
केही वर्षअघिसम्म अमेरिकाको न्युयोर्कको युनियन स्क्वायरमा कुनै पुस्तकप्रेमी टहल्दै बर्न्स एन्ड नोबल पुस्तक पसलमा पुग्थ्यो भने, छक्क पर्थ्यो । खास कारण चाहिँ, त्यत्रो ठूलो पसलमा चाहिँदा र राम्रा कुनै पुस्तक पाइँदैनथे । किताबका ठाउँमा बरु लेगो सेटहरू, भित्तेपात्रोहरू, प्रख्यात पप गायकगायिकाका तस्बिर-पोस्टरहरू, पजलहरूका बेग्लाबेग्लै ठाउँमा प्रदर्शित हुन्थे । किताबका लागि भने अर्को एक तल्ला उक्लनु पर्थ्यो ।
अहिले त्यही न्युयोर्कको त्यही पुस्तक पसल छिर्नुभयो भने त्यहाँ छिर्नेबित्तकै किताब नै देख्नु हुन्छ, अन्य देख्न मुस्किल पर्छ । यो परिवर्तनका खेलाडी भने एक जना मात्र छन् । उनी हुन्, बेलायती जेम्स डउन्ट । उनी बेलायतको बर्न्स एन्ड नोबलको प्रमुख कार्यकारी हुन् । यो पुस्तक पसल चाहिँ अमेरिकाभरिको सबैभन्दा ठूलो पुस्तक पसलमध्ये दोस्रो ठूलो पसल हो । चार तले पुस्तक पसलमा उभिएर उनले किताबप्रति पाठकको ध्यान कसरी परिवर्तन गरे भन्ने द अब्जर्भर पत्रिकाकी पत्रकार लरेन अराटनीलाई सुनाइरहेका थिए ।
अमेरिकामा बर्न्स एन्ड नोबलका ६ सय वटा पसल छन् । सामान्यतः यत्रो ठूलो कम्पनीमा कुनै पनि निर्णय गर्नेबारे माथिबाट आदेश आउँछ र त्यो अन्य शाखाहरूले भनिएजसरी नै निर्णय गर्छन् । पहिला यो कम्पनीमा पनि त्यस्तै गरिन्थ्यो तर डउन्ट आएपछि भने त्यो परिवर्तन भएको छ । उनले यत्रा ६ सय पुस्तक पसलका लागि माथिबाट आदेश दिँदैनन् । स्थानीय पसलका व्यवस्थापकहरूले आफ्नो स्थानीय रुचि, अरुचि, आवश्यकता हेरी आफैँ नियम बनाउँछन् र त्यसलाई लागू गर्छन् । अमेरिकामा आधाभन्दा बढी किताब अमेजन डटकमले बेच्छ । बाँकीको आधा स्वतन्त्र पसले तथा बर्न्स एन्ड नोबलजस्ता ठूला कम्पनीले बेच्ने गर्छन् ।
अमेजनभन्दा पहिले सबैभन्दा धेरै किताब यही कम्पनीले बेच्थ्यो तर अनलाइनले सारा व्यवस्था चौपट पारेपछि नयाँ रणनीति र हरेक बर्न्स एन्ड नोबलको स्वायत्तताका कारण कायापलट भएको हो । यही व्यवस्थापन शैलीका कारण पछिल्लो समय कम्पनीमा परिवर्तन देखिएको छ । अचेल यहाँ पाठक आएपछि किताब किनून् भन्नेमा जोड दिइँदैन । बस्, आएर किताब हेरेर रमाएर पसलबाट निस्किए पुग्छ भन्ने रणनीति बनाइएको छ । किनभने, जबसम्म अमेजनबाट फुत्केर पुस्तक पसलसम्म मान्छे पुग्दैन, बिक्री बढाउन सकिँदैन भन्ने निष्कर्षमा डाउन्ट पुगेका छन् ।
अमेजनभन्दा आफूहरु कसरी फरक हुने भन्ने बुझेपछि निर्णय गर्न सजिलो भएको उनी बताउँछन् । ‘अमेजन किताबको चिन्ता गर्दैन,’ डउन्ट भन्छन्, ‘किताब त उसका लागि अर्को सामग्री मात्र हो । किताब पसल चाहिँ किताब फेला पार्ने, खोज्ने ठाउँ हो । संसारको सबैभन्दा सुन्दर ठाउँ हो, पुस्तक पसल ।’
युनियन स्क्वायरको यो पसलको एउटा कुनालाई न्युयोर्क शहरप्रति समर्पित गरिएको छ । त्यहाँ न्युयोर्कमाथि, न्युयोर्कबारे, न्युयोर्कसम्बन्धी सारा आख्यान र गैरआख्यान कृतिहरू पाइन्छन् । एउटा टेबुललाई उनीहरूले ‘बुकटक’ टेबुल भन्ने गरेका छन् । त्यहाँ टिकटकमा भाइरल बन्न पुगेका किताबहरूको उरुङ लगाइएको छ । अचेल कतिपय पढन्तेहरूले टिकटकमा किताबबारे यति मज्जाले व्याख्या गर्छन् कि किताबका बारेमा नसुनेका संसारभरका मानिसहरू तिनै किताब खोज्दै गुगल, अमेजन गरिरहेका हुन्छन् । डउन्टको टोलीले सामाजिक सञ्जालमा भाइरल भएका किताबहरूको उरुङ लगाउन एउटा कुनो र टेबुल छुट्याएका छन् ।
‘पुस्तक पसलको जुनसुकै कुनो हेर्नुस्, त्यहाँ हाम्रा साथीहरूले बुद्धिमतापूर्वक छनोट गरेका किताबहरू राखिएका हुन्छन्,’ डउन्ट भन्छन्, ‘तर न्युयोर्क शहर यो पसलको चासो, रुचि र चिन्ता, त्यहीँ अर्को फिफ्थ एभेन्युको पसलभन्दा भिन्न हुनसक्छ वा अप्पर वेस्ट साइडको पसलमा अर्कै देख्न सक्नुहुन्छ । वा यस्तो छनोट गरी राखिएका पुस्तक सियाटल शहरका लागि उपयुक्त नहुन सक्छ, त्यहाँका लागि त्यहीँका पसले साथीहरूले उम्दा किताबहरू छुट्याउँछन् र यसले पाठकहरूलाई गदगद बनाउँछ ।’
उमेरमा ५९ वर्षका डउन्टले सन् १९९० मा एउटा सफल इन्भेस्टमेन्ट बैंकरको काम छाडेर आफ्नो किताबमोहका कारण आफ्नै पुस्तक पसल सञ्चालन गर्न थालेका थिए । बेलायतको लण्डनको एउटा मेरिलबोनको कुनोमा डउन्ट बुक्स नामक पसल खोलेका थिए । पछि यस्ता स्टोरहरू उनको सफल नेतृत्वमा दुई चार वटा नै खुले । यसको सफलता देखेर बेलायतको सबैभन्दा ठूलो खुद्रा पुस्तक पसले वाटरस्टोनले उनलाई आफ्नो कम्पनीको निर्देशकका रुपमा नियुक्त ग-यो । वाटरस्टोन त्यो बेला समस्यामा थियो । किताब बिक्री घट्न थालेको थियो । कयौँ वर्षदेखि घाटामा गइरहेको कम्पनी उनले नेतृत्व लिएपछि सन् २०१७ मा पहिलो पटक नाफामा गएको थियो ।
ठीक यही बेला अमेरिकाको पुस्तक पसल बर्न्स एन्ड नोबलको अवस्था पनि वाटरस्टोनजस्तै बन्न पुगेको थियो । अमेरिकाको अर्को चर्चित पुस्तक पसल कम्पनी ब्रिक्स एन्ड मोर्टार पनि समस्यामा थियो । तिनले अनलाइन बेच्नेहरूसँग प्रतिस्पर्धा झेल्न सकिरहेका थिएनन् । केही चर्चित पुस्तक पसलेहरू खासगरी टोइज आर अस र भर्जिन मेगास्टोरजस्ता पसलहरू हेर्दाहेर्दै गायब हुन थाले ।
यो किताबी खेलमैदानमा डटिरहनका लागि कम्पनीले सन् २०१८ सम्म आइपुग्दा अमेरिकाभरिका चार सयभन्दा बढी पसल बन्द ग-यो । हजारौँ कर्मचारीहरुको जागिर खोसुवामा प-यो । यसपछि वाटरस्टोन पुस्तक पसलेको मुख्य लगानीकर्ता न्युयोर्क हेजफन्डले सन् २०१९ मा ६८३ मिलियन डलरमा बर्न्स एन्ड नोबल किन्यो । उसले कम्पनीको ऋण पनि सका-यो । यसपछि कम्पनीको प्रमुख कार्यकारीका रुपमा डउन्टलाई तुरुन्त नियुक्त ग-यो ।
बेलायतमा छँदा डउन्टले जे काम वाटरस्टोन पसलका लागि गरेका थिए, अब उनको काम अमेरिकामा पनि त्यही गर्नु थियो । उनले कर्पोरेट बुक स्टोरलाई कर्पोरेट शैलीबाट बाहिर निकाल्नु थियो । डउन्टभन्दा पहिले बर्न्स एन्ड नोबल पुस्तक पसल एउटा कर्पोरेट कम्पनी जसरी चलेको थियो । यो पुस्तक पसलमा जे कुरा जसरी राखिएका थिए, अन्यत्र पनि राखिएका हुन्थे । उदाहरण सुनाउँदै डउन्ट भन्छन्, ‘स्टेपल नामक स्टेसनरी पाइने पसलको रखरखाउ एउटै हुनुपर्छ । तर पुस्तक पसलको चाल बेग्लै हुनुपर्छ । एउटा पुस्तक पसलमा पाइने किताब अर्को पसलमा पनि पाइन सक्छ तर त्यसको रखरखाउ, प्रस्तुतिशैली, किताबको प्राथमिकता अवश्य पनि फरक हुनुपर्छ । यो फरकपना महसुस गर्न एउटा पाठक हरेक किताब पसल डुल्ने मन गरोस् ।’
उनको यो कुरा नयाँ हो त ? पक्कै पनि होइन । अरुले पनि यस्तै सोच्थे होलान् तर अरुले यस्तो नियम किन बसालेनन् होला ? ‘शायद म अघिका अधिकारीहरूले पहिले जे गरी आएको थियो, त्यही गर्न रुचाए वा उनीहरू अलि बढी सोच्न अल्छी पनि भएका हुनसक्छन् वा ती पटमूर्ख पनि होलान् भन्न सकिएला तर कुरा त्यति मात्र होइन,’ डउन्ट भन्छन्, ‘मुख्य कुरा चाहिँ उनीहरूले किताब बेच्नु र अन्य सामग्री बेच्नुलाई उही ठाने । किताब बिक्रीलाई उनीहरूले बुझेनन् । उनीहरुले किताब ‘क्युरेट’ गर्नुपर्छ भन्ने पनि बुझेनन् ।’
पहिले बर्न्स एन्ड नोबलमा केही प्रकाशकहरूका किताब महत्त्वका साथ अगाडि राखिन्थे । त्यसका लागि प्रकाशकहरूले बिक्रेतालाई केही रकम पनि दिन्थे । कुन किताब अग्रपंक्तिमा राख्ने, कुन प्रकाशकको राख्ने, कुन लेखकलाई महत्त्व दिने र अरुलाई भित्र राख्दा पनि हुन्छ भन्ने निर्देशन प्रकाशकबाट आउँथ्यो र त्यसै कुरालाई पसलेले महत्त्व दिन्थे । ‘यसपछि त पुस्तक पसल किताबै किताबले भरिएका हुन्थे तर ती कुनै किताब पनि पाठक किन्न रुचाउँदैनथे,’ डउन्ट भन्छन्, ‘अगाडि पट्टि यस्ता किताब राखिनुप-यो कि पाठकहरूले मन थाम्न नसकी गोजीको पैसा खनखनी गनून् ।’
त्यसो त अहिले पनि बर्न्स एन्ड नोबलले प्रकाशकहरूले महत्त्व दिएका किताब महत्त्वपूर्ण ठाउँमा राख्ने गर्छ किनभने यो पनि एउटा राम्रै आम्दानीको स्रोत बन्न पुगेको छ । तर यो मोडलले भने उल्टै हानि पु-याउँछ । उनी आएपछि भएको महत्त्वपूर्ण परिवर्तन भनेको बिक्री नभएका पुस्तकहरू प्रकाशकलाई फिर्ता गर्ने हो । यसरी फिर्ता गर्दा कम्पनीलाई करिब १ अर्ब वचत भएको छ । पहिले पहिले बिक्री नभएका पुस्तकहरूको प्रतिशत ३० प्रतिशत हुन्थ्यो । अहिले घटेर ७ प्रतिशतमा पुगेको छ । डउन्ट भन्छन्, ‘यदि तपाईंले पुस्तक पसल साँच्चिकै राम्रोसँग चलाउनु भयो भने बिक्री नहुने पुस्तकको प्रतिशत जम्मा ३ प्रतिशत हुन्छ । त्योभन्दा बढी भयो भने तपाईंले पसल राम्रोसँग चलाउनु भएको छैन ।’
कम्पनीले गरेको अर्को ठूलो परिवर्तन भनेको पाठकलाई पसलसम्म तान्न गरेको प्रयत्न पनि हो । पहिले छिरेका ग्राहकहरूले केही न केही किनिदिऊन् भन्ने अपेक्षा गरिन्थ्यो । नकिन्ने ग्राहक छिर्नु भनेको समयको बर्बादी मात्र हो भन्ने सोच थियो । पहिला कति ग्राहक छिरे र तीमध्ये कतिले किताब किने भन्ने कुरा मिहिन रुपमा अध्ययन गरिन्थ्यो । ‘प्रायः वाटरस्टोनमा म हुँदा के देख्थेँ भने किताब राखिएको एउटा दराजको ढोका आधा मात्र खोलिन्थ्यो ताकि ग्राहकले अर्को नखोलोस् र किताब गाजेमाजे नपारिदियोस्,’ डउन्ट भन्छन्, ‘पाठकका लागि त्यो त्यति सुखद् अनुभव पक्कै हुन्थेन । त्यही कुरा यहाँ बर्न्स एन्ड नोबलका कर्मचारीमा पनि देखेँ । अर्को कुरा चाहिँ, पसलमा धेरै कर्मचारी हुन्थे र हरबखत ती कर्मचारीले पाठकहरू चिहाइरहन्थे । यो क्रम तोड्न मैले धेरै कर्मचारी कटौती गरेँ ताकि पाठकले आफू चिहाइएको अनुभूत नगरुन् । आनन्दले दिनभरि किताब खोतलखातल पार्न सकून् न !’
यत्तिका बाबजुद पनि उनले आफ्नो सपनाको पुस्तक पसल बनाउन सकेका छैनन् । उनको सपनाको पुस्तक पसल कस्तो होला त ? ‘यस्तो पसल होस्, जहाँ क्रेता होइन, पाठक आऊन् । त्यहाँ यस्ता किताब जम्मा भएका होऊन्, जुन पाठक मनपर्ने सूची बोकेर छिरुन्,’ उनी भन्छन् । युवापुस्ताका पाठकहरू अचेल इन्टरनेटबाटै सबैथोक मगाउने अवस्थामा पुगेका छन् । उनी त्यो क्रम तोड्न चाहन्छन् । युवापाठक पसलसम्म आऊन् भन्ने उनको कामना छ ।
उनको विचारमा राम्रा पुस्तक पसलले सबै उमेर समूहका पाठकलाई आकर्षित गर्छ । स्कुल छुट्टी भएपछि बर्न्स एन्ड नोबलको स्टोरमा बालबालिका वा किशोरकिशोरीहरू छिरुन्, उनीहरूलाई मनपर्ने कमिक्स पल्टाऊन्, ती दृश्य हेर्न उनी आतुर छन् । ‘एउटा खुसी दिने ठाउँका रुपमा म मेरो बुकस्टोर बनाउन चाहन्छु,’ उनी भन्छन् ।
त्यसो त उनको त्यो चाहना पूरा हुन थालिरहेको छ । पंक्तिकार पसलमा छिर्दा युवा पाठकहरू मनग्य देखिएका थिए । ‘जब म यहाँ यी युवाहरू किताब पल्टाइरहेको देख्छु, मलाई अपार आनन्द आउँछ,’ डउन्ट भन्छन्, ‘यीमध्ये केहीले किन्लान्, केहीले नकिन्लान् तर कम्तीमा यिनले किताब पल्टाइरहेका त छन् !’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

