एउटा सानो सुखी परिवार छ । यही विश्वासमा ऊ आफ्नी प्रेयसीलाई म्वाइँ खान्छ अधिकारबिना नै ।

प्रेयसी र घर- जीवनका पहिला सपना हुन् किनभने मान्छे कुनै पशु होइन ।

अगाडिपट्टि – एउटा ठाडो चढाइ हुन्छ । साह्रै खतरनाक । यहाँ हिउँ पनि असाध्य साह्रो हुन्छ । ऊ आफ्नो जीउमा बाँधिएको डोरी, हिम-बन्चरो (आइस एक्स) र खुँटी (आइस पिटन) प्रयोग गर्दै चढाइ गर्न थाल्छ । एकएक स्टेप कटिङ गर्न उसलाई गाह्रो पर्छ । तर यो उसको अनिवार्यता हुन्छ । ऊ हिम्मत हार्दैन । यस्तो बेला हिम-बन्चरो चलाउँदा आफैलाई चोट लाग्ने सम्भावना हुन्छ । हिउँमा खुँटी गाड्दा राम्ररी नगड्ने सम्भावना पनि उत्तिकै हुन्छ । यी सबै सम्भावनाहरू दुर्भाग्यपूर्ण हुँदैनन् तर चुनौतीपूर्ण भने हुन्छन् । त्यसैले ऊ अत्यन्त सजग हुन्छ । छैटौं इन्द्रियसम्म नै । उसलाई थाहा हुन्छ, हिमालले कहिले पनि गल्तीहरू माफ गर्दैन ।

केही समयसम्मको असाध्य चढाइपछि ऊ एक समतल ठाउँमा आइपुग्छ । थकाइले लखतरान पर्छ । चिसो हावामा स्वाँस्वाँ फ्वाँफ्वाँ गर्दै तातो सास छोड्छ । त्यहीँ थचक्क बस्छ । ठाडो चढाइ सोचेभन्दा निकै ठाडो रहेछ- पहिले ऊ यही सोच्छ । अनि पछि सोच्छ- यस्ता ठाडा चढाइहरू बाटोमा कति छन् कति… ! आखिर ऊ हिमाल चढिरहेछ, पृथ्वीको सबैभन्दा अग्लो हिमाल । यहाँ चढाइहरूदेखि हतास हुनु एक भयानक कायरता हो । कायरहरू हिमाल चढ्नु मूर्खता भन्छन् र त्यही बुद्धिमत्तामा मूर्खताको जीवन बाँच्छन् । ऊ उत्साहपूर्वक आफूलाई बाँकी चढाइ गर्न तयार पार्छ । त्यसो गर्दा ऊ मनमनै प्रेयसीलाई म्वाइँ खान्छ फेरि, अनि भन्छ- ‘प्रेयसी, म तिमीलाई माया गर्छु । तिमी मेरी हौ । यो हिमाल पनि मेरो हो । पर्ख, चुली धेरै टाढा छैन । म तिमीलाई हिमालको सुन्दर उपहार लिई आउनेछु ।”

प्रेयसीको सम्झना जहिले पनि न्यानो हुन्छ चाहे मान्छे हिमालमा होस् चाहे उत्तरी-दक्षिणी ध्रुवहरूमा । यही न्यानो अनुभूतिमा चिसो हावाहुरी र हिमचट्टानका अप्ठ्याराहरूसित जुध्दै ऊ हिँड्छ । अकस्मात् माथितिरबाट एउटा ठूलो विस्फोटक आवाज आएजस्तो लाग्छ । ऊ चढ्दै गरेको हिमचट्टानमा क्रेम्पोन पाइला अड्याई माथितिर हेर्छ ।

‘हिमपहिरो ।’ उसले देख्छ । उसको सातो जान्छ ।

उसलाई थाहा हुन्छ त्यो हिमपहिरो (हिमस्खलन) माथिबाट सीधै ऊ भएतिरै आइरहेछ र त्यसको गति कम्तीमा पनि सय माइल प्रतिघण्टा छ । त्यसैले यो सोच्ने बेला होइन, जसरी भए पनि ज्यान बचाउने बेला हो । ऊ हिमचट्टानबाट तलतिर हाम फाल्छ, अनि लड्दैपड्दै सकेसम्म चाँडो तलतिरै दगुर्छ । हिमपहिरोको आवाज झन्झन् नजिक र भयानक हुँदै जान्छ ।

अब केही सेकेन्ड समयभित्रै हिमपहिरो ऊ भएसम्म आइपुग्नेछ भन्ने उसलाई थाहा हुन्छ । तर त्यसलाई बाटो छोड्ने क्षमता ऊ आफूमा पाउँदैन । ऊ आफूलाई अत्यन्त निरीह र असहाय महसुस गर्छ । अनि लड्दैपड्दै केही सेकेन्डभित्र ऊ एउटा ठूलो हिमचट्टानमा बजारिन पुग्छ । तर ऊ त्यसैमा शोक मनाई बस्दैन । हिमपहिरोबाट बच्ने अन्तिम प्रयास स्वरूप ऊ त्यही ठूलो हिमचट्टानको सहारा लिई भएभरको शक्तिले चिप्लेटी खेल्दै त्यसको तल्लो छेउतिर हाम फाल्छ । हिमपहिरो भयानक गडगडाहटसहित त्यहाँबाट गुज्रन्छ ।

“हे भगवान् !” ऊ आँखा चिम्लन्छ । त्यही नै बेला ऊमाथि हिउँका थुप्राहरू बज्रन्छन् । ऊ पुरिँदै जान्छ ।

एकछिनपछि वातावरण शान्त हुन्छ । हिमपहिरो त्यस हिमाली ढालको कुन ठाउँमा पुगी थुप्रो लाग्यो उसलाई थाहा हुँदैन । उसलाई एउटै कुरा थाहा हुन्छ, ऊ मरिसकेको छैन । र, यही मरिनसकेको उत्साहमा ऊ हिउँको थुप्रोभित्रबाट टाउको उचाल्छ । अनि लामोलामो सास तानी वायुमण्डलमा रहेको पातलो अक्सिजनलाई सकेसम्म धेरै फोक्सोमा पुऱ्याउने प्रयास गर्छ । फोक्सोमा अक्सिजन भरिँदै आएपछि ऊ केही सामान्य हुन्छ, अनि सोच्छ- ‘एकैछिन ढिलो भएको भए ऊ निसासिएर मर्ने थियो । उसका सपनाहरू पनि मर्ने थिए । आह प्रेयसी । म जिउँदै छु । मेरा सपनाहरू पनि जिउँदै छन् । मेरो मायाको घरलाई कुनै हिमपहिरोले ध्वस्त पार्न सक्दैन । मायाको सानो घर संसारको सबैभन्दा ठूलो गगनचुम्बी भवनभन्दा बलियो हुन्छ ।’

ऊ आफ्नी प्रेयसीलाई सहाराको म्वाइँ खान्छ । त्यसपछि हिउँमा पुरिएको जीउलाई हिउँबाट मुक्त पार्ने प्रयास गर्छ । तर यो काम उसले सोचेजति सजिलो हुँदैन । ऊ हिउँको थुप्रोबाट पछिल्तिर हिमचट्टानमा सर्किई निस्कन खोज्छ, तर त्यसरी निस्कनु त के कुरा हलचल पनि गर्न सक्दैन । उसलाई आश्चर्य लाग्छ, साथै डर पनि । यदि धेरै समयसम्म हिउँको थुप्रोभित्र रहिरह्यो भने जीउलाई हिउँले खाइदिन सक्छ । शीतदंश, जुन घातक हुन सक्छ साह्रै नै ।

यो अनपेक्षित डरले ऊ आत्तिन्छ । उसलाई हिउँको भार पनि महसुस हुन थाल्छ । पछि जसोतसो हिउँको थुप्रोबाट हातहरूलाई बाहिर निकाली ऊ बाँकी जीउमाथि थुप्रो लागेको हिउँ खोस्रँदै अन्त फाल्न थाल्छ । उसलाई यो क्रिया आफ्नै जीउको उत्खननजस्तो लाग्छ तर त्यस उत्खननमा फेला परेको आफ्नो जीउ कुनै जीवाशेषजस्तो भने लाग्दैन ।

ऊ उठ्न सफल हुन्छ । तर निकैबेर ढलपलाइरहन्छ । क्रेम्पोनका कीलाहरू र लट्ठीलाई केही जोडले हिउँमा गाडी तिनकै सहायताले सोझो, सन्तुलित भई उभिई ऊ हिमपहिरो आएको माथिको हिमाली ढाल र अरू पूरै हिमाली परिवेशलाई अपराजित आँखाले हेर्छ ।

ऊ सोच्छ- ‘चुली त्यहाँ माथि छ त्यसैले त्यहाँ पुग्नु नै पर्छ ।’ अनि त्यही महान् विश्वासमा आफूलाई न्यानो, स्फूर्तिलो र उत्साहपूर्ण पारी फेरि क्याम्प तीनतर्फको चढाइमा लाग्छ । त्यसभन्दा पहिले ऊ आफ्नो जीउ र रुकस्याकमा टाँसिएको हिउँ झार्न बिर्संदैन ।

उसलाई थाहा हुन्छ यही माथिबाट ल्होत्सेमुखको ढलान (Lhotse Face) सुरु हुन्छ । पश्चिमी कुमको भुइँबाट सोझै ४००० फिटमाथिसम्म फैलिएको विशालकाय खैरोरङ्गी (Gray Ice) ढलान ।

यो खतरानाक ढलानको हिउँ असाध्य साह्रो हुन्छ, हिम-बन्चरोले हिउँ काट्न गाह्रो हुन्छ र कति ठाउँमा खुँटी गाडी डोरी लाउनसमेत समस्या पर्छ ।

त्यसमाथि फुसफुस गरी ताजा हिउँ परिदियो भने अरू वियोग हुन्छ । कतिलाई यही ठाउँबाट उचाइको असर देखा पर्न थाल्छ । प्रायः ठूला अभियान दलका । मान्छेहरू यही ठाउँबाट माथि चढाइ गर्दा अक्सिजन प्रयोग गर्छन् । तर उसले कुनै अक्सिजन सिलिन्डर बोकेको हुँदैन । उसलाई लाग्छ, प्रकृतिले मान्छेलाई सास फेर्ने प्राणी बनाएको छ । मान्छेलाई सास फेर्न हावा अक्सिजन चाहिन्छ र हिमालमा सास फेर्न जान्यो भने हावा हुन्छ, सास फेर्न जानेन भने हावा हुँदैन । ढाडमा अक्सिजन सिलिन्डर बोकी हिँड्नु आफैंलाई नचिन्नु हो । आफैँलाई विश्वास नगर्नु हो । मान्छेले सबभन्दा पहिले आफैलाई चिन्न र विश्वास गर्न जान्नुपर्छ ।

उसलाई थाहा हुन्छ, पातलो र चिसो हावामा सास फेर्न गाह्रो हुन्छ । फोक्सोसहित अरू शरीर-क्रियाहरू शिथिल हुन्छन् । त्यसैले भोक हराउन सक्छ । टाउको दुख्न सक्छ । निद्रा नआउन सक्छ । वजन घट्न सक्छ । तर हिमाल चढ्नु भनेको कुनै अत्याधुनिक वातानुकूलित लिफ्ट चढ्नुजस्तो सजिलो कुरा अवश्य होइन । यो महान् लक्ष्यको कुरा हो । महान् लक्ष्यहरू, महान् समस्याहरू र महान् सङ्घर्षहरूले नै मानिसहरू महान् बन्छन् ।

ऊ निरन्तर चढाइमा लागिरहन्छ किनभने उसले आफ्नो धेरै समय हिमपहिरोसित जुध्दा बिताएको हुन्छ । ऊ सकभर चाँडो ल्होत्सेको ढलान छिचोलेर ८,००० मिटरबराबर २६,२०० फिटको उचाइमा अवस्थित साउथ कोल याने दक्षिण घाँटी पुग्न चाहन्छ । यही महान् उत्साहमा ऊ एक ठाउँमा केहीबेर अडिन्छ अनि डिब्बाहरूबाट झिकी विशेष रूपले बनेको बढी उचाइको खाना (High Altitude Food) खान्छ । पानी पिउँछ । अनि अनावश्यक रूपले आराम नगर्ने निर्णय गर्छ ।

ऊ ल्होत्सेको ढलानतर्फ अघि बढ्छ । अपराह्नपछिको समय मौसम बिग्रन थालेको हुन्छ । ठूलो हावाहुरी झन्झन् ठूलो बन्दै गएको हुन्छ । तर ऊ त्यसैत्यसै हिमाली परिदृश्यहरूद्वारा अभिभूत हुन थाल्छ । ऊ सोच्छ- ‘हिमाल जहिले पनि हिउँले ढाकिएको हुन्छ । हिउँले ढाकिएको हुनु हिमालको चरित्र  हो, जसबाट खोलाहरू बग्ने गर्दछन् । मान्छेको चरित्र पनि यस्तै हुनुपर्छ । पवित्र एवम् सिर्जनशील ।’

ल्होत्सेमुखमा ठाडा न ठाडा डरलाग्दा उकाली बाटा हुन्छन् । मौसम बिग्रेको बेला यो खतरनाक चढाइ गर्नु काललाई निम्त्याउनुजस्तै हुन्छ । एक मन त उसलाई ढलानको किनारामा तम्बू टाँगी बसूँ नै जस्तो पनि हुन्छ । यहाँ ठूलाखाले छाते तम्बूहरू अटाउँदैनन्, तर दुई जनासम्म बस्न सकिने साना तम्बूहरू भने अटाउँछन् केही । असाध्य ठूलो र मुटु कमाउने हावाहुरी र थकाइ- तम्बू टाँगी बस्नका लागि पर्याप्त कारण बन्न सक्छन् । तर ऊ त्यसो गर्दैन । उसलाई लाग्छ, जीवन लक्ष्यको महान् यात्रा हो भने त्यो अनवरत हुनुपर्छ । आराम गरीगरी, सुविधा हेरीहेरी यात्रा गर्नेहरू जहाँ पुगे पनि कतै पुग्दैनन् । त्यस्ताहरूले हिमाल नचढी हेलिकोप्टर चढे हुन्छ ।

ल्होत्से ढलानको चढाइ इतिहास र सभ्यताको चढाइझैं हुन्छ । असाध्य कठिन तर आकर्षणपूर्ण । आदिम हाम्रा पुर्खाहरूलाई इतिहास र सभ्यताको आधारशिला स्थापना गर्दा कति कठिन सङ्घर्षहरू गर्न परे होलान् । इतिहास र सभ्यताको विकास गर्न कति महान् चुनौतीहरू आइपरे होलान् । तर ती कठिनता र चुनौतीहरू कठिनतापूर्ण र चुनौतीपूर्ण मात्र नभएर आकर्षणपूर्ण पनि त थिए होलान् । नभए मनुष्यताको हिमाल ठडिन्थ्यो कसरी ? आदिम हाम्रा पुर्खाहरूका सन्तति हामी सधैँ आदिम नै रहन्थ्यौं- पक्का बर्बर एवम् जङ्गली । पृथ्वीमा कहिले पनि ढुङ्गेयुग आउने थिएन । तब अरू युगहरू आउने कुरै भएन ।

ऊ सोच्छ- ‘बुद्ध एक हिमाल हो, कृष्ण एक हिमाल हो, यसु एक हिमाल हो, महावीर एक हिमाल हो, मोहम्मद एक हिमाल हो । सुकरात, कन्फ्युसियस, लाओत्सु हिमाल हुन् । मार्क्स, डार्बिन, फ्रायड हिमाल हुन् । हिमाल अरू पनि छन् । जीवनमा कोही हिमाल चढेर आफैँ हिमाल बन्छन् । कोही दलदलमा फसेर आफैँ दलदल बन्छन् ।

क्रमशः