चार्ली म्याकेसी

‘आम् सो स्मल,’ छुचुन्द्रोले भन्यो ।

‘अँ,’ केटोले भन्यो, ‘तर के फरक पर्छ र ? तिमीले जीवनमा धेरै ठूलो परिवर्तन ल्याउन सक्छौ ।’

छुचुन्द्रोले सोध्यो, ‘तिमी ठूलो भएपछि के बन्न चाहन्छौ ?’

‘दयालु,’ केटोले भन्यो ।

‘सफलता के हो, थाहा छ ?’ केटोले छुचुन्द्रोलाई सोध्यो ।

‘प्रेम गर्न सक्नु,’ छुचुन्द्रो बोल्यो ।

‘तिमीलाई मनपर्ने कुनै भनाइ छ ?’ केटोले सोध्यो ।

‘छ नि !’ छुचुन्द्रोले भन्यो ।

‘के हो ? भन न !’ केटोले जोड दियो ।

‘पहिलो पटकमा सफल भएनौ भने पुरस्कार देऊ आफैँलाई !’

‘यसो गर्दा सफल भइन्छ त ?’ केटोले फेरि सोध्यो ।

‘हरेक पटक यसले काम गरेको छ,’ छुचुन्द्रोले जवाफ फर्कायो ।

‘तिम्रा लागि मैले एउटा स्वादिलो केक ल्याएको छु,’ छुचुन्द्रोले भन्यो ।

चार्ली म्याकेसी

‘साँच्ची ?’

‘अँ ।’

‘कहाँ छ त ?’

‘मैले खाएँ,’ छुचुन्द्रोले भन्यो ।

‘ज्या है !’

‘तिम्रा लागि मैले अर्को साँचेको छु,’ छुचुन्द्रोले थप्यो ।

‘साँच्ची ?’ केटोले सोध्यो, ‘कहाँ छ त ?’

‘मैले खाइदिएँ,’ छुचुन्द्रो बोल्यो ।

केहीबेर मौन रहेको केटोले अचानक बोल्यो, ‘सिकेका कुरा बिर्सने कुनै स्कुल भइदिए, कति जाती हुन्थ्यो !’

‘अँ, धेरैजसो बूढा छुचुन्द्राहरू यस्तै कुरा सुनाउँछन् । उनीहरू भन्थेः काश, तिनले आफ्ना डरलाई जितेर र सपनाका कुरामा बढी मग्न भइदिएका भए, कति जाती हुन्थ्यो भन्थे !’

‘साँच्ची, हामी जुनै कुरामा पनि कम डर मान्ने भए कति सुन्दर हुन्थ्यो होला !’

यत्तिकैमा एउटा ब्वाँसो अल्झोमा परेको देखियो । केटो र छुचुन्द्रो मिलेर अल्झोबाट ब्वाँसोलाई स्वतन्त्र पारिदिए ।

केटोले छुचुन्द्रोसँग भन्यो, ‘तिमीलाई थाहा छ, हाम्रो जीवनको सबैभन्दा उम्दा स्वतन्त्रता के हो ? कुनै पनि अवस्थालाई कस्तो प्रतिक्रिया जनाउने, त्यो जान्नु नै ठूलो स्वतन्त्रता हो ।’

छुचुन्द्रोले टाउको हल्लायो । उसले केही सम्झेझैँ भन्यो, ‘मैले वर्तमानमा कसरी जिउने भन्ने जानेँ नि !’

‘कसरी जिउने त ?’ केटोले सोध्यो ।

‘एकान्तमा बस्ने, आँखा चिम्म गर्ने र स्वास भित्र‑बाहिर गरेको महसुस गर्ने ।’

‘त्यसपछि के हुन्छ त ?’ केटोले फेरि सोध्यो ।

‘मैले ध्यान केन्द्रिकृत गर्न जानेँ,’ छुचुन्द्रो बोल्यो ।

‘केमा ध्यान केन्द्रित गर्यौ त ?’

‘केकमा,’ छुचुन्द्रे बोल्यो ।

००० ०००

यत्तिकैमा ब्वाँसो, केटो र छुचुन्द्रे साथी बनिसकेका थिए । तीनै जना एकै ठाउँमा गोधूली साँझ नियाल्न थाले ।

केटो बोल्यो, ‘हामीले जीवनमा हेर्न पर्ने सुन्दरता धेरै छन् ।’

तीनै जना यात्रा गर्न थाले । यत्तिकैमा छुचुन्द्रे बोल्यो, ‘आफैँप्रति दया गर्नु दयालुपनको उम्दा स्वरूप हो ।’

हिँड्दै गर्दा छुचुन्द्रे फेरि बोल्यो, ‘हामी कहिलेकाहीँ दयालुपनको प्रतीक्षा गरिबस्छौँ तर आफैँलाई दया गर्न थाल्नु सबैभन्दा ठूलो कुरा हो ।’

‘किनभने, आफैँलाई माफी दिनु जीवनमै सबैभन्दा गाह्रो हुन्छ,’ केटो बोल्यो ।

घना जंगलतिर हेरिबसेका ब्वाँसो, केटो र छुचुन्द्रेको रमाइलो तोड्दै केटोले थप्यो, ‘कहिलेकाहीँ म हराएको महसुस गर्छु ।’

‘म पनि,’ छुचुन्द्रेले केटोको बोलीमा लोली मिसायो ।

‘तर म तिमीलाई माया गर्छु, मायाले मान्छेलाई घरैमा फर्काएर ल्याउँछ,’ केटोले थुम्थुम्यायो ।

छुचुन्द्रेले घना जंगल नियाल्दै भन्यो, ‘मलाई लाग्छ, हरेक मान्छे घर फर्कने र समयमै पुग्ने प्रयास गरिरहेको हुन्छ ।’

यत्तिकैमा ब्वाँसो, केटो र छुचुन्द्रेले घना जंगलमा घोडालाई देखे । तीनै जनाले घोडालाई अभिवादन गरे ।

घोडालाई सुम्सुम्याउँदै केटोले भन्यो, ‘साथिहरूसँग बसेर केही नगर्नु पनि खास केही गर्नु हो, बुझ्यौ ?’

स्वीकारोक्तिमा छुचुन्द्रेले टाउको हल्लायो ।

यत्तिकैमा घोडाले केटोलाई आफूमाथि चढायो र बेतोडले दौडियो । निकै पर दौडिँदा केटो घोडाबाट लड्यो ।

‘तिमी लड्यौ तर मैले तिमीलाई फेरि सम्हालेँ,’ घोडाले भन्यो ।

लडेकामा केटोलाई दुःख लागिरहेको थियो र उसका आँखामा आँशु थिए ।

‘आँखाबाट आँशु झर्नुमा कारणहरू हुन सक्छन् तर ती तिम्रा कमजोरीका चिनो होइनन्, ती त बरू हिम्मतका सूचक हुन् । अँ, आँशु हिम्मतका सूचक हुन्,’ घोडा हिनहिनायो ।

घोडालाई मुसार्दै केटोले सोध्यो, ‘तिमीले जीवनमा सबैभन्दा हिम्मतिलो कुरा के गर्यौ ?’

घोडाले सगर्व सुनायो, ‘मैले अरूसँग हेल्प मी भन्न सिकेँ ।’

‘अरूसँग सहयोग माग्नु, हार मान्नु होइन,’ घोडाले थप्यो, ‘हार मान्न अस्वीकार गर्नु हो ।’

केहीबेरको मौनतापछि घोडाले भन्यो, ‘एउटा कुरा थाहा छ ? करूणालाई कसैले जित्न सक्दैन । करूणा सबैभन्दा हलुको चिज भए पनि सबैमाथि भारी चिज हो ।’

घोडाले थप्यो, ‘कहिलेकाहीँ सोच्छु… बिहानै उठ्नु र दैनिकी शुरू गर्नु नै हिम्मतिलो र गज्जबको काम हो जस्तो लाग्छ ।’

छुचुन्द्रेले भन्यो, ‘मलाई त कहिलेकाहीँ जीवनकै ठूलो भ्रम भन्नु जीवनमा पर्फेक्ट खोज्नु हो ।’

छुचुन्द्रे फेरि चुइँकियो, ‘कहिलेकाहीँ त जिज्ञासु हुनु पनि ठूलो कुरा लाग्छ मलाई ।’

घोडाले हिनहिनाउँदै भन्यो, ‘जीवन दुरूह छ तर खुसी मनाओ किनभने तिमीहरूलाई माया गर्नेहरू छन् ।’

‘कत्ति न मलाई चिनेजस्तो,’ केटो बिना सित्ती मुर्मुरियो ।

‘चिन्छु नि,’ घोडाले भन्यो ।

‘मलाई नचिने नि तिमी मलाई माया गर्छौ ?’ केटोले भन्यो, ‘म रिसाए पनि !’

‘एक चोटि चिनिसकेपछि पहिलेभन्दा बढी माया गर्छु,’ घोडाको जवाफ थियो ।

यो सुनेपछि केटोले भन्यो, ‘मलाई यस्तो लाग्छ, तिमीले त मलाई मैभन्दा बढी चिन्छौ ।’

यत्रो बेर सँगै हिँडेको, कुरा सुनिरहेको ब्वाँसोले भन्यो, ‘साँच्ची भनूँ भने, म आफूलाई सबैभन्दा वाहियात लाग्छ । मसँग कुनै रोचक कुरा सुनाउने छैन जस्तो लाग्छ ।’

‘इमान्दारीपूर्वक आफ्ना कुरा भन्नु जत्तिको रोचक कुरा यो संसारमा केही छैन, बुझ्यौ,’ घोडाले सम्झाउँदै भन्यो ।

केहीबेरमै घोडा गम्भीर भयो, भन्यो, ‘जवानीका बेला म उड्न सक्थेँ । सबैले माया गर्थे ।’

‘तिमी उड्न सक वा नसक, हामी सधैँ माया नै गर्नेछौँ,’ केटोले घोडालाई हिम्मत दिँदै भन्यो ।

नभन्दै केही प्रयासमा घोडाले आफ्नो ढाडबाट लुकेको ठूलो प्वाँख निकाल्यो र उड्ने प्रयास गर्यो ।

छुचुन्द्रेले केटालाई यही मौकामा सोध्यो, ‘तिम्रो ग्लास आधा खाली छ कि आधा भरिएको छ ?’

‘मसँग गिलास आधा छ कि भरिएको छ भन्नेले फरक पार्दैन । बस्, मसँग गिलास छ,’ केटोले कुम हल्लाउँदै भन्यो, ‘गिलास भएपछि त्यसलाई रित्याउने कि भर्ने, मैमा भर पर्छ ।’

आफू हिँडिरहेको ठाउँबाट परतिर हेर्दै घोडाले भन्यो, ‘हामीलाई भोलिका बारेमा थाहा छैन तर हामीले भविष्य पर्यन्त एकअर्कालाई माया गर्छौं, त्यही काफी छ ।’

‘यत्ति भएपछि अँधेरोले घेरे पनि, विपत्ति आइपरे पनि हामी निरन्तर यात्रा गर्न सक्छौँ,’ केटोले लामो सास तान्दै भन्यो ।

‘कहिलेकाही सबैथोक हाम्रो नियन्त्रणबाहिर पुग्छ, त्यो बेला आफू नजिकै जे छ, आफूसँग जो छ, त्यसमै केन्द्रित भएपुग्छ ।’

‘अन्ततः जब आँधि थामिन्छ नै !’

‘जब आँधि थामिन्छ र धेरै अगाडि हामी पुगिसकेका हुनेछौँ, हामीलाई त्यो यात्रामा गर्व महसुस हुनेछ,’ घोडाले थप्यो यसपाला ।

लामो सास तान्दै छुचुन्द्रेले भन्यो, ‘कहिलेकाहीँ मलाई बेस्कन चिच्याएर म तिमीहरूलाई कति माया गर्छु भनूँ लाग्छ तर मलाई साह्रै गाह्रो लाग्छ ।’

केटोले छुचुन्द्रेलाई सुम्सुम्यायो । छुचुन्द्रेले केटोलाई सोध्यो, ‘तिमीले जीवनमा ठूलो कुरा के पत्ता लगायौ ?’

‘म जे छु, आफ्ना लागि पूर्ण छु,’ केटोले भन्यो ।

केहीबेरपछि केटोले भन्यो, ‘कहिलेकाहीँ हामी यो संसारमा किन छौँ भन्ने लागिरहन्छ ।’

‘केक खान,’ केक भनेपछि मरिहत्ते गर्ने छुचुन्द्रेले हास्यरस थप्दै भन्यो ।

‘हैन, अरूलाई प्रेम गर्न,’ केटोले भन्यो ।

‘अनि प्रेम पाउन,’ घोडाले थप्यो ।

‘कहिलेकाहीँ मुटु दुखे के गर्ने ?’ केटोले घोडातिर हेर्दै सोध्यो ।

‘मित्रताले दुखेको मुटु पोको पार्ने, एकअर्कासँग रूने । यति गरेपछि दुखेको मुटु निको हुन्छ र निको भएको मुटुले आशा देखाउँछ, खुसी दिन्छ,’ घोडाले जवाफ दियो ।

‘तिमी सधैँ मान, तिमी महत्त्वका छौ, तिमी प्रेमयोग्य छौ र तिमी यो संसारमा जेका लागि योग्य छौ, पाउँछौ । तिमी प्रेम पाउन योग्य छौ र पाउँछौ ।’