
क्रुज शब्दसँग पहिलो परिचय टाइटानिक चलचित्र हेरेपछि भएको थियो । अप्रिल १५, १९१२ मा टाइटानिक नामले सञ्चालन हुँदै आएको पानीजहाज क्यानडाको न्युफाउण्डल्याण्डको तटमा रहेको आइसवर्गमा ठोक्किएर उत्तरी एटलान्टिक महासागरमा डुबेको थियो । यस पानीजहाजले लगभग २२४० यात्रु र कर्मचारीहरू बोकोको थियो । ती मध्ये १५०० भन्दा बढी चिसो समुद्रको पानीमा मरेका थिए । यस दुखद् घटनाले अनगिन्ती साहित्यिक कृति लेख्न प्रेरित गरेको थियो ।
यही घटनाबाट प्रेरित भएर १९९७ मा टाइटानिक नामबाट चलचित्र निर्माण भएपछि यो घटनासँग पानीजहाज यात्रा (क्रुज) प्रति मानिसको आकर्षण बढ्दै जान थाल्यो । जेम्स क्यारुनद्वारा लिखित, निर्देशित, निर्मित र सह-सम्पादित गरिएको यस चलचित्रको सफलताले विश्व इतिहास रचेको थियो । पछिल्लो पटक गत जुन २०२३ मा यही डुबेको टाइटानिक जहाज अवलोकन गर्न गएका पाँचजना विशिष्ट व्यक्तिहरूका टाइटानिक पनडुब्बीमा एक विस्फोट भएपछि मारिएका थिए । अर्थात् टाइटानिकको इतिहास आज पनि जीवित नै छ ।
पानीजहाजको इतिहास पल्टाएर हेर्यौं भने २९ जुन १९०० को गर्मी याममा जर्मन यात्रु जहाज प्रिन्जेसिन भिक्टोरिया लुईसले पहिलो आधिकारिक क्रुज पानी जहाज (जलयात्रा) को उपाधि पाएको थियो । त्यसपछि जलयात्राले निरन्तरता पाउँदै गयो भने यसप्रतिको आकर्षण पनि बढ्दै जान थाल्यो । आजको मितिमा विश्वभरि ३२२ वटा क्रुज सञ्चालन हुँदै आएको छ ।
एउटा क्रुजले २३ माइल प्रतिघण्टाको यात्रा गर्छ भने प्रत्येक वर्ष एउटा क्रुजले ८४,००० माइलको यात्रा तय गर्ने गर्छ । सबैभन्दा ठूलो रोयल क्यारिबियन क्रुजलाई मानिन्छ । अठार तल्लासमेत रहेको यस क्रुजमा ६९८८ यात्रु र २३०० कर्मचारीसहित २२ वटा डाइनिङ रुम, रोबोट बारटेण्डर, आइस्केटिङ्ग, तीन हजार बोटबिरुवा भएको पार्कसँगै अन्य सुबिस्ता रहेको छ । पानीजहाजमा क्रुजका चालक दलका सदस्यहरू सामान्यतया जहाजको ‘बी डेक’ मा बस्ने गर्छन् । यो जहाजको तल्लो भाग अर्थात् पानीमुनि हुन्छ (जहाजको तलको एक चौथाइ भाग पानीमुनि रहने गर्छ) ।
भनिन्छ क्रुजमा जाने यात्रुहर”मा लगभग १६५ जना स्थायी यात्रुहरू पनि हुने गर्दछन् र यिनीहरू प्रत्येक क्रुजमा यात्रा गर्ने गर्दछन् । क्रुजभित्र यात्रुहरूका लागि बस्ने कोठाका अतिरिक्त डाइनिङ रुम, कफी सप, प्रेक्षागृह, क्यासिनो, स्विमिङपुल, जिमखाना, पुस्तकालय, तास खेल्ने पोकर रुम, मादक पदार्थ सेवनका लागि बारहरू, प्रत्यक्ष प्रस्तुतिका लागि कार्यक्रम स्थलहरू, चलचित्र प्रदर्शन स्थनसहित विभिन्न आवश्यक सामग्रीका लागि पसलहरू, कपडा पसल, मदिरा पसल, गरगहना पसल, इत्तर पसल राखिएका हुन्छन् । आपातकालीन उद्धारका लागि डाक्टर, नर्ससहित अस्पताल, शल्यक्रिया स्थल मुर्दा राख्ने कफन बाकस, औषधी पसल सबैको व्यवस्था गरिएको हुन्छ ।
क्यानडा आएपछि केही मित्रहरूसँग नजिकता बढ्दै जान थाल्यो । धनभन्दा मन मिल्नेहरू नजिक रहन्छन् भने जस्तै हामी बीचमा घनिष्ठता बढ्दै जान थाल्यो । डा. ध्रुव कोइराला र बिन्दु, डा. राजिव खनाल र शान्ता, अमीत शर्मा र अनीता, राजेन्द्र कोइराला र सुप्रभा, सुरेश ओली र डा. सोनी थापा ओलीहरूका बीच पुरानो सम्बन्ध अर्थात् चिनजान रहेको थियो । यी सबैजना संयुक्त राष्ट्र सङ्घका मिसनमा काम गरेका वा आबद्ध भएर एक-अर्कासँग जोडिएका थिए । क्यानडा आएपछि अनितासँग चिनजान भयो । राजिवलाई फणिन्द्रजी मार्फत चिनेको थिएँ ।
घरायसी भेटघाटमा हामीबीच नजिकता बढ्दै जान थाल्यो । अनि महिना दुई महिनामा पारिवारिक भेटघाट गरेर बात मार्दै गफगाफ गर्ने नियम बनाएपछि पटलक परम्परा सुरु भयो र अहिलेसम्म चल्दै छ । समय बित्दै जान थालेपछि सन्तानहरू उच्चशिक्षा पाउँदै र पाएर आ-आफ्नो दायित्वबोधमा बान्दिँदै गएपछि हामी अभिभावकहरु अलि अलि फुर्सदिला हुँदै गएको अनुभव हुन थाल्यो । अनि सबै मिलेर संयुक्त मनोरञ्जनका लागि समर क्याम्प, पिकनिक र क्रुजमा जाने बारे छलफल गर्दा गर्दै तय भएको थियो हाम्रो पहिलो जलयात्रा (क्रुज) ।
विशेष गरेर सुरेश, राजिव र राजेन्द्रले कहिले कसरी र कता जाने बारे अनुसन्धान गर्न थाले । वहाँहरूले सेलिब्रेटी क्रुज रोज्नु भयो । ७५० मिलिउन डलरमा निर्माण गरिएको सेलिब्रेटी क्रुज सन् २००९ देखि सञ्चालनमा आएको थियो । अनि सेलिब्रेटी क्रुजबाट सात दिनको जल यात्रा गर्ने निर्णय भयो । त्यसका लागि अगस्त २६ को बिहान फ्लोरिडाको मयामीमा उडेर जाने । त्यहीँ मोरोक्कोबाट राजेन्द्र र सुप्रभालाई भेट्ने र एक दिन मयामी डुलेर भोली २७ अगस्तदेखि १ मईसम्म हाम्रो जलयात्रा तय भयो ।
२६ अगस्तमा हामी फोर्ट लौडेरडेल हलिउड इन्टरनेसनल एयरपोर्टमा ओर्लेपछि सुरेशले एयरपोर्टबाटै १२ जना अटाउने भ्यान बुक गरेकोले एयरपोर्टबाटै हामी भ्यान लिएर होटेलमा चेक-इन गरेपछि मीठो खाना खोज्दै बम्बई दरबार पुगेर स्वादिष्ट भोजन गर्यौं । भोजनपछि दुईजनाको खाना टेकआउट गरेर हामी फेरी एयरपोर्टमा राजेन्द्र र सुप्रभालाई लिन आयौँ । त्यसपछि मयामीको वरिपरि डुलेर मेरो कोठामा छोटो मीठो जमघटपछि सबै आआफ्नो कोठातिर लाग्यौँ ।
अगस्त २७ को बिहान ब्रेकफास्टपछि जलयात्राको तयारी सुरु भयो । मयामीलाई जलयात्रा (क्रुज) को राजधानी मानिन्छ । यहाँबाट नै प्रायः जलयात्राका लागि निस्कने सबै जहाजहरू छुट्ने गर्दछ । हामीले आआफ्नो लगेजमा नाम लेखेर जम्मा गरेपछि जहाजतिर लाग्यौँ । पहिलो दिन जहाजमा प्रवेश गर्नासाथ पेय पदार्थ दिएर हाम्रो स्वागत भयो । त्यसपछि एलिभेटरबाट हाम्रो डेक (तल्ला) नम्बर दसमा आयौँ । हामी छ जोडीले बाह्रवटा हाम्रो नामसहितको ढोका खोल्ने कार्ड पायौँ । हामी सबैले कार्ड पाएपछि हामी आआफ्नो कोठातिर लाग्यौँ ।
कोठा पुग्नअघि नै हाम्रो लगेज कोठाको ढोका अगाडि पुगिसकेको थियो । कोठा प्रवेश गरेर सबै कुरा निरीक्षण गरेर हामी मिडिया सेन्टर खोज्दै आआफ्नो फोनमा वाईफाई जोड्ने काम गर्यौं । वाईफाई जोडिएपछि वाट्सअपमा एउटा ग्रुप बनायौँ । हामीले एक अर्कासँग आफू कहाँ भएको र अब के गर्ने, कता भेट्ने बारे सूचनाको आदानप्रदान गर्न सम्पर्क माध्यम बनायौँ । अनि यति बजे भोजन गर्न डेक चौधको ओसनभ्यु क्याफेमा आउने जानकारीको आदान प्रदान गर्यौं ।
ओसनभ्यु क्याफेमा पसेपछि हामी बाह्रजना एकैसाथ बस्ने उपाय खोज्दै टेबल कुर्सी जोड्दै सँगै बस्ने प्रबन्ध मिलायौं । नजिकै रहेको बारमा मादक पदार्थका परिकार राखिएको थियो । पानीको बोतलदेखि बोतलको लागु पानी पाउनका लागि हामीलाई ढोका खोल्न भनेर दिइएको कार्ड प्रयोग गर्नु पर्थ्यो ।
हामीले यो जलयात्राको लागि स्टेन्डर्ड क्लासको भुक्तानी गरेकोले त्यसमा सबै पेय पदार्थ र जहाजभित्रका सबै रेस्टुरेन्टमा जान र खान लागु हुने गर्थ्यो । त्यसैले आआफ्नो रोजाइका पेय पदार्थ लिएर टेबलमा आयौँ । अनि पालैपालो खानाका परिकार राखेको ठाउँमा गएर स्वेच्छाका खानाका परिकार बटुल्दै खाँदै गयौँ । एसियन, अफ्रिकन, इण्डियन, क्यारेभियन, लेटिन, सि फुड, सालाद, भेजी, भेगन खानाका परिकारहरूसँगै आइसक्रिम, फलफूल र कफी अनि चिया राखिएका थियो । अनि परिकार राखिएको ठाउँमा जलयात्राका लागि आएकाहरू लामबद्ध भएर आआफ्नो इच्छानुसारका परिकार लिँदै टेबलमा गएर खाँदै गर्न थाले ।
हामी एक हप्ताको लागि जीवनको एउटा नौलो अनुभव गर्न जलयात्रामा सम्पूर्ण तरिकाबाट मनोरञ्जन गर्न निस्केका थियौं । भोजनको आनन्दलाई गफसँग मिसाएर गाँस टिप्दै जाँदा पाहुनाहरूको सेवाका लागि खटिएका सेवकहरू (बार एटेन्डेन्ट) आएर पेय पदार्थका लागि सोध्ने र कार्ड लिएर स्वेच्छाका पेय पदार्थहरू ल्याएर दिने गरेको सेवाहरू पनि प्रशंसनीय थियो ।
वास्तवमा त्यहाँ पाँच तारे होटेलमा भन्दा पनि राम्रो सेवा प्रदान गरिएको थियो । भोजनपछि हामी पानी जहाजभित्र रहेका सबै स्थानमा रहेको शाखा-प्रशाखाहरूको अवलोकन गर्न थाल्यौं । आर्ट ग्यालरीमा विभिन्न पेन्टिङसँगै त्यसको मोल पनि राखिएको थियो । हट ग्लास स्टुडियोमा ग्लासमा सामग्री बनाएर देखाउने र ग्राहकले चाहे अनुसारको डिजाइनमा बनाएर बेच्ने । फोटो ग्यालरीमा विभिन्न प्रकारका र पानीभित्र यसअघि भएका गतिविधिका तस्बिरहरूको प्रदर्शन । विभिन्न सामग्रीका पसलहरूसँगै (बुटिक) स्पा र फिटनेस सेन्टरहरूको अवलोकन गर्दै गयौं । पन्ध्र डेक (तल्ला) को पानीजहाजमा तेह्र तल्ला थिएन र यो तेह्र तल्ला कुनै पनि पानी जहाजमा हुँदैन । जहाजका पहुनाहरूका लागि सामूहिक भोजनका विभिन्न परिकार रहेको ओसनभ्यु क्याफेका अतिरिक्त आफूले चाहेको अन्य रेस्टुरेन्टमा सिल्हौटे रेस्टुरेन्ट, सुसी अन फाईभ, टुसान ग्रिल, ले पेटिट सेफ एट कुसिन, लुमिनाइ-३ र ब्लु फाइभ आदि रेस्टुरेन्टको व्यवस्था गरिएको थियो । कफी गफ गर्न गेलाटेरिया बाह्र घण्टा खुल्ने गर्थ्यो ।
अनि पेय पदार्थका लागि भने माथि लेखिएका सबै स्थानका अतिरिक्त क्याफे अल बासियो, क्राफ्ट सोसियल, इन्सेम्बल, सेकण्ड क्याफे अल बासियो, माटिर्नी बार एण्ड क्रुज, मस्त बार-१४, ओसनभ्युबार, पासपोर्ट बार, पुल बार , क्युसार बार, स्लस बार, स्काई लङ्ग-१४, सनसेट बार, द क्यासिनो बार, वर्ल्ड क्लास बार राखिएको थियो । अर्थात् पिउनेका लागि पिउनु र आनन्दका साथ जिउनु भन्ने उखानलाई चरितार्थ पारी दिएको थियो । पेय पदार्थमा ब्लु लेबल ह्युस्कीको मोल पाँच सय डलर जति पर्ने गर्छ । त्यसैले हामी ब्लु लेबल खोज्दै बारहरू चहार्दै जान थाल्यौं । अन्ततः वर्ल्ड क्लास बारमा पउने थाहा पाए पछि त्यहीँ गयौं । ब्लु लेबल माग्यौं । बारटेन्डरले एक पेग अर्थात् ६० मिली लिटरको अतिरिक्त ६५ डलर तिर्नु पर्ने रहेछ । हामीले त्यो आँट गर्न सकेनौ र १४ डलर अतिरिक्त तिरेर मार्टिनी स्मोग फ्लेबर विथ सिनामनको स्वादसहितको पेय पदार्थ सेवन गर्यौ ।
पहिलो दिन कफीपछि कोठामा लुगा फेरेर साँझ स्वीमिङ् पुलमा भेट्ने भनेर हामी छुट्टिएर आआफ्नो कोठामा गएर आराम गर्न थाल्यौं । अनि समयानुसार स्वीमिङ् पुलमा भेला भएर पौडीको आनन्द र त्यसपछि हट टबमा गएर आनन्द लिन थाल्यौं । पुल र हट टपको आनन्द लिएपछि कफी वारमा भेटेर कफीको आनन्द लिँदै गफ गर्न थाल्यौं । जहाज समुद्रमा गुडी नै रहेको थियो । हामी जीवनको मनोरञ्जन लिनमा तल्लीन थियौं । कफी गफमा राजेन्द्रजीले आजको डिनर लुमिनाई-३ मा गर्नका लागि बाह्रजनाकाे लागि सिट बुक गर्नु भएको थियो । हामीले प्रत्येक दिन बेग्ला बेग्लै रेस्टुरेन्टमा गएर परिकार चाख्ने विचार गरेका थियौं । त्यहीँ अनुसार लुमिनाई-३ रेस्टुरेन्टमा हाम्रो पहिलो रात्रि भोजन भएको थियो ।
त्यहाँ हाम्रो टेबलमा सेवा दिनका लागि फलीपिनो क्यानेडी, भारतीय टिकम र राजा खटिएका थिए । पुलको सेवामा खटिएका नेपाली मूलका खेमसँग भेट भएको थियो भने रेस्टुरेन्टमा संजिव र कफी सपमा दार्जिलिङका अकृतिसँगको भेट र सद्भाव स्मरणीय रहने छ । किनभने पहिलो पटक उनीहरूबाट पाएको सेवाले हामी गदगद नै भयौं । यहाँसम्म कि भोलीका लागि आज नै किचनका सुपरभाइजर आएर हाम्रो परिकारका बारेमा जानकारी लिएर सेफलाई बनाउन लगाउने सम्मको सेवा दिन तत्पर भएको देखेपछि हाम्रो रात्रि खानाको अखडा नै लुमिनाई-३ बन्यो । आफूले चाहेको पेय पदार्थसँगै प्रत्येक दिन हाम्रो रुचि अनुसारको खानाका परिकार पस्कने गरिन्थ्यो । दाल भात, तरकारी, अचार, मासु, पापड अनि खानापछि रसमलाई सम्मको व्यवस्था गरिदिएको थियो । त्यसैले हामी लुमिनाई-३ रेस्टुरेन्टमा पल्केका थियौं ।
जहाजभित्र रातको बेग्लै रमझम देखिन्थ्यो । कतै केबरे भइरहेको थियो भने कतै प्रत्यक्ष सङ्गीतको कार्यक्रम चलिरहेको थियो । कतै सामूहिक नृत्य भइरहेकाे थियो । हामी चाहिँ साईलेन्ट म्युजिक डिस्कोतिर लाग्यौं । त्यहाँ सहभागी सबैलाई हेड फोन दिने गरिन्छ । हेड फोन कानमा लगाएर आफैले मात्रै सङ्गीत सुनेर सबै मञ्चमा नाचिरहेका हुन्छन् । हामी पनि त्यसमा मिसिएर नाच्न थाल्यौं । कानबाट हेडफोन निकालेर नाचिरहेकाहरूलाई नियाल्दा मानिसहरू मौन भएर हल्लिरहेका देखिन्थे । रातको बाह्र बज्न थालेपछि नाचेर थकित भएर हामीहरू पनि आआफ्नो कुटीतिर लाग्यौं ।
प्रायजसो होटेलमा दिनको एक पटक मात्र कोठा सफा गर्न हाउस किपर आउने गर्छन् तर यो जलयात्रामा बिहान र साँझ दुई पटक कोठा सफा गर्न हाउस किपर आउने गर्छन् । अनौठो कुरा, होटेलहरूमा आफूले ल्याएको लुगाहरूमा इस्त्री गर्न आइरन (इस्त्री) राखिएको हुन्छ । तर जलयात्रामा रहेको कोठामा इस्त्री राख्ने चलन छैन भन्ने जानकारी हाउसकिपरबाट भयो । कपडामा इस्त्री गर्नु परे कोठामा रहेको ब्यागमा राखिदिने र हाउसकिपरले इस्त्री गरेर ल्याउने गर्दा रहेछन् । अनि त्यसका लागि अतिरिक्त शुल्क लाग्दो रहेछ । हाउसकिपरले प्रत्येक साँझ भोलीको कार्यतालिका पर्चा कोठा कोठामा राखिदिन्छन् । त्यसमा बिहान ६ बजेदेखि राती १२ बजेसम्मको विभिन्न कार्यक्रमका बारेमा जानकारी राखिएको हुन्छ । त्यहीँ जानकारी अनुसार पहुनाहरु आफ्नो रुचि अनुसारको ठाउँमा गएर मनोरञ्जन गर्ने गर्दछन् ।
प्रत्येक दिन बिहान विशेष प्रशिक्षकबाट शारीरिक व्यायाम गराइन्छ भने स्वेच्छाले आफ्नो समयमा जिममा गएर व्यायाम पनि गर्न सकिन्छ । ब्रेकफास्टपछि जहाजभित्र रहेको विभिन्न मनोरञ्जनका स्थानमा गएर समय बिताउन अनि दिउसो र रात्रिको खाना पछि पनि त्यस्तै विभिन्न कार्यक्रमहरू सञ्चालित भइरहेका हुन्छन् ।
दोस्रो दिनको बिहान बानीअनुसार जिम रूपमा पुग्दा बिन्दु, राजेन्द्र, सुप्रभाको उपस्थिति देखे । भोलीपल्ट कुसुम र सोनी पनि थपिए । बिहान व्यायाम त्यसपछि कफी अनि ब्रेकफास्ट । दिउसो लञ्च बेलुका डिनर खानकै लागि हामी जन्मिएका हौं जस्तो लाग्न थाल्यो । भोजन सँगसँगै परिकारका पेय पदार्थहरूको सेवनले पनि कसैलाई मक्ख त कसैलाई वाक्क दिक्क पार्दो रहेछ । हामी साठी काटेका र काट्न बाँकी रहेकाहरूको समूहमा पर्ने भएकोले भोक कम र रोग बढी हुने डरले धेरै रोईजबाट स्वास्थ्यकर खाना खोज्दै जानु पर्थ्यो । अनि एकजनाले ल्याएको परिकार हेरेर कस्तो छ सोधेर त्यतैतिर दौडने गर्थ्यौं । साला उमेर छँदा आएको भए सात दिनमा त्यहाँ भएभरका खानाका परिकारहरू खाइसक्ने थिए जस्तो लाग्थ्यो । अनि पेय पदार्थमा पनि मेनुको फोटो खिचेर पालैपालो खाने थिए होला जस्तो लाग्थ्यो । तर उमेरको उकालोले खानामा समेत तगारो लगाई दिएको थियो । यति हुँदा हुँदै पनि हामीले खानाको तगारो नाघेर आआफ्नो ईच्छा पुरा गरेका थियौं । यसलाई जलयात्राको उपलब्धि मान्नु पर्छ ।
हामीले रोजेको जलयात्राको पानीजहाज “सेलिब्रेटी क्रुज”ले हामीलाई सोचे जस्तोभन्दा पनि बढी आनन्द दिएको थियो । हामी जम्मा २९०० यात्री थियौं र हाम्रो सेवामा १९०० कर्मचारीहरू रातदिन खटेका थिए । त्यसैले कतै पनि गएर बसेको बेला टाउको तन्काएर यताउति हेर्न थाल्यौं भने एकजना “म तपाईंको के सेवा गर्न सक्छु” भन्दै अगाडि आएर उभिदिन्थ्यो । जलयात्राको क्रममा ध्रुवजीको जन्मदिन परेको थियो । हामी खानाको टेबलमा डिनर गर्दै थियौं । अचानक एउटा केकमाथि मैनबत्ती बालेर “तपाईंको समूहमा ध्रुव को हो ?” भन्दै उनको अगाडि केक राखेर जन्मदिन मनाइदिएको थियो । अर्थात् जलयात्रामा सहभागी भएकाहरूको विवरण हेरेर यस्तो प्रकारको आश्चर्यजनक सेवा प्रदान गर्नु ठूलाे कुराे हो । अनि त फेरि जति मागे पनि पाइने पेय पदार्थ मगाएर चियर्स गर्न थाल्यौं ।
जलयात्रामा जहाजभित्र दिनभरि विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरू चलिनै रहन्छ । कतै चलचित्र प्रदर्शन हुँदै छ त कतै हाँस्य कलाकार मार्क सिमोनको प्रस्तुति हुँदै छ । कतै गायिका एस्ली अम्बरको प्रत्यक्ष प्रस्तुति भइरहेको हुन्थ्यो भने कतै अब्बाका गीतहरूको प्रस्तुति भइरहेको हुन्थ्यो । अझ कतै क्याब्रे नृत्य हेर्नेहरूको लर्को लागेको हुन्थ्यो । अझ समलैङ्गिक समुदायलाई आकर्षक पार्नका लागि एल.जी.बि.टी.क्यु. को जमघटको व्यवस्था पनि गरिएको थियो ।
जलयात्राको अन्तिम दिन जहाजका कर्मचारी र पाहुनाका बीच स्वीमिङ् पुलमा पुल भलिबल प्रतियोगिताको आयोजना, पाहुनाका बीच सामूहिक नृत्य प्रतियोगिता, टकिला पिउने प्रतियोगिता र विशेष प्रकारका रक्सी चाख्न लगाएर आफूलाई मन परेको रक्सी किन्न पाउने आदि रमाइला र मनोरञ्जनात्मक कार्यक्रमहरूले भरिएको जलयात्राको सात दिन सात घण्टामा नै सिद्धिएको जस्तो अनुभव भएको थियो । प्रत्येक रातीको सामूहिक नृत्यमा सामेल भएर हामीलाई छिमेकी मुलुकका भन्ठानेर बलिउड गीत बजाउन डिजे नै बाध्य भएको थियो । अनि एकै छिन भए पनि “गोरे ओरे मुखडे पे काला काला चस्मा” मा सबै नाच्न बाध्य भएका थिए ।
हाम्रो ७ दिनको जलयात्रामा तीन दिन थलयात्रा पनि भएको थियो । अगस्त २८ मा हामीलाई जमैकाको ऐतिहासिक सहर फलमाउथ टापुमा बिहान छोडेपछि त्यहाँको पर्यटक बसमा दिनभरि फलमाउथ टापु अवलोकन गर्ने मौका पायौं । ३२ जना रहेको हाम्रो बसका चालक पेट्रिकले हामीलाई जमैकाको भौगोलिक बनोटबाट लिएर त्यसको इतिहाससँगै सामाजिक र राजनैतिक जानकारी दिँदै गयो ।
पेट्रिक बसका चालक मात्र नभएर पर्यटक गाइड पनि रहेछन् । उनको देश र शहरका बारेमा जानकारी गराउने र पर्यटकलाई आकर्षक पार्ने शैली अद्भुत नै थियो । रमाइलो प्रवृत्तिका पेट्रिकको जानकारी गराउने तरीका र ठट्टा गर्ने बानिले गर्दा उनको छाप हामी सबै यात्रुहरूमा चिरस्थायी रहने छ । पेट्रिक त्यहाँको ठुलो अस्पताल देखाउँदै यो मानव शरीर मर्मत गर्ने पसल हो भन्थे भने बेलायतीको आगमनपछि भित्रिएका जुईसहरूका लागि बनाइएको चिहानलाई देखाउँदै भूमिगत होटेल भनेर परिचय गराउने उनको रमाइलो शैली स्मरणीय नै थियो ।
सन् १४९४ मा कोलम्बसले पत्ता लगाएको जमैका समुद्र तटमा पहिले ताईनो जातिका मानिसहरू बस्ने गर्थे । काठ र पानीको भूमिका रूपमा चिनिएको जमैकालाई स्पेनिजले आफ्नो उपनिवेश बनाएपछि उनीहरूको युद्धमा धेरै नै ताईनो जातिका मानिसहरू मारिएका थिए भने बाँचेकाहरू पछि रोग र भोकले मारिएका थिए । पछि स्पेनिजले अफ्रिकाबाट अफ्रिकनहरूलाई गुलाम बनाएर जमैकामा बसालेका थिए । जमैकाको उत्तरमा पर्ने फलमाउथ टापु क्यारिबियनका उत्कृष्ट संरक्षित जर्जियन सहरहरूका रूपमा चिनिन्छ ।
सन् १६५५ मा बेलायतको उपनिवेश बनेपछि यहाँ उखुको खेती सुरु गरिएपछि अफ्रिकनहरूको सङ्ख्या बढ्दै जान थाल्यो । सुन्दर टापुको बीचमा क्यानडाले तीस वर्षको भाडामा बनाइदिएको अन्तर्राष्ट्रिय एयरपोर्ट, विभिन्न स्थानमा रहेको खुला समुद्र तटहरूसँगै जमैकाको ७४०२ फिट अग्लो ब्लु माउण्टेनको नाममा रहेको कफी र यहाँको चर्चित ६३ प्रतिशत अल्कोहल रहेको रम चाख्ने मौका पनि पायौं । अगस्त ६, १९६२ मा बेलायती उपनिवेशबाट स्वतन्त्रता पाएको जमैकालाई टापुहरूको देश पनि भनिन्छ । यहाँ अहिले पनि बेलायती राजतन्त्र चलेको छ र राजाको प्रतिनिधिका रूपमा गभर्नर जनरल राख्ने चलन छ । विश्वप्रसिद्ध गायक, गीतकार र सङ्गीतकार अनि रेग सङ्गीतका आविष्कारक बब मर्लीको जन्मथलो पनि यही फलमाउथ थियो ।
अगस्त २९ मा हामीले मेक्सिकन टापु कोजुमेलको भूमि टेक्ने पायौं । एक लाख जनसङ्ख्या मात्र रहेको यो टापुमा यहाँका आदिवासीहरूले अपनाएको विभिन्न प्रकारका स्वास्थ्यकर खानामा परिकारका बारेमा जानकारीसहित त्यसको स्वाद चाख्ने मौका पनि पायौं । हामीलाई मायन कोको कम्पनी र चकलेट बनाउने प्रक्रियाका बारेमा जानकारी गराइयो ।
भनिन्छ मेक्सिकोले सुरु गरेको चकलेटमा स्पेनिसहरूले स्वादका लागि चिनी थपेर गुलियो बनाइएको थियो । आज प्रत्येक पार्टी, वार, जमघटमा नभई नहुने टकिलाको जन्म स्थानमा पुगेर त्यसको बनाउने विधिका बारेमा जानकारीसहित पाँच थरीका टकिला पनि चाख्ने मौका पाएका थियौं । टकीला एक स्पिरिट (रक्सी) पेय पदार्थ हो जुन निलो एगाभ बिरुवाबाट बनाइएको हुन्छ । समुद्रको बीचमा रहेको कोजुमेलको नक्सा देख्दा यसको भविष्य कस्तो होला जस्तो लाग्छ । किनभने कोभिड महामारीको बेला यो टापु देशबाटै अलग्गिएको बारे हाम्रो टुर गाइडले बताएकी थिइन् । पानी जहाज र हवाई जहाजबाट मात्र यहाँ पुग्न सकिने भएकोले देशबाट एक्लै बाँचिरहेको टापु जस्तो लाग्थ्यो ।
जलयात्रामा तेस्रो जलबाट स्थल टेक्न हाम्रो पानी जहाज ग्राण्ट क्यामेन आईल्याण्डको जर्जटाउनमा राेक्यो । जर्जटाउनलाई क्यारेबियन सागरमा सञ्चालन हुने जलयात्राको राजधानी मानिन्छ । ४१००० जनसङ्ख्या रहेको जर्जटाउनमा जलभित्रको डुङ्गा यात्रा र समुद्र तटहरूको मात्र भ्रमण रहेकोले हामीले जहाजमा नै रमाइलो गर्ने अठोट गर्यौं । पानी जहाजमा रहेको तास खेल्ने कोठामा गएर हामी हाम्रो राष्ट्रिय खेल म्यारिज खेलेर केही बेर रमाइलो गरेपछि जहाजको पन्ध्रौँ तल्लामा रहेको गल्फ खेल्ने ठाउँ, क्यासिनो र जहाजभित्रको मलमा गएर सामानहरू हेर्न थाल्यौं ।
अनि डा. ध्रुव कोइरालाले जहाजमा रहेको स्वास्थ्य सुविधाका बारेमा बुझ्ने इच्छा गरेकोले हामी डेक दुईमा रहेको स्वास्थ्य सेवा केन्द्रको अवलोकनसहित त्यहाँको सुविधा र आपातकालीन अवस्थामा के कस्तो व्यवस्था रहेको र गर्न सकिनेबारे बुझ्नु भएको थियो ।
वास्तवमा यो सात दिनको जलयात्रा जीवनको एउटा नौलो अनुभव थियो । यात्रा भनेको नै अनुभव हो र हामीले थाहा पाएअनुसार यात्रा साहित्यमा बेनामीद्वारा लेखिएको जङ्गबहादुरको बेलायत यात्राबाट सुरु भएको यात्रा साहित्यको थालनी पनि पानी जहाजबाट भएको थियो । पानी जहाजबाट हामीले पनि एउटा नौलो अनुभव गर्ने मौका पाएका थियौं ।
वास्तवमा जलयात्राको अनुभव थलयात्राको भन्दा धेरै अनौठो हुँदो रहेछ । त्यसको अनुभव जीवनमा एक पटक गर्नु पर्दो रहेछ । अन्ततः यो पच्चिस सय डलर प्रति दम्पतीको जलयात्राको अनुभव नौलो अद्भुत र अनौठो नै रह्यो भन्दा अत्युक्ति नहोला ।
टोरन्टो, क्यानडा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

