प्रख्यात लेखिका जेके रोलिङ बेलायती अखबार द सन्डे टाइम्सले निकाल्ने वार्षिक धनी सूचीमा पुनः परेकी छन् ।

उनको सम्पत्ति ८ सय ७५ मिलियन पाउन्ड स्टर्लिङ रहेको अखबारले जनाएको छ । यसको अमेरिकी डलरमा १ अर्ब ८९ करोड, ६८ लाख ७ सय ५० हुन आउँछ । नेपालीमा सो रकमलाई सटही दरमा गणना गर्ने हो भने १ खर्ब ४३ अर्ब ६६ करोड १२ लाख ३६ हजार ९ सय ५० रूपैयाँ हुन आउँछ ।

सन् २०२२ मा जेके रोलिङका किताबहरूको बिक्री ३५ प्रतिशतले उकालो लागेपछि उनको आम्दानी पनि उकालो लागेको हो ।

गत केही वर्षयता उनी समलैंगिकताका मुद्दा र नारीवादीहरूको घानमा परेकी भए पनि उनको कमाईलाई केहीले रोक्न भने सकेन । उनी संसारकै बढी पढिने लेखकका रूपमा छँदैछिन् ।

अर्को वर्ष उनको आम्दानी अझ बढ्ने अपेक्षा गरिएको छ । यसको कारणमध्ये एउटा चाहिँ एचबिओ टेलिभिजनले उनको ह्यारी पोटर शृंखलालाई टेलिभिजन शृंखला बनाउँदैछ । यो निकै लामो शृंखला हुने भएकाले उनको आम्दानी सोहीअनुसार बढ्ने अपेक्षा गरिएको हो ।

त्यसो त उनले आफूले कमाएका रकमहरू धेरैभन्दा धेरै दानमा नदिएको भए पाउन्डमा अर्बपति हुने नै थिइन् तर दानका कारण उनको रकम सधैँ अर्बपति हुनबाट रोकिने गरेको छ । सन्डे टाइम्सले निकालेको द गिभिङ लिस्टमा भने उनी १६ औँ सबैभन्दा बढी दान गर्ने व्यक्तिहरूमा परेकी छन् ।